सामग्रीमा जानुहोस्

नून सत्याग्रह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नुन मार्च
गान्धी आफ्ना अनुयायीहरूलाई नेतृत्व गर्दै ब्रिटिश नुन कानुन हटाउन नुन मार्चमा अघि बढ्दै।
मिति१२ मार्च १९३० देखि ६ अप्रिल १९३० सम्म
स्थानसावरमति, अहमदावाद, गुजुरात, भारत
सहभागीमहात्मा गान्धी तथा ७८ जना अन्य

नून मार्च (अङ्ग्रेजी: Salt March), जसलाई नून सत्याग्रह, डाँडी मार्च, र डाँडी सत्याग्रह पनि भनिन्छ, महात्मा गान्धीको नेतृत्वमा ब्रिटिश उपनिवेशकालीन भारतमा भएको अहिंसात्मक असहयोग आन्दोलन थियो। २४ दिन लामो अवधीसम्म चलेको यो सत्याग्रह १२ मार्च १९३० देखि ६ अप्रिल १९३० सम्म चल्यो, यसको उद्देश्य ब्रिटिश सरकारको नुन कर विरुद्ध प्रत्यक्ष विरोध गर्दै कर अस्वीकार आन्दोलनलाई अगाडि बढाउनु थियो। यस मार्चको अर्को मुख्य कारण नागरिक अवज्ञा आन्दोलनलाई सशक्त रूपमा सुरू गर्नु थियो, जसले गान्धीको मार्गदर्शनमा थप मानिसहरूलाई आन्दोलनमा सहभागी गराउने प्रेरणा प्रदान गरोस्। गान्धीले ७८ जना विश्वासिला अनुयायीहरू सहित साबरमती आश्रमबाट डाँडीसम्म ३८७ किलोमिटर (२४० माइल) यात्रा तय गरेका थिए। त्यस समय डाँडीलाई नवसारी भनिन्थ्यो (हालको गुजरात राज्यमा पर्दछ)। यात्रा क्रममा धेरै भारतीयहरू सामेल भएका थिए। ६ अप्रिल १९३० बिहान ८:३० बजे, जब गान्धीले ब्रिटिश सरकारको नून कानून तोडे, त्यसले लाखौं भारतीयलाई नागरिक अवज्ञा आन्दोलनमा सहभागी हुन प्रेरित गर्यो।[]

डाँडीमा नून उत्पादन गरेपछि, गान्धी तटक्षेत्र हुँदै दक्षिणतर्फ अघि बढे, जहाँ उनले विभिन्न सभा सम्बोधन गर्दै नून बनाउन थाले। भारतीय राष्ट्रिय कांग्रेसले डाँडीभन्दा ४० किमी दक्षिणमा रहेको धारसाना नून कारखानामा अर्को सत्याग्रह आयोजना गर्ने योजना बनाएको थियो। तर, यो सत्याग्रह हुनुअघि नै गान्धीलाई ४–५ मे १९३० को मध्यरातमा हिरासतमा लिइयो। डाँडी मार्च र त्यसपछि भएको धारसाना सत्याग्रहले भारतीय स्वतन्त्रता सङ्घर्षलाई विश्वव्यापी चर्चा दिलायो। यस आन्दोलनले अन्तर्राष्ट्रिय पत्रपत्रिका र समाचार मिडियामा ठूलो प्रचार पायो। सत्याग्रह लगभग एक वर्षसम्म चल्यो, जसको अन्त्य गान्धीको जेलमुक्ति र वाइसराय लर्ड इरविनसँगको वार्ता पछि भयो।


नून सत्याग्रह गान्धीका अहिंसात्मक आन्दोलनका सिद्धान्त "सत्याग्रह" मा आधारित थियो, जसलाई उनले "सत्यको शक्ति" भनेर परिभाषित गरेका थिए। "सत्याग्रह" शब्द संस्कृतका "सत्य" (सत्य) र "अग्राह" (दृढता) शब्दबाट बनेको हो। सन् १९२० को प्रारम्भमा, भारतीय राष्ट्रिय कांग्रेसले सत्याग्रहलाई भारतीय स्वाधीनताको मुख्य हतियार बनाउने निर्णय गर्‍यो र गान्धीलाई यसको नेतृत्व गर्न नियुक्त गरियो। गान्धीले सन् १८८२ को ब्रिटिश नून ऐनलाई सत्याग्रहको पहिलो लक्ष्य बनाए। डाँडी मार्च र धारसाना सत्याग्रहमा अहिंसात्मक प्रदर्शनकारीहरूलाई ब्रिटिश प्रहरीद्वारा गरिएका आक्रमणहरूले संसारभरका मिडियामा स्थान पाए। यसले नागरिक अवज्ञा आन्दोलनलाई सामाजिक र राजनीतिक अन्यायविरुद्ध लड्ने प्रभावकारी साधन को रूपमा स्थापित गर्‍यो। गान्धीको सत्याग्रह सिद्धान्त र डाँडी मार्चले मार्टिन लुथर किङ जुनियर, जेम्स बेभल, र अन्य अमेरिकी नागरिक अधिकार कार्यकर्ताहरूलाई १९६० को दशकमा अफ्रिकी-अमेरिकी तथा अल्पसंख्यक समुदायको अधिकारका लागि संघर्ष गर्न प्रेरित गर्‍यो। डाँडी मार्च १९२०–२२ को असहयोग आन्दोलनपछि ब्रिटिश शासनविरुद्धको सबैभन्दा ठूलो संगठित चुनौती थियो। यसले भारतीय राष्ट्रिय कांग्रेसद्वारा २६ जनवरी १९३० मा घोषणा गरिएको "पूर्ण स्वराज" (सम्पूर्ण स्वतन्त्रता) को प्रत्यक्ष रूपमा अनुसरण गर्‍यो। यो आन्दोलनले भारतीय स्वतन्त्रता सङ्घर्षलाई विश्वभर चर्चित बनायो र सन् १९३४ सम्म चलेको राष्ट्रव्यापी नागरिक अवज्ञा आन्दोलन को सुरुआत गर्‍यो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Brown, Judith M. (२०१७-१२-०६), "Gandhi and civil disobedience", Gandhi's Moral Politics (Routledge India): 57–71, आइएसबिएन 978-1-351-23722-2, अन्तिम पहुँच २०२५-०३-१०