सामग्रीमा जानुहोस्

प्रकाशमिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रकाशको परिमाणात्मक मापनबारे अध्ययन गर्ने भौतिकशास्त्रको शाखालाई प्रकाशमिति भनिन्छ।[१] प्रकाशमितिको अङ्ग्रेजी शब्द फोटोमेट्री दुईवटा ग्रीक शब्द फोटो र मेट्री मिलेर बनेको छ, जहाँ फोटोको अर्थ प्रकाश र मेट्रीको अर्थ मापन भन्ने हुन्छ। तसर्थ प्रकाशमिति प्रकाशको मापन गर्ने शास्त्र हो।

प्रकाश या त कुनै स्रोतबाट उत्सर्जन हुन्छ या कुनै वस्तुबाट परावर्तन हुन्छ। धेरैजसो वस्तुहरू प्रकाशको परावर्तन पछि देखिन्छन् तर केही वस्तुहरू जस्तै बिजुलीका बत्तीहरू, ताराहरू, सूर्य, मैनबत्तीको ज्वाला आदि आफैँले उत्सर्जन गरेको प्रकाशले देखिन्छन्। आजकल प्रकाशको उचित उज्यालोपनलाई धेरै महत्व दिइन्छ किनभने मानव आँखाले भरपर्दो मापन दिन सक्दैन। त्यसैले घरका कोठाहरूको उज्यालो, कारखानाको कार्यशालाको उज्यालो, अस्पतालको शल्यक्रिया कक्षको उज्यालो आदि उचित प्रकाश व्यवस्थापन गरेर मिलाइन्छ। यस्ता उचित मापनका लागि फोटोमिटरहरू विकास गरिएका छन्।

प्रकाशमिति सम्बन्धी शब्दावली

[सम्पादन]

दीप्त प्रवाह

[सम्पादन]

प्रकाशको कुनै स्रोतले धेरै तरङ्ग लम्बाई भएका विकिरणहरू उत्सर्जन गर्छ। प्रकाशमितिमा हामी केवल दीप्त ऊर्जासँग मात्र सम्बन्ध राख्छौं, अर्थात् दृश्य प्रकाश जसले देख्ने संवेदना पैदा गर्छ, तर यसले उत्सर्जन गर्न सक्ने अन्य विकिरणहरूसँग होइन। कुनै स्रोतले प्रति सेकेन्ड उत्सर्जन गर्ने प्रकाश ऊर्जाको मात्रालाई दीप्त प्रवाह (ल्युमिनस फ्ल्क्स) भनिन्छ। यसलाई अङ्ग्रेजी अक्षर 'Q' ले जनाइन्छ। यसको एकाइ लुमेन हो। यो प्रकाश स्रोतबाट निस्कने कुल विकिरणको त्यो भाग हो जसले आँखामा असर पार्न सक्छ।

लुमेन

[सम्पादन]

लुमेन दीप्त प्रवाहको एकाइ हो। एक क्यान्डल सामर्थ्य भएको विन्दु स्रोतले प्रति एकाइ घनकोण (सोलिड एङ्गल) मा उत्सर्जन गर्ने दीप्त प्रवाहको मात्रालाई लुमेन भनिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ Bass, Michael, सम्पादक (१९९५), Handbook of Optics: Volume II – Devices, Measurements and Properties (दोस्रो संस्करण), McGraw-Hill, पृ: २४–४०–२४–४७, आइएसबिएन 978-0-07-047974-6।

बाह्य कडीहरू

[सम्पादन]