नेपाल र नेवार जाति

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नेवार जाति होइन समुदाय हो जसको प्राथमिक पहिचान समुदायमा बोलिने भाषा हो।

भूमिका[सम्पादन गर्ने]

मिति वि.सं. २०१७ आश्विन २० गतेको ‘नेपाल भाषा पत्रिकाˈ दैनिक पत्रिका

यस लेखमा नेवार जाति भन्नाले त्यो समुदायको चिनारी प्रस्तुत गरिन्छ जुन समुदायमा बोलिने भाषा नेवारी भाषा रहेको, इतिहासमा जसको प्राचीनकालदेखि बसोबासको मूलथलो काठमाडौं उपत्यका रहिआएको र मध्यकाल (वि. सं. ९३७ देखि १८२६ सम्म) देखि यस उपत्यकाबाट बाहिर बसाईं सराई शुरू भएको अनि वर्तमान समयसम्म आईपुग्दा विश्वका धेरै देशहरूमा बसोबास गर्दै आइरहेको छ । नेपालका विभिन्न जातिहरूमध्ये नेवार एक सभ्य, सुसंस्कृत र समग्रमा सम्पन्न जाति हो । नेपाल राष्ट्रको निर्माणमा यो जातिको अहम् भूमिका रहेको छ ।

नेवार जाति नेपालको आदिम जातिहरूमध्ये एक हो । यस जातिसँग नेपालको नामका साथै इतिहास र संस्कृति समेत गाँसिएको छ । 'नेवार' को शाब्दिक अर्थ 'नेपालको बासिन्दा' हो । यस जाति अर्थात समुदायमा बोलिने भाषालाई नेवारी भनिन्छ । नेवारी भाषाको औपचारिक नाम 'नेपालभाषा' हो । नेपालभाषा शब्दको नामाकरण देशको नामबाटै भएको हो जसको यथेष्ट प्रमाण ऐतिहासिक प्राचीन ग्रन्थ र शिलालेखहरूमा पाइन्छ ।[१]

नेपालभाषाको आफ्नै लिपिहरू छन्- जस्तै रन्जना लिपिभुजिंमोल लिपि । यस भाषाको प्रचलित लिपि भने नेपाल लिपि हो । वर्तमान समयमा यो भाषामा देवनागरी लिपिको पनि प्रयोग गरिन थालिएको छ । संयुक्त राष्ट्र संघमा नेपालको मौलिक लिपिमा रन्जना लिपि र संवत्‌मा नेपाल संवत् (राष्ट्रिय संवत्‌को मान्यता प्राप्त) प्रस्तुत गरी त्यसैको आधारमा सदस्यता प्राप्त गरिएको छ ।

प्रत्येक दश वर्षमा गरिने राष्ट्रिय जनगणनाको सबभन्दा पछिल्लो तथ्याङक प्रतिवेदन-२०६८ अनुसार नेपालको कूल जनसङ्ख्या २,६४,९४,५०४ मध्ये नेवारहरूको जनसङ्ख्या १३,२१,९३३ रहेको छ जुन जनसङ्ख्याको हिसाबले छैठौं ठूलो क्रमस्थानमा पर्दछ ।[२] वर्तमान समयमा नेवारहरूको कूलसंख्याको करीब करीब आधा जनसङ्ख्या मात्र काठमाडौं उपत्यकामा बसोबास गर्दछन् भने बाँकी जनसङ्ख्या देशका सातै प्रदेश र पचहत्तरै जिल्लामा बसोबास गर्दछन् ।

देशबाहिर दार्जिलिङ, सिक्किम लगायतका भारतका अन्य भू-भागहरूका साथै तिब्बतमा समेत नेवारहरू बसोबास गर्दछन् । यसैगरी हाल एसियाका अन्य देशहरू, युरोपीय र अमेरिकी मुलुकहरूमा समेत नेवारहरूको उल्लेख्य संख्यामा बसोबास रहन गएको पाईन्छ ।

नेपाल; भौगोलिक इतिहास र वर्तमान[सम्पादन गर्ने]

नेपालको इतिहासको चर्चा गर्दा काठमाडौ उपत्यका सधै केन्द्रमा रहने गर्दछ । इतिहासदेखि वर्तमानकालसम्म नै नेपालको भौगोलिक सीमाना घटबढ भइरहँदा काठमाडौं नै केन्द्रिय शक्तिको रूपमा रहेको हुँदा यसो भएको हो । यसकारण नेपालको मात्र होइन नेवार जातिकै विषयमा चर्चा गर्दा नेपालको विभिन्न कालखण्डको भौगोलिक सिमानाबारे उल्लेख गर्नु आवश्यक हुन्छ ।

प्राचीनकालको भूगोल[सम्पादन गर्ने]

नेपाल शब्द सर्वप्रथम भारतीय शासक समुद्र गुप्तको (सन् ३५०-३७५) प्रयाग प्रशस्तिमा उल्लेख गरेको देखिन्छ । यसमा नेपाललाई पूर्वमा कामरूप (आसाम) र पश्चिममा कर्तृपुर (कुमाउँ) को बीचमा रहेको प्रत्यन्त (सलामी तिर्ने) देशको रूपमा उल्लेख गरिएको छ । सो अभिलेखमा ईस्वी संवत्‌को चौथो शताब्दीमा भारतीय शासक समुद्र गुप्तको राज्यको सीमाना तर्फ समतट, कामरूप (तत्कालीन कामरूप राज्यमा अहिलेको आसाम, सिक्किम, भूटान पर्न आउँछ।) नेपाल र कर्तृपुर (कुमाउँ) भएको उल्लेख गरिएको छ ।[३]

मध्यकालमा नेपालको भूगोल[सम्पादन गर्ने]

प्राचीन कालमा नेपाल राज्य अर्थात नेपालमण्डलको भूगोल क्षेत्रफलको हिसाबले अहिलेको नेपाल राज्य जत्तिकै थियो । तर पूर्व मध्यकालदेखि यो वृहत नेपालमण्डल क्रमश: टुक्रिंदै गयो र ईस्वी सम्वत्‌को ११औं शताब्दीदेखि पश्चिम नेपालमा खस मल्ल, पूर्व-दक्षिण क्षेत्रमा सिम्रौनगढतिर कर्णाटवंश शासित तिरहुत र मध्यभागमा नेपालमण्डल राज्य रहन गयो । खस मल्ल क्षेत्र पूर्वमा त्रिशुली नदीदेखि पश्चिममा गढवालसम्म र उत्तर ताक्लाखोर (वर्तमान तिब्बत) देखि दक्षिण तराईसम्म फैलिएर गएको थियो । नेपालमण्डल पश्चिममा त्रिशुली, पूर्वमा पलाञ्चोक, उत्तरमा हिमाल र दक्षिणमा महाभारत पहाड बीचमा सीमित हुनगयो । पछि राजा यक्ष मल्लले (ईस्वी १४२८-८२) आफ्नो राज्य विस्तार गरेर नेपालमण्डलको सीमाना पूर्वमा मोरंग (मेचीसम्म) पश्चिममा पाल्पा, उत्तरमा वर्तमान तिब्बतमा पर्ने शिकरजोङ र दक्षिणमा बौद्धगया र गंगा नदीसम्म फैलाएका थिए ।

यसरी केही समयको लागि नेपाल राज्य फेरि विशाल भयो । मल्ल राजाहरूले मात्र नेपाललाई नेपालमण्डल भन्न रूचाएको देखिन्छ । यक्ष मल्लपछि नेपाल नराम्रोसँग टुक्रियो । सन् १८ औं शताब्दीको पूर्वाद्धमा कर्णाली प्रश्रवण क्षेत्रमा २२ वटा अर्थात बाइसी, गण्डकी प्रश्रवण क्षेत्रमा २४ वटा अर्थात चौबिसी, काठमाडौं उपत्यकाको मल्लराज्य पनि ३ वटा र पूर्वी ३ सेन राज्यहरू खडा भए । नेपाल मण्डल भनी चिनिएको नेपाल राज्य यसरी समग्रमा ५२ वटा राज्यहरूमा विभक्त भए । ती बाइसी चौबिसी र पूर्वी तीन सेन राज्यका राजाहरूले आफूहरू नेपालमण्डल क्षेत्रभित्रका राज्यहरूका राजा भनेर उल्लेख गरेनन् । गोपाल राजवंशावलीमा उल्लेखित टिपोट अनुसार इस्वीको १३।१४ औं शताब्दीदेखि अहिलेको काठमाडौं उपत्यकालाई नेपाल भनी उल्लेख गर्ने प्रचलन शुरू भएको देखिन्छ ।[४] ‍‍

शाहकाल पश्चात् र वर्तमान समयमा नेपालको भूगोल[सम्पादन गर्ने]

‍मध्यकालमा ५२ राज्यहरूमा विभाजित नेपालमण्डल भित्रकै गोरखा राज्यका महत्वाकांक्षी राजा पृथ्वीनारायण शाहले वि. सं. १८२६ मा काठमाडौं उपत्यकामा विजय गरी मल्ल राजाहरूको शासन अन्त्य गरेपश्चात नेपालको `एकीकरण´ को शुरूवात भएको भनिएता पनि वास्तवमा `एकीकरण´ नभई आफ्नो महत्वाकांक्षा पूरा गर्ने क्रममा `नेपालको पुन:एकीकरण´ को शुरूवात हुन गएको भन्न सकिन्छ । किनकी नेपाल प्राचीनकालमा नै पूर्वमा आसाम र पश्चिममा कुमाउँ तथा यक्ष मल्लको समयमा उत्तरमा तिब्बतको शिकरजोङ र दक्षिणमा बौद्धगया र गंगानदीसम्म फैलिएको थियो जुन कुरा माथि उल्लेख भैसकेको छ । त्यस्तै पृथ्वीनारायण शाहको शासनकाल पछि पनि नेपालको भौगोलिक सीमाना परिवर्तन हुने क्रम चलिरह्यो र अङ्ग्रेजसँगको सन् १८१४-१६ सम्मको युद्ध पछि असमान सुगौली सन्धि बाट वर्तमान नेपालको आकार रहन पुग्यो। यो सन्धिमा नेपालले सन्धि अघिको आफ्नो अधीनस्थ भूमिको एक तिहाई भू-भाग गुमाउनु परेको थियो ।

‍नेवार जाति[सम्पादन गर्ने]

उद्‌भव र उद्‍‌विकास[सम्पादन गर्ने]

करीब २ लाख वर्ष पूर्व अहिलेको काठमाडौं उपत्यका भित्र रहेको नागदहको पानी बाहिर पठाई सकेपछि सुक्खा अग्लो ठाउँमा शिकार गर्न जान्ने र माछा मार्न जान्ने प्रागमानवहरूको सानो बस्ती रहन गयो । डा. शेटेन्कोले पत्ता लगाई बुढानिलकण्ठमा फेला परेको ३२ हजार वर्ष पहिलेको मध्यपाषण युगीन प्रस्तरले यो तथ्यको पुष्टि गरेको छ । नेवारहरूको आदि पूर्खा नेवार किरातहरूको उद्भव पनि यहीँ भएको हो ।[५]

ताम्रयुगमा काठमाडौं उपत्यकाका धेरै ठाउँमा यिनीहरूको समुदाय फैलिसकेको देखिन्छ। संभवत यिनीहरू नागपूजक हुन् । यिनीहरूलाई नै मगधबासी, मध्यदेशीहरूले नेपाल किराँत भनिने कुरा इतिहास शिरोमणी बाबुराम आचार्यको भनाइ छ । यसरी नै ५०० वर्ष अगाडि बागमती दक्षिण किनारातिरबाट केही प्रोटो-मंगोलो-इण्डो-अष्ट्रोलोइड (थारू, दनुवार, कुमाल र बोटे जातिका पूर्वजहरू) माछा मार्दे र शिकार खेल्दै काठमाडौं उपत्यका भित्रिएका हुन् । त्यसपछि पूर्वको मार्गबाट सम्भवत लिम्बुहरूका पूर्वजहरू र अरू पूर्वी किराँतहरू आए । यसकै समकालीन कालखण्डमा नीप गोपाल र महिषपालहरू पनि उपत्यका आई नेवार संस्कृतिमा मिसिएको देखिन्छ । त्यसपछि मल्ल, शाक्य र कोलीय गणतन्त्रका केही मानिसहरू, वर्धनहरू (बैस ठकुरीहरू) र करिब ८०० वर्ष अगाडि कर्णाट वंशीहरू र तिनका सहयोगीहरू हाडा, राठौर, जोशी, झा, मिश्र, कायस्थ र अरू मैथिलीहरू (अहिलेका ६ थर शैवमार्गी नेवारहरू) सिम्रौनगढबाट नेपाल उपत्यका पसे । केही बौद्धमार्गीहरू पनि नेपालमण्डल भित्र आएर ज्या (जाय जेथा वा भूमि) र पू (पुत्र) ज्यापूहरूका पूर्वजहरूको मौलिक संस्कृतिमा मिश्रित भई नेवार भएर रहे । यिनीहरूले विश्व संस्कृतिमै ठूलो प्रभाव पार्ने नेवार संस्कृतिको विकास गर्नुका साथै (भारत र चीनको मुख्य मार्गमा परेको) अति नै उत्कृष्ट व्यापार र उद्योगमा धेरै विकास गरे । मल्ल कालको पछिल्लो समयमा केही मगरहरू र खस जाति सँगै नगरकोटीहरू पनि नेपालमण्डलमा पसेर नेवार नै भए ।[६]

समयको विभिन्न अन्तरालमा विभिन्न शासकहरूले यहाँको शासन हातमा पारेको देखिन्छ भने, ती शासकहरूसँगै उपत्यका भित्र आएका विभिन्न जातिका मानिसहरू सदाका लागि यहीं बसेको देखिन्छ । उनीहरूले यहाँको हावापानी सँगसँगै यहाँको भाषा, कला र संस्कृति पनि अपनाए । यस रीतिले मङ्गोल मूलका किरातहरू, आर्यमूलका शाक्य, कोलीय, लिच्छवी, ठकुरी र मल्लहरू पनि नेवारमा बदलिएको देखिन्छ । यसप्रकार विभिन्न समय अन्तरालमा उपत्यका भित्र पसी नेवारभाषालाई अँगाल्ने सबै नेवार भए ।

जातीय पहिचानको एउटा आधार अनुहार, शारीरिक बनावट र नश्ल पनि हो । नेवार ब्राम्हण, श्रेष्ठहरू हेर्दा आर्य जस्तो देखिन्छ भने उदास उत्तरका मंगोलसित मिल्दो देखिन्छ । नेवारलाई शारीरीक बनौटको आधारमा मात्र चिनाउन सम्भव छैन । प्राचीन समयमा नेवार एक आदिवासी समूह हुन्, तर लामो इतिहासको क्रममा नेवारभित्र उत्तर, दक्षिणबाट आएका विभिन्न धर्म, संस्कृति, नश्ल आदि समावेश भए । यसको पुरानो स्वरूप हराएर वृहत् समुदायको रूपमा देखा परे । यसबाट जातिको बनोटमा मात्र होइन भाषामा पनि प्रभाव पर्यो । यस अर्थमा नेवार मूलत: भाषिक समुदाय (अङ्ग्रेजी: Linguistic community) हो। त्यसैले नेवारभाषालाई ज-जसले मातृभाषाको रूपमा अपनाए तिनीहरू नेवारको सूचीमा समावेश भए।[७]

बसाईं सराई[सम्पादन गर्ने]

नेपालको इतिहासमा देखिएका राजनीतिक उथलपुथलका कारण नेवारहरूको बसाईं सराई भएको पाइन्छ । नेपालको ईतिहासमा यहाँको स्थानीय जनता कहिल्यै शासक भएको छैन । प्रागइतिहासकालमा गोपालवंशीदेखि किरातवंशीसम्मलाई नेपालको शासक माने पनि इतिहास शुरू भएदेखि नै लिच्छवीकालदेखि शाहकालसम्मका शासकहरू नेपाल खाल्डोका होइनन् । तिनीहरू सबै नै यस खाल्डो बाहिरबाट नै आएका हुन् । नेवारहरूको बसाईं सराई सत्ता परिवर्तनकै क्रममा भएको पाइन्छ । नेवारहरूको वसाईं सराईलाई समयरेखाको क्रममा प्रस्तुत कालखण्डमा उल्लेख गर्न सकिन्छ ।

मध्यकालमा[सम्पादन गर्ने]

सिंजा-दुल्लुका खस साम्राज्य र डोटीका रैका राज्य र पूर्वी तराईका शक्तिशाली सेन राज्यहरूको विघटन भईसकेपछि विशेष गरी पश्चिम नेपालमा चौबिसे राज्यहरू शक्तिशाली भएका थिए । तर यी राज्यहरूमा ललित कला-संस्कृति र बन्द-व्यापारका विकास पटक्कै भएको देखिंदैन । यसबेला नेपालमण्डलका नेवार मल्ल राज्यहरू नै सबभन्दा उच्च र उत्कृष्ट अवस्थामा रहेका थिए । त्यसैले सबैको दृष्टि नेपालमण्डलको समृद्धिमा परिरहेको थियो । यस्तो अवस्थामा गोरखाका प्रसिद्ध राजा रामशाहले (सन् १६०६-१६३३) नेपालमण्डल ललितपुरका राजा सिद्धिनरसिंह मल्लसित मैत्रीपूर्ण सम्बन्धजोडेर त्यहाँका चौबिस कोठीका नेवार व्यापारीहरूलाई सम्मानका साथ लगेर गोरखामा विकास गर्न लगाए । यी चौबिस कोठीका नेवारहरूलाई गोरखा बजारमा दरिया टोलमा उच्च स्थान दिई 'कसुर' (कर) पनि नलिने गरी गोरखामा रहने व्यवस्था गरेका थिए । यी २४ परिवारसँगै अरू धेरै नेवारहरू पनि त्यहाँ गएको देखिन्छ । यिनै गोरखाली पाटन र भक्तपुरे नेवारहरूका सन्तानले बन्दीपुर र नारायणघाट विकास गरेका हुन् । यही कालखण्डमा नै करीब ४०० वर्ष अगाडि नै पाल्पा, तनहूँ, भिरकोट र मकवानपुरमा पनि त्यहाँका राजाहरूले भारतबाट चुरौटे मुसलमान र कान्तिपुर, ललितपुर र भक्तपुरबाट व्यापारी र औद्योगिक सीप भएका नेवार परिवारहरूलाई बोलाई त्यहाँ राख्न लगाएको पनि हुन सक्दछ । नुवाकोट, बनेपा, धुलिखेल, चौतारा र दोलखा त प्राय: गरेर त्यस कालखण्डमा नेवार राज्यभित्र रही रह्यो । धादिङ्गको लामीडाँडाको बुढीगण्डकीसम्मको क्षेत्र पनि ललितपुरका मल्ल राज्यभित्र परेकोले त्यस क्षेत्रमा पनि नेवारहरूको राम्ररी नै बस्ती रहेको देख्न सकिन्छ ।[८]

शाहकालमा[सम्पादन गर्ने]

पृथ्वीनारायण शाहको शासनकालमा:

राजनीतिक कारणले पनि थुप्रै नेवारहरूको बसाईं सराई देखिन्छ । वि. सं. १८२६ मा पृथ्वीनारायण शाहले भक्तपुर लिएपछि त्यहाँका अन्तिम मल्ल राजा रणजित मल्ल काशी गएका थिए । ती राजासँग गएका कैयन् नेवारहरू नेपालको विभिन्न स्थानमा गएर बसोबास गरेका छन् । भागेर दार्जीलिङ पुगेका नेवारहरू जम्मै प्रधान भए । बाहिरिने क्रममा भक्तपुरका मल्ल लगायत कर्माचार्य, जोशी, राजभण्डारी आदि समेत बागलुङ, पाल्पा, बुटवल र डोटीमा गई बस्न गएको देखिन्छ । डोटीका त:ज:ख:ल: श्रेष्ठहरू, ठिमाहा (मथ्या:म्ह) राजकुमार अवधुत सिंहका भाइ राजकुमार जयनारायणसिंह मल्लका सन्तानहरू आज-भोलि तनहुँका थर्पूमा र अन्य बजार क्षेत्रमा रहँदै आएका छन् । तनहुँको पश्चिमी क्षेत्रको बन्दव्यापारमा तिनीहरूकै ठूलो प्रभाव रहेको अझै पनि देख्न सकिन्छ । पृथ्वीनारायण शाहले त्यसताका बौद्ध र शैव धर्म मान्ने बाहेक अरूलाई नेपाल छाड्ने आदेश दिएपछि इसाई धर्म मान्नेहरू भागेर भारतको बेतियामा बसोबास गर्न बाध्य भएका थिए। नेपाल छाड्न नमान्ने इसाई नेवारहरू सबैलाई मार्न लगाएका थिए ।

रणबहादुर शाहको शासनकालमा:

रणबहादुर शाहको पालामा पनि नेवारहरू नेपालमण्डल छोडेर बाहिरिनु परेको थियोे । सन् १७९९ मा विफरले रानी कान्तिमतीको नाबालक छोरा गीर्वाणयुद्धलाई सो रोगले नछोओस् भनेर ती राजाले हजारौं नेवार परिवारलाई उपत्यकाबाट बाहिर धपाई दिएका थिए । घर घरमा गएर आठपहरियाहरूले खोजीखोजी स-साना बालबालिका बोकाई तामाकोसी पारि पठाएको, बीच बाटोमा बच्चाको मृत्यु भएमा गाड्न, पोल्न नपाउने र तामाकोसीमा बगाउनु पर्ने राजाज्ञा जारी हुँदा जनताले पाएको दुःखको कारूणिक वर्णन र अविवेकी राजाले गर्दा यस्तो दुःख पाइयो भनेर आक्रोश पोखेको वर्णन नेपालभाषाको 'सितलामाजु' गीतमा गरिएको छ ।[९]

अन्य:

कोतपर्वको सिलसिलामा, जागिर र व्यापार व्यवसायमा मात्र होइन आफ्नो समाजको गुठी समेत चलाउन नसकेर पनि धेरै नेवारहरू तराईमा सप्तरी, मोरङ्ग, झापा, वीरगन्ज, कलैया, मलंगवा, हेटौंडा, परासी, भैरहवा, कृष्णनगर, नेपालगन्ज, धनगढी र पहाडमा दाङ्ग सल्यान, प्यूठान, दैलेख, सुर्खेत र भारतको सिक्किम आदि स्थानमा गएर बसे ।[१०]

वर्तमान समयमा[सम्पादन गर्ने]

वर्तमान समयमा नेवारहरू शिक्षा, रोजगार र व्यवसायको अवसरको खोजीमा देश वाहिर एसियाली, यूरोपेली र अमेरिकी मुलुकहरूमा समेत पुगेका र विविध परिस्थितिका कारण ती मुलुकहरूमा समेत बसोबास गर्दै आएको पाइन्छ ।

धार्मिक पक्ष[सम्पादन गर्ने]

परम्परागत धार्मिक पुरोहित वा नेताहरू[सम्पादन गर्ने]

पूर्वकालदेखि नै बहुसंख्यक नेवार समुदायमा हिन्दुबौद्ध धार्मिक सम्प्रदाय रहेको तथा मध्यकालमा आएर मुस्लिम र इसाई सम्प्रदाय समेत रहेकोमा पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका जितेपछि यहाँका मुस्लिम र इसाई नेवारहरूलाई बलपूर्वक निकाला गरे। वर्तमान समयमा नेवार समुदायमा यिनै ४ धार्मिक सम्प्रदाय रहेका छन्।

मुख्य रूपमा भने यस समुदायमा हिन्दु र बौद्ध धर्मावलम्वी नै रहेका छन् जसलाई यहाँ उल्लेख गरिन्छ। नेवार समुदाय धार्मिक सहिष्णुता भएको समुदाय हो। यस समुदायमा कुन धर्म मान्ने हो भन्न कठीन छ। सामान्यतया बज्राचार्य पुरोहित राख्नेहरू बौद्ध र ब्राम्हण पुरोहित राख्नेहरू हिन्दुको रूपमा लिइन्छ। बज्राचार्यलाई बौद्ध धर्म र ब्राम्हणलाई हिन्दु धर्मको प्रचारप्रसार गर्ने धार्मिक नेताको रूपमा लिइन्छ।

बौद्ध गतिविधि र पूजा आजामा बज्राचार्य र हिन्दुमा उपाध्यायहरूले पूजा आजा गरेको पाईन्छ। पहिला आचाजुजोशीहरूले पनि धार्मिक पूजाहरू गरेको पाइन्छ। बौद्ध पुरोहितलाई गुभाजु र हिन्दु पुरोहितलाई द्य:भाजु भन्ने गरिन्छ भने ब्राम्हणहरूलाई ब्रम्हु बाज्या (ब्राम्हण पूरोहित) भन्ने गरिन्छ।

धार्मिक पूजाहरू[सम्पादन गर्ने]

देवमन्दिरमा धार्मिक नित्यकर्म गर्न, विरामी पर्दा स्वास्थ्यलाभ गर्न, ग्रह शान्तिको लागि र अन्य मनोकांक्षा पूरा गर्न पूजा गरिन्छ। पूजारीले नित्यकर्मको रूपमा बिहान, दिउँसो, साँझ पूजा गर्छन् भने साँझ दियो बाल्ने, धुप बाल्ने, आरती गर्ने, विभिन्न स्तोत्र पाठ गर्छन्। मन्दिरको अगाडि बसेर भजन गर्ने, ध्यान गर्ने, देवदेवीलाई स्नान गराउने गर्दछन्।

क. घरभित्रका पूजाहरू

घरभित्र र बाहिर दुई किसिमले पूजा गर्दै आएका छन्। सामान्यत: जीवनमा गरिने संस्कारका पूजाहरू घरभित्रका पूजामा पर्दछन्। जातक कर्मदेखि मृत्यु संस्कारका पूजाहरू सबै घरमा गरिन्छ। नयाँ घर बनाउँदा भूतप्रेत पन्छाई घर शुद्ध गर्ने पलिस्था कर्म पनि घरभित्रै गरिन्छ। देवमन्दिर स्थापनाका पूजाहरू मात्र घर वाहिर देवस्थलमा गरिन्छ। मनोकांक्षा पूरा गर्न पनि देवस्थलमा पूजा गर्ने गरेको पाइन्छ। घरभित्रको पूजाहरूमा जातक कर्म, अन्नप्राशन, व्रतबन्ध, चूडाकर्म, मेखलाबन्धन, व्रतसमावर्तन, विवाह, जंको, श्राद्ध आदि पर्दछन्। यस वाहेक आगम पूजा, तारा पूजा, व्रत आदि पनि घरभित्र र वाहिर दुवै स्थानमा गरेको पाइन्छ। घर वाहिरको पूजामा जात्रापर्व, चा (रात्री), पूजा आदि पर्दछन्। विवाह, व्रतवन्ध, चूडाकर्म घरमा तथा चैत्य, विहारमा पनि गरेको पाइन्छ। त्यस्तै वर्षवर्द्धन पूजा देवताको अगाडि बसेर गर्ने पूजाहरू हुन।

ख. पूर्खाको पूजा

पूर्खाको पूजाको रूपमा श्राद्ध गर्दछन् र उक्त दिन जौको पीठो वा चिउराको पिण्ढ बनाई तीन पुस्ताका पुर्खालाई चढाइन्छ र पितृको सम्मान र पूजा गरिन्छ। बिहान खाना खानु अघि छोराले स्वर्गीय मातापिताको नाममा घरमा जुरेको खाद्यान्न तर्पण दिइन्छ। विभिन्न चाडपर्वमा पनि पहिले सिकिब्व (मृतकको भाग) छुट्याई मात्र चाडपर्व मनाइन्छ।

ग. भूमि पूजा

असारको बेलामा धान रोपिसकिएको गर्हामा ब्याडको भकारी बनाइन्छ। त्यहाँ माटोले पूजा गरिन्छ। रोपाईं सकिएपछि गाईजात्राका दिन ब्याँजानकेगु (भ्यागुतोलाई खुवाउने) भनेर खेतमा खानेकुरा चढाईन्छ। नयाँ घर बनाउँदा ज्योतिषीको सल्लाह अनुसार भूमि जाँचेर उपयुक्त भएमा शुभ साइत पारेर चारवटा ईंटा, बहुमुल्य धातु (तामा) गर्भमा राखी भूमिपूजन गरी जग राखिन्छ र त्यसपछि घर बनाइन्छ।

घ. प्रकृति पूजा

प्रकृति पूजाको रूपमा नेवार समुदायले सूर्य, चन्द्रमा, धर्ती, आकाश, नाग र नदीको पूजा गर्छन्। होम गरी अग्निको पूजा गर्छन्। पंचतत्वको पूजा गर्छन। तिहारको समयमा काग, कुकुर, गाईको पुजा गर्छन्। जनैपूर्णिमाका दिन भ्यागुताको पूजा गर्छन्। त्यस्तै जनजीवन सहयोग गर्ने कृषि औजारहरू कुटो कोदालो, सवारी साधन, उत्पादन कार्यमा प्रयोग हुने मेशिन, तान, चर्खा आदिको पूजा गरिन्छ।

ङ. सामूहिक पूजा

नेवार समुदायले देवीदेवताको नाममा व्रत राख्ने, सुख्खा, खडेरी र अनिकालको समयमा गरिने यज्ञहोम जस्ता सामूहिक पूजा गर्छन्।

सांस्कृतिक पक्ष[सम्पादन गर्ने]

प्रमुख जीवनचक्र संस्कार[सम्पादन गर्ने]

नेवार समुदायलाई धर्मको आधारमा मूलत: हिन्दू र बौद्ध गरी दुई समुदायमा विभाजन गर्न सकिन्छ। जीवन चक्र संस्कारमा नेवार हिन्दूहरूमा सोर्ह संस्कार र बौद्धहरूमा दश संस्कार गरिन्छ। यी बाहेक अन्य परम्परागत संस्कारजस्तो जन्मदिन र मौलिक संस्कारहरू जंको अर्थात रथारोहण (बुढो पास्नी) र मृत्यु भएको सातौं दिन गरिने न्ह्यन्हुमा आदि गरिन्छ।[११]

हिन्दू धर्म अनुसार यी १६ संस्कार छन् – १. गर्भाधान २. पुंसवन ३. सीमन्तोनयन ४. जातकर्म ५. नामकर्म ६. निष्क्रमण ७. अन्नप्राशन ८. कर्णवेध ९. विद्यारम्भ १०. व्रतबन्ध वा चूडाकर्म ११. केशान्त १२. उपनयन १३. वेदारम्भ १४. समावर्तन १५. विवाह १६. अन्त्येष्ठि

बौद्ध धर्म अनुसार यी १० संस्कार छन् – १. गर्भाधान २. पुंसवन ३. सीमन्तोनयन ४. जातकर्म ५. नामकर्म ६. अन्नप्राशन ७. चूडाकर्म ८. व्रतदेशनकर्म ९. व्रतमोक्षणकर्म १०. पाणिग्रहण

नेवार समुदायमा गरिने संस्कारहरूलाई यहाँ संक्षिप्तमा प्रस्तुत गरिन्छ।

क. पूर्वजन्म संस्कार

शिशु जन्मनु पूर्व गरिने संस्कार पूर्वजन्म संस्कार हो जसमा पुसंवन संस्कार र सीमन्तोनयन संस्कार गरिन्छ।

‌(अ) पुंसवन संस्कार

महिलाले गर्भधारण गरेको ३ महिनामा श्रीमानले दही राखेर भोजन गराउने संस्कार पुसंवन संस्कार हो।[१२]

(आ) सीमन्तोनयन संस्कार

सीमन्तोनयन शब्द सीमन्त (चरमसीमा अथवा माथि) र उनयन (खोल्नु) मिलेर बनेको हो। सीमन्तोनयन संस्कारमा गर्भवती महिलालाई कपाल कोरेर बाटीदिने र सजिलोसित बसाउने गरिन्छ। गर्भवती महिलाको आरामको आवश्यकता पूरा गराईनुका साथै तिनमा जागृत हुने विभिन्न ईच्छा र भावलाई सकारात्मक भावमा बदल्न यो संस्कार गरिन्छ।[१३]

नेवार समुदायमा यी दुबै संस्कारलाई समेटेर महिला गर्भवती भएको आठदेखि नौ महिना बीचको समयमा धौबजी (दही च्यूरा) खुवाउने चलन छ। त्यसबेला गर्भवती महिलालाई माइतीबाट दही, च्यूरा, मासु, फलफूल, मिठाई लगायतका तागतिला र पोषिला खानेकुरा खान दिइन्छ।

ख. जन्म संस्कार (जातकर्म)

शिशुको जन्मपछि यो संस्कार शुरू हुन्छ। आमाको गर्भबाट पृथ्वीमा पाइला टेकेपछि शिशु अशुद्ध हुन्छ। शिशुलाई शुद्ध पार्ने अर्थात चोख्याउन यो संस्कार गरिन्छ। नेवारहरूमा चोख्याउने काम साधारणतया शिशु जन्मेको चौंथो वा छैंठो दिनमा गरिन्छ तथापि विशेष अवस्था परेमा भोलिपल्ट पनि चोख्याइन्छ। चोख्याउने काम अर्थात जातकर्म दिदीअजि (सुँडिनी) ले गर्छन्। सो दिन शिशु र आमाको पूजा गरिन्छ। बाबुलाई आफ्नो बच्चा स्वीकार्न लगाइन्छ र हस्तान्तरण गरिन्छ। नेवारभित्रै पनि कुनै कुनै जातमा भने १२ दिनमा जातकर्म गरिन्छ। बच्चाको नाममा फुपूले दीप प्रज्वलन गर्छन। वच्चालाई सो दिन घिउ र मह चाख्न दिइन्छ जसलाई घृतमधुप्राशन भनिन्छ।

ग. नामकरण संस्कार (नामकर्म)

कतै बच्चा जन्मनासाथ त कतै चार वा छ दिनमा बच्चाको आमाबाबु, मामा, फुपू, आफन्त, गुरूजन, भिक्षुबाट वच्चाको नाम राख्ने गरिन्छ। यसबेला परोहितलाई बोलाई बच्चाको चिन्हा र बच्चालाई राखेर पूजा गरिन्छ। देवताको मन्दिर अगाडि बच्चालाई राखेर पूजा गरिन्छ अनि छोरा भए दायाँ कानमा र छोरी भए बायाँ कानमा सुटुक्क नाम भनिन्छ। निष्क्रमण संस्कार (बच्चाको हेरबिचार गर्ने संस्कार) गर्नु भन्दा अघि लोग्नेका आफन्ततिरबाट भोजको जोरजाम गरी बच्चा जन्मेको घरमा खुवाउन जान्छन्। माइतीबाट र माइतीका विवाहित दिदी बहिनीहरू मासु खुवाउन जान्छन् जसलाई ला नकेगु (मासु खुवाउने) भनिन्छ। छोरा भए राङ्गाको सिङगो टाउको र छोरी भए आधा टाउको पठाउने गरिन्छ।

घ. निष्क्रमण संस्कार (सुत्केरी र शिशु स्याहार्ने)

शिशुको जातक संस्कार पछि उसलाई सूर्यको दर्शन गराई तेल लगाइदिने गरिन्छ। शिशु जन्मेको एक महिनापछि दिदी-अजिले शिशुलाई नुहाईदिन्छ र सुत्केरीले नुहाई चोखो भएपछि भान्छामा प्रवेश पाउँछन् र घरबाट बाहिर जान पनि अनुमति पाउँछ। यसरी एक महिना पुगेको सुत्केरी र शिशुलाई स्याहार गर्नको लागि माइतीबाट लिन आउँछन् र माइतमा एक डेढ महिना स्याहार सुसार गरिन्छ।

ङ. कर्णभेद संस्कार (कान छेड्ने)

शिशुको उमेर ३-४ महिना भएपछि र अन्नप्राशन भन्दा अघि मुन्द्री लगाउनको लागि साइत हेरी कान छेड्ने संस्कार छ जसलाई कर्णभेद भनिएको हो। वर्तमान समयमा भने समय मिलाई अनुकुल परेको बेला कान छेड्ने गरिन्छ र साधारणत: बच्चाको कान कलिलो छँदै छेडिन्छ। नेवार समुदायमा सुनको मुन्द्री लगाउने चलन भएपनि यसको छुट्टै संस्कार छैन। अन्नप्राशनको संस्कारको बेला सुनारलाई बोलाएर कानमा सुनको मुन्द्री वा ढुङ्ग्री लगाउने पनि गरिन्छ। बच्चाले असल र राम्रो शब्द श्रवण गरोस् भनी बच्चालाई सुनको मुन्द्री लगाईदिने गरिन्छ।

च. अन्नप्राशन संस्कार (पास्‍नी वा जंकु)

मचा जञ्कुको बेलामा लगाइने लुगा

शिशुलाई पाँच महिना पुरा भएपछि छोरा भए बिजोर र छोरी भए जोर महिनाको उमेरमा अन्नप्राशन (अन्न खुवाउने) गरिन्छ। तर कुनै कुनै नेवार भने छोराछोरी जे भए पनि बिजोर महिनामा अन्नप्राशन गर्दछन्। एकैचोटी अन्न खुवाउँदा अपच हुने हुँदा यो संस्कार अघि घृतमधुप्राशन (घिउ, मह र सख्खर चखाउने) संस्कार रहेको थियो। घृतमधुप्राशनमा पिपलको पातमा राखेर चाँदीको बज्रसूचीद्वारा चखाउने गरिन्छ।[१४]त्यसैगरी फलप्राशन (फलफूल खुवाउने) को संस्कार पनि रहेको थियो जुन अहिले अन्नप्राशनसँगै एकैचोटी गर्ने चलन छ।

पुरोहित वा घरमूलीले बच्‍चालाई ठोस खाना खुवाई अन्नप्राशनको शुभारम्भ गरिन्छ। यो दिन घरमा विशेष पूजा गरिन्छ। बच्‍चालाई दिइएको वस्तु र खेलौना आदि उपहार थालीमा राखेर रोज्न लगाइन्छ र उसले रोजेको वस्तुको आधारमा उसको भविष्यवाणी गर्ने चलन छ। थाय्‌भू (विशेष किसिमको थाली) मा चौरासी व्यञ्‍जन (खाना) राखेर चखाइन्छ। बच्‍चालाई पंचग्रास (पाँच गाँस) चखाइन्छ। पंचग्रास असर्फीले चखाउने चलन रहेपनि अहिले यो चलन देखिन छाडेको छ।


यो संस्कारको बेला बच्‍चालाई छुट्टै वस्त्र (जंकु वस:) लगाइन्छ। कानमा सुनको मुन्द्री, खुट्टामा चाँदीको कलि र छोरी मान्छे रहेछ भने हातमा चाँदीको चुरा लगाइन्छ। पूजा गरेपछि फुपूले पूजाथाली समाती मामाले बच्‍चालाई गणेशको परिक्रमा गराइन्छ। पहिलो बच्‍चाको अन्नप्राशनमा माइतीबाट बच्‍चा र आमाको लागि चाहिने सामग्रीको राम्ररी व्यवस्था गरी ल्याउने गरिन्छ।

छ. चूडाकर्म संस्कार (चूडाकरण संस्कार)

'पालि' भाषामा यो संस्कारलाई केशकम्पन्न भनिन्छ। चूडाको अर्थ टाउकोको माथि वा बीचमा रहेको केश हुन्छ। नेवार समुदायमा जन्मेदेखि उम्रेको केशलाई संस्कारको रूपमा खौरने चलन छ। यो समुदायमा यो संस्कार ठाउँ र जात अनुसार फरक छ।

चुडाकर्म वा बुसँखा संस्कार

बु भनेको जन्म, सँ भनेको केश र खा भनेको मुण्डन हो। यसर्थ बुसँखा संस्कार भनेको जन्मे देखिको केश खौरने संस्कार हो। ३ देखि ९ वर्ष भित्र छोरालाई यो संस्कार गराइन्छ। बौद्ध नेवारहरूले चूडाकर्म र हिन्दू नेवारहरूले उपनयन नामकरण गरेका छन्। यो संस्कारको उद्देश्य संस्कारित छोरालाई अनुशासनमा राख्नु एवं व्रत पालना गराउनु हो। बौद्धहरूले सम्पूर्ण केश खौरन्छन् भने हिन्दूहरूले टाउकोको माथिल्लो भागमा टुप्पी (चूडा) बाँकी राख्दछन्। चूडाकर्म वा उपनयन (जसलाई चौल पनि भनिन्छ।) छुट्टै गरिंदै आएकोमा वर्तमान समयमा ब्रतबन्ध संस्कारसँगै समापन गरिन थालिएको छ। बुसंखा संस्कार पछि जुनसुकै समयमा केश काट्न सकिन्छ।

ईही (बेल विवाह)

बेल विवाह

ईहीको अर्थ विवाह हो। हिन्दू संस्कार अनुसार बालिका सात वर्ष भएपछि विवाह गरिने प्रावधान अनुसार कहिल्यै ननासिने सहस्रबीज फल बेललाई साक्षी मानेर ईही गरिने भएकोले यो संस्कारलाई बेलविवाह भनिएको हो। बौद्ध संस्कार अनुसार बालिकालाई बेल समात्न लगाएर बोधिचित्त होस् भन्ने कामना गरिन्छ। प्राचीन समयमा बालविवाहको प्रथा रहेको समयमा यो संस्कार चलेको अनुमान गरिएको छ। बालविवाह प्रथा अन्त भएपछि त्यसको प्रतीक स्वरूप ईही गर्ने गरिएको हो।

नेवार समुदायमा यो संस्कारले नेवार कन्या कहिल्यै विधवा नमानिने र विधवाको अवस्थामा पनि अर्को विवाह गर्न सकिने मानिन्छ।[१५]यो संस्कार ज्योतिषीको साइतमा छुट्‍टै वा अन्य संस्कारसँगै पनि गर्ने गरिन्छ।

ज. उपनयन संस्कार

व्रतबन्ध, मेखलाबन्धन र प्रबज्या संस्कारलाई उपनयन संस्कार भनिन्छ जसलाई एकैचोटी समापन गर्ने चलन छ। यही उमेरमा महिलालाई गर्ने संस्कारलाई गर्भाधान (बार्हा) संस्कार भनिन्छ।

गर्भाधान वा बार्हा (गुफा राख्ने)

नेवार बालिकालाई ९ वर्ष पुराभई १२ वर्ष नकट्दैमा बार्‍हा (गुफा) राख्ने संस्कार गरिन्छ। यो संस्कार पहिले बालिका रजस्वला भएको दिनबाट गरिने चलन रहेकोमा अहिले व्यवहारिकतालाई हेरेर रजस्वला पूर्व नै गरिंदै आएको छ। गुफा राख्ने अवधि १२ दिनको हुन्छ र यो समयमा गर्भधारण हुन सक्ने ग्रन्थीहरूको विकास शुरू हुने भएकोले बालिकाले सूर्य देख्न नहुने र केटाको स्पर्श वा मुख हेर्न समेत नहुने भएकोले १२ दिनसम्म नै बालिकालाई घाम नछिर्ने कोठामा राखिन्छ र उक्त कोठामा गुफा अवधिभर केटाहरूको प्रवेश निषेध हुन्छ। गुफा बसेकी बालिकालाई बार्‍हा कोठामा केटी साथी '(बार्हापासा)हरू राखिन्छ।

सुर्यदर्शन (गुफा राख्ने)

यो संस्कार रजस्वला हुने उमेर (किशोर अवस्था शुरू भएको) मा गरिने भएको एवं यस उमेरबाट गर्भधारण गर्ने क्षमताको विकास हुने र अरू लक्षण पनि देखिन शुरू हुने हुँदा बालिकालाई साथीहरूले खेलखेलमा यौनका कुराहरू सिकाउने संस्कारका रूपमा पनि यसलाई लिईन्छ। बार्हा लाई गर्भाधान संस्कारका रूपमा पनि लिईन्छ।

गुफा बसेको समयमा गुफा कोठाको एक खोपामा कपासको ख्या: द्य: (यक्ष देवता) राखिन्छ जसलाई बालिकाले हरेक भोजन चढाएपछि मात्र आफूले खान्छे।

गुफा राख्ने पहिलो दिन बालिकालाई सगुन दिई दही च्यूरा ख्वाइन्छ। पाचौं दिनदेखि आफन्तहरूले भुटेको गेडागुडी ख्वाउन ल्याउँछन्। एघारौं रातमा बालिकाले लगाएको लुगा धुन लगाइन्छ। बार्हौं दिनमा बालिकालाई सबेरै स्नान गराई जुरो बनाईदिएर गर-गहना लगाइदिने र दुलहीलाई झैं सिगार गराईन्छ। त्यसपछि गुफा निकाली १२ अन्जुली पानी सूर्यलाई अर्पण गराई दर्शन गराईन्छ। तत्पश्चात बालिकालाई गणेशको पूजा गर्न लगाई देवदेवीको मन्दिर परिक्रमा गराइन्छ। तेर्हौं दिनमा बालिका र उसका बार्हा पासाहरू मिलेर नदीमा ख्या: द्य: बगाई ख्या: द्य: को भाग सबै मिलेर प्रसाद स्वरूप खान्छन्।

बार्‍हा राखिएको समयमा बालिकाको मृत्यु भएमा बार्‍हा कोठामा प्वाल पारी मरेको स्थानबाट सीधा तल जमीनमा गाड्नु पर्ने चलन भएतापनि हिजोआज यस्तो गरिएको सुनिंदैन।

झ. मेखला बन्धन वा ब्रतबन्ध

नेवारी समुदायमा १२ वर्षको उमेरभित्र केटाहरूको व्रतबन्ध (मेखलाबन्धन) गरिन्छ जसलाई कय्‌ता (लंगौटी) पूजा' भनिन्छ। आफूलाई संयमता र ब्रम्हचर्य व्रतमा बाँधेर समाजमा स्थापित हुन यो संस्कार गरिन्छ र प्राचीन समयको परम्परा अनुसार गुरुकुलमा गुरुगुरूमाताको सेवा गरी प्रसन्न बनाई शिक्षा हासिल गर्नु पर्दछ। बुसँखा संस्कारमा जस्तै यस संस्कारमा पनि पुरोहितद्वारा यज्ञहोम, गुरुमण्डलको पूजा आदि गरिन्छ।

हिन्दू शास्त्रानुसार व्रतबन्धपछि ज्ञानको लागि वनवास जाने तयारी गरिन्छ। तसर्थ वैदिक कालमा जस्तै वनवास जाने समयमा बाटामा राक्षस र जनावरहरूले दु:ख दिन सक्ने भएकोले यसबेला गुरु-पुरोहितबाट धनुषबाण अस्त्रमातापिताबाट आशिर्वाद प्राप्त गरी देशाटन गर्ने प्रतीक स्वरूप सात पाइला हिँड्न लगाइन्छ। गणेशको पूजा गरे पश्चात मामाले निश्चित क्षेत्रसम्म पुर्‍याउने गर्छन्। त्यसपछि देवीदेवताको परिक्रमा गराई घरमा स्वागत गरी भित्र्याइन्छ।

बौद्ध समुदायमा पूजा पश्चात पन्च स्थवीरबाट भिक्षुत्व प्रदान गरिन्छ। चार सागरको पानीले अभिषेक दिएर भिक्षु संघमा प्रवेश गराईन्छ। आफन्त र स्थवीरहरूको घरघरमा गई चार दिनसम्म भिक्षाटन गराईन्छ। चार दिनमा चार युग र चारै आश्रमको प्रतीक स्वरूप प्रवज्याको कर्म समापन गरिन्छ।

पहिला मेखला बन्धन, उपनयन, व्रतादेशव्रतसमावर्तन छुट्टाछुट्टै गर्ने गरिएकोमा यी संस्कारहरूको प्रतीक स्वरूप ती सम्पूर्ण संस्कार एकै पटक गरिन्छ।

ञ. पाणीग्रहण संस्कार; विवाह संस्कार (युवा संस्कार)

संस्कृतमा पाणि भनेको हात र ग्रहण भनेको स्वीकार हो। यस अर्थमा पाणिग्रहण संस्कार भनेको विवाह संस्कार हो। विद्या आर्जन पश्चात यो संस्कार गरिन्छ र गृहस्थाश्रममा प्रवेश गराइन्छ। केटा र केटी शारीरिक रूपले सन्तानोत्पादन गर्न सक्ने भएपछि यो संस्कार गरिन्छ। ग्रन्थहरूमा ब्राम्ह, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धार्व, राक्षस, पैसाची आदि प्रकारको विवाह उल्लेख गरेको पाइन्छ। प्राचीन समयमा यस्ता विवाहहरू देखिएका छन्।

नेवार समुदायमा मागी विवाह प्रचलनमा रहेको देखिन्छ। लमि (विवाह जुराउनका लागि वर र वधु पक्ष बीच मध्यस्थकर्ता को भूमिका निर्वाह गर्ने व्यक्ति) वा अन्य माध्यमबाट वधुका बाबुआमा (अभिभावक) समक्ष विवाहको कुरा चलाइन्छ। वरवधु दुवै पक्षको राजी पछि उपयुक्त साइतमा विवाह संस्कार सम्पन्न गरिन्छ र विवाह सम्पन्न भएको दिनदेखि लमिको भूमिका पनि समाप्त हुन्छ।

विवाह पूर्वको संस्कार

मागी विवाहमा लमिले विवाहमा कुरा मिलाई लाखा (कोसेली) लिने चलन रहेको थियो। वधु पक्षले वर पक्षसँग विवाह पक्का गर्न नगद, सुन र रोटी लिने चलन रहेकोमा छोरी बेचेको धारणा चलेको हुँदा यो चलन हटेको छ तथापि सुपारी लिने चलन कायम छ।

स्वयंवर

सुपारी दिए पश्चात विवाहपूर्व स्वयंवर गरिन्छ। पहिला स्वयंवर गरिसकेको विवाहमा वधु लिन वर जान नपर्ने र परिवारका मानिस र जन्ती गएर लिन जाने चलन छ। हिजोआज विवाह मण्डपमा नै स्वयंवर गरिन्छ।

विवाह संबन्धी साँस्कृतिक नियम

समूह भित्र विवाह

नेवार समुदायभित्र विभिन्न उप-जात हुन्छन्। सजातीय वा सगोत्री विवाह हुन्छ तर सात पुस्ता भित्रका नातेदार वीच विवाह गरिंदैन। वहुविवाह, फुपूचेली मामाचेली विवाह प्रचलन छैन। पत्‍नी जीवित रहँदैमा दोस्रो विवाह गरिंदैन। पति वा पत्नी-को मृत्युको कारण एकल हुन पुगेमा अर्को विवाह गर्न बन्देज छैन। बहुविवाह अपवादको रूपमा रहेको छ।

पारपाचुके (बैवाहिक सम्बन्ध विच्छेद)

नेवार समुदायमा लोग्नेको मृत्यु भएमा, पत्‍नीबाट सन्तान नभएमा वा कोख शुन्य भएमा वा पारिवारिक कलह उत्पन्न भएमा विवाह हुनु अघि पतिसँग विवाहको कुरा छिन्न लिइएका १० वटा सुपारी (पुटु ग्वय) फिर्ता दिएर परम्परागत तरीकाले सम्बन्ध विच्छेद गरिन्थ्यो। त्यस्तै लोग्नेको मृत्यु हुँदा मृतकको लाशमा वा घर परिवारकाले सुपारी लिएर वा झ्यालबाट सुपारी फाल्न लगाएर वा पारिवरिक सल्लाहबाट सुपारी फिर्ता दिएर पारपाचुके गर्ने परम्परा रहिआएको थियो। यसप्रकार पारपाचुके भएपछि कन्या सरह अन्यत्र अर्को विवाह हुन्थ्यो। वर्तमान समयमा यी परम्परा प्रचलनमा नरहेको पाइन्छ।

ट. मृत्यु संस्कार

नेवार समुदायको मृत्यु संस्कारमा सन्यासी जोगी, दर्शनधारी र कपालीहरूको शवलाई गाडेर र अन्यको जलाएर अन्त्येष्ठी गरिन्छ।

दागबत्ती दिने

मशानमा गुठियारहरू बसेर शवलाई सफा गर्दछन् र चिता बनाउँछन् । चितामाथि शवलाई राखेर गुठियार र आफन्तहरूले अन्तिम श्रद्धाञ्जली स्वरूप पानी तर्पण गरिन्छ। मृतकलाई छोराले तीनपल्ट पानी खुवाएर परिक्रमा गरी खुट्टामा ढोगिन्छ र सिरानीमा दागबत्ती राखिन्छ। त्यसपछि अन्त्येष्ठी गरिन्छ ।

दु व्यंके (चोख्याउने)

जात जाति अनुसार सातौ दिन वा बार्हौ दिनमा चोख्याउने चलन छ। सो दिन नजिकको जलाशयमा गएर नाउले कपाल खौरिदिएपछि छोरा(हरू)ले सेतो वस्त्र लगाउँछन्। उक्त दिन "घ:सु (घर शुद्धी)" गर्न घरमा होम गरी ढोकामा किला ठोकिन्छ। सो दिन देखि घरमा मृतकले प्रवेश गर्न सक्दैन भन्ने विश्वास गरिछ। सामान्यतया वार्षिकी तिथिमा सेतो वस्त्र फुकाइन्छ भने ४५ दिनको तिथिमा पनि फुकाउने गरिन्छ। मृतकको नाउँमा ४५ दिन, ६ महिना, वार्षिकी र दुई वर्ष तिथिमा श्राद्ध गरिन्छ। तत्पश्चात अन्तिम संस्कार सकिएको मानिन्छ।

ठ. अन्य संस्कार

बुँदिं (जन्मदिन)

नेवार समुदायमा बालबालिका दुई वर्ष पुग्दा पहिलो पटक जन्म उत्सव मनाइन्छ। अर्को वर्षदेखि निरन्तर बर्सेनि जन्मदिन मनाउने गरिन्छ। जन्मदिन गर्नेलाई पूर्वतर्फ फर्काएर [[[सुकुन्दा]] बालिन्छ। घरको थकालीद्वारा पूजा गरी दीर्घायूको कामना र आशीर्वाद सहित सगुन दिइन्छ। त्यसपछि सो दिन थालीमा दही, च्यूरा, फलफूल र पैसा राखी टोलमा बच्चाहरूलाई बाँडिन्छ। बालबालिकालाई २ देखि १२ वर्षसम्मको जोर बर्षका जन्मदिनहरूमा जतिवर्ष पुगेको हो त्यति नै वटा योमरी सहितको माला लगाईदिई पूजा गर्ने र सो माला देवतालाई चढाउने गरिन्छ।

जंको (वृद्ध संस्कार)-रथारोहण संस्कार

रथारोहण संस्कार नेवारहरूको मौलिक संस्कार हो जुन संस्कार जीवनको अन्तिम पाउमा अनेक अवस्था पार गरेर आईपुगेका वृद्धवृद्धाहरूलाई देवतुल्य मानी गरिन्छ। यो संस्कार गरिसकेका वृद्धवृद्धाहरूलाई समाजमा ठूलो सम्मान प्राप्त हुन्छ। जसको कारण नेवार समुदायमा वृद्धाश्रमको आवश्यकता नभएको मान्यता रहेको छ। कुनै महत्त्वपूर्ण सत्यनिरूपण कार्यमा जंको गरिसकेकाको वचनलाई निर्णायक मानिएको प्रमाण पाइन्छ।

जीवनको यस घडीसम्म आईपुग्दा अनेक सुखदु:ख पार गरी विभिन्न अनुभव बटुलेको र जीवनलाई बुझी कुनै राग, मोह र द्वेषबाट वितराग भएको अवस्थामा यो संस्कार गरिन्छ। रथारोहण संस्कार ५ पाँच पटकसम्म गरिने उल्लेख गरिएको छ तथापि बौद्ध अनुयायी नेवारहरूले ३ पटकसम्म मात्र गर्ने गरिएको प्रचलन पाइन्छ। यो संस्कार गर्दा पुरोहितले होम गर्ने, रथारोहण गर्नेलाई स्नान गराई नङ र केश काटिदिने, सेतो कपडाले छोपेर मन्त्र पढी सहस्र धारा भएको माटोको भाँडाबाट अभिषेक गरिन्छ। रथमा राखी देशपरिक्रमा गराइन्छ र सम्पूर्ण परिवार एवं आफन्तजनहरूले आशीर्वाद लिने गर्छन्। रथ बोक्ने वा गुडाउने कार्य नातिहरूले गर्नुपर्ने मान्यता रहिआएको छ।

जन्मकुण्डलीको आधारमा कुण्डली पूजा गरी ग्रह नक्षत्रबाट हुने दोष पन्छाइन्छ। जंको गर्नेको कानमा सुनको मोती जडिएको मुन्द्री पुनायचा लगाइन्छ। पतिको जंको गर्दा पत्नीको पनि सँगै जंको गरिन्छ र यो संस्कार पछि देवत्व प्राप्त गरेको मानिन्छ।

भीमरथारोहण (पहिलो जंको)

भीमरथारोहण ७७ वर्ष ७ महिना ७ दिन ७ घडी र ७ पलाको साइतमा गरिन्छ। जंको गर्नेलाई सूर्यको दर्शन गराइन्छ। बौद्धहरूले जंको गर्दा ग्रहमण्डल, बसुन्धरामण्डल उष्णीवीजयामण्डल लेखी दर्शन गराइन्छ। रथ बनाउँदा रथमा घोडाको प्रतीक बनाइन्छ।

देवरथारोहण (दोस्रो जंको)

देवरथारोहण १,००० (सहस्र) चन्द्र दर्शन गरेको उपलक्ष्यमा गरिन्छ। यो संस्कारमा चन्द्रमा दर्शन गराई रातको समयमा गरिने हुँदा रथारोहण गरिएको पाईंदैन। बौद्धहरूले ८८ वर्ष ८ महिना ८ दिन ८ घडी र ८ पलाको साइतमा र हिन्दूहरूले ८३ वर्ष ४ महिना ४ दिनको साइतमा यो संस्कार गर्दछन। त्यस्तै अनला (पुरुषोत्तम महिना/मलमास)को कारण १ वर्ष अघिपछि पनि पर्न गएको पाइन्छ। यसपटकको जंकोमा रथमा हाँसको प्रतीक बनाइन्छ।

महारथारोहण (तेस्रो जंको)

बौद्ध अनुयायीहरूले तेस्रो जंकोको समय ९९ वर्ष ९ महिना ९ दिन ९ घडी ९ पला निर्धारित गरेको भएपनि हिन्दू मतानुसारको समय ८८ वर्ष ८ महिना ८ दिनको समयलाई पछ्याएको पनि पाइन्छ। यस पटकको जंकोमा रथमा विष्णुको वाहन स्वरूप गरूडको प्रतीक राखिन्छ।

चौथो जंको - पुनर्जन्म संस्कार

यस पटकको जंकोलाई पुनर्जन्मको रूपमा लिइन्छ। यसकारण यस समयमा जन्मको प्रतीक स्वरूप घ्याम्पोमा राखी निकालिन्छ र जातकर्म देखि सम्पुर्ण संस्कार गरी समापन गरिन्छ।

चाडपर्व[सम्पादन गर्ने]

बैशाख संक्रान्ति, अक्षय तृतीया, बैशाख पूर्णिमा, आमा ख्वाउने औंशी, सिठीनख, ज्यापून्हि, गुँला, सापारू (गाईजात्रा), नागपञ्चमी, पञ्चदान, गथा:मुग (घण्टाकर्ण), ऋषिपञ्चमी, मतया: (दीपयात्रा), बुबा ख्वाउने औशी, चथा (गणेश चौथी), यँया पून्हि (ईन्द्रजात्रा), सोर्हश्राद्ध, मोहनी (दशैं), स्वन्ति (तिहार), सकिमना पुन्हि, बालाचर्हे, य:मरि पुन्हि, मालाखो:, दिसि, घ्य चाकू संल्हु (माघे संक्रान्ति), सिलाचर्हे (महाशिवरात्री), श्रीपञ्चमी, होली, पाँहाचर्हे (घोडेजात्रा), मर:जा आदि नेवार समुदायले मनाउँदै आएका चाडपर्व हुन्‌।[१६]

उपरोक्त चाडहरूमध्येका केही चाडहरूको यहाँ छोटो चर्चा गरिन्छ।

क. मोहनी (दशैं)

ख. स्वन्ति (तिहार एवं नेपाल सम्वत्‌को नयाँ वर्ष शुरू हुने समयमा)

ग. क्वाति पुन्हि (जनै पूर्णिमा-श्रावण पूर्णिमाको दिन)

घ. यँया पुन्हि (इन्द्रजात्रा-भदौ पूर्णिमाको दिन)

ङ. सकिमना पुन्हि (कार्तिक पूर्णिमाको दिन)

च. योमरी पुन्हि (धान्य पूर्णिमा-मंसीर पूर्णिमाको दिन)

छ. सिपुन्हि (माघ पूर्णिमाको दिन)

ज. खाईसंल्हु (बैशाख संक्रान्तिको दिन)

झ. हामोसंल्हु (माघे संक्रान्तिको दिन)

ञ. गथामुग चर्हे पूजा: (श्रावण कृष्ण चतुर्दशीको दिन)

ट. सिलाचर्हे-महाशिवरात्री (फागुन कृष्ण चतुर्शीका दिन)

ठ. पाहांचर्हे-घोडे जात्रा (चैत कृष्ण चतुरदशी-पिशाच चतुर्दशी)

ड. सिथिनख: - कुल पूजा समेत (जेष्ठ शुक्ल षष्ठीका दिन)

ढ. पञ्चदान (श्रावण शुक्ल अष्टमी-श्रावण कृष्ण त्रयोदशी)

ण. चथा (गणेश चौथी-भाद्र शुक्ल चौथी)

सारसंक्षेप[सम्पादन गर्ने]

सारमा भन्नुपर्दा नेपालको चर्चा गर्दा नेवारहरूको इतिहास र संस्कृति सँगसँगै जोडिएर आउँछ र विश्वमञ्चमा नै नेपाललाई चिनाउने एउटा महत्वपूर्ण ऐतिहासिक र साँस्कृतिक सभ्यताको कडीको रूपमा नेवार जाति देशकै गौरवको रूपमा उभिएको छ। यस कुरालाई डा. रेग्मीको "नेवार जाति होइन, राष्ट्र हो" भन्ने सारगर्भित भनाइले पुष्टी गर्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. तुलाधर, प्रेमशान्ति. ने. सं. ११२० (वि. सं. २०५७). नेपालभाषा साहित्य:या इतिहास. कान्तिपुर. नेपालभाषा एकेदमि.
  2. राष्ट्रिय जनगणना प्रतिवेदन-२०६८ ।। http://unstats.un.org/unsd/demographic/sources/census/wphc/Nepal/Nepal-Census-2011-Vol1.pdf
  3. वैद्य, तुलसीराम. ने. सं. ११२७ (वि. सं. २०६४). नेपालमण्डल (ऐतिहासिक सीमाना, तथ्य व लिधंसा. काठमाडौं. नेवा: देय्‌ दबु.
  4. वैद्य, तुलसीराम. ने. सं. ११२७ (वि. सं. २०६४). नेपालमण्डल (ऐतिहासिक सीमाना, तथ्य व लिधंसा. काठमाडौं. नेवा: देय्‌ दबु.
  5. वैद्य, तुलसीराम. ने. सं. ११२७ (वि. सं. २०६४). नेपालमण्डल (ऐतिहासिक सीमाना, तथ्य व लिधंसा. काठमाडौं. नेवा: देय्‌ दबु.
  6. वैद्य, तुलसीराम. ने. सं. ११२७ (वि. सं. २०६४). नेपालमण्डल (ऐतिहासिक सीमाना, तथ्य व लिधंसा. काठमाडौं. नेवा: देय्‌ दबु.
  7. मल्ल, के सुन्दर. ने. सं. ११२० (वि. सं. २०५७). नेवा: म्हसिका. काठमाडौं. मल्ल के सुन्दर.
  8. वैद्य, तुलसीराम. ने. सं. ११२७ (वि. सं. २०६४). नेपालमण्डल (ऐतिहासिक सीमाना, तथ्य व लिधंसा. काठमाडौं. नेवा: देय्‌ दबु.
  9. वैद्य, तुलसीराम. ने. सं. ११२७ (वि. सं. २०६४). नेपालमण्डल (ऐतिहासिक सीमाना, तथ्य व लिधंसा. काठमाडौं. नेवा: देय्‌ दबु.
  10. वैद्य, तुलसीराम. ने. सं. ११२७ (वि. सं. २०६४). नेपालमण्डल (ऐतिहासिक सीमाना, तथ्य व लिधंसा. काठमाडौं. नेवा: देय्‌ दबु.
  11. बज्राचार्य, बज्रमुनि. ने. सं. ११२० (वि. सं. २०५७). नेवा: संस्कार परिचय. ललितपुर. घ:चा: धुकू
  12. काणे, पाण्डुरंग र अर्जुन चौबे काश्यप (अनु.). ने. सं. ११०८ (वि. सं. २०४९, ई. सं. १९९२). धर्म शास्त्रका इतिहास, (चतुर्थ संस्करण). लखनऊ. उ. प्र. हिन्दी संस्थान
  13. बज्राचार्य, बज्रमुनि. ने. सं. ११२० (वि. सं. २०५७). नेवा: संस्कार परिचय. ललितपुर. घ:चा: धुकू
  14. बज्राचार्य, बद्रीरत्न. ने. सं. ११२४ (वि. सं. २०६१). नेपालया बौद्धधर्मय् दशकर्म संस्कार धर्म; कारण व महत्व काठमाडौं. श्रीमती माइली महर्जन
  15. बज्राचार्य, बज्रमुनि. ने. सं. ११२० (वि. सं. २०५७). नेवा: संस्कार परिचय. ललितपुर. घ:चा: धुकू
  16. बज्राचार्य, चुन्दा. ने. सं. ११२० (वि. सं. २०५७). नेवा: तजिलजिइ नख:चख:. काठमाडौं. नेपालभाषा एकेदमि.