नजरुलगीति
| नजरुलगीति | |
|---|---|
आफ्ना शिष्यहरूलाई सङ्गीत सिकाउँदै नजरुल इसलाम | |
| मूल नाम | নজরুল সংগীত |
| व्युत्पत्ति | काजी नजरुल इसलामद्वारा रचित गीत तथा सङ्गीतहरू |
| सांस्कृतिक उत्पत्ति | बीसौँ शताब्दीको सुरुवात तिर |
| क्षेत्रीय दृश्यहरू | |
| बङ्गलादेश र भारत (पश्चिम बङ्गाल र त्रिपुरा) | |
नजरुलगीति वा नजरुल सङ्गीत (बङ्गाली: নজরুলগীতি) शब्दले बङ्गाली भाषाका प्रमुख कवि तथा सङ्गीतकार काजी नजरुल इसलामले रचना गरेका गीतहरूलाई बुझाउँछ। उनको छोटो साहित्यिक कार्यजीवनमा उनले लगभग ३२०० भन्दा बढी गीतहरूको रचना गरेका थिए|[१]यी गीतहरू मध्ये ठूलो भागलाई उनी आफैले सङ्गीतबद्ध गरेका थिए। उनीद्वारा रचित चल चल चल र ऊर्ध्वगगने बाजे मादल बङ्गलादेशका रणसङ्गीतहरू हुन्। उनका केही गीतहरू जीवनी ग्रन्थको रूपमा सङ्कलन गरिएको थियो जसमध्ये गानेर माला, गुल बागिचा, गीति शतोदल, बुलबुल आदि पर्दछन्। यसमा पछि अरू गीतहरूलाई पनि थप गरी सङ्कलन गरिएको थियो।[२] उनले छोटो साहित्यिक कार्यजीवन अन्तर्गत छोटो समयमा धेरै गीतहरू लेखेकाले आवश्यक संरक्षणको अभावमा कयौँ गीतहरूलाई सङ्कलन गर्नुपूर्वनै हराएको अनुमान लगाइन्छ।[३] उनका केही कालजयी गीतहरूमा - ओ मोन रमजानेर ओई रोजार शेषे एलो खुसिर ईद, 'चल चल चल', त्रिभुवनेर प्रिय मुहम्मद आदि पर्दछन्।
पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]सन् १८९९ मे २४ (११ जेष्ठ १३०६ बङ्गाब्दो) का दिन भारतको पश्चिम बङ्गालको बर्धमान जिल्लाको आसनसोल उपखण्ड अन्तर्गत पर्ने चुरुलिया गाउँमा जन्मिएका इसलामलाई सानैदेखि लोक कलामा आकर्षित हुँदै लेटो (बङ्गालको राधा क्षेत्रमा मिश्रित कविता, गीत र नृत्यको नाट्यदल) मा सामेल भएका थिए। छैठौँ कक्षा पूरा गरेपछि उनी फेरि काममा फर्किएका थिए भने उनी त्यसपछि बासुदेबको कविदलमा सम्मिलित भएका थिए। त्यसपछि उनले एक रेल्वे स्टेसनमा सुरक्षाकर्मीको काम गरेका थिए भने पछि उनले आसानसोलमा चिया र पाउरोटीको दोकान लिएका थिए। यस पसलमा काम गर्दा गर्दा उसले आसनसोलका प्रहरी जवान रफिजउल्लाहका साथ परिचित हुन पुगेका थिए। नजरुल पसलमा एक्लै बसिरहेको बेला उनीद्वारा रचिएका कविता र छोटा कथाहरू पढेपछि रफिजउल्लाहले नजरुलको प्रतीभा पहिचान गरेका थिए। सन् १९१७ को अन्त्यतिर माध्यमिक परीक्षाको अग्रीम जाँच नदिइकन उनी सैन्य दलमा एक सैनिकको रूपमा जोडिएका थिए। उक्त विद्यालयमा अध्ययन गरिरहँदा उनी त्यहाँमा ४ जना शिक्षकहरूबाट प्रभावित हुन पुगेका थिए जसमा सङ्गीत शिक्षक सतीशचन्द्र काञ्जिलाल, विप्लवी चेतनाविशिष्ट निवारणचन्द्र घटक, फारसी साहित्यका हाफिज नुरुन्नबी र साहित्यकार नगेन्द्रनाथ बन्धोपाध्याय थिए।
सङ्गीत शैली
[सम्पादन गर्नुहोस्]क्रान्तिकारी जनसङ्गीत
[सम्पादन गर्नुहोस्]काजि नजरुल इस्लामका जनसङ्गीत र कविताहरू भारतीय स्वतन्त्रता र बङ्गलादेशको स्वतन्त्रता युद्धको समयमा व्यापक रूपमा प्रयोग गरिएका थिए। यी सङ्गीत अत्यन्त प्रेरणादायी र क्रान्तिकारी प्रकृतिका हुन्छन्, जसमा बलियो र शक्तिशाली शब्दहरू र मनमोहक धुनहरू मिश्रति छन्। यसले प्रत्येक चीजको चरम स्थितिहरूको चर्चा गर्छ। परम्परावादको विरुद्धमा बोल्ने, दार्शनिकता र आध्यात्मिकताको विस्तृत परिधिमा जीवनको बारेमा वर्णन गर्ने भएकाले उनीद्वारा रचित गीतका शब्दहरूले छुट्टै प्रकारको उत्तेजना ल्याउने गर्दछ। नजरुलको जनसङ्गीतको सुन्दरताको मूल कुरा यसको अभिव्यक्तिको स्वतन्त्रतामा निहित छ, जसले धेरै आलोचना पनि भोग्नु परेको थियो। तथापि, जसले यसको दर्शन बुझे, त्यसले उसको साहस र सिधा व्यक्तित्वको प्रशंसा गरेका थिए
गजल
[सम्पादन गर्नुहोस्]नजरुलको फारसी गजल परम्परा बारेको पहिलेनै परिचित थिए भने यी गजलहरू प्रायः प्रेम गीतहरूको एक रूप हो। बङ्गाली गजलको जग बनाउँदै गर्दा नजरुलले सन् १९२७-२८ सम्ममा थुप्रै गजलहरू लेखेका थिए जसलाई बङ्गाली गजलको पहिलो सफल प्रयासको रूपमा लिइन्छ। स्पष्ट रूपमा भन्नुपर्दा, बङ्गाली गजल केवल काजी नजरुल इस्लामद्वारा गरिएको एक नवप्रवर्तन हो। यसले बङ्गाली सङ्गीतको मुख्यधारा परम्परामा गजललाई भित्र्याउँदै सङ्गीत क्षेत्रमा नजरुलको परिचय दिने काम गरेको थियो।
गीतिरचना
[सम्पादन गर्नुहोस्]गीत रचना गर्ने क्रममा नजरुलले हार्मोनियम प्रयोग गरेर विषयविहीन जुनसुकै रागको पूर्ण संरचना तयार पार्ने गर्दथे। त्यसपछि राग र तालसँग मेल खाने शब्द छान्ने र प्रयोग गरेर उत्तम सुरको सहयोगमा गीतकविता रचना गर्दथे। काजी मोताहार होसेनको वर्णनअनुसार नजरुलले एउटा गीतको गीतकविता बनाउन न्यूनतम पाँच मिनेटदेखि अधिकतम आधा घण्टा समय छुट्टाउँदथे। नजरुल आफैँ गीतको स्वरलिपि लेख्ने, ग्रामोफोन कम्पनीमा सूरकारको रूपमा सङ्गीत व्यवस्थापनको समयमा कम्पनीका लेखकहरू छिटो गतिमा नजरुलको स्वरलिपि लेख्थे। बुद्धदेव बसुको वर्णनअनुसार, गीत रचनामा नजरुल तन्नेरीपनको माग नगरी यसको विपरीत कोलाहलको बीचमा सुर र गीतकविता सिर्जनामा दक्ष थिए।[४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "নজরুল সঙ্গীত", Kazi Nazrul Islam | কাজী নজরুল ইসলাম (अङ्ग्रेजीमा), मूलबाट २०२२-०८-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०६-२९। अभिलेखिकरण २०२२-०८-१४ वेब्याक मेसिन
- ↑ Hossain, Quazi Motahar (२०००), "Nazrul Islam, the Singer and Writer of Songs", in Mohammad Nurul Huda, Nazrul: An Evaluation, Dhaka: Nazrul Institute, पृ: ५५, आइएसबिएन 984-555-167-X।
- ↑ "Nazrul: The ever-shining beacon", The Daily Star (Bangladesh), ३१ अगस्ट २०१३, मूलबाट २६ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ डिसेम्बर २०१३। अभिलेखिकरण २६ डिसेम्बर २०१३ वेब्याक मेसिन
- ↑ আলিম-উজ-জামান, কাজী (२०२२-०५-२५), "যেভাবে গান লিখতেন নজরুল", প্রথম আলো (बङ्गालीमा), अन्तिम पहुँच २०२५-०७-१४।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- नजरुलका केही गीत सङ्ग्रहहरू अभिलेखिकरण ११ जुलाई २०१७ वेब्याक मेसिन