पोर्टल:नेपाल/छानियेका जीवनीहरू/१
विद्यादेवी भण्डारी (जन्म: २०१८ असार ५) नेपालको वर्तमान राष्ट्रपति हुन् । उनी नेपालको पहिलो महिला राष्ट्रपति हुन्। गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला सङ्घकी अध्यक्ष थिइन। इनी स्वर्गीय नेता मदन भण्डारीकी धर्मपत्नी हुन्। नेकपा एमालेमा रही सकृय राजनीति गर्ने यिनी नेपालको रक्षामन्त्री समेत भइसकेकी छिन्।
विद्या भण्डारीको जन्म भोजपुर जिल्लामा आमा मिथिला पाण्डे तथा बाबु रामबहादुर पाण्डेको कोखमा २०१८ साल असारमा भएको थियो। विद्यार्थी जीवनदेखि नै कम्युनिष्ट राजनीतिमा सकृय विद्या २०३७ मा महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पस विराटनगरको स्ववियू कोषाध्यक्ष निर्वाचित भएकी थिइन्। उनको २०३९ सालमा तत्कालिन नेकपा मालेका नेता मदन भण्डारीसित भूमिगत रूपमा विवाह भयो। पतिको २०५० सालमा विवादास्पद जीप दुर्घटनामा मृत्यु भएपछि यिनी राजनीतिमा पुनः सकृय भइन्। २०५० को उपनिर्वाचनमा नेपाली कांग्रेसका तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि राजनीतिमा यिनको पकड बलियो भयो।