नल
| नल | |
|---|---|
दोषबोधका कारण नलले दमयन्तीलाई छोडेर जाँदै गरेको राजा रवि वर्माको चित्र | |
| व्यक्तिगत विवरण | |
| उपनामहरू | बाहुक, निषादराज |
| लिङ्ग | पुरुष |
| परिवार | वीरसेन (पिता) पुष्कर (भाइ) |
| जीवनसाथी | दमयन्ती |
| बच्चा | इन्द्रसेन (छोरा) इन्द्रसेना (छोरी) |
| राष्ट्रियता | निषध |
नल प्राचीन निषध राज्यका एक पौराणिक राजा र भारतीय महाकाव्य महाभारतको तेस्रो पुस्तक, वन पर्व अन्तर्गत पर्ने 'नलोपाख्यान'का मुख्य पात्र हुन्। उनी आफ्नो पराक्रम, बुद्धि र रथ सञ्चालनमा रहेको अद्भुत कौशलका लागि प्रख्यात छन्। उनको कथा मुख्यतया विदर्भकी राजकुमारी दमयन्तीसँगको प्रेम र आफ्नो गुमेको सम्पत्ति तथा राज्य पुन: प्राप्तिका लागि गरेको सङ्घर्षको वरिपरि घुम्छ।
'नलोपाख्यान'का अनुसार, अनेकौँ सद्गुणहरू हुँदाहुँदै पनि नल कलि (राक्षस) को श्रापको सिकार हुन पुग्छन्, जसको प्रभावले उनले आफ्ना भाइ पुष्करसँगको जुवा खेलमा आफ्नो राज्य हार्न पुग्छन्। वनवास जान बाध्य भएपछि, दमयन्तीले आफूसँगै रहँदा बढी दुःख पाउनेछिन् भन्ने ठानेर उनले दमयन्तीलाई जङ्गलमै छोडिदिन्छन्। एउटा सर्पको डसाइबाट रूप बदलिएपछि नल 'बाहुक' नामको भेषमा अयोध्याका राजा ऋतुपर्णको दरबारमा सारथिका रूपमा सेवा गर्छन्, जहाँ उनले जुवा र अश्वविद्या (घोडा सञ्चालन) मा थप निपुणता हासिल गर्छन्। यसैबीच, दमयन्तीले उनलाई खोज्न एउटा योजना बनाउँछिन्। अन्ततः उनीहरूको पुनर्मिलन हुन्छ र नलले आफ्नो वास्तविक पहिचान प्रकट गर्दै पुष्करलाई पुनः जुवामा चुनौती दिएर आफ्नो राज्य फिर्ता लिन्छन्।[१]
नलको कथाले भारतीय साहित्य, लोककथा र प्रदर्शन कलामा गहिरो प्रभाव पारेको छ। संस्कृतका साथै तमिल, तेलुगु, कन्नड र बङ्गाली साहित्यका विभिन्न क्षेत्रीय पाठहरूमा यसलाई पुनः प्रस्तुत गरिएको छ। १२औँ शताब्दीका कवि श्रीहर्षले नलको कथामा आधारित 'नैषधीयचरित' रचना गरेका थिए, जसलाई संस्कृतका पाँच महान् महाकाव्यहरूमध्ये एक मानिन्छ। नललाई एक महान् भान्सेको रूपमा पनि सम्मान गरिन्छ र 'पाकदर्पणम्' नामक पाकशास्त्रको पुस्तक उनैले लेखेको मानिन्छ।[२]
जीवनी
[सम्पादन गर्नुहोस्]नलको जीवनीको वर्णन महाभारतको तेस्रो पुस्तक, वन पर्व अन्तर्गतको नलोपाख्यान खण्डमा गरिएको छ।[३]

प्रारम्भिक जीवन र विवाह
[सम्पादन गर्नुहोस्]नलको जन्म निषध राज्यका राजा वीरसेनको पुत्रका रूपमा भएको थियो। उनी अत्यन्तै सुदर्शन युवकका रूपमा हुर्किन्छन् र आफ्नो धार्मिकता, असाधारण सारथि कौशल (रथ चलाउने सीप), र धर्मप्रतिको निष्ठाका लागि प्रख्यात हुन्छन्। उनका सद्गुणहरूको व्यापक प्रशंसा हुन्थ्यो र उनको ख्याति टाढा-टाढासम्म फैलिएको थियो, जसका कारण धेरै महिलाहरू उनलाई चाहन्थे।
यसैबीच, विदर्भ राज्यकी राजकुमारी दमयन्ती पनि असाधारण सुन्दरीका रूपमा परिचित थिइन्। नल र दमयन्तीले एकअर्काको गुणका कथाहरू सुनेका थिए र कहिल्यै नभेटे पनि उनीहरू एकअर्काको प्रेममा पर्छन्। एक पटक नल दरबारको बगैँचामा हुँदा सुनौलो पखेटा भएका हंसहरूको एउटा समूह तालमा आउँछ। रमाइलोका लागि उनले एउटा हंसलाई समात्छन्, जसले उनीसँग एउटा प्रस्ताव राख्छ। यदि उनले त्यसलाई छोडिदिएमा, त्यो उडेर विदर्भ गएर र दमयन्तीसँग उनको गुणको वर्णन गर्ने बताउँछ। नलले यो प्रस्ताव स्वीकार गरी हंसलाई मुक्त गरिदिन्छन्। हंसले आफ्नो वाचा पूरा गर्दै विदर्भ पुगेर दमयन्तीको अगाडि नलको प्रशंसा गर्छ जसले गर्दा नलप्रतिको उनको आकर्षण झन् बढ्न जान्छ। बदलामा, हंसहरूले दमयन्तीको प्रेमको सन्देश पनि नलसम्म पुर्याउँछन्।
एकअर्काप्रति गहिरो आकर्षण भएपछि, नल दमयन्तीको स्वयंवरमा सहभागी हुने तयारी गर्छन्। यसैबीच, दमयन्तीको सौन्दर्यको चर्चा सुनेर देवताहरू इन्द्र, अग्नि, वरुण र यमराज पनि उनीसँग विवाह गर्न इच्छुक हुन्छन्। स्वयंवरतर्फ जाँदै गर्दा उनीहरूको भेट नलसँग हुन्छ र उनीहरूले नललाई आफ्नो प्रस्ताव दमयन्तीकहाँ पुर्याउन अनुरोध गर्छन्। अदृश्य हुने शक्ति पाएर नल दमयन्तीको कक्षमा प्रवेश गर्छन् र देवताहरूको सन्देश सुनाउँछन्। तर, दमयन्ती नलप्रतिको आफ्नो प्रेममा अडिग रहन्छिन् र देवताहरूको सट्टा नललाई नै रोज्छिन्।
उनको भक्ति परीक्षण गर्न स्वयंवरको समयमा देवताहरूले नलकै रूप धारण गर्छन्, जसले गर्दा वास्तविक नल चिन्न गाह्रो हुन्छ। तर आफ्नो दिव्य अन्तर्ज्ञानद्वारा उनले वास्तविक नललाई चिन्छिन् र उनको गलामा वरमाला पहिराउँछिन्। उनीहरूको प्रेमबाट प्रसन्न भएर देवताहरूले नललाई विभिन्न वरदानहरू दिन्छन्: अग्निले बोलाएको बेला सहयोग गर्ने वचन दिन्छन्, यमले अटुट धार्मिकताको वरदान दिन्छन्, वरुणले कहिल्यै पानीको अभाव नहुने सुनिश्चित गर्छन् र इन्द्रले यज्ञ पूरा गरेपछि मोक्ष प्राप्त हुने वाचा गर्छन्।[३]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ J. A. B. van Buitenen (१९८१), The Mahabharata, Volume 2, University of Chicago Press, पृ: 318–322, आइएसबिएन 978-0-226-84664-4।
- ↑ Bhojanam, Nala (३० डिसेम्बर २००७), "Nala Bhojanam"।
- 1 2 Puranic Encyclopedia: a comprehensive dictionary with special reference to the epic and Puranic literature, Vettam Mani, Motilal Banarsidass, Delhi, 1975, p. Damayantī.
