पं.भीमप्रसाद तिम्सिना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पं. भीमप्रसाद तिमसिना हालसम्म उपलब्ध जानकारी अनुसार समय र कृति प्रकाशनका दृष्टिले सुरुङ्गाका प्रथम साहित्यकार र सम्भवतः झापाकै प्रथम काव्यकार हुन् । भद्रपुरबाट विक्रम सम्वत २००९ देखि प्रकाशित ‘केटो’ सामाचार प्रधान पाक्षिक पत्रिकाबाट झापामा साहित्यिक गतिविधि सुरु भएको पाइन्छ भने सोही ठाउँबाट विक्रम सम्वत २०११ देखि प्रकाशित ‘हाम्रो नेपाल’ साहित्यिक मासिक पत्रिकाबाट यहाँको साहित्यिक गतिविधि अघि बढेको देखिन्छ । त्यसै गरी झापाली व्यक्ति साहित्यकारका पुस्तकाकार कृतिका रूपमा भवानी घिमिरेका ‘आत्मज्वाला’ (२००९) र ‘नानी’ (२०१२) कथासङ्ग्रह तथा मदनकृष्ण प्रसाईंको ‘दृश्य मञ्जरी’ नाट्य कृतिको उल्लेख पाइन्छ । (कोइराला, २०५३ ः ११—१४)[१] त्यस्तै भीमप्रसाद तिमसिनाका ‘धर्म चरित्र’ (२०१६) र ‘गायत्री पुष्प’ (२०१७) नामक लघुकाव्य तुलसीबाडी (सुरुङ्गा), झापाबाट प्रकाशित भएका पाइन्छन् ।

व्यक्ति र व्यक्तित्व[सम्पादन गर्ने]

भीमप्रसाद तिमसिनाको जन्म केदारनाथ तथा धनमायाका पुत्ररत्नका रूपमा विक्रम सम्वत १९७९ माघ २ गते सङ्खुवासभा जिल्ला अन्तर्गत खाँदबारीको ढुङ्गेधारामा भएको थियो । उपनयन संस्कार पश्चात् सात वर्षको उमेरमा शिक्षारम्भ गरेका तिमसिनाले भारतको बनारसस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट शास्त्रीसम्मको औपचारिक शिक्षा आर्जन गरेका थिए । भीम गुरु नामले प्रसिद्ध तिमसिना धर्मशास्त्र, पुराण तथा कर्मकाण्डका सम्बन्धमा आफ्नो समय र क्षेत्रका आधिकारिक ज्ञाता थिए । मावलीका अभिभावकत्वमा काशीमा अध्ययन गर्न बसेका बेला यता पैतृक थलामा एकल जीवन बिताइरहेकी आमाले ऋण लागेकाले आफ्नो घरजगा साहुका हातमा सुम्पनुपरेको हुँदा तिमसिनाले ठुल्यामाका छोरा दाजुका घरमा शरणार्थी जीवन बिताउनुपरेको थियो ।

युवा वय टेकेका तिमसिनाले जीविकोपार्जनको खोजीमा विक्रम सम्वत १९९६ देखि १९९८ सम्म भारतको आसाम, पश्चिम बङ्गाल आदि विभिन्न ठाउँमा भौंतारिनुपरेको थियो । विक्रम सम्वत १९९८ मा उनी झापामा बसोबास गर्न आइपुगेका थिए । तत्कालीन झापाको सुरुङ्गा मौजा (हालको सुरुङ्गा, घैलाडुब्बा, डाँगीबारी र शरणामती गा.वि.स.) का तुलसीबारी, क्याम्पा, चम्पापुर आदि ठाउँहरूमा उनको बसोबास भयो । पत्नीको देहावसानका कारण उनले पटकपटक गरी चार जनासँग वा चारपटकसम्म विवाह गर्नुपरेको थियो । उनी पाँच पुत्र र चार पुत्री गरी नौ सन्तानका पिता बने ।

भीम गुरुको मुख्य व्यवसाय कृषि नै थियो । उनी आफ्नो समयमा सिचाइ लगायतका सुविधा जुटाएर नयाँ ढङ्गले खेती गर्नमा अग्रणी र सक्रिय थिए । विक्रम सम्वत २००९ तिर उनी कोशी टप्पुमा गई गोठ पालेर पशुपालक कृषक पनि बनेका थिए भन्ने बुझिन्छ । मुख्य पेसाका रूपमा नअँगाले पनि उनले पुराण वाचन र कर्मकाण्डमा आफ्नो समयमा अगुवाइ गरेका थिए । उनी समाजसेवी थिए । खास गरी धार्मिक तथा शैक्षिक संस्थाहरूमा उनको योगदान रहेको पाइन्छ ।

विक्रम सम्वत २०१६ देखि हालको घैलाडुब्बाको चम्पापुरमा भीम गुरुको बसोबास थियो भने सोही स्थानमा २०१७ सालमा गायत्री मन्दिरको स्थापना भयो । उक्त मन्दिरको स्थापनामा उनको सक्रिय योगदान रहेको छ । उनी त्यस मन्दिरको सञ्चालक समितिको आजीवन प्रबन्धक बने भने उनले व्यवस्थापक र सचिव भई सक्रिय रूपमा कार्यभार सम्हालेका थिए । उनले विक्रम सम्वत २०२० मा उक्त मन्दिरको गुठीका लागि सुरुङ्गामा रहेको आफ्नो ४ विगाहा जगा दान दिए । त्यसै गरी विक्रम सम्वत २०४२ मा योगी नरहरिनाथद्वारा झापाको सुरुङ्गामा आयोजित कोटिहोम महायज्ञको प्रमुख आचार्य भई कार्यभार सम्हालेका थिए । विक्रम सम्वत २०४३ देखि त्यसै स्थानमा स्थापित गायत्री विद्यापीठको कुलपति भई कार्य गरेका थिए ।

विक्रम सम्वत २०१८ मा झापा जिल्ला अन्तर्गत घैलाडुब्बाको चम्पापुरमा भीम गुरुकै अगुवाइमा गङ्गाधर संस्कृत पाठशाला स्थापना गरियो । त्यसमा उनले संस्थापक सेक्रेटरी पदमा रही काम गरेका थिए । त्यही पाठशाला हालको चम्पापुर मा.वि.का नामले प्रसिद्ध छ । विक्रम सम्वत २०२१ मा हालको डाँगीबारी—४ मा रहेको पशुपति प्राथमिक विद्यालयको स्थापना भयो र त्यसै समयमा उक्त विद्यालयको सञ्चालक समितिमा रहेर उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । त्यसै गरी विक्रम सम्वत २०२५ मा आदर्श विद्यामन्दिर घैलाडुब्बाको सञ्चालक समितिमा रही काम गर्नका साथै झापाकै पुराना र प्रसिद्ध विद्यालयमध्येको एक मानिने त्यस संस्थालाई जग्गा समेत दान गरेका थिए ।

यसरी जीवनमा विविध उक्काली र ओराली गर्दै भीम गुरुले धार्मिक, शैक्षिक तथा समाजिक क्षेत्रमा योगदान पुर्याए भने साहित्यिक क्षेत्रमा समेत उनको भूमिका ऐतिहासिक बनेको छ ।उनका धर्म चरित्र (२०१६), गायत्री पुष्प (२०१७) र सन्ध्योपासन विधि (२०४४) गरी तीन पुस्तकाकार कृतिहरू तथा विविध पत्रपत्रिकामा प्रकाशित फुटकर गद्य लेख र पद्य रचनाहरू प्रकाशित एवम् उपलब्ध छन् ।

उनले विशेष गरी धार्मिक तथा नैतिक विषयवस्तुमा कलम चलाएका छन् तापनि उनका कृतिमा साहित्यिक विशेषताहरू पाइन्छन् । यस क्षेत्रमा लेखन कार्य शून्य रहेको अवस्थामा उनले जे लेखे त्यो नै ऐतिहासिक महत्त्वको योगदान बन्न पुग्यो । साहित्यिक दृष्टिले उनका कृतिहरू त्यति उत्कृष्ट नठहरिएलान् तर त्यस समयमा त्यति पनि अरु कसैबाट गरिएको पाइँदैन । त्यसैले भीम गुरुका रचनाहरू सुरुङ्गा क्षेत्रका प्रथम साहित्यिक उपलब्धि बन्न पुगे भन्नमा अन्यथा होवोइन । विक्रम सम्वत २०५० माघ २ गते उनको देहावसान भयो ।

स्रोत : जीवनाथ सुवेदी

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. कोइराला, विष्णुप्रसाद. २०५३. झापा जिल्लाको साहित्यिक रूपरेखा. (अप्रकाशित स्नातकोत्तर शोधपत्र), विराटनगर ः स्नातकोत्तर क्याम्पस ।