सामग्रीमा जानुहोस्

नुवाकोट (बागमती प्रदेश)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नुवाकोट मध्य नेपालको एउटा बस्ती हो, जुन सोही नामको जिल्लामा पर्दछ । यो वस्ती त्रिशूलीतादी नदीको बीचको डाँडोमा अवस्थित छ। यो काठमाडौंबाट करिब ६० किलोमिटर पश्चिममा अवस्थित छ, र एक ऐतिहासिक सहरको रूपमा परिचित छ जुन पृथ्वीनारायण शाहद्वारा नेपाल एकीकरणका प्रारम्भिक दिनहरूमा राजधानी थियो, र १,००० भन्दा बढी वर्षदेखि पहाडको टुप्पोमा रहेको यो स्थानले काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारको सुरक्षा गर्ने किल्ला (कोट) को रूपमा काम गरेको थियो।

नुवाकोटबाट देखिएको हिमालको दृष्य


मध्यकालको पूर्वार्धमा नेपाल राज्यभित्र तीन शक्ति खस राज्य, तिरहुत राज्य, मल्ल राज्य देखापरे। ती तीन शक्तिमा परस्परमा बराबर टक्कर पर्नु, एकले अर्कोको विरुद्ध गुहार माग्नु आदि कुरा त्यस बेलाको राजनीतिक अंग जस्तै बन्न पुग्यो।

नुवाकोटले पश्चिम तिरबाट खसराज्यको आक्रमणको सामना कयौं पटक गर्नुपर्‍यो। साथै यस संघर्षबाट कमजोर भएको केन्द्रको अवस्थाबाट लाभ उठाई नुवाकोट स्वतन्त्र जस्तै बन्ने प्रयास पनि भयो। यसरी दुई शक्तिको बीचको प्रदेशको रुपमा नुवाकोटको अवस्था निकै समयसम्म संघर्षमय रह्यो।

त्यस ताका बराबर लडाइँ झगडा भइरहने हुनाले सुरक्षाको दृष्टिले अनुकुल पर्ने ठाउँहरूमा प्रायः वस्तीहरू केन्द्रित हुन थाले। उपत्यका भित्र तीन प्रमुख शहर र अरु साना शहरहरूलाई समेत खाडल, पर्खाल आदिले घेरेर "गढ"को रुप दिइयो। यही कुरा नुवाकोटमा पनि घट्यो। नुवाकोट इलाकाभित्र प्रकृतिले 'कोट्ट'को रुप दिन लायकका थुमहरू चारैतिर रचिएका छन्। यसो हुँदा बीच भागमा केन्द्ररुपमा रहेको वर्तमान नुवाकोट डाँडोलाई "मूलकोट"को रुप दिई वरपरका थुम्काहरूमा पनि कोट्टहरू बनाइए। यसरी यस प्रदेशको नाम "नवकोट्ट" रहन गएको देखिन्छ। लिच्छविकालको अभिलेखमा कोट्टको उल्लेख भएको छ तापनि त्यसबेला "नवकोट्ट" नामाकरण भएको थिएन। मध्यकालको पूर्वार्धमा आएर मात्र "नवकोट्ट" नामकरण भएको देखिन्छ। गोपाल राजवंशावलीमा "नवक्वाथ"को उल्लेख धेरै ठाउँमा आएको छ।[] मध्यकालमा नुवाकोट डाँडोले "पलन" (शहर)को रुप पनि लिएको कुरा अभिलेखबाट थाहा पाइन्छ।[]

ग्यालरी

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]


सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. गोपालराजवंशावली
  2. धनवज्र वज्राचार्य, टेकबहादुर श्रेष्ठ (२०३२ चैत्र), नुवाकोटको ऐतिहासिक रुपरेखा, नेपाल र एशियाली अध्ययन संस्थान, पृ: ऐतिहासिक सामग्री २, ४, ६, ३८।