नेपालमा आर्थिक चिन्तनको इतिहास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेपालमा आर्थिक चिन्तनको प्रारम्भ वैदिक काल देखि नै भएको मान्न सकिन्छ । तथापि कौटिलीय अर्थशास्त्रमा वयाापरिक क्रियाकलापको सन्दर्भमा नै नेपाल र नेपालको प्रमुख उत्पादनको उल्लेख भएकोले किरांतकाललाई ऐतिहासिक आधार मान्न सकिन्छ ।

किरांत काल[सम्पादन गर्ने]

किरांत कालमा नेपालको ऊनी वस्त्र देश विदेशमा निकै प्रसिद्ध भएको कुरा कौटिलीय अर्थशास्त्रको विवरणले थाहा हुन्छ ।[१] मल्लकालिक नेपालको सम्पन्नता इतिहास प्रसिद्ध छ । यसले त्यस समयमा आर्थिक चिन्तनले राजकीय मान्यता पाएको थियो भन्ने तथ्य प्राप्त हुन्छ । उत्पादन, विपणन, स्तरीकरण, मौद्रिक कारोबार सबै आर्थिक कियाकलाप सुविकसित रहेको कुरा नेपालको इतिहासबाट थाहा हुन्छ ।

पृथ्वीनारायण शाह[सम्पादन गर्ने]

राजा पृथ्वीनारायण शाहको सैनिक परिचालन, विस्तार र एकीकरणको प्रक्रियाबाट वर्तमान नेपालको भौगोलिक सीमानाको जग निर्माण भएको [२]मानिए तापनि व र्तमान भौगोलिक स्वरूप सुगौली सन्धिद्वारा निर्धारित भएको हो । सिलभां लेभीको ‘नेपाल’ पुस्तकमा उद्धृत नक्शाको दृष्टिले सुगौली सन्धिमा नेपालले वर्तमान क्षेत्रफलभन्दा पनि बढी भौगोलिक क्षेत्र त्याग गर्नु परेको स्पष्ट हुन्छ । यसमा आर्थिक संभावना भएका केही क्षेत्रहरू पनि परेका छन् । नेपालमा अंग्रेज राजदूत रहने प्रचलन पनि त्यस बेलादेखि नै सुरु भएको हो ।
पृथ्वीनारायण शाहको अवधारणामा राज्यका दुइवटा मजबूत आधार स्तम्भ हुन्छन्– किसान र अनुशासित सैनिक । पृथ्वीनारायणले उपलब्ध भएसम्म सबै जमीनहरू खेती गराइ उपयोगमा ल्याउन चाहन्थे । कृषियोग्य जमीनमा घर बनेका भए त्यस्ता घरहरू भत्काउनु पर्दछ भन्ने र जमीन जोगाउन धेरै तला भएका भवन निर्माण गर्ने पक्षमा उनी रहेको पाइन्छ । उनको विचारमा घूस दिने र घूस लिने दुवै मुलुकका लागि शत्रु हुन्, त्यसैले तिनीहरूलाई मृत्युदण्डसम्म दिनु पर्दछ भन्ने थियो ।[३]
कृषिलाई महत्त्व र आर्थिक भ्रष्टाचार गर्नेलाई कडा दण्ड दिने पृथ्वीनारायण शाहको नीति थियो । अर्थव्यवस्थालाई आत्मनिर्भर र स्वदेशी अर्थतन्त्रका पक्षधर उनले घरेलु उत्पादन, कला, संगीत र संस्कृतिलाई अभिवृद्धि गर्न निर्देशन जारी गरे । घरेलु उपभोगका लागि कपडा आयात गर्ने कुराको उनले विरोध गरे । वैदशिक व्यापारीलाई देशमा ल्याउने कुराका उनी समर्थक थिएनन् । घरेलु उद्योगधन्दालाई राष्ट्रिय दृष्टिकोणबाट प्रोत्साहन दिइएको मात्र नभइ स्वदेशी वनसम्पदा र जडीबूटीको पनि सदुपयोग र निर्यात गरी राष्ट्रिय आय बढाउने निर्देश दिइएको छ । त्यसबेला नेपालमा प्रशस्त जडीबूटी काठ आदि उत्पादन हुन्थ्यो ।
पृथ्वीनारायण शाहले उपत्यका जितेपछि यातायात बढाउने जुन नीति लिइएका थिए त्यो दिव्य उपदेशमा व्यक्त छ– पुरुब पछिम्को रस्ता चलाइ दिउंला । आर्थिक दृष्टिकोणबाट बाटो खोल्नु आवश्यक भए तापनि त्यसबेला राजनीतिक दृष्टिले सतर्क रहनु आवश्यक थियो । त्यसैले टाढाको क्षेत्र अर्थात् पूर्व र पश्चिमको बाटोहरू बन्द नै राखेर नेपाल उपत्यकामा मात्र बाटो खोले । उत्तर दक्षिणको व्यापार कायम गर्न लिएको नीति तत्कालका लागि उपयुक्त थियो ।[४]

राणाकाल[सम्पादन गर्ने]

राणा शासनमा आर्थिक र सामाजिक दृष्टिले केही नयां प्रयास भए । जंगबहादुर (वि.सं.१९०३–१९३४) को समयमा मुलुकी ऐनको निर्माण भयो, त्यस पछिका शासकहरूबाट वैदेशिक रोजगारीको प्रारम्भ, पात्रो प्रकाशन, पुल निर्माण, स्कूल, कलेज र अस्पतालहरूको स्थापना, पुस्तकालय स्थापना, र घण्टाघरको निर्माण जस्ता कामहरू भए । मालपोत उठाउने नयां व्यवस्था पनि त्यसै समयमा सुरु भएको हो । सरकारी समाचार पत्रको प्रारम्भ, आन्तरिक हुलाक सेवाको प्रारम्भ, विद्यालयहरू स्थापना, कर्मचारीहरूलाई कार्यालय समयको निर्धारण, सती प्रथा उन्मूलन, विद्युत केन्द्रको स्थापना, अस्पतालको स्थापना, नेपाली भाषा प्रकाशिनी समितिको स्थापना, रेलवे र रोपवेको निर्माण तथा नेपालको नक्शा निर्माण जस्ता कामहरू रणोद्दीपदेखि चन्द्रशम्शेर (वि.सं.१९३४–१९८६) को समयसम्म भइसकेको थियो । भीम शम्शेरको समयदेखि मोहन शम्शेरको समय (वि.सं.१९८६–२००७) सम्ममा नेपाली शिक्षालाई भारतमा मान्यता प्रदान, कपास खेतीको विकास, ठूलो उद्योगको रुपमा जूट उद्योग र संयुक्त पू“जी कम्पनीको रुपमा नेपाल बैंक लिमिटेडको स्थापना, उच्च अदालत, र आगो निभाउन संस्थागत दमकल व्यवस्थाको सुरुआत भयो । म्युजियम, चिडियाखानाको स्थापना, आकाशवाणीको प्रचलन, र राष्ट्रिय आर्थिक समितिको गठन पनि यस अवधिमा भयो ।

नेपाली अर्थव्यवस्थाको सर्वेक्षण[सम्पादन गर्ने]

नेपाली अर्थव्यवस्थाको प्रारम्भिक सर्वेक्षण अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरको समयमा भएको हो । जसको प्रारम्भ नेपालविद् प्रो. टोनी हागेनले गरेका थिए । उनले नेपाली अर्थव्यवस्थाका महत्त्वपूर्ण प्राकृतिक र मानवीय स्रोतहरूको सर्वेक्षण मात्र गरेनन्, ती स्रोतको संभाव्यता समेत अध्ययन गरी प्रधानमन्त्री बी पी कोइराला (वि.सं.२०१६) को समयमा आफ्नो अनुसन्धानलाई नेपाल भन्ने पुस्तकमा प्रस्तुत गरे ।

अर्थशास्त्रमा प्रकाशनको सूची[सम्पादन गर्ने]

नेपालमा आर्थिक चिन्तनको इतिहासलाई विभिन्न प्रकाशनहरुबाट जान्न सकिन्छ । पृथ्वीनारायण शाहको दिव्य उपदेशमा अनेक आर्थिक अवधारणाहरु पाइन्छन् । ललितत्रिपुरसुन्दरीको नामबाट प्रकाशित राजधर्म अर्को एक यस्तो प्रकाशन हो जसमा राजनीति र अर्थशास्त्र विषयक अवधारणाहरु छन् । तर यो पुस्तक महाभारत राजधर्मानुशासनको अनुवाद हो । नेपालको इतिहासका पुस्तकहरुमा पनि आर्थिक अवस्थाहरुको चित्रण उपलब्ध छ । यसमा बालचन्द्र शर्माको नेपालको इतिहास, ढुण्डीराजको नेपालको आलोचनात्मक इतिहास, सिलभां लेभीको नेपाल तीन खण्ड इत्यादि पुस्तकहरु छन् । त्रिभसवन विश्वविद्यालयको स्थापना पछि अर्थशास्त्र विषयक अध्ययन, अध्यापन र अनुसन्धानको परम्परा सुरु भएको छ ।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. ज्ञवाली, बाबु राम, वि.सं.२०७१, कौटिल्य र शुक्रको राजनीतिक अर्थशास्त्र, ज्ञानज्योति प्रकाशन, पृ.१७०
  2. महत, राम शरण,वि.सं. २०६३, लोकतन्त्रका पक्षमा, नेपाली अर्थ राजनीतिका चरण र चुनौती, काठमाडौं ः मकालु प्रकाशन गृह, पृ. १ ।
  3. महत, राम शरण, वि.सं. २०६३,लोकतन्त्रका पक्षमा, नेपाली अर्थ राजनीतिका चरण र चुनौती, काठमाडौं ः मकालु प्रकाशन गृह, पृ. ९
  4. नेपाली, चितरंजन, वि.सं. २०५८, वर्तमान नेपालको निर्माणमा श्री ५ पृथ्वीनारायण शाह, पृथ्वी जयन्ती २०५८, काठमाडौं ः नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।