निर्मल पुर्जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निर्मल पुर्जा
व्यक्तिगत विवरण
जन्मसन् १९८३
म्याग्दी, नेपाल
करियर
सुरुको उमेर२९/३०
उल्लेखनिय आरोहणसबैभन्दा कम समयमा सबै आठ हजारी हिमाल आरोहण (६ महिना ६ दिन अक्सिजन), एउटै ऋतुमा सबैभन्दा बढी आठ हजारी हिमाल आरोहण, ४८ घन्टाभित्र सगरमाथा, ल्होत्सेमकालु आरोहण.[१]

निर्मल पुर्जा एक कीर्तिमानी हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हुन्, जसले ७ महिनाभन्दा कम अवधि (१८९ दिन)मा समुद्री सतहबाट ८ हजार मिटरभन्दा अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण गरेका छन् । यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ्-हो थिए, जसले १४-हिमालको आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएर सन् १९८७ मा कायम गरेको कीर्तिमान उनले यस आधा वर्षमै र एउटै ऋतुमा भ‌ंग गरेका हुन् ।[२][३][४]
उनी ८ हजार मिटरमाथिका १४ वटै हिमाल आरोहण गर्ने भने ४४ ओँ आरोही हुन् । निर्मल पुर्जा यी सबै हिमाल चढ्ने नेपालीहरूमा पाँचौँ र गैरसेर्पा नेपालीमा पहिलो हुन् । यी सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली भने मिङ्मा सेर्पा हुन् भने त्यसपछि नेपालीहरु छाङदावा सेर्पा, सानु सेर्पा र मिङ्मा डेभिड सेर्पाले १४ वटै उच्च हिमाल आरोहण गरेका थिए ।[५]
उनी नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका-३, दाना भन्ने ठाउँमा सन् १९८३ मा जन्मिएका हुन् । ब्रिटिस सेनामा १६ वर्ष काम गरेका निर्मलले १० वर्ष युके स्पेसल फोर्सेस (यूकेएसएफ)मा बिताएका थिए । सन् २०१२ डिसेम्बरबाट निर्मल पुर्जाले हिमाल चढ्न सुरु गरेका हुन् । सगरमाथाको आधार शिविर पुगेपछि अनायासै हिमाल चढ्ने सोख पलाएको उनले सञ्चार माध्यममा बताएका छन् र आफ्नो हिमाल आरोहणक्रमलाई मानव क्षमताको परीक्षण भएको र त्यसमा सफल भएको दावी गरेका छन् ।[४] सगरमाथा चढ्दा ट्राफिक जामले सात घण्टा कुर्नुपरेको बताउने उनले खिचेको त्यही ट्राफिक जामको तस्बिर सञ्चार माध्यम र इन्टरनेटका विभिन्न सञ्जालमा व्यापक फैलिएको थियो ।[६]

जीवनवृति[सम्पादन गर्नुहोस्]

उनले सम्भव छ (अङ्ग्रेजी: Project Possible) भन्ने नाराका साथ ७ महिनाभित्र सबैभन्दा ठूला १४ वटै हिमाल आरोहण गर्ने अभियान थालेका थिए । 'असम्भवलाई सम्भव बनाउनु र मानवको सीमिततालाई अर्को तहमा पुर्‍याउनु नै हाम्रो एक मात्र लक्ष्य थियो’ पुर्जाले आफ्नो ट्विटरमार्फत् भनेका छन् ।[७] अप्रिल २०१९बाट सुरु गरेको यस अभियानअन्तर्गत उनले सन् २०१९ मे २०१९ मा विश्वको सर्वोच्च हिमाल सगरमाथा आरोहण गरेका थिए । उनले महालंगुर हिमशृंखलामा पर्ने सगरमाथा, ल्होत्सेमकालु हिमाल ४८ घन्टाभित्र चढ्दा यसअघि पाँच दिनमा चढेको आफ्नै कीर्तिमान तोडेका थिए । उनले अभियानको अन्तिम आरोहण सन् २०१९ अक्टोबर २९ बिहान ८:५८ (स्थानीय समय) तिब्बत, चीनको सिसापाङ्मा हिमालको गरे । उनले वसन्त याममा (६) र गर्मी याममा (५) सबैभन्दा धेरै आठ हजार मिटरमाथिका हिमाल चढेका छन् ।[८][९]

हिमाल आरोहण[सम्पादन गर्नुहोस्]

क्र. स‌ं. हिमालको नाम देश आरोहण मिति
अन्नपूर्ण हिमाल नेपाल एप्रिल २३
धौलागिरि हिमाल नेपाल मे १२
कञ्चनजङ्घा हिमाल नेपाल मे १५
सगरमाथा नेपाल मे २०
ल्होत्से हिमाल नेपाल मे २२
मकालु हिमाल नेपाल मे २४
नङ्गा पर्वत पाकिस्तान जुलाई ३
ग्यासरब्रम १ पाकिस्तान जुलाई १५
ग्यासरब्रम २ पाकिस्तान जुलाई १८
१० के२ हिमाल पाकिस्तान जुलाई २४
११ ब्रोड शिखर पाकिस्तान जुलाई २६
१२ चोयु हिमाल नेपाल सेप्टेम्बर २३
१३ मनास्लु हिमाल नेपाल सेप्टेम्बर २७
१४ शिशापाङ्मा चीन अक्टोबर २९

विवाद[सम्पादन गर्नुहोस्]

निर्मल पुर्जाले कुवेतको एक आरोहण दललाई आमादब्लम हिमाल आरोहणका क्रममा अनधिकृत रूपमा कुवेतको राष्ट्रिय झण्डा चुचुरोमा ओछ्याउन सहयोग गरेको आरोप लागेको छ। उनले उक्त काममा आफूले सहयोग गरेको तर त्यो गैरकानुनी र आफ्नो बदनियत नभएको प्रस्टीकरण दिएका छन्।[१०]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]