पद्म (विष्णु)
| श्रृङ्खलाको एक भाग |
| वैष्णव धर्म |
|---|

पद्म (संस्कृत: पद्म, शाअ 'कमल') विष्णुको प्रतिमाशास्त्रमा उनले धारण गर्ने चारवटा प्रमुख आयुध वा विशेषताहरू मध्ये एक हो।[१] यो विष्णुको जलमा रहेको निवासका साथै सृष्टि र जन्ममा उनको भूमिकासँग सम्बन्धित छ।[२][३]
वैष्णव भजनहरूमा प्रायः 'पद्म' लाई विष्णु वा नारायणको एक गुणको रूपमा सन्दर्भ गरिएको पाइन्छ जहाँ उनका कमल-चरण,[४] कमल-नयन, कमल-नाभी,[५] र कमल-कण्ठको अलङ्कारिक प्रयोग गरिएको हुन्छ। पद्म पुराण अठार मुख्य पुराणहरू मध्ये एक हो जसको नाम विष्णुको यही 'पद्म' गुणको नाममा राखिएको र यसमा उनको स्तुतिमा समर्पित ठूला खण्डहरूलाई समावेश गरिएको छ।
पौराणिक कथा
[सम्पादन गर्नुहोस्]विष्णु पुराणका अनुसार, समयको सुरुमा, विष्णुको नाभिबाट फुलेको कमलको फूलभित्र ब्रह्माको सृष्टि भएको वर्णन गरिएको छ। त्यसैले वैष्णव सृष्टिविज्ञानको कथामा 'पद्म' को विशेष महत्त्व रहन्छ जहाँ विष्णुले ब्रह्मालाई ब्रह्माण्ड र बाँकी सृष्टिको रचना सुरु गर्न निर्देशन दिन्छन्। कमल अशुद्ध समुन्द्रको सतहमुनिबाट सूर्यतर्फ उब्जिने भएकाले यसलाई धर्म (ब्रह्माण्डको नियम) को प्रतिनिधित्वका साथै शुद्धताको प्रतीक मानिन्छ।[६][७]
समुद्र मन्थनको समयमा, जब लक्ष्मीले विष्णुलाई आफ्नो अनन्त स्वामीको रूपमा रोज्छिन् तब उनले विष्णुको घाँटीमा कमलको माला लगाइदिन्छिन् जसकारण उनलाई 'कमल-मुखी' को रूपमा पनि प्रशंसा गरिन्छ।[८][९]
गजेन्द्र मोक्षको कथामा, हात्ती गजेन्द्रले गोहीबाट आफ्नो भक्तको रक्षा गर्न आएका विष्णुलाई अर्पण गर्नका लागि एउटा कमलको फूल समातेको हुन्छ।[१०]
कृष्णको लोक, गोलोकलाई पृथ्वीमा वृन्दावनको रूपमा आह्वान गरिन्छ, जसलाई हजारौँ पत्र भएको कमलको आकारमा चित्रण गरिएको छ।[११]
विष्णुलाई सामान्यतया आफ्नो तल्लो देब्रे हातमा कमल समातेको देखाइन्छ, जबकि उनकी अर्धाङ्गिनी लक्ष्मीले आफ्नो दाहिने हातमा कमल समात्छिन्, र देवीलाई प्रायः कमलको फूलमा बसिरहेको रूपमा पनि चित्रण गरिन्छ।[१२]

एक शैव मिथकले विष्णुले १००८ वटा कमलका फूलहरूद्वारा शिवको पूजा गरेको वर्णन गर्दछ, जहाँ उनले शिवका प्रत्येक नामका लागि एउटा कमल अर्पण गरेका थिए। विष्णुको एउटा कमल कम होस् र पूजा अपूर्ण रहोस् भनेर शिवले उनको परीक्षा लिनका लागि गुच्छाबाट एउटा कमल हटाइदिन्छन्। यद्यपि, सर्वज्ञ विष्णुले आफ्नो एउटा कमल जस्तो आँखा निकालेर लिङ्गमा चढाउँछन्। यसबाट प्रसन्न भएर शिवले उनलाई सुदर्शन चक्र प्रदान गर्छन्।[१३]
प्रतीकात्मकता
[सम्पादन गर्नुहोस्]विष्णुको कमलसँगको सम्बन्ध, उनकी अर्धाङ्गिनी लक्ष्मीको प्रतीकमा रहेको फूलको उपस्थितिपछि आएको विश्वास गरिन्छ जसका लागि यसले जल र उर्वरताको प्रतिनिधित्व गर्दथ्यो। कमल धारण गरेका विष्णुका मूर्तिहरू पाँचौँ वा छैटौँ शताब्दीका भेटिएका थिए जसमा उनलाई पद्मनाभ (कमलको नाभी भएको), पुण्डरीकाक्ष (कमल जस्तो आँखा भएको) र पद्मपाणि (हातमा कमल भएको) जस्ता विशेषणहरूले प्रस्तुत गरिएको छ। छैटौँ शताब्दीको मध्यतिरका टाउकोबाट कमल पलाएको नृसिंहका मूर्तिहरू पनि फेला परेका थिए। पाञ्चजन्य (शङ्ख) र कमल सबैभन्दा शुभ प्रतीकहरू मध्येका मानिन्छन् र प्रायः घरको प्रवेशद्वारको दुबै तर्फ यिनलाई चित्रण गर्ने गरिन्छ। कमल पृथ्वीको पनि प्रतीक मानिन्छ र यसले ब्रह्माण्डलाई नै धारण गरेको भनिन्छ। त्यसैले ब्रह्माण्डको दिव्य संरक्षक (विष्णु) को लागि यो विशेष रूपमा उपयुक्त चिन्ह हो। विष्णुधर्मोत्तर पुराणले स्पष्ट रूपमा उल्लेख गरेअनुसार विष्णुको नाभिबाट निस्किएको कमलले पृथ्वीको र त्यसको डाँठले ब्रह्माण्डको अक्ष मेरु पर्वतको प्रतिनिधित्व गर्दछ। विष्णुको हातमा हुँदा यसलाई जलको र लक्ष्मीको हातमा हुँदा यसले धनको प्रतीक मानिन्छ।[१४] तेस्रो शताब्दीको विष्णुको वराह अवतार र उनकी अर्धाङ्गिनी भूदेवीको एउटा मूर्ति पनि फेला परेको छ। जसमा भूदेवी आफैँ एउटा कमलमा उभिएकी छिन् जबकि वराहले आफ्नो देब्रे हातले कमलको कोपिला समातेका छन् जसले पृथ्वीलाई बिना कुनै प्रयास धारण गरेको कार्यलाई जनाउँछ।[१५]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Easwaran, Eknath (२०१७-१०-१७), Vishnu and His 1000 Names (अङ्ग्रेजीमा), Jaico Publishing House, आइएसबिएन 978-93-86348-87-6।
- ↑ "The Burlington Magazine", JSTOR 110 (788): 629–631, १९६८, आइएसएसएन 0007-6287, जेएसटिओआर 875819।
- ↑ Kenoyer, Jonathan M.; Heuston, Kimberley Burton (२००५), The Ancient South Asian World (अङ्ग्रेजीमा), Oxford University Press, पृ: 93, आइएसबिएन 978-0-19-522243-2।
- ↑ The Brahmavâdin (अङ्ग्रेजीमा), M.C. Alasingaperumal, १९०१, पृ: 101।
- ↑ Sasidharan, G. K. (२०२०-०४-०८), Not Many, But One Volume I: Sree Narayana Guru's Philosophy of Universal Oneness (अङ्ग्रेजीमा), Penguin Random House India Private Limited, पृ: 159, आइएसबिएन 978-0-14-349759-2।
- ↑ Pattanaik, Devdutt (२००३-०४-२४), Indian Mythology: Tales, Symbols, and Rituals from the Heart of the Subcontinent (अङ्ग्रेजीमा), Inner Traditions / Bear & Co, आइएसबिएन 978-0-89281-870-9।
- ↑ Krishna, Nanditha (जुन २०१०), The Book of Vishnu (अङ्ग्रेजीमा), Penguin Books India, पृ: 24, आइएसबिएन 978-0-14-306762-7।
- ↑ Bhagat, Dr S. P. (२०१६-०९-१८), Shrimad Bhagavata Purana (अङ्ग्रेजीमा), Lulu Press, Inc, पृ: 83, आइएसबिएन 978-1-365-40462-7, मूलबाट २०२३-०५-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-३०।
- ↑ Debroy, Bibek (२०२२-०६-३०), Vishnu Purana (अङ्ग्रेजीमा), Penguin Random House India Private Limited, पृ: 52, आइएसबिएन 978-93-5492-661-7।
- ↑ Mukherjee, Sreecheta (२०१२-१२-२५), Temples of Bengal (अङ्ग्रेजीमा), Aesthetics Media Services, पृ: 22।
- ↑ "Text 2", Brahma Samhita, "The whorl of that transcendental lotus is the realm of Gokula, the highest abode of Krishna."
- ↑ Ph.D, Lavanya Vemsani (२०१६-०६-१३), Krishna in History, Thought, and Culture: An Encyclopedia of the Hindu Lord of Many Names: An Encyclopedia of the Hindu Lord of Many Names (अङ्ग्रेजीमा), ABC-CLIO, पृ: 123, आइएसबिएन 978-1-61069-211-3।
- ↑ Vanamali (२०१३-१०-०४), "Chapter 23", Shiva: Stories and Teachings from the Shiva Mahapurana (अङ्ग्रेजीमा), Simon and Schuster, आइएसबिएन 978-1-62055-249-0।
- ↑ Art, Los Angeles County Museum of; Pal, Pratapaditya (१९८६-०१-०१), Indian Sculpture: Circa 500 B.C.-A.D. 700 (अङ्ग्रेजीमा), University of California Press, पृ: 41, आइएसबिएन 978-0-520-05991-7।
- ↑ Art, Los Angeles County Museum of; Pal, Pratapaditya (१९८६-०१-०१), Indian Sculpture: Circa 500 B.C.-A.D. 700 (अङ्ग्रेजीमा), University of California Press, पृ: 198, आइएसबिएन 978-0-520-05991-7।