नेपाली चलचित्र का विदेशी नायिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


"काठमाडौं" शीर्षकको एउटा नेपाली चलचित्र धेरै कारणले चर्चित भयो। तीमध्ये एउटा कारण भनेको यसमा अभिनय गर्ने अमेरिकी नागरिक रिया मर्फी पनि हुन्। अमेरिकामा केही टेलिशृङ्खलामा समेत अभिनय गरिसकेकी मर्फीले "काठमाडौं" चलचित्रमा नायक आकाश अधिकारीका जोडी भएर अभिनय गरेकी छन्। निर्देशक रविराज अर्यालको चलचित्र "स्वीकार"मा पनि कार्ला बत्रकी नाम गरेकी एउटी अमेरिकी नागरिकले प्रमुख भूमिका निर्वाह गरेकी थिइन्। नयाँ चलचित्रका यी उदाहरणबाहेक नेपाली चलचित्रको इतिहास खोतल्ने हो भने "माइतीघर" त्यस्तो चलचित्र हो, जसमा भारतीय चलचित्र जगत्मा त्यतिबेलाकी ख्यातिप्राप्त मानिएकी नायिका माला सिन्हाले प्रमुख नायिकाको भूमिका निर्वाह गरेकी थिइन्। विक्रम सम्वत् २०२३मा प्रदर्शित यो चलचित्रपछि अभिनेत्री माला सिन्हाले सोही चलचित्रका नायक सीपी लोहनीसित विवाह गरिन्। तर, उनले त्यसपछि अरू कुनै नेपाली चलचित्रमा अभिनय गरिनन्।

माला सिन्हालाई चलचित्र "चिनो"मा भुवन केसी र शिव श्रेष्ठकी आमाको भूमिका खेल्न प्र्रस्ताव राखिएको थियो। भनिन्छ- उनले खेल्ने इच्छा पनि प्रकट गरेकी थिइन्। तर, पछि त्यो भूमिकामा सुभद्रा अधिकारीले अभिनय गरिन्। सुभद्रा अधिकारीले नै शीर्षभूमिका निर्वाह गरेको "भाउजू" चलचित्रका लागि पनि माला सिन्हालाई अनुरोध गरिएको थियो। तर, कुरा मिलेन ।

त्यसैगरी एक समय नेपालमा स्वदेशी तथा विदेशीको संयुक्त लगानीमा केही चलचित्र बनेका थिए । ती चलचित्र नेपाली र विदेशी दुवै भाषामा बन्ने गरेका थिए । त्यस्ता चलचित्रमा पनि विदेशी नायिकाले नेपाली चलचित्रमा काम गरेका छन्। ती चलचित्रमध्येको चलचित्र हो "हामी एक हौँ" । यस चलचित्रमा हिन्दी चलचित्रका अभिनेत्री सल्मा आगाले पनि अभिनय गरेकी थिइन्। त्यस्तै पाकिस्तान र नेपालको संयुक्त लगानीमा बनेका चलचित्रमा पनि विदेशी कलाकारको संलग्नता रहेको थियो। त्यस्तै, भारतसँगको संयुक्त लगानीमा बनेको चलचित्र "पन्चवटी"मा भारतकी ख्यातिप्राप्त अभिनेत्री दीप्ति नवलले पनि अभिनय गरेकी थिइन्।

नेपाली चलचित्रमा विदेशी नायिका बढी मात्रामा प्रवेश गराउने श्रेय अग्रज चलचित्रकर्मी तुलसी घिमिरेलाई जान्छ । उनको निर्देशनमा बनेको पहिलो चलचित्र "बाँसुरी"की नायिका रजनी शर्मा भारतीय नागरिक हुन्। त्यतिमात्र नभई उनी हिन्दी र बङ्गाली चलचित्रमा अभिनय गरिसकेकी नायिका हुन्। रजनी शर्माले पछि प्रताप सुब्बाको "मसाल"मा पनि काम गरिन्। विदेशी भूमिबाट नेपाली चलचित्रमा प्रवेश गरेका नायिकामध्ये धेरैको यात्रा दोस्रो चलचित्रसम्म पुगेको देखिँदैन । तुलसी घिमिरेकै "दुई थोपा आँसु"की नायिका अनुराधा सावन्त अनि "अन्याय"की मीरा माधुरीलाई पनि यसको उदाहरणका रूपमा लिन सकिन्छ । भारतीय चलचित्रमा अभिनय गरिसकेका यी नायिकामध्ये रजनी शर्माको बालिका बधु, अनुराधा सावन्तको सच र मीरा माधुरीको केही हिन्दी चलचित्र प्रकाशमा आइसकेको थियो। यसरी नै "चाँदनी सिम्पित जा" नामक मराठी र "गोदाम" नामक हिन्दी चलचित्रमा अभिनय गरिसकेपछि नेपाली चलचित्रमा प्रवेश गरेकी तृप्ति नाडकरले भने कुसुमेरुमाल, सम्झना, साइनो, कोसेलीलाहुरे गरी पाँच चलचित्रमा नायिकाको भूमिका निर्वाह गरेर नेपाली चलचित्रप्रति आफ्नो मोह प्रदर्शन गरिन्। त्यसपछि उदितनारायण झाको संग्लग्नतामा निर्माण भएको "पिरती"मा नायिकाको भूमिका प्रस्ताव राख्दा आफू गर्भवती भएकाले तृप्तिले सो चलचित्र खेल्न पाएनन्। त्यसपछि करिब बीस वर्षजति घरगृहस्थी सम्हाल्नमै व्यस्त तृप्तिले करिब सात वर्षजति अगाडि "आमाको काख"बाट चरित्र अभिनेत्रीका रूपमा आफ्नो अभिनययात्रा फेरि थालिन्।

यसरी विदेशबाट आएका नायिकामध्ये तृप्ति नाडकरले मात्रै नेपाली चलचित्र जगत्लाई आफ्नो कर्मभूमिका रूपमा अँगालेको देखिन्छ । नेपाली चलचित्रमा विशेषगरी भारतमा रहँदै आएका नेपाली कलाकारले अभिनय गर्ने गरेका छन््। तीमध्ये सिक्किमबाट आएका रुष्मा राई र रन्जु लामिछाने केही समयसम्म नेपालको रङ्गकर्ममा व्यस्त बनेका अभिनेत्रीहरू हुन् भने अभिनेता भुवन केसीकी पूर्वपत्नी सुस्मिता केसी पनि भारतबाटै आएकी हुन्। यसरी भारतबाट आएकी नेपाली अभिनेत्री डली थापा पनि हुन्। निर्देशक बीएस थापाकी छोरी थापाले "दक्षिणा"मा नायिकाका रूपमा अभिनय गरेकी थिइन् भने यस चलचित्रका निर्देशक पनि तुलसी घिमिरे नै हुन्। "दक्षिणा"बाटै नेपाली चलचित्र आकाशमा उदाएकी निरुता सिंहले यति धेरै नेपाली चलचित्र खेलेकी छन् कि लेखेर साध्य हुँदैन । भारतीय भूमिबाटै आएकी भए पनि उनलाई नेपाली नै भन्नेहरू धेरै छन्। तुलसी घिमिरेकी धर्मपत्नी भारती गजमेर पनि भारतीय भूमिकै नेपाली हुन्। घिमिरेले पनि "कोसेली"लगायत केही चलचित्रमा नायिकाका रूपमा अभिनय गरेकी छन्। त्यस्तै, भारतीयमूलकै अर्की एक नायिका हुन्- सोनिया मल्ल । उनले पनि नेपाली चलचित्र "पाकेटमार"मा नायिकाका रूपमा काम गरेकी थिइन्।

"जन्म-जन्म" शीर्षकको चलचित्रमा अभिनेता धीरेन शाक्यसँग नायिका भई अभिनय गरेकी श्वेता गौतम पनि भारतीय नागरिक नै हुन्। यस्तैगरी, भोजपुरी र नेपाली गरी दुई भाषामा बनेको "त्रिनेत्र"मा अभिनय गर्ने नायिका श्वेता तिवारी त धेरै हिन्दी टेलिशृङ्खला र चलचित्रमा अभिनय गरिसकेकी अभिनेत्री हुन्। तिवारी विशेषगरी हिन्दी धारावाहिक "कसौटी जिन्दगीकी"मा प्रेरणाका रूपमा चिनिन्छिन्।

नेपालमा अभिनय गर्नेहरूको अभाव भएकाले भारतबाट कलाकार आयात गरिएको नभए पनि कसैले आकर्षणका लागि त कसैले भूमिकाको मागअनुसार विदेशी नायिका आफ्नो चलचित्रमा राखेको बताउने गरेका छन्। केही हिन्दी चलचित्रमा अभिनय गसिकेकी मोनिका वेदीलाई पनि "परिचय" शीर्षकको नेपाली चलचित्रमा नायिकाका रूपमा खेलाउनु र प्रीटि झिँगयानीलाई "हाम्रो मिलन कहिले हुन्छ"को एउटा गीतको नृत्यमा प्रस्तुत गर्नुको प्रमुख कारण भनेको आकर्षणका लागि मात्र हो। अन्यथा त्यो भूमिकामा नेपालका कुनै पनि अभिनेत्रीले अभिनय गर्दा पनि केही फरक पर्ने दखिँदैन ।

  • [१]-नेपाली चलचित्र विदेशी नायिका:मीना बज्राचार्य

नेपाली चलचित्र