नवजात शिशु तथा बाल स्वास्थ्य स्याहार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

साना शिशुको पर्याप्त हेरविचार अत्यावश्यक छ किनभने उनीहरू आफ्ना बारेमा केही पनि बताउन सक्दैनन्। शिशुको सही हेरचाह गरे उसको मनमा भएको कुरा सही ढंगमा बुझ्न- जान्न सकिन्छ। शिशुको विशेष केयर जन्मिएपछि साढे दुई वर्षको उमेरसम्म गर्नुपर्छ। शिशु हेरचाहको सुरुवात उसको आहारसँगै हुन्छ। यसको सही ज्ञान शिशुकी आमालाई हुनु आवश्यक छ। शिशुको जन्म हुनासाथ न्यानो, सफा तथा नरम कपडाले पुछेर आमाको छातीमा -दुई स्तनको बीचमा) केही समय टाँसेर राखिदिनुपर्छ। यसो गर्नाले शिशुलाई न्यानो हुनुका साथै आमा र शिशुबीच आत्मीयता बढ्छ साथै यसले स्तनपान गर्न मद्दत पुर्‍याउँछ।

स्तनपान

शिशुलाई सकेसम्म जतिसक्दो छिटो -जन्मिएको एक घन्टाभित्र) स्तनपान गराउनु वेश हुन्छ। शिशुलाई आमाको दूधबाहेक केही ख्वाउनुहुँदैन। कतिपयले घिउ, मह ख्वाए पनि त्यसलाई उपयुक्त मान्न सकिँदैन। त्यसपछि २४ घन्टाभित्र ८ देखि १० पटक -रातिमा २ पटक अनिवार्य) स्तनपान गराउनुपर्छ। स्तनपान गराउँदा शिशुको आसन र स्तन सम्पर्क सही हुनुपर्छ। आमाले जुन आसनमा बसेर ख्वाउँदा सजिलो महसुस हुन्छ त्यही आसनमा दूध ख्वाउनुपर्छ। कम्तीमा पनि १५ देखि २० मिनेटसम्म एउटै स्तनबाट स्तनपान गराउनुपर्छ। यदि शिशु एउटै स्तनको दूधबाट सन्तुष्ट भए अर्को स्तन चुसाइरहनु आवश्यक छैन तर सन्तुष्ट नभए दुवै स्तन चुसाउनुपर्छ। स्तनपान गराइसकेपछि शिशुलाई आमाको छातीमा राखेर पिठ्युँ मुसारिदिनुपर्छ। यसो गर्दा शिशुले डकारेर पेटभित्रको हावा बाहिर निकाल्छ। त्यसपछि शिशुलाई सुताइदिनुपर्छ। धेरैजसो आमा मेरो दूध आउँदैन अथवा पर्याप्त छैन भनेर चिन्ता लिन्छन्। स्तनपान गरेपछि डेढदेखि २ घन्टा आरामले सुत्छ, उसको तौल साधारण रूपमा बढिरहेको छ, दिनमा ६ देखि ८ पटक पिसाब गर्छ भने शिशुलाई आमाको दूध पर्याप्त रूपमा पुगेको मानिन्छ। परिवारका सदस्य तथा स्वास्थ्य कार्यकर्ताले आमालाई राम्रोसँग सम्झाई-बुझाई आत्मविश्वासी बनाउनुपर्छ। शिशुलाई जति बढी दूध चुसायो उति नै बढी दूध बन्छ। शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र ख्वाउनुपर्छ। यो उमेरसम्म शिशुलाई अतिरिक्त पानी पनि दिनु पर्दैन। शिशुलाई जति बढी तिर्खा लाग्यो उति नै बढी दूध चुस्छ। स्तनपान गराउँदा दूधको मुन्टोमात्र नचुसाई मुन्टो वरिपरिको कालो भागसमेत चुसाउनुपर्छ।

शिशु ६ महिनाको भएपछि उसलाई ठोस आहाराको आवश्यकता पर्छ जसमा जाउलो, लिटो, खिचडी, हलुवा, मुछेको आलु, केरा आदि ख्वाउन सकिन्छ। सुरुमा शिशुलाई पचाउन सजिलो हुने किसिमका खानेकुरा ख्वाउनुपर्छ। यस्ता पदार्थ अर्धठोस हुनुपर्छ। यतिबेला २४ घन्टामा तीन पटक ख्वाउनुपर्छ। शिशुलाई स्वच्छ पिउने पानीको आवश्यकता पर्छ। स्तनपान भने साबिकबमोजिम दुई वर्षसम्म गराउनुपर्छ। दुई वर्ष पूरा भएपछि स्तनपान बन्द गरी ठोस कुराहरू दिनको पाँच पटकसम्म ख्वाउनुपर्छ। त्यसपछि शिशुलाई अण्डा, माछा, मासु, कलेजो, गेडागुडी आदि ख्वाउनुपर्छ। बजारमा पाइने चाउचाउ, चीजबल, लेज, कुरकुरे, कोल्ड डि्रंक्स, चकलेट आदि ख्वाउनु हुँदैन।

मेन्टिनेन्स अफ बडी टेम्प्रेचर : नवजात शिशुमा शरीरको तापक्रम सन्तुलित गर्ने शक्ति कम हुन्छ र शिशुमा शीताङ्ग हुने सम्भावना जाडो मौसममा बढी देखापर्छ। शरीरको तापक्रम सन्तुलित राखी न्यानो, सफा तथा नरम कपडाले शरीर ढाक्नुपर्छ। टोपी, भोटो, दौरा-सुरुवाल तथा मोजा-पन्जा लगाइदिनुपर्छ। शिशुले पिसाब गरेको छ-छैन भनेर बेला-बेलामा नेपकिन चेक गरिरहनुपर्छ। यसो गर्दा शिशुले पिसाब फेरेर चिसो हुन पाउँदैन। शिशुलाई जन्मनासाथ नुहाइदिनु हुँदैन। शिशु जन्मिएको २४ घन्टापछि मनतातो पानीले नुहाइदिनुपर्छ। कोठाको तापक्रम न्यानो -२५ देखि २८ डिग्री सेन्टिग्रेड) हुनुपर्छ। भेन्टिलेटर खुल्ला हुनुपर्छ। शिशु सुत्ने कोठामा पंखा चलाउनु हुँदैन। मनतातो तेलले मालिस गर्दा पनि शरीरको तापक्रम सन्तुलित हुन्छ र इनसेन्सिबल वाटर लस पनि कम हुन्छ।

बेबी मसाज : शिशुलाई तेलले मसाज गर्नु अत्यन्तै आवश्यक छ। यसले गर्दा शरीरको तापक्रम सन्तुलित हुन्छ, रक्तसंचार राम्रो हुन्छ। शिशुलाई आनन्द आउँछ र ऊ मज्जाले सुत्छ, धेरै रुँदैन। तोरी, जैतुन तथा नरिवलको तेल शिशुका लागि फलदायी हुन्छ। आँखा, नाक, कान, नाइटो र जननेन्दि्रयमा भने तेल लगाउनुहुँदैन। शिशुलाई घाम तथा न्यानो कोठामा राखेर तेल लगाइदिनुपर्छ।

छालाको सुरक्षा तथा सफाइ

शिशु जन्मनासाथ न्यानो, नरम र सफा कपडाले पुछिदिनुपर्छ ताकि शिशुको शरीरमा टाँसिएको रगत तथा फोहोर पदार्थ राम्रोसँग जाओस्। जन्मिएको २४ घन्टापछि नुहाइदिन मिल्छ। जाडो महिनामा नुहाइदिनुभन्दा पुछिदिनु राम्रो हुन्छ भने गर्मी महिनामा हल्का नुहाइदिनुपर्छ।

नाभिको हेरचाह

नाभिलाई सुख्खा तथा सफा राख्नुपर्छ। नाभिमा तेल तथा अन्य कुनै पदार्थ राख्नुहँुदैन। कुनै कारणवश नाभि पाके अथवा नाभि वरिपरिको छाला रातो भए तुरुन्त स्वास्थ्यकर्मीसँग सम्पर्क राख्नुपर्छ।

आँखाको हेरचाह

सफा मनतातो पानीमा कपास भिजाएर शिशुका दुवै आँखा दैनिक सफा गरिदिनुपर्छ। आँखाबाट धेरै चिप्रा आए चिकित्सकको सल्लाह लिनुपर्छ। आँखामा गाजल लगाइदिने चलन हानिकारक हो। गाजलको प्रयोगले आँखा पाक्न सक्छ।

खतराका चिन्हहरू

नवजात शिशुमा हुने खतराका चिन्हहरू सबै आमालाई थाहा हुनुपर्छ। ती चिन्ह तथा लक्षणहरूमा शिशुलाई ज्वरो आउनु, शीताङ्ग हुनु, शिशुले दूध नचुस्नु, ह्वालह्वाल बान्ता गर्नु, छिटो-छिटो सास फेर्नु -१ मिनेटमा ६० पटकभन्दा बढी), शिशु सुस्त हुनु, कम्पन आउनु, कान पाक्नु, नाइटो वरिपरिको छाला रातो हुनु वा पिप बग्नु, शिशुको हातखुट्टामा समेत पहेंलोपन देखिनु आदि पर्छन्। यी लक्षण देखापरे वा शिशुले कम पिसाब गरे तुरुन्त चिकित्सककहाँ लानुपर्छ। यस्तो अवस्थामा बेवास्ता गरे शिशुको ज्यानै जान सक्छ।

शिशुलाई चिकित्सककहाँ कहिले लाने ?

माथि उल्लेख गरिएका लक्षणमध्ये कुनै एक मात्र लक्षण देखिए पनि शिशुलाई तुरुन्त चिकित्सककहाँ लानुपर्छ। त्यसबाहेक शिशु जन्मिएको दिनका साथै ३ दिनमा, ७ दिनमा, २८ दिनमा शिशुलाई उपचारको आवश्यकता पर्छ। त्यसपछि प्रत्येक ३-३ महिनामा शिशुको स्वास्थ्यस्थिति सामान्य छ कि छैन, कस्तो वृद्धि विकास भैरहेको छ ? के-के कुरा ख्वाउने, शिशुसँग कस्तो व्यवहार गर्ने भन्ने कुरा थाहा पाउन चिकित्सककहाँ लानु वेश हुन्छ। शिशुको उमेर १ वर्ष नपुगेसम्म त्यसलाई निरन्तरता दिनु उत्तम हुन्छ।

उमेरअनुसार शिशुको तौल तथा उचाइ

शिशु जन्मदा उसको शरीरमा पानीको मात्रा बढी हुने भएकाले एक हप्तासम्म ५ देखि ७ प्रतिशत तौल कम हुनसक्छ तर ७ देखि १० दिनमा शिशुले 'बर्थ वेट' प्राप्त गर्छ। शिशुको तौल सिस्टमेटिक ढंगबाट बढ्छ। यसलाई जान्न तथा सम्झन जरुरी छ। शिशुको तौल ४ देखि ६ महिनामा दुई गुणा बढ्छ र एक वर्षको हुँदा ३ गुणा बढ्नुपर्छ। यसैगरी शिशु जन्मदा सामान्यतया ४५ देखि ५० सेन्टिमिटर हुन्छ भने एक वर्षमा ७५ सेन्टिमिटर हुनुपर्छ।

उमेरअनुसार लगाउनुपर्ने भ्याक्सिन

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको खोप महाशाखाअन्तर्गतका स्वास्थ्य संस्थाले दिने खोपहरू १ वर्षको उमेरसम्म पर्याप्त छन्। यसअन्तर्गत शिशु जन्मिएको दिनदेखि डेढ महिनाभित्र बी.सी.जी, डेढ महिनामा, साढे दुई महिनामा, साढे तीन महिनामा डी.पी.टी, हिब, हेपाटाइटिस बी, पोलियो तथा नौ महिना पूरा भएपछि दादुराको खोप लगाउनुपर्छ। त्यसबाहेक अन्य थप खोप पनि लगाउन सकिन्छ। ती खोपहरू प्राइभेट क्लिनिक तथा हस्पिटलमा किनेर लगाउनुपर्छ। ती खोपमा एमएम आर, हेपाटाइटिस ए, चिकेन फक्स, जापनिज इन्सेफ्लाईटिस आदि पर्छन्।

शिशुको शारीरिक तथा बौद्धिक विकासका लागि आवश्यक तत्व

शिशुलाई ६ महिनासम्म आमाको दूध मात्र ख्वाउनुपर्छ। आमाको दूधमात्र ख्वाउनाले शिशुको शारीरिक तथा मानसिक विकास हुन्छ। आमाको दूधमा शिशुलाई चाहिने सबै पौष्टिक तत्व एवं रोगसँग लड्न सक्ने क्षमता हुन्छ। यसका साथै मस्तिष्क तेज गराउने पदार्थ पनि हुन्छ। मिश्रति खाना अथवा कृत्रिम दूध ख्वाइएका शिशुहरू छिटो बिरामी पर्ने तथा कम बुद्धिका हुन्छन्। शिशुलाई दूध ख्वाउन थाल्नेबित्तिकै आमा र शिशुको अन्तक्रिर्या तथा आइ कन्ट्याक्ट हुनु जरुरी छ। यसो गर्दा शिशुले आमासँग सुरक्षित छु भन्ने महसुस गर्छ। शिशुलाई मालिस गर्दा, नुहाइदिँदा पनि बालसुलभ कुराकानी गर्नुपर्छ। शिशुको उमेरअनुसार खेल सामग्रीहरू दिनुपर्छ। घरको वातावरण स्वच्छ, सफा र शान्त हुनुपर्छ। जाँड रक्सी, चुरोट, बिडी खानुहुँदैन। शिशुका अगाडि झगडा गर्नु वा ठूलो स्वरले चिच्याउनु हुँदैन। आफू पनि अनुशासित एवं सभ्य भए मात्र शिशु पनि सभ्य, सुशील तथा चलाख हुन्छ।

उमेरअनुसार शिशुलाई ख्वाउनुपर्ने खाना

शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र ख्वाउनुपर्छ। त्यसपछि लिटो, मुछेको आलु, अण्डा आदि ख्वाउन थाल्नुपर्छ। यस्ता खानेकुरा दिनको तीनपटक दिनुपर्छ। दुई वर्षसम्म अन्य खानेकुराका साथमा आमाको दूध ख्वाइरहनुपर्छ। एक वर्षदेखि दुई वर्षसम्मका शिशुलाई पर्याप्त मात्रामा दाल, भात, जाउलो, हलुवा, चिनी र दूधसहितको रोटी, खिचडी, लिटो, आँप, केरा वा परिवारले खाने गरेको खाना ५ पटकसम्म ख्वाउनुपर्छ। दुई वर्षमाथिका शिशुहरूलाई पारिवारिक खाना दिनको तीन पटक र अतिरिक्त खाना -खाजा) रोटी, चिउरा, मकै, भटमास, फलफूल, गेडागुडी, माछा-मासु दिनको दुईपटक ख्वाउनुपर्छ।

अन्त्यमा

शिशुको शारीरिक, मानसिक एवं सामाजिक वृद्धि विकास राम्रोसँग भैरहेको छ कि छैन ? शिशु अस्वाभाविक रूपले दुब्लो, पातलो वा धेरै मोटो छ ? उमेरअनुसार बस्ने, हिँड्ने, बोल्ने, साथीहरूसँग खेल्ने काम गर्छ- गर्दैन ? ऊ बिरामी परेको छ-छैन ख्याल गर्नुपर्छ। आफूलाई कुनै कुरामा शंका लागे तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ।