नेपाली साहित्यको इतिहास

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
Aadikavi Bhanubhakta Acharya
Laxmi prasad devkota 2

नेपाली साहित्यको इतिहास भन्नाले नेपाली भाषामा लेखिएका साहित्यिक रचनाहरुको विकास क्रम, ती सँग विकास भएका लेखन शैली, तरिकाहरु हुन् ।

विषयसूची

साहित्य: शब्द परिचय[सम्पादन गर्ने]

वर्तमान समयमा साहित्य शब्दले जुन अर्थ व्यक्त गर्दछ त्यसको पर्यायका रूपमा पूर्वीय र पाश्चात्य दुबै जगत्मा काव्य शब्द प्रयोग हुने गरेको कुरा साहित्यशास्त्रको ऐतिहासिक विकासक्रमबाट थाहा पाइन्छ। संस्कृत :शब्दको 'वर्णन गर्ने' भन्ने अर्थ बोकेको कवृ धातुबाट काव्य शब्दको व्युत्पत्ति भएको मानिन्छ। पहिले पहिले व्यापक अर्थमा काव्य शब्दको प्रयोग हुँदै आएकोमा धेरै पछि मात्र साहित्य शब्दको प्रयोग भएको पाइन्छ। :पूर्वीय साहित्य शास्त्रमा साहित्यको छुट्टै परिभाषा पाइदैन। काव्यको परिभाषाभित्र नै साहित्यको परिभाषा सन्निहित रहेको पाइन्छ।

पूर्वीय आचार्यहरूले काव्य (साहित्य)लाई विभिन्न अर्थमा लिएका छन् -
शब्द र अर्थको सहभाव काव्य हो (शब्दार्थौ सहितौ काव्यम्...)।
इष्ट अर्थले युक्त पदावली काव्यको शरीर हो (शरीरं तावदिष्टार्थ व्यवच्छिन्ना पदावली)।
काव्यको आत्मा रीति हो (रीतिरात्मा काव्यस्य)।
शब्द र अर्थ नै काव्य हो (ननु शब्दार्थौ काव्यम्...)।
काव्यको आत्मा ध्वनि हो (काव्यस्यात्मा ध्वनिरिति बुधैर्यः ...)।
शब्द र अर्थको सहभावयुक्त, वक्रोक्ति भएको, काव्यज्ञातालाई आनन्द दिने व्यवस्थित रचना (बन्ध) काव्य हो
(शब्दार्थ सहितौ वक्रकविव्यापारशालिनी
बन्धे व्यवस्थितौ काव्यं तद्विदाह्लादकारिणी)।
शब्द र अर्थको समुचित सहभाव साहित्य विद्या हो (शब्दार्थयोर्यथावत्सहभावेन विद्या साहित्य विद्या)।
रसात्मक वाक्य काव्य हो (वाक्यं रसात्मकं काव्यम्)
रमणीय अर्थ प्रतिपादन गर्ने शब्द काव्य हो (रमणीयार्थप्रतिपादकः शब्दः काव्यम्)
पश्चिमी विद्वान् विलियम जे. लङ्गले साहित्यलाई यसरी परिभाषित गरेका छन्-

साहित्येतिहास परिचय[सम्पादन गर्ने]

साहित्येतिहास पनि मूलतः इतिहास नै भएको हुनाले यसको परिभाषा पनि इतिहासको जस्तै हुन्छ। इ.एच.कार., आर.जी.कलिङउड, एरिक कहलर, ह्यारी रिटर आदि विद्वानले दिएको परिभाषालाई संश्लेषण गर्ने हो भने :साहित्य इतिहासलाई समाजिक-साँस्कृतिक मूल्यहरूका कालजन्य तथ्यहरूको शृङ्खलाबद्ध अनुसन्धान परिणाम मान्न सकिन्छ, अर्थात् सामान्य इतिहास मानिसका अतीतको कथा हो भने साहित्य इतिहास साहित्यकारको :सांस्कृतिक चिन्तनबाट प्राप्त कृतिका समाजिक प्रभावहरूको शृङ्खलाबद्ध कथा हो। यसमा पनि तथ्यप्रति नै आग्रह हुन्छ, जुन तथ्यहरू साहित्यिक मान्यताद्वारा सत्यापित हुन्छन् र विभिन्न सन्दर्भमा स्वीकार्य हुन्छन्।[१]
काल विभाजनलाई इतिहास लेखनकलाको अनिवार्य शर्त मानिएकाले साहित्यका इतिहासकारहरूको ध्यान यसतिर आकर्षित भएको देखिन्छ; तर प्रत्येक इतिहासकारको दृष्टिकोण आआफ्नै किसिमको छ र प्रत्येक :इतिहासकारलाई एउटा निश्चित मापदण्ड अनुसार हेर्ने गरेको पाइन्छ।
२००३को आसपासदेखि अद्यावधि भए गरेका काल विभाजनका प्रकृति र स्वरूपको पर्यवेक्षणबाट स्पष्टतः के देखिन्छ भने नेपाली साहित्यको आद्यन्त तस्विर प्रक्षेपण गर्ने प्रयास प्रत्येक साहित्यकारबाट भएको पाइए पनि :अधिकांशले कविताकाव्य विधामा मात्र अफुलाई केन्द्रित गरी लेख्ने गरेको पाइएको छ। यसरी साहित्य इतिहासको काल विभाजन गर्दा इतिहासको अखण्ड रूपलाई विभिन्न काल खण्डमा विभाजन गरी साहित्यका सबै विधाप्रति :निर्वैयक्तिक अवधारणा राखेर निष्पक्षता प्रदर्शन गर्नु समीचीन ठहर्छ। काल विभाजन गर्दा साहित्यका सबै विधाप्रति समान न्याय प्रदर्शन गर्नुका साथै एक एक काल रेखाभित्र समग्र इतिहास प्रक्षेपण गर्नु पर्छ। यसो हुन :नसकेका कारण नेपाली साहित्यको कालविभाजनमा अनेक मतमतान्तर देखिएका छन्।[२] कालविभाजनका केही मतमतान्तर यसप्रकार रहेका छन् -
क्र.सं. लेखकको नाम पुस्तकको नाम कालविभाजन (कोटि १) कालविभाजन (कोटि २) कालविभाजन(कोटि ३) कालविभाजन (कोटि ४) कालविभाजन (कोटि ५)
यज्ञराज सत्याल नेपाली साहात्यको भूमिका (२०१७) प्राथमिक काल (१९औँ शताब्दीदेखि) माध्यमिक काल (१९६० देखिं) आधुनिक काल (१९७४ देखि)
डिल्लीराम तिम्सिनामाधव भँडारी हाम्रो साहित्य र साहित्यकारहरू (२०१८) प्राथमिक काल ( सुवानन्ददेखि रघुनाथ भट्टसम्म) उत्थान काल (भानुभक्तदेखि) विकास काल (मोतीरामदेखि) आधुनिक काल (शारदा पत्रिका तथा लेखनाथदेखि)
ईश्वर बराल ने.सा.को कालविभाजन (रूपरेखा-५३,२०२२) प्रथमिक काल (१८३३-१९४०) माध्यमिक काल (१९४१-१९८५) आधुनिक काल (१९८६-२००७) प्रजातन्त्र काल (२००७-२०१८) पञ्चायत काल (२०१८ देखि यता)
बालकृष्ण पोखरेल राष्ट्र भाषा (२०२२) आरम्भिक काल (सं.१३७८-१८००) उत्थान काल (१८००-१९४०) विकास काल (१९४० उपरान्त)
तारानाथ शर्मा नेपाली साहित्यको इतिहास (२०२७) भानुभक्तपूर्व युग (प्रारम्भ-१८७१) भानुभक्त युग (१८७२-१९३९) मोतीराम युग (१९४०-१९७६) क्रन्तिपूर्व युग (१९७७-२००७) क्रान्ति उत्तरयुग (२००७ देखि यता)
रत्नध्वज जोशी नेपाली साहित्यमा काल विभाजन (प्रज्ञा ५,२०१८) अज्ञात काल/आदि काल (भानुभक्त पूर्व) मध्यकाल (भानुभक्तदेखि लेखनाथसम्म) आधुनिक काल (बालकृष्ण समदेखि यता)
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान इतिहास लेखन परियोजना (२०२९) प्राचीन काल (प्रागैतिहासिक-एकीकरणपूर्व) प्राथमिक काल (वीरधारा र भक्तिधारा) माध्यमिक काल (शृङ्गारिक धारा) आधुनिक काल (लेखनाथदेखि)
बालचन्द्र शर्मा नेपाली साहित्यको इतिहास (२०३९) उत्पत्ति काल (हाम्रो साहित्यको भावात्मक परम्परा) प्रयोग काल (हाम्रो साहित्य प्रारम्भिक प्रवृत्ति) पूर्वमध्य काल (भानुभक्त आचार्य) मध्य काल (मुद्रण, प्रचार र विस्तारको युग) आधुनिक काल (चक्रपाणि,लेखनाथ र लक्ष्मीप्रसादको युग)
घनश्याम नेपाल नेपाली साहित्यको परिचयात्मक इतिहास (र्इ१९९१) प्रस्तावना/स्तवन काल (सन्९८१-१७५०/सन्१७५०-१८८२) शृङ्गार/नीति काल (सन्१८८३-१९१७/१९१७-१९३३) रोमान्टिक काल (सन्१९३४-१९६०) प्रयोग काल (सन्१९६०-१९७४) आलोचना काल (सन्१९७४देखि यता)
१० दयाराम श्रेष्ठमोहनराज शर्मा नेपाली साहित्यको संक्षिप्त इतिहास (२०४०) आदि काल : वीरगाथा काल- (१७९९-१८७२) पूर्वमध्य काल : भक्ति काल-(१८७३-१९३९) उत्तरमध्य काल : शृङ्गार काल-(१९४०-१९७४) प्राक् आधुनिक काल : नव्य काल-(१९७५-२००७) आधुनिक काल (२००८ देखि हालसम्म)
११ केशवप्रसाद उपाध्याय नेपाली साहित्यमा काल विभाजन (२०४० : १४-१५) पूर्वप्राथमिक/उत्तरप्राथमिक काल (आदिदेखि अठारौं शताब्दीको अन्त्यसम्म) पूर्वमाध्यमिक/उत्तर माध्यमिक काल (१८८४-१९४०/१९४०-१९६०) लेखनाथ युग (१९६०-१९८५) आधुनिक काल (१९८६ यता)

नेपाली साहित्यको काल विभाजन[सम्पादन गर्ने]

नेपाली भाषाको इतिहास निकै पुरानो छ तापनि नेपाली साहित्यको इतिहास भने त्यति लामो छैन। नेपाली साहित्यको काल विभाजन सम्बन्धमा विभिन्न साहित्य इतिहासकारहरूले आ-आफ्ना धारणा राखेका छन् । उपर्युक्त तालिकाबाट सो कुरा थाहा पाउन सकिन्छ । यसरी हेर्दा अधिकांश विद्वानले निम्न लिखित त्रिकालिक अवधारणालाई अघि सारेको देखिन्छ :[३]

प्राथमिक नेपाली साहित्य[सम्पादन गर्ने]

प्राथमिक नेपाली कविता (१८२६-१९४०)[सम्पादन गर्ने]

१. वीरगाथा काल/वीरधारा (१८२६-१८७२)
सुवानन्ददासद्वारा लिखित पृथ्वीनारायण शीर्षक कवित्तबाट प्राथमिक नेपाली साहित्यको प्रारम्भ भएको देखिन्छ ।[४]सुवानन्ददासका बारेमा निश्चित जानकारी प्राप्त छैन । यिनको एउटै मात्र कविता पृथ्वीनारायण हो । कमल दीक्षितले सबभन्दा पहिला यसलाई प्रकाशमा ल्याएको पाइन्छ । नेपाली भाषामा पहिलो हुने सौभाग्य पाएको प्रस्तुत कवितामा ध्वनितात्त्विक विशेषताहरूको पनि सनावेश देखिन्छ । शक्तिवल्लभ अर्याल यस कालका अर्का कवि हुन् । यिनी पृथ्वीनारायण शाहका राजपुरोहित थिए भन्ने भनाइ छ । यिनले तनहु भकुन्डो भन्ने कविताको रचना गरेको पाइन्छ । यसबाहेक यिनले हास्यकदम्ब (१८५५) नाटकको नेपालीमा अनुवाद गर्नुका साथै अन्य फुटकर कविता पनि रचना गरेको पाइन्छ । यिनले आफूलाई संस्कृतमा हास्यकदम्बजयरत्नाकर नाटकका साथै अन्य धेरै रचनाका रचनाकार मानेका छन् । [५] शक्तिवल्लभ अर्यालबाहेक अन्य कविका कृतिहरूमा उदयानन्द अर्यालको पृथ्वीन्द्रोदय काव्य, सुन्दरानन्द बाँडाको बहादुरशाह वर्णनम् राधावल्लभ अर्यालको साँढ्याको कवित्त आदि रहेका देखिन्छन् । विक्रम सम्वत१७९९ देखि १८७२ सम्मको समयलाई वीरगाथा काल मानिन्छ ।

२. भक्तिकाल/भक्तिधारा (१८७३-१९४०)
प्राथमिक नेपाली साहित्यको प्रारम्भमा स्मृतिकाव्यले विशिष्ट स्थान लिएको देखिन्छ भने परवर्ती समयमा भक्तिकाव्यको वर्चस्व रहेको पाइन्छ । यस कालमा दुई‍ वटा धाराले अग्र गति लिएका छन् -सगुणभक्ति धारा (कृष्णभक्ति धारा र रामभक्ति धारा) र निर्गुणभक्तिधारा । कृष्णभक्ति धाराका कविहरूमा इन्दिरस, विद्यारण्यकेशरी अर्याल, वसन्त शर्मा,यदुनाथ पोखर्याल, रघुनाथ भट्ट पोखर्याल, पतञ्जली गजुर्याल, रहेका देखिन्छन् भने रामभक्ति धाराका कविहरूमध्ये भानुभक्त आचार्य नै सर्वप्रमुख रहेका पाइन्छन् । उनी अत्याधिक प्रतिभाशाली र मौलिकतावादी कवि भएकाले जनताको रित्तो पोल्टामा रामायण जस्तो गहकिलो र गुनिलो सामल हालिदिन समर्थ भएका हुन् । भानुभक्तले समाजको आवश्यकतालाई बुझेर अभिव्यक्ति दिन जानेका छन् भने समाजले पनि कृतज्ञ भावले रचना र रचनाकार दुबैलाई बुझेर हृदयमा राख्न जानेका छन् । [६] त्यसै गरी निर्गुण भक्ति धाराका कविहरूमा उदय लहरीका रचयिता ज्ञानदिल दासको नाम अग्र स्थानमा रहेको दृष्टिगत गर्न सकिन्छ । १७७३ देखि १९३९ सम्मको समयलाई भक्तिकाल मानिन्छ ।

प्राथमिक नेपाली कथा (१८२७-१९५७)[सम्पादन गर्ने]


विक्रम सम्वत(१८२७ देखि १९५७ सम्मको समयावधिलाई नेपाली कथाको प्राथमिक काल भनिन्छ । अहिलेसम्मको खोज अनुसन्धानका आधारमा शक्तिवल्लभ अर्यालद्वारा लिखित महाभारत विराट पर्व (१८२७) नेपाली साहित्यको पहिलो आख्यानात्मक कृति हो । यसपछि देखापरेका अन्य कृतिहरू भानुदत्तको हितोपदेश मित्रलाभको अनुवाद (सं.१८३२), शक्तिवल्लभ अर्यालको संस्कृत नाटकको अनुवाद हास्यकदम्ब (१८८५), अज्ञात व्यक्तिद्वारा लिखित दशकुमारचरित १८७५) आदि रहेका पाइन्छन् । कथातत्त्वका दृष्टिले पीनासको कथा (सं.१९७२)लाई पहिलो नेपाली कथा मानिएको छ ।[७] पीनासको कथापछि मुन्शीका तीन आहान (सं.१८७७), बहत्तर सुगाको कथा (१८९०), सत्तलसेनको कथा आदि यसकालका उल्लेख्य कृति मानिन्छन् । त्यसपछि लगभग ८० वर्षसम्म नेपाली कथामा कुनै कलम चलेको पाइँदैन । सं.१९५८ सालमा गोरखापत्रको प्रकाशन प्रारम्भ हुन थालेपछि मात्र नेपाली कथामा चहलपहल हुन थालेको देखिन्छ ।[८]

प्राथमिक कालका केही प्रमुख प्रवृत्तिहरू

  • संस्कृतका शास्त्रीय कथाका साथै अन्य भाषाका लाेकप्रिय अाख्यानलार्इ नेपालीमा अनुवाद गरी कथात्मक रचनाकाे सिर्जना गरिएकाले माैलिकताकाे अभाव रहनु,
  • अादर्श, उपदेश, भर्म र नीतिशास्त्रका साथै मनाेरञ्जन दिने मुख्य उद्देश्यले यस्ता रचनाहरूकाे सिर्जना गरिएकाे ले रामायण, महाभारत, हिताेपदेश, बेतालपच्चीसी, बहत्तर सुगा जस्ता ग्रन्थतर्फ बढी अाकर्षित हुनु,
  • घटना र पात्रहरूकाे बाहुल्य हुनु,
  • रहस्य र अलाैकिक शक्तिकाे अाग्रह,
  • मानवेतर शक्तिकाे उपस्थापन,
  • गद्यमा पद्यलार्इ पनि मिसाउनु,
  • भाग्यवादकाे सर्वाेपरिता,
  • कथामा रचना विधानकाे पुरै बेवास्ता,
  • कथाका घटकमा सन्तुलन एवम् कलात्मकता तथा चरित्र चित्रणमा जीवन्तताकाे अभाव ।

प्राथमिक नेपाली उपन्यास (१८२७-१९४५)[सम्पादन गर्ने]


नेपाली उपन्यासको इतिहासलाई हेर्दा विक्रम सम्वत१८२७ देखि १९४५ सम्मको समयावधिलाई नेपाली उपन्यासको प्राथमिक काल भनिन्छ । यो नेपाली उपन्यासको पृष्ठभूमि काल पनि हो । यसरी प्राथमिक कालीन नेपाली उपन्यासको इतिहासलाई हेर्दा शक्तिवल्लभ अर्यालको महाभारत विराटपर्व (१८२७) नेपाली उपन्यासको सर्वप्रथम प्रारम्भ विन्दु ठहरिएको छ । यसपछि भानुदत्तको हितोपदेश मित्रलाभको अनुवाद (सं.१८३३), शक्तिवल्लभ अर्यालको हास्यकदम्ब (१८५५), बेनामे लेखकको पिनासको कथा (१८७२), बेनामे लेखकको दशकुमारचरित(सं.१८७५),अज्ञात लेखकको स्वस्थानी व्रतकथा (१८७८), अज्ञात लेखकको बहत्तर सुगाको कथा १८९३), सुन्दरानन्द बाँडाको अध्यात्म रामायण (१८९६ तिर), जस्ता कृतिहरू रहेका पाइन्छन् । उपर्युक्त कृतिहरू आख्यानात्मक भए पनि पूर्ण रूपेण उपन्यास नभएर उपन्यासका पूर्वरूप मात्र भएको देखिन्छ ।

यस कालका प्रमुख विशेषताहरू

  • उपन्यास र कथाबिच विधागत स्पष्टता नदेखिनु,
  • नैतिक अाैपदेशिकतामा केन्द्रित रहनु,
  • समाज सुधारकाे चाहना रहनु,
  • अनुवादमा केन्द्रित रहनु,
  • उपजीव्य ग्रन्थ (रामायण र महाभारत) बाट विषयवस्तुकाे चयन गरिनु,
  • धमर्मिक क्रियाकलापबाट पारलाैकिक सुधारकाे अपेक्षा राख्नु,
  • घटनाप्रधान अाख्यानलार्इ बढी महत्त्व दिनु,

वर्णनमा साहसिकता, कुतूहलता, स्वच्छन्द प्रेम तथा अाश्चर्यजनक अाद्भतिकताकाे साङ्केतिक अभिव्यक्ति दिनु ।

प्राथमिक नेपाली निबन्ध (१८३१-१९५७)[सम्पादन गर्ने]


विभिन्न साहित्य इतिहासकारहरूका भनाइलाई सूत्रबद्ध गर्दा विक्रम सम्वत१८३१ (पृथ्वीनारायण शाहको दिव्योपदेश) देखि १९५७ सम्मको समयावधिलाई नेपाली निबन्धको प्राथमिक काल मान्न सकिन्छ । विधागत हिसाबले पृथ्वीनारायण शाहको दिव्योपदेश आजका आधुनिक निबन्धभन्दा लामो आत्मपरक आत्मजीवनीको छनक दिने खालको छ । योकृति प्राथमिक नेपाली गद्य साहित्यका इतिहासको एउटा महत्त्वपूर्ण कोसे ढुङ्गाका रूपमा रहेको देखिन्छ । यस समयका निम्ति निबन्धको गद्य शैली निर्मित भएको पाइन्छ । सो अवधिका निबन्धहरूमा कलापक्ष भन्दा औपदेशिक सोद्देश्यता बढि मुखरित भएको पाइन्छ ।

प्राथमिक नेपाली नाटक (१८५५-१९४३)[सम्पादन गर्ने]

विक्रम सम्वत१८५५ देखि विक्रम सम्वत १९४३ सालसम्मको समयावधिलाई नेपाली साहित्यको प्राथमिक काल भनिन्छ । शक्तिवल्लभ अर्यालद्वारा संस्कृतबाट नेपालीमा अनूदित हास्यकदम्ब(१८५५) नाटकलाई नेपाली नाटकको प्रारम्भ विन्दु मानिएको छ । यस नाटकमा चरित्र, अभिनय, सम्बादजस्ता नाटकीय तत्त्वको उपस्थिति रहेको पाइन्छ । यसपछिको अर्को अनूदित कृतिमा भवानीदत्त पाण्डेको मुद्राराक्षस (१८९२ तिर) रहेको देखिन्छ । नेपाली नाटकको प्रारूप निर्माणका लागि यी कृतिहरू महत्त्वपूर्ण मानिन्छन् । यो समयावधि नेपाली भाषामा नाटक अनुवादको थालनीका रूपमा परिचित छ ।

माध्यमिक नेपाली साहित्य[सम्पादन गर्ने]

यस काललाई मोतीराम युगले पनि चिन्न सकिन्छ ।

माध्यमिक नेपाली कविता (१९४१-१९७४)[सम्पादन गर्ने]


विस.सं.१९४० देखि नेपाली कविता साहित्यको माध्यमिक काल प्रारम्भ भएको पाइन्छ भने यसै कालमा शृङ्गारिक धाराको उदय र चरमोत्कर्ष भएको देखिन्छ । यस कालका प्रतिनीधि कवि मोतीराम भट्ट (१९३३-१९५३) हुन् । अङ्ग्रेजी शिक्षा प्राप्त कवि मोतीराम भट्टले नेपालीमा गजलको श्रीगणेश गरेर नेपाली कवितामा शृङ्गारको परम्परा बसालेका हुन् । समस्यापूर्तिको चलन चलाएर यिनले नेपाली साहित्यका निम्ति उपयुक्त प्रेरक वातावरणको सिर्जना गरेको देखिन्छ । एउटा काँधमा गद्य साहित्य र अर्को काँधमा पद्य साहित्यलाई बोकेर हिड्ने एउटै मोतीराम प्रकाशक, पत्रकार, नाटककार, जीवनी लेखक, समालोचक, कवि र भाषासेवी पनि हुन् । प्राथमिक कालमा मूलतः पद्य साहित्यको वर्चस्व रहेको पाइन्छ भने माध्यमिक कालमा गद्य र पद्य दुवैको सन्तुलित विकास भएको देखिन्छ । नेपाल एकीकरणको आरम्भदेखि मोतीराम भट्टको उदयकालसम्म १३८ षर्षको अन्तरालमा निकै गद्य कृतिहरू फेला परेका छन्, तर गद्य फाँटका साहित्य विधाहरू फस्टाएको चाहिं मोतीरामकै पालादेखि हो । [९]

माध्यमिक नेपाली कथा (१९५८-१९९१)[सम्पादन गर्ने]


विक्रम सम्वत१८७२ देखि १९९० सम्मको समयावधिलाई नेपाली कथा साहित्यको माध्यमिक काल भनिन्छ । आजसम्मको खोज अनुसन्धान अनुसार पिनासको कथा (विक्रम सम्वत१८७२) नै पहिलो नेपाली कथा ठहरिएको छ । यो कथा संस्कृतको पीनासरोगहरणोपाख्यान को नेपाली अनुवाद हो [१०]। यसको अनुवादक अझै अज्ञात नै छ । यसपछि दशकुमारचरित (१८७५) र मुन्सीका तीन आहान (१८७७) छापिएको देखिन्छ । यसपछिका कथाहरूमा स्वस्थानी व्रतकथा (१८७८), महाभारत गदापर्व (१८८६), महाभारत आदिपर्व (१८८९), रामाश्वमेध (१८९० अघि), दशकुमारचरित (१९९३), बहत्तर सुधाको कथा (१८८०—१८९०), बेतालपञ्चविंशतितन्त्राख्यान १८९३), लङ्काकाण्ड (१८९६) आदि प्रमुख रहेका छन् । उपर्युक्तबाहेक वि.सं १९५८ देखि प्रकाशित हुनथालेको गोरखापत्रले कथाको इतिहासमा महत्त्वपूर्ण योगदान गरेको पाइन्छ । सुरुदेखि १९९० सम्ममा यसले चालीसभन्दा बढी नेपाली कथाहरू प्रकाशित गरेको देखिन्छ । गोरखापत्रपछि देहरादूनबाट प्रकाशित गोर्खा संसार (१९८३) ले पनि नेपाली कथा साहित्यको उत्थानमा महत्त्वपूर्ण योगदान गरेको पाइन्छ ।

माध्यमिक नेपाली उपन्यास (१९४६-१९९०)[सम्पादन गर्ने]


शिवदत्त शर्माको वीरसिक्का (१९४६)बाट नेपाली उपन्यासको माध्यमिक काल सुरू भएको देखिन्छ । यस कृतिमा आख्यानगत विशेषताहरू निकै रहेका पाइन्छन् । वीरसिक्कापछि प्रेमसागर, बेतालपच्चिसी, बहत्तर सुधाको कथा, नलोपाख्यान, विदुला-पुत्र संवाद जस्ता कृतिहरु आएका देखिन्छन् । यी कृतिहरू मूल संस्कृतबाट नेपालीमा अनुवाद गरिएका हुन् । संस्कृतको प्रभाव परेका यसपछि आएका कृतिहरूमा रामप्रसाद शर्माको गायक चरित्र,र महासती अनसूया, माधवप्रसाद शर्माको उषाचरित्र, नित्यानन्द सिग्द्यालको नलदमयन्ती, विष्णुचरण श्रेष्ठको भीष्म प्रतिज्ञा, ऋद्धिबहादुर मल्लको शर्मिष्ठा जस्ता कृतिहरू रहेका पाइन्छन् ।

फारसी-उर्दूका प्रभावमा परी लेखिएका केही कृतिहरूमा प्रेमयोगी, हातिमताइ, अलाउद्दिनको चिराग आदि रहेका देखिन्छन् भने सदाशिव शर्माको महेन्द्रप्रभा (सं.१९५९) पहिलो मौलिक उपन्यास मानिएको छ; तर लेखाइका दृष्टिले गिरीशवल्लभ जोशीको वीरचरित्र (१९६०)जेठो कृति ठहरिएको छ । यसपछि गोरखापत्र (१९५८),सुन्दरी (१९६३), गोर्खाली (१९७२) जस्ता पत्रिका समेतमा लगभग ९/१० वटा उपन्यासात्मक कृतिहरू प्रकाशित भएको पाइन्छ । तिनमा वीरमालोजी भोसले (१९६१)नेपालको पहिलो ऐतिहासिक उपन्यास ठहरिएको छ भने यमपञ्चक प्रपञ्च (१९६३) नेपालीको घटनायथार्थमा लेखिएको मौलिक उपन्यास ठहरिएको छ । [११]

खरसाङबाट प्रकाशित प्रतिमान लामाको महाकाल जासूस (सं.१९७५) भारतीय नेपाली साहित्य समूहको सर्वप्रथम प्रकाशित उपन्यास हो । [१२] यसपछि प्रकाशित उपन्यासमा विष्णुचरण श्रेष्ठको सुमति (१९९१) रहेको पाइन्छ । यो कृति नेपाली उपन्यासको माध्यमिक कालको अन्तिम कोशेढुङ्गो मानिन्छ ।

माध्यमिक नेपाली निबम्ध (१९५८-१९९०)[सम्पादन गर्ने]


विक्रम सम्वत १९५८ देखि १९९० सम्मको समयावधिलाई नेपाली निबन्धको माध्यमिक काल भनिन्छ । यस अवधिमा पत्रपत्रिकाकै माध्यमबाट नेपाली निबन्धलाई माध्यमिक रूप दिने काम भएको छ । यस कालमा विशेष गरी काठमाडौबाट प्रकाशित गोरखापत्र (१९५८), दार्जिलिङबाट प्रकाशित गोर्खे खबरकागत (१९५८), बनारसबाट प्रकाशित सुन्दरी(१९६३), माधवी (१९६५), चन्द्र (१७७१), गोर्खाली (१९७२) आदिको भूमिका उल्लेख्य रहेको पाइन्छ । यीबाहेक अन्थ नेपाली पत्रपत्रिकाहरूले पनि नेपाली निबन्धको विकासमा महत्त्वपूर्ण योगदान गरेको देखिन्छ । यस अवधिमा खरसाङबाट प्रकाशित चन्द्रिका (१९७४), बनारसबाट प्रकाशित जन्मभूमि (१९७२), देहरादूनबाट प्रकाशित गोर्खासंसार (१९८३) र तरुण गोर्खा (१९८५), दार्जिलिङबाट प्रकाशित साहित्यसम्मेलन (१९८९) जस्ता पत्रपत्रिकाहरू महत्त्वपूर्ण मानिन्छन् ।

उपर्युक्त पत्रपत्रिकाहरूमा निबन्ध प्रकाशित गरी माध्यमिक नेपाली निबन्धको विकासमा सहयोग पुर्याउने निबन्धकार र तिनाका निबन्धहरू यसप्रकार छन्-

  • शम्भुप्रसाद ढुङ्गेल
  1. महीन्द्रमल्ली
  2. नकारको महिमा
  3. कविताको फल
  • वेदनिधि शर्मा
  1. जातीय रोगको अचुक औषधि
  • विद्यावती
  1. तरुणतरुणी कुन्छन् ?

यसकालका निबन्धहरूले थोरै भएपनि समाजिक विकृति र विसङ्गतिप्रति टिप्पणी र तिनको निराकरणका निम्ति सन्देश दिने कार्य गरेका छनू ।

माध्यमिक नेपाली नाटक (१९४४-१९८५)[सम्पादन गर्ने]

विक्रम सम्वत १९४४ देखि १९८५ सम्मको समयावधिलाई नेपाली नाटकको माध्यमिक काल भनिन्छ । माध्यमिक नेपाली कविता र आख्यानजस्तै माध्यमिक नेपाली नाटक पनि शृङ्गारिक प्रवृत्तिकै देखिन्छन् । मोतीराम भट्टद्वारा लेखिएको पहिलो नाटक शकुन्तला (१९४४-४८) हो भने अर्को नाटक प्रियदर्शिका (१९४८) हो । उनले लेखेका छवटा नाटकहरूमा प्रियदर्शिका मात्र अहिले उपलब्ध छ । यस समयका अर्का नाटककार हुन् शम्भुप्रसाद डुङ्गेल (१९४६-१९८६) । यिनी यस समयावधिका महत्त्वपूर्ण लेखक हुन् । शकुन्तला (१९७२/७३) लगायत यिनका पाँचवटा नाटक उपलब्ध छन् । ढुङ्गेलपछिका अर्का नाटककार पहलमानसिंह स्वार (१९३५-१९९१) हुन् । माध्यमिक कालीन नाटकको इतिहासमा स्वार पनि महत्त्वपूर्ण मानिन्छन् । यिनका सातवटा उपलब्ध नाटकमध्ये अटलबहादुर (१९६२) महत्त्वपूर्ण मानिन्छ ।

====माध्यमिक नेपाली समालोचना ====

नेपाली साहित्यमा माध्यमिक काल भए तापनि समालोचनाका सन्दर्भमा चाहिँ यो समय प्रारम्भिक चरण मानिन्छ ।हरिहर अधिकारी । मोतीराम भट्ट नेपाली समालोचनाका प्रवर्तक तथा प्रथम समालोचक हुन् । कवि भानुभक्त अाचार्यको जीवनचरित्र नामक समालोचनात्मक कृतिबाट भट्टले समालोचना विधाको प्ररम्भ गरेका हुन् । उनको समालोचना मूलतः प्रभावपरक, जीवनीपरक, प्रशंसापरक देखिन्छ । भट्टपछिका अन्य समालोचकहरुमा राममणि अादी (१९३९-२०२८), र सूर्यविक्रम ज्ञवाली (१९५५-२०४२) विशेष उल्लेख्य छन् । राममणि अादीको कविता रीति शीर्षक लेख माधवी (१९६५) पत्रिकामा धारावाहिक रूपमा छापिएको पाइन्छ ।

अर्का समालोचक सूर्यविक्रम ज्ञवाली मूलतः इतिहासकार हुन् तापनि उनले नेपाली समालोचनामा महत्त्वपूर्ण योगदान गरेका छन् । उनले धरणिधर कोइरालाका नैवेद्य कवितासंग्रहमाथि नैवेद्य समालोचना (१९७९) लेखेर अाफ्नो समालोचनात्मक प्रतिभा प्रदर्शन गरेका छन् । उनका अन्य समालोचनात्मक कृतिहरूमा भानुभक्तको जीवनचरित्र (१९८४), भानुभक्तीय रामायणको भूमिका (१९९०), नेपाली साहित्यका दुई‍ नयाँ तारा (शारदा १९९३), लक्ष्मीपूजा नाटकको समीक्षा (१९९४), कथाकुसुमको सम्पादकीय भूमिका (१९९४) र दोषी चष्मा (२००६) रहेका पाइन्छन् ।

यस अवधिका अन्य समालोचनात्मक कृतिहरूमा कुलचन्द्र गौतम(१९३२-२०१५) को अलङ्कार चन्द्रोदय (१९७८), शम्भुप्रसाद ढुङ्गेल (१९४६-१९८६) को कविताको फल (१९७६), ब्रह्मशमशेर ज.ब.रा.को कवि भानुभकत (१९९५), नरेन्द्रमणि दीक्षितको युरोपीय साहित्यको नमुना (१९९५) र नरदेव पाण्डेको कविवर मोतीराम भट्टको जीवनी (१९९५) उल्लेख्य छन् ।

आधुनिक नेपाली साहित्य (१९८६ देखि अहिलेसम्म)[सम्पादन गर्ने]

आधुनिक नेपाली कविता (१९७५ देखि यता)[सम्पादन गर्ने]

१. परिष्कारवादी धारा/शास्त्रीयतावादीधारा (१९७५-१९९०)

मुख्यतः कवितामा भाषा, शैली र संरचनाका कमजोरीहरू हटार्इ त्यसको परिष्कार, भावको परिष्कार, मानवीय मनका चारित्रिक, नैतिक एवं अाध्यात्मिक चेतनाको परिष्कार परिष्कारवादी धाराका मूल प्रवृत्ति हुन् । अाधुनिक नेपाली कवितामा यस धाराको प्रारम्भ लेखनाथ पौड्यालबाट भएको हो । यस धारालाई विकसित गराउने कृतिहरूमा लेखनाथ पौडेलका ऋतुविचार (१९७३), बुद्धिविनोद (१९७३), सत्यकलि संवाद (१९७६), तरुण तपसी (२०११), मेरो राम (२०११) र सोमनाथ सिग्द्यालको अादर्श राघव (२००५), बालकृष्ण समको खण्डकाव्य अागो र पानी (२०११) तथा बालकृष्ण समका कविता (२०३८) उल्लेख्य छन् । परम्परागत शास्त्रीय छन्दहरूलाई समातेर त्यसमा थप परिष्कार र निर्माणसमेत गर्दै अघि बढेका चन्द्रप्रसाद न्यौपाने , डिल्लीरमणशर्मा अर्ज्याल, भुवनहरि सिग्देल, बलदेव गाउँले,बुनु लामिछाने,प्रल्हाद पोखरेल,घनश्याम कँडेल,देवी नेपाल,हरि खनाल, नवराज लंसाल, डा रमेशचन्द्र अधिकारी आदिको भूमिका वर्तमान समयमा ज्यादै महत्वपूर्ण देखिन्छ ।

२. स्वच्छन्दतावादी धारा (१९९१-२०१६)

स्वच्छन्दतावाद शब्द अङ्ग्रेजी (Romanticism)को नेपाली रूपान्तर हो । वैयक्तिकता, स्वच्छन्द अभिव्यक्ति, बौद्धिकताको घेराबाट मुक्ति, काल्पनिकता, भावुकता, प्रकृतिप्रेम, सौन्दर्यप्रति विशेष अाकर्षण, कृत्रिमताबाट मुक्ति अादि स्वच्छन्दतावादी धाराका प्रमुख विशेषता हुन् । अाधुनिक नेपाली कविताको विकासमा यस धाराको महत्त्वपूर्ण योगदान रहेको छ । यो परिष्कारूको विरुद्धमा अाएको अान्दोलन हो । अाधुनिक कवितामा स्वच्छन्दतावादी धाराको थालनी लक्ष्मी प्रसाद देवकोटा (१९६६-२०१६)बाट भएको देखिन्छ । देवकोटापछि सिद्धिचरण श्रेष्ठ (१९६९-२०४९) , युद्धप्रसाद मिश्र (१९६४-२०४७), माधवप्रसाद घिमिरे (१९७६), केदारमान व्यथित , गोपालप्रसाद रिमाल (१९७५-२०३०) अादि कविहरू यस धारामा सम्मिलित भएका पाइन्छन् । लक्ष्मीप्रसाद देवकोटा यस धाराका केन्द्रीय कवि हुन् ।

३. प्रयोगवादी धारा (२०१७-२०२९)

कथ्य र शिल्प दुबै दृष्टिले नवीनतम साहित्यिक अान्दोलनका रूपमा लिइने प्रयोगवाद पश्चरमी साहित्य जगतमा प्रचलित स्वच्छन्दताकादी प्रवृत्तिलाई अस्वीकार गरी वस्तुपरक ढङ्गले अघि सारिएको साहित्यिक प्रयोगको नयाँ अवधारणा हो । यो प्रयोगवादी धाराका नामबाट नेपाली साहित्यमा परिचित छ । यसधाराका कविताशरुमा विसङ्गत जीवन, निस्सार एवं शून्य अभिव्यक्ति, परम्परागत भाषा-व्याकरणको बेवास्ता दुर्बोध्य एवं विशृङ्खलित भावसंयोजन विम्ब र प्रतीकको अधिक प्रयोग अादि प्रवृत्तिगत विशेषता भेटिन्छन् । यस धाराका केन्द्रीय कवि मोहन कोइराला (१९८३-) हुन् । रूपरेखा (२०१७) पत्रिकामा यिनको घाइतेयुग प्रकाशित भएपछि यस धाराको प्रारमभ भएको पाइन्छ । कोइरालाकै लेक (२०२५), नदी किनाराका माझी (२०३८), ऋतु नियनत्रण (२०४०) जस्ता कविताशरू प्रकाशित भएपछि प्रयोगवादी धारा हघि बढेको पाइन्छ । प्रयोवादी धारा अन्तर्गत निकैवटा साहित्यिक अान्दोलनहरू भएका देखिनछन् । तिनमा अायामेली अान्दोलन (२०२०), राल्फाली अान्दोलन (२०२३), अस्वीकृत जमात (२०२६), अमलेख (२०२६), बुट पालिस (२०३१) उल्लेख्य छन् । यी अान्दोलनमा दार्जिलिङबाट थालिएको तेस्रो अायाम वा अायामेली अान्दोलन विशेष महत्त्वपूर्ण मानिन्छ । बैरागी काइँला (१९९६), ईश्वरवल्लभ (१९९४-), र इन्द्रबहादुर राई यस अान्दोलनका हस्ती हुन् । यिनमध्ये बैरागी काइँला र ईश्वरवल्लभ मात्र नेपाली कविताको प्रयोगवादी धारासँग सम्बन्धित छन् ।

यस धाराका अन्य प्रमुख कविहरूमा जगदीश शमसेर राणा (१९८६), द्वारिका श्रेष्ठ (१९९२), मोहन हिमांशु थापा (१९९३), पारिजात (१९९४-२०५०), उपेन्द्र श्रेष्ठ (१९९२), तोया गुरुङ (२००४), मदन रेग्मी (१९९४), वानिरा गिरी २००३), गोपाल पराजुली (२००४) र अन्य रहेका पाइन्छन् ।

४. समसामयिक/परवर्ती धारा (२०३० देखि यता)

आधुनिक नेपाली कथा (१९९२देखि हालसम्म)[सम्पादन गर्ने]

१. समाजिक यथार्थवादी धारा

समाजिक यथार्थवादी धाराको प्रारम्भ विक्रम सम्वत१९९२ देखि भएको हो । यस धारामा रहेर कथा लेखनको प्रारम्भ गर्ने पहिलो कथाकार गुरूप्रसाद मैनाली हुन् । उनको नासो (१९९२) कथाबाट यस धाराको प्रारम्भ भएको पाइन्छ । आदर्शोन्मुख भएर नेपाली समाजको चित्रण गर्नु, सामाजिक मूल्य र मान्यताकाे यथावत् चित्रण गर्नु, समाजमा रहेका कुप्रथा, सङ्कीर्ण रुढि तथा अन्धविश्वासकाे विराेध गर्नु, नारीवर्गकाे दयनीय जीवन र प्रताडनामा बाँच्नु पर्ने विवश कथाव्यथाकाे चित्रण गर्नु, सामाजिक विकृति र विसङ्गतिकाे चित्रण गर्नु जस्ता कुराहरू यस धाराको मूल प्रवृत्तिका रूपमा रहेका छन् ।

गुरुप्रसाद मैनालीकाे नासो कथासंग्रह यस धाराको महत्त्वपूर्ण कोशे ढुङगो हो । यस धारा अन्तर्गत अन्य थुप्रै कथा लेखिएका छन् । तिनमध्ये पुष्कर शमशेर र उनका परिबन्द, स्वार्थत्यार, लोग्ने, मनको पटल जस्ता कथाहरू पुष्कर शमशेरका कथा (२०४४) नामक कथासंग्रहमा सङ्कलित छन् भने शिवकुमार राई, देवकुमारी थापा, दौलतविक्रम विष्ट, वदरीनाथ भट्टराई, माया ठकुरी, अच्छा राई रसिक, भीमनिधि तिवारी, चक्रपाणि चालिसे, रूपनारायण सिंह, श्यामदास वैष्णव, हृदयचन्द्र सिंह प्रधान, परशु प्रधान, अगमसिंह गिरी, कुमार ज्ञवाली, श्रीधर खनाल, जस्ता कथाकारहरूका कथाहरू महत्त्वपूर्ण मानिन्छन् ।

२. मनोवैज्ञानिक यथार्थवादी धारा

विश्वेश्वरप्रसाद कोइराला (१९७१-२०३९) मनोवैज्ञानिक यथार्थवादी धाराका महत्त्वपूर्ण कथाकार हुन् । यिनको चन्द्रवदन (१९९२) कथाको प्रकाशनसँगै नेपाली कथामा मनोवैज्ञानिक धाराको प्रारम्भ भएको हो । उनका दोषी चश्मा (२००६), श्वेतभैरवी (२०३९), विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५२) गरी तीन कथासंग्रह प्रकाशित छन् । यस धाराका अर्का कथाकार हुन् भवानी भिक्षु (१९६६-२०३८) । यिनका गुनकेशरी (२०१०), मैयाँ साहेब (२०१७), आवर्त (२०२४) र अवान्तर (२०३४) गरी चारवटा कथासंग्रह प्रकाशित छन् । तिवारीपछि गोविन्द बहादुर मल्ल 'गोठाले' (१९७९) अर्का उल्लेख्य कथाकार मानिन्छन् । कथासंग्रह (२००३), कथैकथा (२०१३), प्रेम र मृत्यु, अपर्णा (२०५३) समेत यिनका तीन कथासंग्रह प्रकाशित देखिन्छन् । गोठालेपछि देखिएका अर्का कथाकार विजय मल्ल हुन् । यिनका एक बाटो अनेक मोड (२००३) र परेवा र कैदी (२०१३) गरी दुई‍ कथासंग्रह प्रकाशित छन् । उपर्युक्त बाहेक अन्य केही कथाकारहरूको समेत यस धारामा योगदान रहेको पाइन्छ । तिनमा विजय मल्ल, तरिणीप्रसाद काेइराला, देवकुमारी थापा, पाेषण पाण्डे, प्रेमा शाह, पुष्कर लाेहनी, कमल दीक्षित अादि रहेका छन् । मनाेवैज्ञानिक यथार्थवादी धाराका प्रवृत्तिहरू यसप्रकार रहेका छन् :

  • याैन अावेगकाे असामान्य स्थिति,
  • याैनजन्य कुण्ठाकाे उद्घाटन,
  • बाल मनाेविज्ञान अादिलार्इ अचेतन मनकाे गहिराइबाट विश्लेषण गर्नु,
  • याैनग्रन्थीकाे विकास र याैनेच्छाकाे दमनबाट देखापर्ने विभिन्न मनाेवैज्ञानिक स्थितिकाे चित्रण गर्नु,
  • अचेतन मनकाे गहिराइबाट मानवीय संवेगका साथै मानिसकाे वास्तविक तस्विर ठम्याउनु ।

३. प्रगतिवादी धारा

प्रगतिवादी धारा अधुनिक नेपाली कथाको सशक्त धारा हो । यसलाई अलोचनात्मक यथार्थवादी धारा पनि भनिन्छ । समाजमा व्याप्त विकृतिबाट समाजलाई मुक्त पार्ने अपेक्षा राख्नु, विसङ्गति, कुरीति, अन्धविश्वासप्रति तिखो व्यङ्ग्य गर्नु, शोषणरहित समाजको चाहना राख्नु, सामन्ती मनाेवृत्तिकाे भन्डाफाेर गर्नु, धनी वर्गकाे दुष्प्रवृत्तिप्रति घृणा व्यक्त गर्नु, अन्याय, अत्याचार अादिकाे यथार्थ चित्रण गर्नु जस्ता कुराहरू यस धाराका प्रमुख उद्देश्य एवं विशेषता हुन् । २००७ सालकाे क्रान्ति पश्चात् नेपालमा प्रगतिवाद देखा परेकाे हाे । काठमाडाैंमा प्रगतिशील लेखक संघ, चैनपुरमा जन साँस्कृतिक सभा, बनारसमा प्रगतिशील प्रकाशन मण्डल जस्ता संस्थाहरूकाे प्रेरणा पाएर प्रगतिवाद अघि बढ्न सकेकाे पाइन्छ ।

रमेश विकल (१९८५-२०६५) को गरिब (२००६) कथाबाट प्रगतिवादी धाराको प्रारम्भ भएको पाइन्छ । विकलका विरानो देशमा (२०१६), नयाँ सडकको गीत (२०१९), तेह्र रमाइला कथा (२०१९), आज फेरि अर्को तन्ना फेरिन्छ (२०२४), एउटा बूढो भ्वाइलिन आशावरीको धूनमा (२०२५), उर्मिला भाउजू (२०४३), शव सालीक र सहस्र बुद्ध (२०४३) जस्ता कथा संग्रहहरू प्रकाशित देखिन्छन् । यस धाराका अन्य कथाकारहरूमा डीपी अधिकारी, बालकृष्ण पोखरेल, पारिजात, माधव भँडारी, खगेन्द्र संग्रौला, ऋषिराज बराल, भवानी घिमिरे, श्यामप्रसाद अधिकारी, हरि खनाल, तरानाथ शर्मा, कृष्णप्रसाद शर्मा, चूडामणि रेग्मी, वल्लभमणि दहाल, आदिको नाम अग्रपङ्क्तिमा रहेको छ ।

४. प्रयोगवादी धारा

साहित्य रचनाको परम्परागत मूल्य र मान्यतालाई तोडेर नयाँ पद्धतिको अवलम्बन गर्नु प्रयोगवाद हो । यसले कथ्य र शिल्प दुबैमा नयाँ खोजी गर्छ । नेपाली साहित्यमा प्रयोगवादी कथा लेखनको प्रारम्भ गर्ने कथाकार इन्द्रबहादुर राई (वि.सं १९८४) हुन् । रातभरि हुरी चल्यो (२०१६) शीर्षक कथा राईको पहिलो कथा हो भने खीर (२०१९) यस धाराको पहिलो कथा हो । उनका बिपना कतिपय (२०१७), कथास्था (२०१७), कठपुतलीको मन (२०४६) गरी तीन कथासंग्रह प्रकाशित छन् । राईका कथाहरूमा आयामेली र लीलालेखन जस्ता प्रवृत्तिहरू पाइन्छन् । प्रयोगवादी धाराका अन्य कथाकारहरूमा शङ्कर लामिछाने (१९८४(१९३२), मोहनराज शर्मा (१९९७), पारिजात (१९९४(२०५०), मनुब्राजाकी (१९९९), ध्रुवचन्द्र गौतम (२०००), गोपाल पराजुली (२००२), प्रेमा शाह (२००३), भागिरथी श्रेष्ठ (२००५) आदिको नाम अग्र पङ्क्तिमा रहेको देखिन्छ ।

प्रयाेगवादी धाराका कथाहरूकाे प्रवृत्ति

  • परमपरागत संरचना र रूपविन्यासलार्इ अस्वीकार गर्नु,
  • विषयवस्तु र शिल्पप्रयाेगप्रति बढी सचेतता देखाउनु,
  • अस्तित्ववादी, विसङ्गतिवादी र शून्यवादी मूल्यबाट निर्देशित कथाहरूकाे रचना गर्नु,
  • जीवनकाे निरर्थकताकाे चित्रण गर्नु,
  • मानवतावादी दृष्टिकाेणलार्इ महत्त्व दिनु,
  • वैयक्तिक स्तन्त्रताकाे अाग्रह गर्नु,
  • जीवनकाे सूक्ष्म पक्षलार्इ निरीक्षण गर्नु,
  • कथानक तत्त्वकाे ह्रास भएका, कथानकहीन भएका अकथात्मक कथाहरूकाे रचना गर्नु,
  • नयाँ भाषिक याेजना एवं प्रतीक र विम्बकाे अत्यधिक प्रयाेग गर्नु,
  • पूर्व प्रसङ्ग र चेतना प्रवाह शैलीकाे प्रयाेग गर्नु,
  • जीवनकाे सम्पूर्णताकाे खाेजी गर्नु,
  • वस्तुतातर्फ विशेष जाेड दिनु,


५. समसामयिक धारा(वि.सं.२०३६ देखि हालसम्म)

विक्रम सम्वत२०३६ पछिको कथालेखन काललाई समसामयिक धारा भनिन्छ भने यस धारा अन्तर्गत लेखिएका कथाहरू समसामयिक कथाका रूपमा चिनिन्छन् । यस धाराका कथाकारहरूले नेपाली कथालाई वैश्विक सन्दर्भसँग जोड्ने कार्य गरेका छन् । समाजिक जीवनमूल्यको स्थापना, जीवनको यथार्थ र सत्यको प्रस्तुति, समाजिक विकृति र विसङ्गतिप्रति व्यङ्ग्य जस्ता कुराहरू यस धाराका कथागत प्रवृत्ति हुन् । यस धाराका कथाकारहरूमा कविताराम, गणेश रसिक, पद्मावती सिंह, पूर्णविराम, खगेन्द्र संग्रौला, लव गाउँले, जीवन आचार्य, मञ्जु काँचुली, ऋषिराज बराल, नारायण ढकाल, मोहनराज शर्मा, कोमलप्रसाद पोखरेल, कृष्ण धरावासी, सनत रेग्मी, सीता पाण्डे, हरिहर खनाल,हरि खनाल, घनश्याम ढकाल, विजय चालिसे, तेजप्रसाद श्रेष्ठ, पुण्यप्रसाद खरेल, भागीरथी श्रेष्ठ, महेशविक्रम शाह, विजय चालिसे, राजव, अमर शाह, कपिल लामिछाने, तारा गाउँले, सञ्जय थापा, सीता पाण्डे, प्रेम छाेटा, मधुवन पाैडेल, अविनाश श्रेष्ठ, समेत अन्य कथाकारहरू पनि रहेका पाइन्छन् ।

यस धाराका कथागत प्रवृत्तिहरू

  • कष्टपूर्ण जीवाकाे चित्रण,
  • सामाजिक, साँस्कृतिक, नैतिक मूल्यकाे अवमूल्यन भएकाे देखाउनु,
  • सामाजिम-प्रशासनिक व्यवस्थाप्रति तीव्र व्यङ्ग्य गर्नु,
  • तिक्ततापूर्ण वर्तमान जीवनकाे अभिव्यक्ति
  • अन्तर्राष्ट्रिय सन्दर्भहरूप्रति सचेतता,
  • सरल तथा जटिल दुबै भाषाकाे प्रयाेग,
  • बहुलवादी कथा लेखन ।

आधुनिक नेपाली उपन्यास (१९९१ देखि हालसम्म)[सम्पादन गर्ने]

१. आदर्शोन्मुख यथार्थवादी धारा

जीवनको यथार्थ घटनाको चित्रण गरी जीवन यस्तो हुनुपर्छ भन्नु आदर्शवाद हो । आधुनिक लेपाली उपन्यासमा रुद्रराज पाण्डेको रूपमती उपन्यास (१९९१) एउटा महत्त्वपूर्ण कोशेढुङ्गा हो । यसैबाट आधुनिक नेपाली उपन्यास र आदर्शोन्मुख यथार्तवादी धाराको प्रारम्भ भएको पाइन्छ । घटना, पात्र र परिवेशको यथार्थ चित्रण गरी अन्तिममा नियतिका सहारामा आदर्श स्थापना गर्नु यस धाराको प्रमुख उद्देश्य हो । यस धाराका केन्द्रीय उपन्यासकार पनि रुद्रराज पाण्डे नै हुन् ।

२. स्वच्छन्दतावादी धारा

वैयक्तिकता, काल्पनिकता, विद्रोहात्मकता, भावुकता, प्रकृतिप्रेम, कृत्रिमताबाट मुक्ति जस्ता कुराहरू स्वच्छन्दतावादी धाराका मूल प्रवृत्ति हुन् । रूपनारायण सिंहको भ्रमर (१९९३) उपन्यासबाट नेपालीमा स्वच्छन्दतावादी धाराको प्रवेश भएको देखिन्छ । त्यसपछि देखिएका यस धाराका अन्य उपन्यासहरूमा अच्छा राई रसिकको लगन (२०१२) र दोभान (२०२१), शिवकुमार राईको डाक बङ्गला (२०१३), लीलाध्वज थापाका मन (२०१५), शान्ति (२०१५) र पूर्वस्मृति (२०१५), मोहनबहादुर मल्लको उजेली छायाँ (२००८), लक्ष्मीप्रसाद देवकोटाको चम्पा (२०२४) आदि उल्लेख्य छन् ।

३. समाजिक यथार्थवादी धारा

जनजीवनका संस्कार, रहनसहन, आचरण, व्यवहार आदिको इमान्दारीसाथ यथातथ्य वर्णन गर्नु समाजिक यथार्थवादी धाराको प्रमुख विशेषता हो । आधुनिक लेपाली उपन्यास परम्परामा लैनसिंह बाङ्देलको मुलुकबाहिर (२००४) को प्रकाशनसंगै समाजिक यथार्थवादी उपन्यास परम्पराको प्रारम्भ भएको पाइन्छ । २०१० सालसम्म यो प्रमुख धाराका रूपमा देखिएको छ भने त्यसपछि अन्तर्धाराका रूपमा प्रवाहित भएको छ । मुलुकबाहिर पछि उनकै माइत घर (२००५), लङ्गडाको साथी (२००८), रेम्ब्रान्ट (२०२३) पनि यसै धारा अन्तर्गतका उपन्यास हुन् । यीबाहेक लीलबहादुर क्षेत्रीका बसाइँ (२०१४), अतृप्त (२०२६) र ब्रह्मपुत्रको छेउछाउ (२०४३), लीलाध्वज थापाको मन (२०१५), दौलतविक्रम विष्टको मञ्जरी (२०१६), शङ्कर कोइरालाको खैरेनी घाट (२०१८), तुलसीराम कुँवरका रने (२०१८) र उज्यालो तिर (२०२३), भवानी भिक्षु को आगत (२०२३), ध.च. गोतामेका घामका पाइलाहरू (२०३५) र यहाँदेखि त्यहाँसम्म (२०४२), केशवराज पिंडालीको बाच्ने एउटा जिन्दगी (२०४३), राजेश्वर देवकोटाको आवर्तन (२०४१), गोविन्दराज भट्टराईको मुगलान (२०३१) र मणिपुरको चिठी (२०३४) जस्ता उपन्यासहरू यसै धाराका उल्लेख्य कृति हुन् ।

४. ऐतिहासिक यथार्थवादी धारा

इतिहासका वास्तविक पात्र तथा घटनाको चित्रण गरी लेखिएका उपन्यासहरू ऐतिहासिक यथार्थवादी उपन्यास हुन् । डायमन समशेर राणाका वसन्ती (२००६), सेतो बाघ (२०३०), प्रतिवद्ध (२०३४), केशवराज पिंडालीको एकादेशकी महारानी (२०२६), सुन्दरप्रसाद शाहको प्रतिवाद (२०४०) र त्रिफट् (२०४२), श्रीकृष्ण श्रेष्ठको जङ्गबहादुर (२०५१), दौलतविक्रम विष्टको फाँसीको फन्दा (२०५३) जस्ता उपन्यासहरू ऐतिहासिक यथार्थवादी धारा अन्तर्गत पर्दछन् ।

५. अति यथार्थवादी धारा

पुराना र परम्परागत रूढि एवं व्यवस्थाहरूलाई पूर्ण अस्वीकार गर्दै प्रचलित नैतिक मूल्य र मान्यताहरूको तीव्र विरोध गर्नु अतियथार्थवाद हो । यसलाई स्वचालित लेखन पनि भनिन्छ ।जसरी मानिसले सपनामा देखेका कुराहरू तारतम्यविहीन हुन्छन्, त्यस्तै तारतम्यविहीन ढङ्गमा रचना प्रस्तुत गर्नु स्वचालित लेखन हो । [१३] लैनसिंह बाङ्देलको लँगडाको साथी (२००८), गोविन्दबहादुर मल्ल 'गोठाले'को पल्लो घरको झ्याल (२०१६) र अपर्णा (२०५२), अर्जुन निरौलाको घाम डुबेपछि (२०३३), हिरण्य भोजपुरेको गोरी (२०५४) जस्ता कृतिहरू अतियथार्थवादि धाराका प्रमुख उपन्यास हुन् ।

६. आलोचनात्मक यथार्थवादी धारा

अालोचनात्मक यथार्थवादले शोषण र उत्पीडनको विरोध गर्छ । पूँजीवाद र शक्तिप्रतिको विरोध, निन्दा र कटु अालोचना गर्नु अालोचनात्मक यथार्थवादको प्रमुख उद्देश्य हो । यस किसिमको साहित्यमा साहित्यकार अालोचनात्मक द्रष्टाका रूपमा प्रस्तुत हुन्छ । हृदयचन्द्र सिंहको स्वास्नी मान्छे (२०११)बाट अालोचनात्मक यथार्थवादी धाराको सुरुवात हुज्छ । उनैको एक चिहान (२०१६), दौलतविक्रम विष्टका मञ्जरी (२०१६), एक पालुवा अनेक याम (२०२६), भोक र भित्ताहरू (२०३८), ध्रुवचन्द्र गौतमका उपन्यासहरू र अन्य केही उपन्यासहरू यस धारा अन्तर्गत देखिन्छन् ।

७. मनोवैज्ञानिक/मनोविश्लेषणात्मक यथार्थवादी धारा

मानिसका अन्तर्मुखी तथा बहिर्मुखी प्रवृत्तिको चित्रण गर्नु, मानसिक विकृति र विसङ्गतिको चित्रण गर्नु, अान्तरिक द्वन्द्वको चित्रण गृर्नु मनोविश्लेषणात्मक यथार्थवादी धाराका मूलभूत विशेषता हुन् । यस धाराको प्रारम्भ गोविन्दबहादुर मल्ल गोठालेको पल्लो घरको झ्याल (२०१६)बाट भएको पाइन्छ । विजयमल्लका अनुराधा (२०१८) र कुमारी शोभा (२०३९), विश्वेश्वरप्रसाद कोइराला का तिन घुम्ती (२०२५) र नरेन्द्र दाइ (२०२६), तारिणीप्रसाद कोइरालाको सर्पदंश (२०२६), पारिजातको शिरीषको फूल (२०२२), भवानी भिक्षुका सुभद्रा बज्यै (२०२४)र अागत (२०३२), दौलतविक्रम विष्टका एक पालुवा अनेक याम, चपाइएका अनुहार (२०३०) यसै धारा अन्तर्गतका उल्लेख्य उपन्यास हुन् ।

८. प्रकृतवादी धारा

प्रकृतिलाई सर्वोपरि मानी प्राकृतिक नग्नताको चित्रण गर्नु प्रकृतवादको पहिचान हो । यसबाहेक मानवको जीवन भोगाइको कुरूप पक्षको चित्रण गर्नु, मानिसका कामेच्छा र पासविक प्रवृत्तिको नग्न चित्रण गर्नु प्रकृतवादी धाराका प्रमुख प्रवृत्ति हुन् । नेपाली उपन्यास परम्परामा शङ्कर कोइरालाको खैरेनी घाट (२०१८), पारिजातको अन्तर्मुखी (२०३४) जस्ता उपन्यासहरूले यस धाराको प्रतिनीधित्त्व गरेको देखिनछ ।

९. विसङ्गतिवादी धारा

परम्परागत लेखन पद्धतिलाई अस्वीकार गर्नु, मानवजीवनका सारहीनता, निरर्थकता, शून्यता, पृथक्ता, मूल्यहीनता जस्ता कुराको चित्रण गर्नु, नवीन शिल्प संरचनाको प्रयोग गर्नु, विसङ्गत काव्यात्मक भाषाको प्रयोग गर्नु विसङ्गतिवादी धाराका प्रमुख प्रवृत्ति हुन् । नेपाली उपन्यासमा इन्द्रबहादुर राईको अाज रमिता छ (२०२१), पारिजातका शिरिषको फूल (२०२२) र महत्ताहीन (२०२५), ध्रुवचन्द्र गौतमका अन्त्यपछि (२०२४), बालुवामाथि (२०२८) र डापी (२०३३), दौलतविक्रम विष्टको चपाइएका अनुहारहरू (२०३०) अादि कृतिहरू विसङ्गतिवादी धारा अन्तर्गत देखिन्छन् ।

१०. अस्तित्ववादी धारा

मानिसको जन्म, मृत्यु, कुण्ठा, सन्त्रास अादिको सही अर्थ र सही अस्तित्वको खोजी गर्नु, मानिसको विसङ्गत जीवनमा पनि अस्तित्वको खोजी गर्नु, स्वैरकल्पना र चेतनाप्रवाह शैलीको प्रयोग गर्नु, मानिसलाई जीवनको नवीन अर्थ र मूल्यको खोजीतिर उन्मुख गराउनु अस्तित्वावादी धाराका प्रमुख विशेषता हुन् । पारिजातका महत्ताहीन (२०२५), अन्तर्मुखी (२०३४), ध्रुवचन्द्र गौतमका अन्त्यपछि (२०२४), बालुवामाथि (२०२८) र डापी (२०३३), विश्वेश्वरप्रसाद कोइरालाका तिनघुम्ती (२०२५), नरेन्द्र दाइ (२०२६), सुम्निमा (२०२७), हिटलर र यहुदी २०४०) र बाबु अामा र छोरा (२०४५), सरुभक्तका पागलबस्ती (२०४८) र तरुनी खेती (२०५३)जस्ता उपन्यासहरू यस धारा अन्तर्गत समेटिएका पाइन्छन् ।

११ प्रगतिवादी धारा

समाजमा हुनेगरेका अन्याय, अत्याचार, शोषण, दमन र समाजिक विभेद जस्ता क्रियाकलापको अन्त्य गरी त्यहाँ समानता कायम गर्ने उद्देश्य राख्नु प्रगतिवाद हो । यसलाई समाजवादी यथार्थवाद पनि भनिन्छ । यो धारा द्वन्द्वात्मक भौतिकवादी दर्शनबाट प्रभावित छ । यसले क्रान्ति र समाजिक परिवर्तनप्रति गतिशील दृष्टिकोण राख्छ । उपन्यासकार डी.पी. अधिकारीको अासमाया (२०२५) उपन्यासबाट समाजवादी यथार्थवादी उपन्यास परम्पराको प्रारम्भ भएको पाइन्छ । यस धाराका उपन्यासहरूमा डी.पी. अधिकारीको धरती अझै बोल्दै छ (२०२७), खगेन्द्र सङ्ग्रौलाको चेतनाको पहिलो डाक (२०२७) र अामाको छटपटी (२०३४), पारिजातका बैंसको मान्छे (२०२९), तोरीबारी बाटा र सपनाहरू (२०३२), पर्खालभित्र र बाहिर (२०३५), उसले रोजेको बाटो (२०३४), र अनिदो पहाडसंगै (२०३९), त्यसै गरी मोदनाथ प्रश्रितका देशभक्त लक्ष्मीबार्इ (२०३२) र चोर (२०४४), रमेश विकलको अविरल बग्दछ इन्द्रावती (२०३९), सञ्जय थापाको देउमार्इको किनारमा (२०४७), ऋषिराज बरालको कमरेड हुतराजको राजधानी प्रस्थान (२०४८), हरि खनालको " मैयाँ(२०५७)" अादि उल्लेख्य छन् ।

१२. प्रयोगवादी धारा

परम्परागत मूल्य र मान्यतालाई तोड्दै नवीनता र गतिशीलताको खोजी गर्नु प्रयोगवाद हो । प्रयोगवादी धारा अन्तर्गत लेखिएका उपन्यासहरूमा ध्रुवचन्द्र गौतमको उपसंहार अर्थात् चौथो अन्त्य (२०४८), अग्निदत्त+अग्निदत्त (२०५३), मञ्जुलको छेकुडोल्मा (२०२६), दशजना लेखकको सामुहिक उपन्यास अाकाश विभाजित छ (२०३१), तेह्रजना लेखकको अवतार विघटन (२०४०), नारायण वाग्लेको पल्पसा क्याफे (२०६१) अादि प्रमुख छन् ।

शारदा (१९९१) को प्रकाशनको आरम्भसँगसँगै नेपाली निबन्ध साहित्यमा विविध पक्षहरू समावेश हुन थालेको पाइन्छ । वस्तुलाई रागात्मक संवेग र भावनात्मक तरलतामा प्रस्तुत गर्ने, समाज र परिवेशभित्रका विसङ्गतिहरूलाई कलात्मक पाराले टिप्पणी गर्ने जस्ता पक्षका निबन्धहरू यस कालमा प्रकाशनमा आएको देखिन्छ । १९९१ खेखि २००२ सम्मका निबन्धहरूमा आदर्शवादी र स्वच्छन्दतावादी प्रवृत्ति रहेको पाइन्छ भने २००३ देखि २०२० सम्मका निबम्धहरूमा आदर्शवादी, स्वच्छन्दतावादी र यथार्थवादी प्रवृत्ति रहेको पाइन्छ । त्यसैगरी २०२० देखि हालसम्मका अधिकांश निबन्धहरूमा मूलतः स्वच्छन्दतावादी र यथार्थवादी प्रवृत्ति रहेको देखिन्छ ।

आधुनिक नेपाली निबन्ध (१९९१ देखि हालसम्म)[सम्पादन गर्ने]

शारदा (१९९१) को प्रकाशनको आरम्भसँगसँगै नेपाली निबन्ध साहित्यमा विविध पक्षहरू समावेश हुन थालेको पाइन्छ । वस्तुलाई रागात्मक संवेग र भावनात्मक तरलतामा प्रस्तुत गर्ने, समाज र परिवेशभित्रका विसङ्गतिहरूलाई कलात्मक पाराले टिप्पणी गर्ने जस्ता पक्षका निबन्धहरू यस कालमा प्रकाशनमा आएको देखिन्छ । १९९१ खेखि २००२ सम्मका निबन्धहरूमा आदर्शवादी र स्वच्छन्दतावादी प्रवृत्ति रहेको पाइन्छ भने २००३ देखि २०२० सम्मका निबम्धहरूमा आदर्शवादी, स्वच्छन्दतावादी र यथार्थवादी प्रवृत्ति रहेको पाइन्छ । त्यसैगरी २०२० देखि हालसम्मका अधिकांश निबन्धहरूमा मूलतः स्वच्छन्दतावादी र यथार्थवादी प्रवृत्ति रहेको देखिन्छ ।

२००२ अघिका आदर्शवादी निबन्धकारहरूमा बालकृष्ण सम, सूर्यविक्रम ज्ञवाली, पारसमणि प्रधान, जस्ता निबन्धकारहरू रहेका छन् । त्यसै समयका स्वच्छन्दतावादी निबन्धकारहरूमा लक्ष्मीप्रसाद देवकोटाको एकाधिपत्य रहेको छ । २००२ पछिका निबन्धकारहरूमा आदर्शवादी फाँटका यदुनाथ खनाल, बदरीनाथ भट्टराई, भीमनिधि तिवारी, रहेका पाइन्छन् भने स्वच्छन्दतावादी निबन्धकारहरूमा केशवराज पिंडाली, श्रीधर खनाल, रामकृष्ण शर्मा, चूडानाथ भट्टराई प्रभृति निबन्धकारहरू रहेका पाइन्छन् भने यसै समयका यथार्थवादी निबन्धकारहरूमा हृदयचन्द्रसिंह प्रधान, श्यामप्रसाद शर्मा, अच्छा राई रसिक, आनन्ददेव भट्ट आदिकोे नाम अग्रपङ्क्तिमा रहेको देखिन्छ ।

यस कालका विचारशील, संवेदनशील स्वच्छन्दतावादी निबन्धकारहरूमा शङ्कर लामिछाने, बालकृष्ण पोखरेल, मोहनराज शर्मा, वासुदेव त्रिपाठी, रामलाल अधिकारी, किशोर नेपाल, राममणि रिसाल अादि रहेका देखिन्छन् भने त्यसपछिका तीव्र व्यङ्ग्यात्मक निबन्ध प्रस्तुत गर्ने निबन्धकारहरूमा पारिजात, रमेश विकल, कृष्णचन्द्रसिंह प्रधान, बालमुकुन्ददेव पाण्डे, तारानाथ शर्मा, जनकलाल शर्मा, गोविन्द भट्ट गङ्गाप्रसाद उप्रेती,निर्मोही व्यास, राजेन्द्र सुवेदी, मञ्जुल, राजव, मुन पौडेल, माधवप्रसाद पोखरेल, सुधा त्रिपाठी, भीष्म उप्रेती, नवराज सुब्बा प्रभृति व्यक्तित्वहरू रहेका देखिन्छन् । [१४] । त्यसपछि देखापरेका निबन्धकारहरूमा मनुजबाबु मिश्र, मोहन दुवाल, मोहन सिटौला, युवराज नयाँघरे, नरेन्द्रराज प्रसार्इ, विमल निभा, निर्मोही व्यास, ध्रुव मधिकर्मी, मधुसूदन गिरी, रोचक घिमिरे, गोविन्दराज भट्टराई अादि उल्लेख्य छन् । त्यसैगरी हास्यव्यङ्ग्यात्मक निबन्धका फाँटमा कलम चलाउने निबन्धकारहरूमा भैरव अर्याल, रामकुमार पाण्डे, नारद अोझा, विष्णु नवीन, चोलेश्वर शर्मा, नरेन्द्रराज पौडेल, हरि बन्दी, सूर्यबहादुर पिवा, ध्रुवकृष्ण दीप, लोकेन्द्रबहादुर चन्द, मुकुन्द अाचार्य, होम सुवेदी,हरि खनाल,नरनाथ लुइँटेल, रमेश खकुरेल, चोलेश्वर शर्मा, खगेन्द्र संग्रौला, रुद्र खरेल, भरतराज पन्त, विष्णु प्रभात, जयराम शर्मा, डम्बर बस्नेत,कोमलप्रसाद पोखरेल, चूडामणि रेग्मी, लक्ष्मण नेवोटिया, विश्व शाक्य, अादि रहेका पाइन्छन् ।[१५]

आधुनिक नेपाली नाटक (१९८६ देखि हालसम्म)[सम्पादन गर्ने]

नेपाली नाटकमा अाधुनिक कालकाे प्रारम्भ बालकृष्ण सम (१९५९-२०३८)काे मुटुकाे व्यथा (वि.सं.१९८६) मार्फत भएकाे पाइन्छ । यसै कृतिबाट अाधुनिक कालकाे सुरुवात भएकाे मानिन्छ, किनभने यस अघिका नाटकरूमा तिलस्मी र जासुसी विषयलार्इ बढी प्राथमिकता दिइएकाे थियाे । मुटुकाे व्यथाले नयाँ माैलिकता र सामाजिकतालार्इ वरण गरेकाे हुनाले पनि याे अाधुनिक नाटकमा गनिएकाे हाे । याे नाटक वियाेगान्त नाटककाे एक उत्कृष्ट नमुना हाे र यसले नेपाली नाटककाे इतिहासमा वियाेगान्त नाटक भित्र्याएकाे छ । यस नाटकले बालकृष्ण समलार्इ अाभुनिक नाटककारका रूपमा प्रतिष्ठापित गरेकाे छ । सम सेक्सपियरेली शैलीबाट प्रभावित नाटककार मानिन्छन् । यस किसिमका उनका १७ वटा पूर्णाङ्की नाटकहरू छन् । उनले पद्यात्मक, गद्यात्मक, दुःखान्त, सुखान्त, सामाजिक, पाैराणिक, एेतिहासिक सबै प्रकृतिका नाटक लेखेका छन् । यस अाधुनिक काललार्इ निम्न लि खित दुर्इ चरणमा अध्ययन गर्न सकिन्छ ः

१. पिहलाेचरण (वि.सं.१९८६-२०१२)

समकाे मुटुकाे व्यथादेखि गाेविन्दबहादुर मल्ल ''गाेठाले''काे भुसकाे अागाे(वि.सं.२०१३) प्रकाशन पूर्वसम्म अर्थात् २०१२ सम्मलार्इ पिहिलाे चरण मानिएकाे छ । प्रवृत्तिगत अाधारमा हेर्दा यस चरणमा सामाजिक अादर्शाेन्मुख यथार्थवादी धारासामाजिक यथार्थवादी धारा गरी दुर्इ धारा रहेका पाइन्छन् ।

बालकृष्ण समकाे मुटुकाे व्यथा नाटकबाट नेपाली नाटकमा सामाजिक अादर्शाेन्मुख यथार्थवादी धारा प्रारम्भ भएकाे मानिन्छ । यस धारासंबद्ध नाटकहरूमा सामाजिक विषयवस्तुलार्इ यथार्थपरक शैलाीमा पाठक अथवा दर्शकहरूमा अादर्श भावना जागृत गराउन खाेजिएकाे हुन्छ । यसका साथै देशप्रेम र मानवतावादी चिन्तनलार्इ समेत कृतिमा समावेश गरिएकाे हुन्छ । यस धाराका प्रमुख नाटककार र तिनका नाट्य कृति यसप्रकार छन् ः[१६]

बालकृष्ण सम ः मुटुकाे व्यथा (वि.सं.१९८६), मुकुन्द इन्दिरा (वि.सं.१९९४), प्रह्लाद (वि.संस१९९५),

भीमनिधि तिवारीसहनशीला सुशीला (वि.सं.१९९५), काशीवास(वि.सं.१९९८), पुतली (वि.सं.१९९९), किसान (वि.सं.२००३), चाैतारा लक्ष्मीनारायण (वि.सं.२०२४),

लक्ष्मीप्रसाद देवकाेटा ः सावित्री सत्यवान् (वि.सं.२००३) ।

यस धाराका महत्वपूर्ण प्रतिभा बालकृष्ण सम र भीमनिधि तिवारी हुन् ।

यस धाराका मुख्य प्रकृत्ति एवं विशेषताहरू

  • सामाजिक, एेतिहासिक र पाैराणिक विषयवस्तुकाे सफल प्रयाेग,
  • सुखान्त र दःखान्त दुवै प्रकृतिका नाटकहरूकाे लेखन,
  • समाज सुधारकाे चाहना,
  • अादर्श एवम् नैतिकताकाे सन्देश प्रवाह,
  • देशप्रेम र मानवतावादी दृष्टिकाेणकाे सबल अभिव्यक्ति
  • गद्य र पद्य दुवै शैलीकाे प्रयाेग,
  • पूर्वीय र पाश्चात्य एवम् मिश्रित नवीन नेपाली नाट्य शैलीकाे प्रयाेग,
  • शुद्ध र मिठाे नेपाली भाषाकाे प्रयाेग,
  • रङ्गमञ्चीय दृष्टिले सफल नाट्यकाे सिर्जना ।

गोपालप्रसाद रिमालकाे मसान नाटक (२००३) काे प्रकाशन पछि सामाजिक यथार्थवादी धाराले अाधुनिक नेपाली नाटकमा प्रवेश गरेकाे पाइन्छ । सामाजिक समस्याकाे यथार्थ प्रस्तुति प्रदर्शन गर्नु यस धाराकाे उद्देश्य रहेकाे देखिन्छ । यस धारासँग सम्बद्ध नाटकलार्इ समस्या नाटक पनि भनिन्छ । गाेपालप्रसाद रिमालको मसान (२००३) र याे प्रेम (२०१५), वासु शशीकाे सबैथाेक गर्नुपर्छ (२०३९), माधव भँडारीको घरजम (२०२९), मनबहादुर मुखियाको अनि देउराली रुन्छ (२०३०), अामाको अाकांक्षा (२०३१), फेरि इतिहास दाेहाेरिन्छ (२०३२) यस धाराका प्रमुख नेपाली नाटक हुन् ।

यस धाराका मुख्य प्रवृत्तिहरू ः

  • सामाजिक समस्याकाे यथार्थपरक प्रस्तुति,
  • नारीमाथि पुरुषले गर्ने दुर्व्यवहारकाे यथार्थ चित्रण,
  • सामाजिक विकृति विसङ्गतिप्रति व्यङ्ग्य,
  • यथासम्भव स्थानीय कथ्य भाषाकाे प्रयाेग,
  • विश्वसनीय नाटककाे लेखन अादि ।

२. दास्राे चरण (२०१३ देखि हालसम्म)

गाेविन्दबहादुर मल्ल गाेठालेद्वारा लिखित भुसकाे अागाे नाटक (वि.सं.२०१३) प्रकाशन पश्चात् अाधुनिक नेपाली नाटककाे दाेस्राे चरण प्रारम्भ भएकाे मानिन्छ । यस चरणलार्इ प्रवृत्तिगत भिन्नताका अाधारमा मनाेविश्लेषणात्मक धाराप्रयाेवादी धारा गरी दुर्इवटा धारामा विभाजन गरी अध्ययन गर्न सकिन्छ । क.मनाेविश्लेषणात्मक धारा ः गाेठालेकाे भुसकाे अागाेकाे प्रकाशनपछि अाधुनिक नेपाली नाटकमा मनाेविश्लेषणात्मक धारा सुरु भएकाे देखिन्छ । फ्रायड, एडलरयुङ्गका मनाेवैज्ञानिक स्थापनाहरूकाे प्रयाेग गरी यस धाराका नाटककारहरूले नाटककाे रचना गरेकाे पाइन्छ । यस धाराका नाटकहरूमा घटनालार्इभन्दा चरित्रलार्इ महत्त्व दिर्इ मानव मनकाे सूक्ष्मविश्लेषण गरिएकाे हुन्छ । यस धाराका प्रमुख नाटककार र तिनका प्रमुख नाट्यकृतिहरू निम्नानुसार छन् ः

गाेविन्दबहादुर मल्ल गाेठाले ः भुसकाे अागाे (वि.सं.२०१३), च्यातिएकाे पर्दा (वि.सं.२०१७), दाेष कसैकाे छैन (२०२७) ।

विजय मल्ल ः काेही किन बर्वाद हाेस् (वि.सं.२०१६), (जिउँदाे लास वि.सं.२०१७) ।

वासु शशी तीन नाटक ः (नाटक सङ्ग्ह वि.सं.२०२३),

मानबहादुर मुखिया ः क्रसमा टाँगिएकाे जिन्दगी वि.सं.२०३४)

यस धाराका मुख्य प्रवृत्ति एवं विशेषताहरू ः

  • चरित्रकेन्द्री नाटककाे लेखन,
  • फ्रायड, एडलर र युङ्गका मनाेविश्लेषणात्मक सिद्धान्तकाे प्रयाेग,
  • मानव मनकाे सूक्ष्म विश्लेषणमा अाधारित नाटक लेखन,
  • नारी मनका जटिल मनाेवृत्तिकाे चित्रण,
  • विभिन्न प्रतीकहरूकाे सफल प्रयाेग,
  • समसामयिक जटिलताकाे प्रस्तुति,
  • अतियथार्थ र मनाेविज्ञानकाे अङ्कन,
  • सामाजिक विकृति र विसङ्गतिप्रति तीव्र व्यङ्ग्य,

ख. प्रयोगवादी धारा

ध्रुवचन्द्र गाैतमको विसं २०३० मा प्रकाशित त्याे एउटा कुरा नाटकबाट नेपाली नाटकमा प्रयोगवादी भाराको प्रारम्भ भएकाे देखिन्छ । यस धारा संबद्ध नाटकहरूमा कथ्य र शिल्प दुबैको नयाँ प्रयाेग पाइन्छ । यस धाराका नाटकहरूमा स्वैरकल्पनाकाे प्रयाेग पनि पाइन्छ । अस्तित्ववादी, अतियथार्थवादी, विसङ्गतिवादी, प्रतीकवादी चिन्तनलार्इ अाधार मानेर नाटक लेख्ने यस धाराका नाटककारहरूले अमूर्त विषयलार्इ सूत्र र सङ्केतका माध्यमबाट प्रस्तुत गरेका छन् । २०३० बाट प्रारम्भ भएकाे याे धारा अझैसम्म निरन्तर रूपमा अघि बढवरहेकाे छ ।

यस धाराका प्रमुख नाटककार र तिनका नाट्य कृतिहरू िनम्न अनुसार रहेका देखिन्छन् ः

ध्रुवचन्द्र गाैतम :

  • त्यो एउटा कुरा (वि.सं.२०३०),
  • भस्मासुरको नलीहाड (वि.सं.२०३७),
  • समानान्तर (वि.सं.२०३९) ।

अशेष मल्ल :

  • तुवाँलोले ढाकेको बस्ति (वि.सं.२०३१),
  • सडकदेखि सडकसम्म (वि.सं.२०३७),
  • नाटकहरूको नाटक (वि.सं.२०३८) ।

माेहनराज शर्मा :

  • यातनामा छट्पटाएकाहरू (वि.सं.२०३९),

*जेमन्त/यमा (वि.सं.२०४१),

  • वैकुण्ठ एक्स्प्रेस (वि.सं.२०४२),

सरुभक्त :

  • युद्ध : उही ग्यास च्याम्बरभित्र (वि.सं.२०४०),
  • इथर (वि.सं.२०४४),
  • निमावीय (वि.सं.२०५५) ।

गोपाल पराजुली :

  • सडकपछि सडक (वि.सं.२०४१),

अविनाश श्रेष्ठ :

  • अश्वत्थामा हतो हतः (वि.सं.२०५०)

श्रवण मुकारुङ :

  • यलम्बर (वि.सं.२०५३)

हरि खनालः

  • सैरन्ध्री (वि सं,२०७५)

यस धाराका मुख्य प्रवृत्ति एवम् विशेषताहरू ः

  • स्वैरकल्पनाकाे प्रयाेग,
  • चेतनप्रवाह शैलीकाे प्रयाेग
  • सूक्ष्म कथावस्तुकाे प्रयाेग,
  • परम्परागत नाट्यशैलीकाे त्याग तथा अाधुनिक नाट्यशैलीकाे वरण,
  • समाजका विकृति विसङ्गतिप्रति तीव्र व्यङ्ग्य,
  • अमूर्त विषयकाे सूत्रात्मक प्रस्तुति,
  • बिम्ब र प्रतीकरूकाे कलात्मक प्रयाेग,
  • सडक नाटक एवम् विज्ञान नाटक जस्ता नयाँ नयाँ प्रयाेगकाे अारम्भ अादि ।

आधुनिक नेपाली समालोचना[सम्पादन गर्ने]

नेपाली समालोचनाको विकासक्रमलाई चार चरणमा विभाजन गरिएको पाइन्छ, जसअनुसार पहिलो चरण (१९४८-१९९८) माध्मिक काल अन्तर्गत पर्दछ भने दोस्रो चरण (१९९९-२००६), तेस्रो चरण (२००७-२०२४) र चौथो चरण (२०२५ देखि यता) अाधुनिक काल अन्तर्गत पर्दछन् । यसरी हेर्दा विक्रम सम्वत१९९९बाट नेपाली समालोचनाको अाधुनिक काल प्रारम्भ भएको देखिन्छ ।

रामकृष्ण शर्मायदुनाथ खनाल जस्ता सशक्त समालोचकहरूका समालोचनासंगै प्रारम्भ भएको अाधुनिक कालको यस चरणमा पूर्वीय र पाश्चात्य दुबै साहित्यशास्त्रमा समालोचना भएका पाइन्छन् । यस चरणका अन्य समालोचकहरूमा बाबुराम अाचार्य, हृदयचन्द्रसिंह प्रधानरत्नध्वज जोशी उल्लेख्य देखिन्छन् । यस चरणका समालोचकका समालोचनाहरू अतिशय प्रभावपरक, प्रशंसापरक, जीवनीपरक, बौद्धिक र विश्लेषणात्मक रहेका पाइन्छन् । यो चरण सैद्धान्तिक, विधापरक, तुलनात्मक, अन्वेषणात्मक,एेतिहासिक, निर्णयात्मक, प्रगतिमूलक समालोचना निर्माणमा विशेष उर्वर रहेको पाइन्छ ।

विक्रम सम्वत२००७ देखि एेजन २०२४ सम्मको समयावधि नेपाली अाधुनिक नेपाली समालोचनाको विकासको तेस्रो चरण हो । यसको प्रारम्भ २००७ सालको राजनीतिक क्रान्तिदेखि भएको मानिन्छ । यस चरणमा इर्वर बराल, कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा जस्ता मूर्धन्य समालोचकहरूको विशेष योगमान रहेको पाइन्छ । यस चरणका अन्य समालोचकहरूमा सोमनाथ सिग्द्याल, बालचन्द्र शर्मा, चूडानाथ भट्टराय, डिल्लीराम तिम्सिना, माधवलाल कर्माचार्य, डी.पी. अधिकारी, श्यामप्रसाद शर्मा, कमल दीक्षित, सरिता ढकाल, यज्ञराज सत्याल, माधव भँडारी, अानन्ददेव भट्ट अादि उललेख्य छन् ।

नेपाली समालोचनाको अाधुनिक कालअन्तर्गत रहेको यस चरणमा पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्तको गहन अध्ययन गरेर तिनका प्रभावमा समालोचना लेख्ने प्रवृत्तिको प्रशस्त विकास भएको पाइन्छ । विवेचनात्मक, व्याख्यात्मक, विश्लेषणात्मक तथा मनोविज्ञानपरक एवम् प्रगतिपरक समालोचनाका लागि यो चरण उर्वर रहेको देखिन्छ ।

विक्रम सम्वत २०२५ देखि अाजसम्मको समयावधिलाई अाधुनिक नेपाली समालोचनाको चौथो चरणका रूपमा लिइन्छ । यस चरणमा पनि तृतीय चरणका ईश्वर बराल, कृष्णचन्द्रसिंह प्रधान, तारानाथ शर्मा जस्ता समालोचकहरूको महत्त्वपूर्ण योगदान रहेको पाइन्छ । यिनबाहेक इन्द्रबहादुर राई,केशवप्रसाद उपाध्याय, गोविन्द भट्ट, ठाकुर पराजुली, मोहनराज शर्मा, वासुदेव त्रिपाठी, दयाराम श्रेष्ठ अादि लेखकहरू उच्च स्तरका समालोचकमा गनिन्छन् ।

त्यसैगरी यस चरणका अरु समालोचकहरूमा शरच्चन्द्र शर्मा भट्टराई, मोहन हिमांशु थापा, भानुभक्त पोखरेल, चूडामणि बन्धु, गोपीकृष्ण शर्मा, वासु रिमाल यात्री, कुमारबहादुर जोशी, रामलाल अधिकारी,मुरारिप्रसाद रेग्मी, अभि सुवेदी, घटराज भट्टराई, घनश्याम कँडेल, राजेन्द्र सुवेदी, नरेन्द्र चापागार्इँ, कृष्ण गौतम, रविलाल अधिकारी, ऋषिराज बराल, मोहन दुवाल, डा रामचन्द्र लंसाल अादिको नाम लिन सकिन्छ । अाजसम्मको इतिहासलाई हेर्दा यस चरणमा अन्य थुप्रै समालोचकहरू नेपाली समालोचनालाई अग्रगति दिने कार्यमा सक्रिय देखिएका छन् ।

यस अवधिमा प्रगतिवादी समालोचनाको अधिक विकास भउको पाइन्छ । त्यसबाहेक शोधपरक समालोचना, भाषाशैलीवैज्ञानिक समालोचना, रूपपरक समालोचना, पाठपरक समालोचना, मनोविश्लेषणपरक समालोचना, बहुलतापरक समालोचनाका साथै सैद्धान्तिक समालोचनाको पनि प्रशस्तै विकास भएको पाइन्छ । यस समयावधिमा प्रभाववादी समालोचना गौण हुँदै विश्लेषणात्मक एवम् मूल्याङ्कनात्मक समालोचना पद्धतिले ज्यादा प्रश्रय पाएको देखिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य सन्दर्भ[सम्पादन गर्ने]

  1. श्रेष्ठ,दयाराम (२०५९-३०), साहित्यको इतिहास : सिद्धान्त र सन्दर्भ काठमाडौं : त्रिकोण प्रकाशन
  2. पूर्ववत्; ८७
  3. नेपाली साहित्यकोश (२०५५-३९९), नेपाली साहित्य, काठमाडौं : नेराप्रप्र
  4. योगी नरहरिनाथ, इतिहासप्रकाश अङ्क २, भाग ३ (२०१३), काठमाडौं : इतिहासप्रकाश मण्डल
  5. नेपाल, घनश्याम (सन् १९९४), नेपाली साहित्यको परिचयात्मक इतिहास, गान्तोक, सिक्किम : जनपक्ष प्रकाशन
  6. श्रेष्ठ, दयाराम र मोहनराज शर्मा (२०३४), ‘’’नेपाली साहित्यको संक्षिप्त इतिहास’’’, काठमाडौं : नेराप्रप्र
  7. रेग्मी, डा.जगदीशचन्द्र (सं.२०३२), नेपाली अध्ययन, काठमाडौं : साझा प्रकाशन
  8. श्रेष्ठ,दयाराम.....ऐजन.....ऐजन.....ऐजन
  9. श्रेष्ठ, दयाराम र मोहनराज शर्मा, ऐजन----- ऐजन -------------
  10. श्रेष्ठ, दयाराम र मोहनराज शर्मा, ऐजन----- ऐजन -------------
  11. प्रधान, कृष्णचन्द्र (२४,बैशाख,२०२३),गोरखापत्र र नेपाली साहित्य, : काठमाडौं गोरखापत्र संस्थान
  12. राई, इन्द्रबहादुर (सं.२०३१), नेपाली उपन्यासका आधारहरू, दार्जिलिङ्ग :
  13. शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (२०६३), पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त, काठमाडौ : विद्यार्थी पुस्तक भन्डार
  14. नेपाली साहित्यकोश (२०५५), काठमाडौं : नेराप्रप्र
  15. घनश्याम कँडेल (सं) (२०५५). नेपाली समालोचना. पुल्चोक ललितपुर: साझा प्रकाशन. 
  16. भण्डारी, प्रा.डा.पारसमणि र अन्य (२०६८:३५६), नेपाली गद्य र नाटक काठमाडौं : विद्यार्थी पुस्तक भण्डार