नेपालमा नाटक परम्परा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपाली रङ्गमञ्चको मौलिक पहिचान बारे यस लेखमा चर्चा गर्न खोजिएको छ ।

लिच्छवि र मल्लकाल[सम्पादन गर्ने]

नेपाली नाटक र रङ्गमञ्चीय परम्पराको इतिहास निकै लामो देखिन्छ। हरिसिद्धि पुराणअनुसार नेपालमा सर्वप्रथम विक्रम संवत् ९४१मा हरिसिद्धि नाटक मञ्चन भएको बुझिन्छ। लिच्छविकालमा ललितकलाको विकासमा निकै जोड दिइएको कुरा तत्कालीन नृत्य र कलाकौशलको बारेमा त्यसबेलाका अभिलेखहरूमा उल्लेख गरिएकोबाट समेत पुष्टि हुन्छ। नरेन्द्रदेवको पालामा नृत्य पारखीहरू निकै थिए। यसैगरी द्वितीय जयदेवको समयको शिलापत्रमा 'पोण्डिमण्डपीका' र 'पे्रक्षण मण्डपी'को उल्लेखबाट त्यो बेला ती ठाउँ विभिन्न शुभकार्य गर्न र नृत्य वा नाटक गर्न त्यसको प्रयोग हुन्थ्यो भन्ने थाहा लाग्छ। गोपाल वंशावलीमा चम्पादेवको पालामा चार अङ्कको 'रामायण' नृत्य नाटकको आयोजना भएको उल्लेख छ। यी सम्पूर्ण तथ्यहरू हेर्दा लिच्छवि कालमा नाटय-रङ्गमञ्चीय कलाको उल्लेख्य विकास नभए पनि यसको पृष्ठभूमि भने अवश्य तयार भएको थियो भन्न सकिन्छ।

मल्लकालमा आइपुग्दा यस सयममा विभिन्न कला, कौशल र साँस्कृतिक गतिविधिको विकाससँगै नाट्यकलाले पनि एउटा ठोस रूप लियो। इतिहासकारहरू मल्लकाललाई नाटकको स्वर्णकाल समेत मान्दछन्। मल्लकालमा नाटक भन्नाले गीत, नृत्य र अभिनयको सम्मिश्रण मानिन्थ्यो। खासगरी त्यसताका गाइजात्रा, इन्द्रजात्राजस्ता विभिन्न जात्राको अवसरमा प्रस्तुत हुने नाट्यकला विशेष उल्लेखनीय छ। त्यो बेला काठमाडौं, पाटन र भक्तपुर तीनवटै राज्यमा नाटक लेखन र मञ्चन निक्कै हुनुका साथै विभिन्न स्थानहरूमा नाटककै लागि भनेर थुप्रै नाट्यशाला र डबलीहरू पनि निर्माण भएको बुझिन्छ। नेपाली रङ्गमञ्चको परम्परा र विकासका निम्ति मल्लकालको विशिष्ट स्थान रहेको मानिन्छ।

डबली, नाच र लोक नाटक[सम्पादन गर्ने]

नेपाली रङ्गमञ्चीय परम्परामा डबलीको विशिष्ट स्थान रहेको छ। डबलीको पाूर्वरूप 'दुबली' रहेको र पछि यसैको रूप क्रमशः 'दबलि' र 'दबू' हुन गएको देखिन्छ। नेवारीको 'दबलि' र 'दबू'बाट नै नेपाली भाषामा डबली शब्द बनेको हो भन्ने मान्यता रहेको छ। नेवारी समाजमा 'दबू प्याँख' अझै प्रचलनमा छ। 'प्याँख' भन्नाले नाच भन्ने मात्र नबुझी नृत्य, नाटक र अभिनयलाई बुझाउँछ।

डबलीमा विभिन्न प्रकारको नाच तथा लोक नाटक प्रदर्शन गर्ने चलन त अहिले पनि प्रचलित छ। यस्ता नाच-नाटकहरू लगातार कैयौँ दिनसम्म देखाइन्छ। कार्तिक नाच, हरिसिद्धिको नाच, श्वेतकालीको नाच आदि महिनौं पूर्वाभ्यास गरेर डबलीमा प्रस्तुत गरिन्छ। डबलीमा गरिने अन्य विभिन्न धार्मिक प्रवृत्तिका नाचमा अभिनयले महत्त्वपूर्ण स्थान ओगटेको पाइन्छ। लाखेनाच, महाकाली नाचजस्ता गाइजात्राका अनेक प्रस्तुतिहरू भने डबलीबिना पनि प्रस्तुत हुनसक्छ। यसैगरी 'रोदी' लोक जनजीवनको अर्को पक्ष हो। समग्रमा हेर्दा डबलीले नाटकलाई सार्वजनिक रूप दिन मात्र सफल भएन विभिन्न समयको नाट्य कलाको विकासमा समेत निकै ठूलो मद्दत पुर्‍याएको छ।

डबलीको सन्दर्भमा, रङ्गकर्मी बेखानारायण महर्जनले काठमाडौंं, भक्तपुर र ललितपुर तीनै सहरमा सुकुलमा देखाइने 'ज्यापू नाटक'लाई परिमार्जन गरी डबली परम्परामा दर्जनौ नाटक गरेको बुझिन्छ। उनले सर्वप्रथम वि.सं. १९९७मा भोटेबहालमा डबली बनाएर नाटक 'राजकुमार विश्वन्तर'मा अभिनय र निर्देशन गरेका थिए। त्यसबेला डबलीसँग जोडेर उनको बारेमा यसो भन्ने गरिन्थ्यो- "डबली नबनी बेखा देखिँदैन, बेखा नउठी डबली उठ्दैन।" उनी नाटकलाई जनस्तरमा पुर्‍याउने रङ्गकर्मी हुन्।

स्वस्थ परम्परामा अवरोध : राणाकाल[सम्पादन गर्ने]

वि.सं. १८५५ तिर शक्ति वल्लभ अर्यालले पहिलोपटक संस्कृत नाटक 'हाँस्यकदम्ब'को नेपालीमा अनुवाद गरे। वि.सं. १८९२ तिर भवानीदत्त पाण्डेले 'मुद्रा राक्षस'को अनुवाद गरे। यी दुवै नाटक नेपालीमा अनुवाद भए पनि रङ्गमञ्चीय दृष्टिले सबल थिएनन्। दुवै नाटकमा नाटकीयताभन्दा आख्यानात्मकता नै बढी थियो।

वि.सं. १९०४ देखि राणाहरूको एकतन्त्रीय जहानियाँ शासन सुरू भएपछि नेपाली नाटक र रङ्गमञ्चलाई उनीहरूले बढीजसो समय आफ्नो मनोरञ्जनका माध्यमका रूपमा नै उपयोग गरे। राणाहरूको उदयको समयमा भारतको तत्कालीन रङ्गमञ्चमा पारसी थियटरको निकै प्रभाव रहेको थियो।

यसरी त्यो बेला नाटक सारा जनताको लागि नभएर सीमित वर्गको विलासिताको निम्ति प्रयोग हुन थाल्यो। त्यो समयमा हिन्दी र उर्दूको प्रभाव बढेपछि नेपाली नाटकको एकाएक ह्रास हुँदै गएको देखिन्छ। नेपाली रङ्गमञ्चको स्वस्थ परम्परामा यो एउटा अवरोध थियो।

मोतिरामको रङ्गमञ्चीय मोड[सम्पादन गर्ने]

व्यावसायिक परम्परालाई भारतेन्दुले अस्वीकार गरेर भारतीय रङ्गमञ्चमा नवीनता दिन खोजिरहेको समयमा मोतीराम भट्ट भारतेन्दुको सम्पर्कमा पुगे। उनीबाट प्रभावित मोतीराम नेपाल फर्केपछि -वि.सं. १९४३ तिर) उनले नेपालमा पनि भारतेन्दु शैलीलाई प्रस्तुत गर्ने जमर्को गरेको देखिन्छ। राणा दरबारहरूमा भएको पारसी रङ्गमञ्चको प्रभावलाई हटाएर नेपालीपन र स्तरीयता दिने उनको प्रयास रहेको थियो। मोतीरामले वि.सं. १९४४मा पहिलोपल्ट नेपाली रङ्गमञ्चमा नेपाली भाषामा कालिदासद्वारा लिखित 'अभिज्ञान शाकुन्तलम्'को अनुवाद गरी 'शकुन्तला' नाटक प्रदर्शन गराए। हिन्दी र उर्दूको तत्कालीन बाहुल्यता तोडेर नेपाली भाषाका नाटक प्रस्तुत गर्ने उनको यो जमर्को क्रान्तिकारी कदम थियो त्यसैले उनी नेपाली रङ्गमञ्चका अगुवा मानिन्छन्। उनका अन्य अनुवादित प्रमुख नाटकहरू 'शकुन्तला' -१९४४), 'पद्मावती' -१९४६) र 'पि्रयदर्शिका'

-१९४८) हुन्।

निर्देशक र अभिनेताका रूपमा समेत रङ्गमञ्चमा उत्रिएका मोतीराम भट्ट धेरै वर्ष बाँचेनन् तर पनि रङ्गमञ्चकै लागि भनेर नेपालीमा नाटकहरू अनुवाद गर्ने प्रयास गर्नु, नेपाली भाषामै प्रदर्शन गराउने व्यवस्था गर्नु र स्वयं रङ्गकर्मीका रूपमा लागि पर्नु तत्कालीन परिवेशका निम्ति उनको अभूतपूर्व प्रयत्न मान्न सकिन्छ। मोतीरामपछि विभिन्न लेखकहरूले नेपाली भाषामा नाटकको अनुवाद गर्ने परम्परालाई अगाडि बढाएको देखिए पनि नाटकमा मौलिक लेखन भने आउन सकेको थिएन। पहलमानसिंह स्वाँरको प्रवेशले मात्रै मौलिकताको परम्परालाई एउटा निश्चित मोड दियो।

पहलमानको मौलिकता[सम्पादन गर्ने]

नेपाली रङ्गमञ्चमा एकातिर सतही र मनोरञ्जनपूर्ण थियटरको बोलवाला र अर्कोतिर संस्कृत परम्परा अघि बढिरहेको बेला मौलिक नेपाली नाटकका प्रथम स्रष्टाका रूपमा पहलमानसिंह स्वाँर -वि.सं.१९३५-१९९१) देखा परे। स्वाँरको नाटक 'अटलबहादुर' -१९६३) नेपाली रङ्गमञ्चमा एउटा ठूलो क्रान्ति थियो। त्यस समयको नेपाली रङ्गमञ्चको परिवेशमा सर्वथा नवीन प्रयोगको रूपमा रहेको नाटक 'अटलबहादुर' संस्कृतमूलक रूपान्तरका नाट्यपरम्परा र रोमाञ्चकारी थियटर परम्पराभन्दा बेग्लै रूप लिँदै नेपाली नाट्य परम्परामा देखा पर्‍यो।

नेपाली वातावरण, नेपाली भाषा र समकालीन अवस्थाको तस्बिरको झल्को दिने नाटक 'अटलबहादुर'बाट दुखान्त नेपाली नाटकको प्रारम्भ पनि भयो। यो नाटक वि.सं.१९६६मा धनवीर मुखियाद्वारा दार्जीलिङमा गोरखा नेसनल थिएटि्रकल पार्टीको आयोजनामा मञ्चन भएको थियो। 'अटलबहादुर'को महत्त्वपूर्ण पक्ष भन्नु नै यसको रङ्गमञ्चीय प्रभाव हो। अर्को महत्त्वपूर्ण पक्ष समसामयिक राजनीतिक सचेतना पनि हो। शिल्पको दृष्टिले समेत निकै परिमार्जित यो नाटकलाई यथार्थवादी दृष्टिकोणले समेत पहिलो नाटक मान्न सकिन्छ। यसरी नेपाली नाट्य लेखनमा सर्वप्रथम मौलिकता र मञ्चनीयताको सूत्रपात नाटक 'अटलबहादुर'बाट भएको देखिन्छ। 'अटलबहादुर'पछि पहलमानसिंह स्वाँरका 'विमलादेवी' -वि.सं. १९७५), लालुभागा' -वि.सं. १९७५/७६) र 'विष्णुमाया नाटिका'

-वि.सं.१९७९/८०) नाटकहरूमा पनि मौलिक स्वरूप भेटिन्छ।

सम र आधुनिकता[सम्पादन गर्ने]

नेपाली नाटक र रङ्गमञ्चमा आधुनिकता भित्राउने श्रेय बालकृष्ण सम -वि.सं.१९५९-२०३८) लाई जान्छ। मौलिक रूपमा शुद्ध नेपाली भाषाको नाटकको आरम्भ गर्ने स्रष्टाको रूपमा सम देखा परे। समको आगमनपछि नै नाट्य लेखन र मञ्चन दुवै क्षेत्रमा एउटा सिङ्गो युगको निर्माण भयो। पूर्वेली, पश्चिमेली र नेपाली लोकतत्त्वको समन्वय गरी एउटा विशिष्ट नाट्यकलाको संरचना गर्ने काम नाट्यकर्मी समले गरे।

बालकृष्ण सम राणा दरबारमा हुर्केका हुनाले दरबारमा देखाइने रोमाञ्चकारी नाटकहरूबाट अनभिज्ञ थिएनन् तर उनले उर्दू र हिन्दीका नाट्य परम्परालाई त्यागेर नवीनरूपमा नाट्यकृतिको रचना गरी तिनको प्रदर्शन गरे। समको 'मुटुको व्यथा' (वि.सं.१९८६) नेपाली नाट्य परम्परामा मौलिक नाटकको स्थापना गर्ने उत्कृष्ट नाट्य कृति हो। संस्कृतको परम्परालाई अंशतः त्यागेर नेपाली वातावरणमा पूर्णतया मौलिकता दिएर लेखिएको यही नाटकबाट नै आधुनिक नेपाली नाटकको सुरूवात भएको हो। दृश्य विधान, प्रस्तुतीकरण र शिल्पका दृष्टिले पनि यसअघिका अन्य नाटकभन्दा यो नितान्त भिन्न र नौलो छ।

समले सर्वप्रथम बाह्र वर्षको उमेरमा वि.सं १९७१मा आफ्ना दाजु पुष्करशमशेरको कोठामा प्रदर्शित नाटकमा अभिनय गरेका थिए। वि.सं. १९७८मा म्याटि्रकको परीक्षा दिने सिलसिलामा उनी कलकत्ता पुगेपछि उनको नाटकप्रतिको अवधारणामा परिवर्तन आयो। त्यो बेला कलकत्तामा अल्पमेड थियटरमा मञ्चन भएको नाटक 'ओथेलो' र 'मर्चेन्ट अफ भेनिस' बाट उनी निकै प्रभावित भए। 'इम्पायर थियटर'को स्वाभाविक अङ्ग्रेजी नाचले उनको अभिनयसम्बन्धी धारणामा समेत निकै प्रभाव पारेको थियो भन्ने कुरा समको कृति 'मेरो कविताको आराधन -उपासना १)' बाट समेत बुझिन्छ। जसबाटै उनले वि.सं. १९८६ सालमा शेक्सपियरले प्रयोग गरेको 'ब्ल्याङ्क भर्स'मा जस्तै अनुष्टुप छन्दको प्रयोग गरेर नाटकीय ढङ्गले अभ्यास गर्ने गरेको कुरासमेत थाहा लाग्छ।

वि.सं. १९९३ सालमा समले दरबार हाइस्कूलमा आफैँले लेखेको, हाल नेपालकै पहिलो एकाङ्की नाटकको रूपमा मान्यता पाएको 'प्रेम'को मञ्चन गराए। यसपछि उनले वि.सं. १९९५मा नाटक 'मुकुन्द इन्दिरा' निर्देशन गरे। आधुनिक नेपाली रङ्गमञ्चको सुरूवात यसै नाटकबाट भएको हो। नेपालीहरूले टिकट काटेर सार्वजनिक प्रदर्शनमा हेरेको पहिलो मौलिक नेपाली नाटक पनि 'मुकुन्द-इन्दिरा'लाई नै हो। यसपछि समले 'प्रहृलाद'-वि.सं. १९९६), अन्धवेग -१९९७), 'चिन्ता' -२००५) आदि नाटकलाई रङ्गमञ्चमा प्रस्तुत गरेर नेपाली रङ्गमञ्चलाई नयाँ मार्गमा डोर्‍याउने काम गरे।

राजधानीभित्रको रङ्गमञ्च[सम्पादन गर्ने]

वि.सं.२००७ सालपछि नेपाली रङ्गमञ्चको विकासमा जनस्तरबाट उल्लेख्य प्रयासहरू हुन थाल्यो। राणाहरूको दरबारमा देखाइने हिन्दी र उर्दूका रोमाञ्चकारी नाटकहरूभन्दा भिन्न रूपमा विभिन्न चाडपर्वको बेला जनस्तरमा नाटकहरू प्रदर्शन हुन थाले। राणातन्त्रको पतन र प्रजातन्त्रको उदयपछि नै नेपाली रङ्गमञ्चले पनि स्वतन्त्र र सङ्गठित रूपमा फैलने अवसर पायो।

यो बेला नाट्यलेखनका रूपमा पनि क्रान्तिकारी परिवर्तन आइसकेको थियो भने विभिन्न नाट्यकर्मीहरू र समूहले नाट्य प्रस्तुतिप्रति चासो देखाउन थाल्यो। प्रजातन्त्रको उदयपछि राजधानीमा देखा परेका सक्रिय रङ्गकर्मीहरूका लागि सिंहदरबार नाचघर नाटक गर्ने उपयुक्त थलो बन्यो। त्यो समयमा राजधानीभित्रको रङ्गमञ्चमा बालकृष्ण सम, भीमनिधि तिवारी, श्यामदास वैष्णव, हरिप्रसाद रिमाल, बेखारत्न महर्जन, नीरविक्रम प्यासी, गोपीनाथ अर्याल, यमबहादुर, मास्टर रत्नदास प्रकाश, सिद्धान्तराम जोशी, आनन्द थापा, रामशेखर नकर्मी, कृष्णप्रसाद अधिकारी, प्रचण्ड मल्ल, यदुकुमारी आदि रङ्गकर्मीहरूको सक्रियता थियो।

नेपाली रङ्गमञ्चमा जनस्तरमा रङ्गकर्मीहरूले पहिलेदेखि नै नाट्यशालाको अभावमा पनि काम गरिरहेका थिए। राणा शासनकालमा दरबारमा नाटक र नाचगान देखाउनका लागि छुट्टै नाट्यशाला बनाइएको भए पनि अधिकांश नाट्यशालाहरू आम रङ्गकर्मी र सर्वसाधारणहरूको पहुँचभन्दा बाहिर हुन्थ्यो। २०१८ सालमा राष्ट्रिय नाचघरको निर्माण भएपछि जनस्तरले प्रयोग गर्नसक्ने एक आधुनिक रङ्गमञ्चको खाँचो नाचघरले पूरा गर्‍यो। राष्ट्रिय नाचघरपछि प्रज्ञा भवनको नाट्यशालामा तीसको दशकको अन्त्यदेखि नाटकहरू मञ्चन हुन थाल्यो। यसपछि सांस्कृतिक सङ्घ डिल्लीबजारको नाट्यशाला -२०२१) र राष्ट्रिय सभागृह -२०२७)मा समेत नाटकहरू हुन थाले।

तीसको दशकदेखि नाटक लेखनसँगै मञ्चनको क्षेत्रमा समेत नयाँ लहर देखियो। यो दशकमा नेपाली नाट्य-परम्परामा रङ्गमञ्चले सर्वप्रथम व्यावसायिक रूप लियो। तीसको दशकदेखि नै यथार्थ र मनोवैज्ञानिकसँगै समसामयिक -व्यावसायिक र प्रयोगवादी) नाटक मञ्चनको क्रम पनि बढ्यो। वि.सं.२०३३मा दार्जीलिङका रङ्गमञ्चमा ज्यादै लोकपि्रय भएको मनबहादुर मुखियाको नाटक 'अनि देउराली रुन्छ'ले काठमाडौंँको रङ्गमञ्चमा बेग्लै प्रभाव छाडेपछि यसै शैलीलाई पछ्याउँदै थुपै्र नाटकहरू राजधानीका नाट्यशालाहरूमा मञ्चन हुन थाले। यसै क्रममा सत्यमोहन जोशीको 'फर्केर हेर्दा', 'जब घाम लाग्छ', विजय मल्लको 'पहाड चिच्याइरहेछ', 'भूलैभूलको यथार्थ', 'स्मृतिको पर्खालभित्र' आदि नाटकहरू मञ्चन भए। जोशी र मल्लका नाटकहरूलाई निर्देशकद्वय प्रचण्ड मल्ल र हरिहर शर्माले प्रज्ञाको रङ्गमञ्चमा उतार्ने काम गरे। मल्ल र शर्मा नेपाली रङ्गमञ्चका यस अवधिका बेजोड नाट्यप्रतिभा मानिन्छन्।

सांस्कृतिक संस्थानअन्तर्गत राष्ट्रिय नाचघर रहन गएपछि तीसको दशकमा संस्थानबाट व्यावसायिक रूपमा थुप्रै नाटकहरू प्रदर्शन गरिए। यसरी संस्थानबाटै गोपीनाथ अर्याल, श्यामदास वैष्णव, जितेन्द्र महत

'अभिलाषी', हरिप्रसाद रिमाल, जगन्नाथ तिमल्सिना, महेश थापा, गोविन्द तिमल्सिना, प्रभाकर शर्मा, वीरेन्द्र हमाल आदिले विभिन्न समयमा नाटक निर्देशन गरे। यीबाहेक राष्ट्रिय नाचघरमा विभिन्न समयमा फरक नाट्य समूहबाट प्रचण्ड मल्ल, प्रताप सुब्बा, मुकुन्द श्रेष्ठ, मोहन निरौला, रविन्द्र खड्का, रमेश बुढाथोकी, राजेन्द्र सलभ, बद्री अधिकारी, सुनील पोखरेल, कृष्ण मल्ल, सुवास गजुरेल, श्रीओम श्रेष्ठ 'रोदन', अनुप बराल, कृष्ण शाह यात्री, विजय विस्फोट आदि दर्जनौं रङ्गकर्मीहरूले नाटक निर्देशन गरेका छन्।

तीसकै दशकमा स्थापना भएको 'सर्वनाम' र 'आरोहण' यस अवधिका प्रमुख नाट्य संस्था हुन् जसले स्थापना काल -२०३८) देखि नै सार्थक नाटकहरू मञ्चन गर्दै आइरहेको छ। सर्वनामबाट अशेष मल्लले 'हामी वसन्त खोजी रहेछाँैं'लाई सडकमा प्रस्तुत गरी नेपाली रङ्गमञ्चमा सडकनाटक अभियानको थालनी गरे। किशोर पहाडी, गोविन्दसिंह रावत, ओममणि शर्मा, शान्ता शाक्य, हरिश्चन्द्र के.सी., पुष्कर गुरूङलगायतका रङ्गकर्मीहरूले आरम्भताका गोडमेल गरी हुर्काएको सर्वनाममा सयौँ रङ्गकर्मीहरूको श्रम र सीप पोखिएको छ। यी नै रङ्गकर्मीहरूद्वारा अभिनित 'मुर्दावादमा उठेका हातहरू', 'अतिरिक्त आकाश', 'अनादिक्रम', 'सडकदेखि सडकसम्म', 'कुमारजी आज्ञा गर्नुहुन्छ', 'को गर्दैछ फेरि युद्धको घोषणा ?' जस्ता नाटकहरूले नेपाली रङ्गमञ्चमा भिन्न अर्थ र महत्त्व राख्दछ। तत्कालीन व्यवस्थाले उब्जाएका विकृति, विसङ्गतिलाई सर्वनामले आफ्ना प्रस्तुतिका माध्यमले प्रभावकारी रूपमा उठाउने काम गरेको देखिन्छ। सर्वनाम कथा र कविता मञ्चनमा समेत अगाडि रहेको छ।

वि.सं. २०३८ सालमा सुनील पोखरेल, बद्री अधिकारी, राजेन्द्र सलभलगायतका रङ्गकर्मीहरू मिलेर 'आरोहण' नाट्य समूहको स्थापना भएपछि यस समूहबाट 'भीडमा हराएको मान्छे, 'प्रतिभा आकाश माग्छे', 'सन्ध्या सारस', 'सेंचुवाको असल मान्छे आदि भिन्न प्रस्तुतिका थुपै्र नाटकहरू मञ्चन भए। आरोहणले स्थापना कालदेखि नै देश/विदेशका चर्चित नाटकहरूको मञ्चन गर्दै आइरहेको छ। वि.सं. २०४५ तिर 'आरोहण-शनिबार'को नाममा यस समूहबाट नियमित नाटक हुनुका साथै दर्शकलाई नाटक हेर्ने संस्कार बसाल्ने प्रशंसनीय कार्य भएको थियो। आरोहणका रङ्गकर्मी सुनिल पोखरेल नेपाली रङ्गमञ्चका प्रतिबद्ध सिर्जनशील नाट्यकर्मी मानिन्छन्। उनले देश-विदेशका उत्कृष्ट नाटकहरूको मञ्चन गरेर भिन्न परिचय दिएका छन्। पचासको दशकको अन्त्यतिर आरोहणले 'गुरूकुल'को स्थापना गरी नेपाली रङ्गमञ्चलाई थप गतिशील तुल्याउने काम गर्‍यो। साथै रङ्गमञ्चमा प्रशिक्षित युवा रङ्गकर्मीहरू तयार पनि गरेको छ। 'गुरूकुल'मा मञ्चित अग्निको कथा, 'पुतलीको घर', 'बाघ भैरव' जस्ता नाटकहरूले समकालीन नेपाली रङ्गमञ्चमा भिन्न स्थान बनाएका छन्। आरोहणका नाटकहरूमा वसन्त भट्ट, विष्णुभक्त फँुयाल, अनिल पाण्डे, निशा शर्मा, आदि दर्जनौं रङ्गकर्मीहरूले आरम्भकालदेखि अभिनयकला पोख्दै आएका छन्। आरोहणले राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवको समेत आयोजना गर्नुका साथै कचहरी नाटक अभियानलाई समेत अगाडि ल्याएको छ। सार्थक नाटक गर्नुका साथै रङ्गमञ्चप्रति दर्शकको आकर्षण जगाउन पछिल्लो समयमा गुरूकुलको प्रयास निक्कै सह्राहनीय देखिएको छ।

राजधानी बाहिरको रङ्गमञ्च[सम्पादन गर्ने]

नेपाली रङ्गमञ्चको विकास र गतिशीलताको सन्दर्भ चर्चा हुँदा, जानेर होस् वा नजानेर नै जहिले पनि राजधानी बाहिरको रङ्गमञ्चलाई ओझेलमा पार्ने काम हुँदै आएको देखिन्छ। खोजी गर्दै जाँदा, राजधानीभन्दा मोफसलका जिल्लाहरूमा अझै बढी नै सङ्ख्यामा नाट्य समूहहरूले काम गरेको पाइन्छ। आ-आफ्नै सीप, साधन र स्रोतले भ्याएसम्म रङ्गकर्म गरिरहेका थुप्रै उदाहरण फेला पर्दछ पहाड, मधेस र हिमालका गाउँ/सहरहरूमा। चर्चा, प्रंशंसा र प्रशिक्षणबिना पनि राजधानी बाहिर २००७ सालअघिबाट नै उल्लेख्य रङ्गकर्म भइरहेको छ। काठमाडौं बाहिरको नेपाली रङ्गमञ्चलाई हेर्दा नेपालका थुप्रै जिल्लाका रङ्गमञ्चमा विभिन्न समयमा लोभलाग्दा कामहरू भएको थाहा लाग्छ।

विभिन्न समयमा नाटक मञ्चन गरी गाउँ-गाउँ र बस्तीमा पुर्‍याउने काम थुप्रै सांस्कृतिक परिवार एवं भूमिगत पार्टीहरूले समेत गरेका छन्। यसरी नाटक मञ्चनमा सक्रिय रहेका संस्थाहरूमा सामना, सङ्कल्प परिवार, वेदना सांस्कृतिक परिवार, इन्द्रेणी सांस्कृतिक समाज, प्रगतिवादी सांस्कृतिक सङ्घ, राष्ट्रिय जनसांस्कृतिक मञ्च, अखिल नेपाल जनवादी सांस्कृतिक सङ्घ, कोरस परिवार, रेलिमाइ सांस्कृतिक मण्डल, थाङ्का सांस्कृतिक परिवार, अारङ्ग नेपाल सुर्खेत, युथ क्रियसन थियटर पोखरा सांस्कृतिक मण्डल आदि प्रमुख रहेका छन्। यी समूहका नाटकहरूमा खासगरी गाउँका समस्या, धनी र गरीबबीचको द्वन्द्व, भ्रष्टाचार, छुवाछूत, राजनीति, सङ्घर्षबाट जनताले पहिल्यानुपर्ने दिशा आदि मूल विषय रहेको पाइन्छ। श्रमिक जनताको पसिना र शोषित मान्छेको पीडा खोतल्दै मुक्तिका जीवन खोजिरहेका मान्छेको समर्थन, यी नाटकहरूले उठाएका मूल विषय हुन्।

राजधानी बाहिर यसरी प्रस्तु गरिएका नाटकहरूमा सरल भाषा, सहज प्रस्तुति, स्पष्ट अभिव्यक्ति, वर्गीय चिन्तनप्रति सशक्त समर्थन र एकतामाथि विश्वासजस्ता विशेषताहरू देखिन्छन्। प्रगतिशील नाटकहरूले सामन्ती संस्कारमाथि तीव्र घृणा र निरङ्कुश शासनप्रति आक्रोश ओकलेका छन्। अन्य समकालीन नाटकहरूमा भने समकालीन जनजीवनका विविध पाटोलाई दर्शाउने प्रयास भएको छ।

समग्रमा हेर्दा राजधानीभित्र र बाहिरका जिल्लाहरूमा भएको रङ्गकर्मले नेपाली नाटक र रङ्गमञ्चलाई दह्रो पहिचानसहित अघि बढाउन सघाउ पुर्‍याएको छ। नेपाली नाटकको आजको भिन्न अस्तित्वका पछाडि थुपै्र रङ्गकर्मी र नाट्यकर्मीको योगदान रहेको छ। छोटो समय र सीमित व्यक्तिहरूको पहलले मात्र आजको नेपाली रङ्गमञ्चको गर्व गर्न लायक पहिचान बनेको होइन। सयौँ नाटककारका हस्ताक्षर, हजारौँ रङ्गकर्मीहरूको अभिनय कौशलता र दर्जनौं नाटक निर्देशकका शील्पले मात्रै नेपाली रङ्गमञ्चको बलियो इतिहास, सुन्दर वर्तमान र उज्यालो भविष्य देखिएको हो।

प्रवृत्ति र प्रयोग[सम्पादन गर्ने]

नेपाली नाटक र रङ्गमञ्चमा विभिन्न समयमा भएका गतिविधि, अभियानलाई आधार बनाउने हो भने नेपाली रङ्गमञ्चमा विभिन्न प्रवृत्ति र विशेषताहरूलाई बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ।

-लोक तथा डबली नाटक परम्परा

-नाटक उत्सव-महोत्सवको आयोजना

-शून्यवादी रङ्गमञ्चको घोषणा

-सडक नाटक अभियान

-रङ्गमञ्चमा मल्टिमिडियाको प्रयोग

-कथा, कविता, निबन्ध मञ्चन

-सामूहिक रङ्गकर्मको अवधारणा र विकास

-रङ्गमञ्चमा सङ्केत नाटकको थालनी

-लीला प्रविधियुक्त तथा पात्र-प्रतिक्रियात्मक नाटक

-कचहरी नाटक

यसैगरी डिजिटल प्रविधिलाई आत्मसात् गर्दै क्यामेरा, टेलिभिजन, स्त्रिmन आदिलाई रङ्गमञ्चमा प्रत्यक्ष प्रयोग गरिने काम अर्थात् मल्टिमिडियाको प्रयोग साठीको दशकमा आएर प्रशस्त भएका छन्। साथसाथै राजधानीभित्र र बाहिरका विभिन्न नाट्य संस्थाले कथा, कविता तथा निबन्धको समेत मञ्चन गरेर नाटकलाई अरू विधासँग समेत डोर्‍याएको छ। विभिन्न नाट्य संस्थाहरू एकै थलोमा रहेर काम गर्ने अवधारणाको समेत पछिल्लो समयमा आएर केही विकास भएको छ। यसले एकअर्काका कामलाई हेर्ने र मूल्याङ्कन गर्ने परिपाटीसमेत बसालेको छ। नेपाली रङ्गमञ्चमा पचासको दशकमा बहिराहरूको साङ्केतिक भाषाको प्रयोग गरी सङ्केत नाटकको समेत थालनी -कृष्ण शाह यात्री/'मान्छे-मान्छेहरू') भएको देखिन्छ। लीला प्रविधियुक्त नाटकको समेत पछिल्लो समयमा मञ्चन हुन थालेका छन्। पात्र र लेखकबीचको द्वन्द्वलाई यस्ता नाटकले मूल विषय बनाएको हुन्छ। यसैगरी नेपाली रङ्गमञ्चमा कचहरी नाटक पछिल्लो उपलब्धिका रूपमा देखिएको छ। ब्राजिलका रङ्गकर्मी अगस्टो बोयलोले प्रतिपादन गरेको फोरम थियटरको शैलीलाई सुनिल पोखरेलले 'कचहरी नाटक' नाम दिएर नेपाली रङ्गमञ्चमा भित्र्याएका हुन्। यीबाहेक पनि रङ्गमञ्चमा धारावाहिक नाटक, छायाँ नाटक, बाल नाटक, आँसु नाटक आदि विविध किसिमका नाटकहरू हुने गरेका छन्। यी भिन्न प्रवृत्तिका नाटक र रङ्गमञ्चीय प्रयोगले नेपाली रङ्गमञ्चलाई नयाँ उचाइ दिइरहेको छ।

निष्कर्ष[सम्पादन गर्ने]

नाटक केवल साहित्यका रूपमा मात्रै सीमित छैन। दृश्य काव्यका नामले समेत चिनिने नाट्य रचनाको प्रक्रिया नाटककारले सिर्जना गरेपछि मात्रै टुङ्गदिैन। कुनै पनि नाटकले तब मात्र पूर्णता पाउँछ जब त्यो रङ्गमञ्चमा प्रस्तुत हुन्छ। अर्थात् रङ्गमञ्चमा कलाकारहरूद्वारा प्रस्तुत गरिएपछि मात्र नाटकले जीवन्तता पाउँछ। नाटकमा गीत, सङ्गीत, नृत्य, चित्र, मूर्ति आदि समस्त कला प्रकारहरूको समायोजन हुन्छ। त्यसैले पनि यो एक शक्तिशाली माध्यमका रूपमा समेत परिचित छ। अतः नाटक भन्नाले यसको आलेख मात्र नभई रङ्गमञ्चीय पक्षको पनि चर्चा हुन आवश्यक छ। नेपाली नाटकको तुलनामा रङ्गमञ्चका बारेमा निक्कै कम्ती लेखिएका छन्।

समग्रमा भन्नुपर्दा, पूर्वीय नाट्य क्षेत्रमा भरतमुनिको नाट्यशास्त्रदेखि सुरू भएको हो नाटकको उद्भवकथा। नेपाली पृष्ठभूमि खोतल्दा किराँत, लिच्छवी र मल्लकालका डबली तथा लोक नाटकहरूदेखि नै यसका धेरथोर अभिलेखहरू भेटिन्छन्। अनुवाद परम्पराबाट सुरू भएको नेपाली नाटकको माध्यमिक काललाई मोतिरामले नयाँ युगमा प्रवेश गराए। थपमा पहलमानसिंह स्वाँरले नेपाली नाटकमा मौलिकताको विजारोपण गरे। समले आधुनिक नेपाली नाटक र रङ्गमञ्चको ढोका मात्र खोलेनन्, नेपाली नाटकलाई शिखरसम्म पुर्‍याउने काम समेत गरे। त्यसमा गोपालप्रसाद रिमालले यथार्थवादी रङ थपे भने गोविन्द मल्ल गोठाले र विजय मल्लले मनोविश्लेषणात्मक दृष्टि दिएर नाटक र रङ्गमञ्चलाई सबल तुल्याए।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्क[सम्पादन गर्ने]