ध्रुव
| ध्रुव | |
|---|---|
ध्रुवताराका रूपमा ध्रुव, मनाकुद्वारा निर्मित एक पहाडी चित्रकला (लगभग १७४०) | |
| आबद्ध | विष्णुका भक्त |
| वासस्थान | अन्तरिक्षमा ध्रुवलोक |
| वंशावली | |
| अभिभावकहरू | उत्तानपाद र सुनीति |
| जीवनसाथी | ब्राह्मी र इला |
| सन्तानहरू | |
| एक शृङ्खला को भाग |
| हिन्दु पौराणिक कथा |
|---|
| हिन्दु धर्म पोर्टल |
ध्रुव (शाब्दिक अर्थ "अटल, अचल, स्थिर वा शाश्वत") विष्णु पुराण र भागवत पुराणमा उल्लेख गरिएका विष्णुका एक तपस्वी भक्त थिए।[३]
संस्कृत शब्द ध्रुव नक्षत्र (ध्रुव नक्षत्र, "ध्रुवतारा") को प्रयोग महाभारतमा ध्रुवताराका लागि गरिएको छ। उनलाई उत्तानपादका छोरा र मनुका नातिका रूपमा मानवीकरण गरिएको छ। यद्यपि महाभारतको रचना कालको समयमा ध्रुवतारा खगोलीय ध्रुवबाट केही डिग्री टाढा नै थियो।[४][५]
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]
विष्णुप्रतिको भक्ति
[सम्पादन गर्नुहोस्]ध्रुवको जन्म राजा उत्तानपाद (स्वायम्भु मनुका छोरा) र उनकी पत्नी सुनीतिको कोखबाट भएको थियो।[६] राजाका अर्का छोरा उत्तम पनि थिए, जो उनकी कान्छी रानी सुरुचिबाट जन्मिएका थिए। राजाले सुरुचिलाई बढी माया गर्दथे। एक पटक, जब ध्रुव पाँच वर्षका थिए, उनले आफ्ना भाइ उत्तमलाई सिंहासनमा बुबाको काखमा बसिरहेको देख्छन्। सुरुचि, जो ध्रुवसँग ईर्ष्यालु थिइन् (किनभने ध्रुव नै सिंहासनको उत्तराधिकारी हुनेवाला थिए), उनले बुबाको काखमा बस्न खोज्ने बालक ध्रुवलाई कठोर शब्दले गाली गर्छिन्। ध्रुवले आफूलाई पनि बुबाको काखमा बस्न अनुमति किन मिल्दैन भनेर प्रश्न गर्दा सुरुचिले पहिला भगवान कहाँ गएर उनकै कोखबाट जन्म लिनको लागि भगवानसँग प्रार्थना गर्न चुनौति दिन्छिन्। तब मात्र तिमीले यो विशेषाधिकार पाउने पनि उनले बताउँछिन्। सौम्य स्वभावकी र अपहेलित पत्नी सुनीतिले विचलित बालकलाई सान्त्वना दिने प्रयास गर्छिन्, तर ध्रुवले आफ्नो भाग्यको निर्णय स्वयं भगवानबाटै सुन्ने दृढ सङ्कल्प गर्दै वनमा तपस्या गर्न निस्किन्छन्।
उनको सङ्कल्प देखेर देवर्षि नारद उनको अगाडि प्रकट हुन्५न् र यति सानै उमेरमा यस्तो कठोर तपस्या नगर्न सम्झाउने प्रयास गर्छन्। तर, ध्रुव आफ्नो निर्णयमा अडिग हुन्छन्। त्यसपछि नारदले उनलाई भगवान विष्णुको आराधना गर्दा अपनाउनुपर्ने विधि र मन्त्र सिकाएर मार्गदर्शन गर्छन्। नारदले सिकाएको र ध्रुवले प्रभावकारी रूपमा प्रयोग गरेको मन्त्र ॐ नमो भगवते वासुदेवाय थियो।[६] नारदको सल्लाह अनुसार ध्रुवले आफ्नो ध्यान सुरु गर्दै ६ महिनासम्म अन्न र जलविना तपस्या गर्छन्। उनको भक्तिबाट प्रसन्न भएर विष्णु ध्रुवको अगाडि प्रकट हुन्छन्। ध्रुवले १२ वटा शक्तिशाली श्लोकहरूमा विष्णुको स्तुति गर्छन्, जसलाई 'ध्रुव-स्तुति' भनिन्छ।[७]
विष्णु पुराणमा यसबारे अलि फरक विवरण दिइएको छ। जब विष्णु ध्रुवको तपस्याबाट प्रसन्न भएर वरदान माग्न भन्छन्, ध्रुवले एउटा 'स्तुति' को ज्ञानको वरदान माग्छन्। अरू कोही भएको भए सांसारिक वा स्वर्गको सुख, वा बढीमा मोक्ष माग्थे होलान्, तर ध्रुवमा कुनै व्यक्तिगत इच्छा थिएन। हिन्दु धर्ममा सबै इच्छाहरूको त्याग नै अनन्त शान्तिको लागि आवश्यक मानिन्छ: यही 'ध्रुव-पद' को अर्थ हो। यही कारणले सप्तर्षिहरूले ध्रुवलाई ताराको सबैभन्दा सम्मानित स्थान—ध्रुवतारा—दिने निर्णय गर्छन्।[८][९]
विष्णुको स्मरणमा लामो समय बिताएपछि उनी आफ्नो तपस्याको उद्देश्य समेत बिर्सिएर केवल विष्णुको स्मृतिमा जीवन बिताउन चाहन्थे। उनको तपस्याबाट प्रसन्न भई विष्णुले उनको इच्छा पूरा गरिदिन्छन् र उनलाई 'ध्रुव-पद' प्राप्त हुने घोषणा गर्छन्: यस्तो अवस्था जहाँ उनी एक खगोलीय पिण्ड बन्नेछन् जसलाई महाप्रलयले समेत छुन सक्ने छैन।[१०]
ध्रुव आफ्नो राज्यमा फर्किन्छन्, जहाँ उनको परिवारले उनलाई न्यानो स्वागत गर्छ। ६ वर्षको उमेरमा उनले राज्यको बागडोर सम्हाले र धेरै दशकसम्म न्यायपूर्ण रूपमा शासन गर्छन्।[१०]
यक्ष युद्ध
[सम्पादन गर्नुहोस्]श्रीमद्भागवत् पुराणका अनुसार, एक पटक ध्रुवका सौतेनी भाइ उत्तम शिकार खेल्न हिमालयको फेदीमा गएका थिए। तर, त्यहाँ एक यक्षले उत्तमको हत्या गरिदिन्छ। उत्तमकी आमा सुरुचि उनलाई खोज्न जान्छिन्, तर उनको पनि मृत्यु हुन्छ।
यो खबर ध्रुवकहाँ पुग्छ। उनी क्रोधित हुन्छन् र यक्षहरू विरुद्ध युद्धको घोषणा गर्छन्। उनी यक्षहरूको राज्य अलकापुरी पुगेर वीरतापूर्वक लड्छन् र आफ्ना विरोधीहरूलाई परास्त गर्छन्। यक्ष सैनिकहरूलाई हराएपछि उनले निर्दोष यक्षहरूलाई समेत मार्न थाल्छन्। यो देखेर ध्रुवका हजुरबुबा स्वायम्भु मनु उनको अगाडि प्रकट हुँदै उनलाई रोकिन आग्रह गर्छन्। उनले ध्रुवको क्रोधलाई शान्त पार्छन्।[११]
आफ्नो गल्ती महसुस गरेपछि, ध्रुवले यक्षराज वैश्रवणसँग क्षमा माग्छन्। वैश्रवणले ध्रुवलाई वरदान माग्न मन्छन्, र ध्रुवले उत्तम जीवित भएर फर्कँदा आफ्नो विष्णुप्रतिको भक्ति कायमै राख्न सकूँ भन्ने वरदान माग्छन्।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Motilal Bansaridas Publisher's Bhagavata Purana Book 2 Skandha IV Page: 489
- ↑ Motilal Bansaridas Publisher's Bhagavata Purana Book 2 Skandha IV Page: 489
- ↑ Linda Johnsen, The Complete Idiot's Guide to Hinduism, 2nd Edition: A New Look at the World’s Oldest Religion, Penguin, पृ: २१६, अन्तिम पहुँच ५ मे २००९।
- ↑ Aiyangar Narayan (१९८७), Essays On Indo-Aryan Mythology-Vol., Asian Educational Services, पृ: १।
- ↑ Klaus G. Witz (१९९८), The Supreme Wisdom of the Upaniṣads: An Introduction, Motilal Banarsidass Publications, पृ: २६।
- 1 2 "ध्रुवको कथा", Hindustan Times (अङ्ग्रेजीमा), २००७-०१-२५, अन्तिम पहुँच २०२१-०१-०२।
- ↑ www.wisdomlib.org (२०१३-०५-२५), "The Story of Dhruva", www.wisdomlib.org, अन्तिम पहुँच २०२१-०१-०२।
- 1 2 "DHRUVA (story from Srimad Bhagavatam)", www.speakingtree.in, अन्तिम पहुँच २०२१-०१-०२।
- ↑ Lochtefeld, James G. (२००१-१२-३०), The Illustrated Encyclopedia of Hinduism (अङ्ग्रेजीमा), Rosen Publishing Group, पृ: 195, आइएसबिएन 978-0-8239-2287-1।
- 1 2 www.wisdomlib.org (२०२०-०९-०९), "The Story of Dhruva: Dhruva’s Eulogy of Viṣṇu [Chapter 21]", www.wisdomlib.org, अन्तिम पहुँच २०२१-०१-०२।
- ↑ "Srimad Bhagavatam: Canto 4 - Chapter 10", bhagavata.org, अन्तिम पहुँच २०२३-१०-१२।