पदवियोग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


नेपाली भाषाका प्रयोक्तालाई वर्ण विन्यासको प्रयोगमा समस्या छ। त्यसमा पनि पदयोग र पदवियोगमा अझ बढी समस्या देखिन्छ। कस्ता कस्ता र कति कति शब्दहरू जोडेर लेख्ने र नजोडी लेख्ने भन्ने कुरामा निकै द्विविधा छ। पदयोग र पदवियोगका सम्बन्धमा विज्ञहरूमा त एकरूपता पाइँदैन भने सामान्य प्रयोक्तामा समस्या पर्नु स्वाभाविकै हो। तसर्थ यिनै पक्षहरूलाई ध्यानमा राखी पदवियोगसम्बन्धी मान्यता र प्रचलनहरू तल उल्लेख गरिएको छः

निम्न शब्दहरूमा पद वियोग हुन्छ :

१. हरेक शब्दहरूमा : म चिया खान्छु।

२. विभक्तिपछिको विभक्तिमाः उसका लागि, रामका निम्ति, आफ्ना लागि।

३. विभक्तिपछिको नामयोगीमा : घरदेखि बाहिर, ऊभन्दा बाहेक, छानाको माथि, छोरालाई भन्दा।

४. द्वयक्षरी वा सोभन्दा भनाइ बढी व्यञ्जनान्त अक्षरका नामयोगीमाः भनाइ अनुसार, विकास सम्बन्धी, विकास लगायत, भाषण अनुरूप, योजना बमोजिम, तिमी बाहेक, खेल अन्तर्गत, राम लगायत।

५. निपातमा : आफू त, तिमी पो, घर नै, म मात्र।

६. संयोजकमा : राम र सीता, तिमी जे गर्छौ म त्यही गर्छु, तिमी पनि म पनि।

७. विशेषण र विशेष्य भई आउने शब्दमाः ठूलो छोरो, भित्ते पात्रो, शुभ यात्रा, उच्च शिक्षा, निम्न वर्ग, पढेको केटो।

८. केही संयुक्त क्रियामा/पक्षबोधक क्रियामा/कृदन्तीय क्रियाको अंशमा : बसेको छ, गएको थियो, खाँदै छ, जानु छ, सुत्ने छ, उठ्न सक्यो, फरफराइ रहेको छ, गइ दिनु हुनेछ, पढे हुन्छ, गर्नु थियो, बोलि दिनु होला, गर्न सक्छ।

९. जाति, वर्ग आदि जनाउँदा सो भन्दा पहिले आउने नाममा : गुरु वर्ग, शरद ऋतु, वर्षा याम, थारु जाति।

१०. दुईभन्दा बढी शब्दबाट बनेका समस्त शब्दमाः नुन चिनी पानी, शिक्षा सेवा आयोग, तन मन धन।

११. जतिसुकै अक्षर भएका शब्दसँग व्यञ्जनान्त द्वयक्षरी वा सोभन्दा बढीका अनेकाक्षरी शब्दहरू समास भएमाः घर पालुवा, वायु प्रदुषण, स्वास्थ्य सेवा, वन कार्यालय, संविधान सभा, ऊर्जा विभाग।

१२. व्यक्ति वाचक नामसँग आउने पदमाः लमजुङ जिल्ला, जुम्ला जिल्ला, हरिहर भवन, दशरथ चोक।

१३. दुई अक्षरबाट बनेका व्यञ्जनान्त शब्दमाः समाज सुधार, नाटक मञ्चन, नेपाल सरकार।

१४. कोटिकरमा : दुई जना, तीन ओटा, आठ कोसा।

१५. सार्थक पकृतिका द्वित्व शब्दमा : जो जो, जे जे, ठीक ठीक, बीच बीच।

१६. बीचमा अवधार- णाबोधक शब्द आएमा मिश्रति क्रिया तथा संयुक्त क्रियामा : खानु नै पर्छ, जाने नै छ।

१७. विभाजन जनाउने 'न' माः न आफू पढ्छ न अरूलाई पढ्न दिन्छ, न पढ्छ न लेख्छ, न छोरो न छोरी।

सन्दर्भग्रन्थ सूची[सम्पादन गर्ने]

    • -अनिवार्य नेपाली शिक्षण निर्देशिका, त्रि.वि., पाठ्यक्रम विकास केन्द्र, अनिवार्य विषय स्थायी समिति, साझा प्रकाशन, २०६६।
    • -अधिकारी, हेमाङ्गराज (२०६३), प्रयोगात्मक सरल नेपाली व्याकरण (दो.सं.), काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार।
    • -बन्धु चूडामणि (सातौँ सं. २०५३), भाषाविज्ञान, काठमाडौं ः साझा प्रकाशन।
    • -शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल (२०६०), आधुनिक भाषाविज्ञान, काठमाडौं ः विद्यार्थी पुस्तक भण्डार।
    • -सुवेदी, लालानाथ र हरिप्रसाद शर्मा (२०५१), नेपाली वर्ण विन्यास, काठमाडौं ः साझा प्रकाशन।