नयाँ युगबोध दैनिक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नयाँ युगबोध राष्ट्रिय दैनिक दाङबाट प्रकाशित हुने दैनिक पत्रिका हो । २०३३ सालदेखि पाक्षिक रूपमा प्रकाशन शुरु गरिएको यो पत्रिका २०३८ सालमा साप्ताहिक रूपमा प्रकाशित हुन थाल्यो र २०५४ साल फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित भइरहेको छ । यसले नेपाल सरकारबाट ‘क’ वर्गको राष्ट्रिय दैनिकको मान्यता प्राप्त गरेको छ । नयाँ युगबोधको संघर्षशील गौरवमय गाथा नेपाली पत्रकारिताको इतिहासमै महत्त्वपूर्ण रहेको छ । २०४६ सालको जनआन्दोलन, २०६२-६३ को ऐतिहासिक जनआन्दोलन आदि परिवर्तनकारी आन्दोलनमा यस पत्रिकाले प्रजातन्त्रको पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । प्रेसमा ताला लाग्ने, पत्रिकाको दर्ता खारेज हुने र पत्रिका बन्द हुने घटनाहरूलाई यसले पटक-पटक व्यहोर्दै आएको छ । युगबोधमाथि प्रतिबन्ध लाग्दा केही समय ‘युगचेतना’ को नाममा पत्रिका प्रकाशित भएको थियो । दाङका पुराना पत्रकार नारायणप्रसाद शर्माले यसको प्रकाशन प्रारम्भ गर्नुभएको हो । उहाँ ऐतिहासिक जनआन्दोलनपछि गठित अन्तरिम व्यवस्थापिका–संसदमा विधायक र त्यसपछि नेपालकै प्रेस क्षेत्रको गरिमामय संस्था प्रेस काउन्सिल नेपालको अध्यक्षको जिम्मेवारी बहन गरिसक्नुभएको छ ।

यस दैनिकको आफ्नै भवन र अफसेट प्रेस रहेको छ । हाल ४ पृष्ठमा प्रकाशित भइरहेको यो पत्रिका चाँडै रंगीन कलेवरका साथ ८ पृष्ठमा प्रकाशन हुने तयारीमा छ । नेपालगञ्ज, बुटवल, प्यूठान, तुल्सीपुर, लमही लगायतका स्थानहरूमा शाखा कार्यालय रहेका छन् ।

सम्पादक/प्रकाशकः प्रताप रेग्मी अतिथि सम्पादक : सुशील गौतम सह-सम्पादक : नरेन्द्र के.सी. मुद्रकः प्रतिभा अफसेट प्रेस, घोराही दाङ

ठेगानाः नयाँ युगबोध राष्ट्रिय दैनिक घोराही दाङ फोन नं. ०८२-५६००८४, ५६१३०३ फ्याक्सः ०८२-५६०९४८

E-mail: yougbodh@gmail.com

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]