प्रकाश अधिकारी
प्रकाश अधिकारी -- नायक/गीतकार
जन्म:- वि.सं. २०१७ साल पौष २५ गते बिराटनगर, मोरङ नेपाल
प्रकाश अधिकारी नेपाली चलचित्र क्षेत्रका कुशल अभिनेता तथा गीतकार हुन्। बुबा नरेन्द्र बहादुर अधिकारी तथा आमा सितादेवी अधिकारीका १२ सन्तान मध्येका सातौं सन्तान हुन् प्रकाश अधिकारी। उनको जन्म बिक्रम् सम्बत् २०१७ साल पौष २५ गते बिराटनगर मोरङमा भएको हो।
प्रकाश सानोमा अन्य सामान्य बालबालिका जस्तै अत्यन्तै चकचके स्वाभावका थिए। बिजय मेमोरियल हाई स्कूलमा पढ्नका लागी भर्ना गरेकै दिनबाट प्रकाशका बुबा आमाले छोराको भविष्यलाई लिएर देख्न थालेको सपना प्रकाशको कक्षा सँगै बिस्तारै बढ्दै गयो। उनका बुबा नरेन्द्र बहादुर नेपाल प्रहरीमा जागिरे थिए,उनी छोरालाई प्रकाशलाई पनि आफू जस्तै प्रहरी सेवामा लगाउन चाहान्थे, तर आफु ताक्छ मुढो बन्चरो ताक्छ घुँडो भने झैँ प्रकाशको सपना भने बिल्कुल बिपरित थियो, किनभने प्रकाश भविष्यमा हिरो बन्न चाहान्थे। त्यतिबेला नेपाली चलचित्र मुस्किलले निर्माण हुन्थ्यो, त्यसैले नेपालमा भारतकै चलचित्रको जगजगी थियो। हिन्दी सिनेमा हेर्दा हेर्दै देव आनन्द बाट निकै प्रभावित भएका प्रकाश देव आनन्द जस्तै भविष्यमा आफु पनि हिरो बन्न चाहान्थे।
बदलिँदो समयसँगै प्रकाशको भविष्यको योजना अथवा उद्देश्य पनि बदलियो। सधैँ ऐनामा हेर्दै हिरोको हाउभाउ गर्दै हिरो बन्ने सपना देख्ने उनको रस कविता लेखनमा बस्यो। "रानी पोखरीमा एउटा मान्छे डुबिरहेको छ" शिर्षकमा पहिलो पटक कविता लेखेका प्रकाशको स्कुलको कक्षा कोठा उनको स्टेज बनिदिन्थ्यो अनि कक्षाका साथी उनका श्रोता बनिदिन्थे।
साथिहरुको हौसलामा कविता लेख्दै डायरी भर्न थालेका उनका कविताहरु अब डायरीमा मात्र सिमित रहेनन्, विभिन्न पत्रपत्रिकामा प्रकाशित हुन थाले कविता लेख्दै जाने क्रममा उनको कलम गीत रचना तर्फ मोडिन थाल्यो। हरेक सर्जकको सपना जस्तै प्रकाशलाई पनि आफ्ना रचनाहरु कसैले गाइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। एकदिन प्रकाशले आफ्ना भिनाजु समक्ष आफ्नो शब्दलाई कुनै गायक वा गायिकाको आवाजमा रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने ईच्छा प्रकट गरे। त्यतिबेला उनका भिनाजु रत्न रेकर्डिङ्ग संस्थाका महाप्रबन्धक थिए। त्यसैले उनले प्रकाशको शब्द तुरुन्त रेकर्ड गर्ने ब्यावस्था मिलाइदिए। प्रकाशको शब्द रचना,सिके रसाइलीको सङ्गीतमा "आँसु लुकाई हाँसी रहेछु" बोलको गीत उदित नारायण झाको आवाजमा रेकर्ड भयो। बिक्रम सम्बत् २०३४ सालमा रेकर्ड भएको उक्त गीत प्रकाशको पहिलो गीत थियो। प्रकाशको लागी आफ्नो डायरीमा मात्र सिमित गीतले आवाज र सङ्गित पाउनु नै ठूलो उपलब्धि थियो। त्यसमाथि पहिलो गीतबाट नै पारिश्रमिक पाएपछि उनको खुशीको के सिमा रह्यो र, पारिश्रमिक पाएको पैसाले साथीभाइ भेला पारेर उनले सानोतिनो पार्टीको माहोल नै बनाए।
त्रिचन्द्र कलेजमा बिए सकाएपछि उनी एमए अध्ययनका लागी किर्तिपुर कलेजमा भर्ना भए। उनले कलेजको पढाई र गीत लेखनलाई समानान्तर रुपमा अगाडी लगिरहेका थिए। प्रकाशले गीत लेखनबाट पढाईमा अवरोध कहिले आउन दिएनन्। यसैबिच बिक्रम सम्बत् २०४० सालमा शक्ति बल्लभको सङ्गीत र रविन शर्माको आवाजमा उनको अर्को गीत रेकर्ड भयो "आफैँलाई भार भयो आज आफ्नै जिन्दगी" यो गीत रेडियो नेपालमा बज्न थालेपछी श्रोताहरुले अत्यधिक मन पराए। प्रकाश रातारात लोकप्रिय गीतकार भए। गीत रेडियो नेपालमा हरेक दिन बज्न थाल्यो, गीतले गायक रविन शर्मालाई चर्चित बनाएपनि गीतकार प्रकाश अधिकारी भने ओझेलमा परे। कतिपयले आफ्नै अगाडी यो गीत गाउने गर्थे, मैले लेखेको गीत भनेर उनलाई प्रमाण नै पेश गर्नुपर्थ्यो। पछि यसलाई सामान्य ठानेर गीत लेखनमा निरन्तरता दिँदै गए उनका शब्द थुप्रै नेपाली चर्चित गायक गायिकाहरुले मात्र नभई पाकिस्तानी गजल गायक सौकत अलिले पनि गाएका छन्।
गीतकारबाट चर्चा कमाइरहे पनि प्रकाशको मनको कुनै कुनामा बाल्यकालको हिरो बन्ने सपना जिवित नै थियो। उनको घनिष्ठ मित्र उज्ज्वल घिमिरेले उनको गुड लुकिङ देखेर तिमी त हिरो बन्ने मान्छे भनेर बेला बेलामा घचघच्याइरहन्थे । अनि त के चाहियो र शान्त तलाउमा ढुङ्गा फाले जस्तै उनको मनमा हिरो बन्ने रहर सलबलाउन थाल्यो।
कहिलेकाहीँ बोलिमा सरस्वतीको बास हुन्छ भनेजस्तै प्रकाशले साथीहरुसँग ख्यालख्यालमा गरेको कुरा पुरा हुने संयोग जुर्यो, अर्थात् नेपाली चलचित्रको नायक अझ उनको भाषामा भन्नुपर्दा नेपाली चलचित्रको हिरो हुने मौका उनले पाए। नेपाली सुपरहिट चलचित्र "सम्झना" बाट वाहवाही पाएका निर्देशक शम्भु प्रधान नयाँ चलचित्र निर्माण गर्ने अन्तिम तयारीमा थिए। निर्देशक प्रधान आफ्नो नयाँ चलचित्रका लागी नयाँ नायकको खोजिमा थिए,यो कुरा प्रकाशको कानसम्म पुग्यो, एकदिन उनी शम्भु प्रधानलाई भेट्न गए। अग्लो कद हँसिलो अनुहारबाट प्रभावित भएका निर्देशक प्रधानले पहिलो भेटमा नै प्रकाशलाई केही सम्वाद बोल्न लगाए। प्रकाशको सबै कुरा आफुलाई चित्तबुझ्दो लागेपछि निर्देशक प्रधानले आफ्नो चलचित्र "बेहुली" मा उनलाई पहिलो ब्रेक दिए। चलचित्र बेहुलीको सम्पुर्ण छायांकन २५ दिनमा सकिएको थियो। उनले चलचित्र बेहुलीमा काम गरेवापत ५१,०००/- पारिश्रमिक पाएका थिए जुन त्यतिबेलाको राम्रो रकम थियो। गीत रचना र अभिनय दुवै क्षेत्रमा प्रकाश भाग्यमानी साबित भए किनभने रहरले काम गर्नेले फ्रिमा काम गर्नुपर्ने त्यतिबेलाको अवस्थामा पनि उनले त्यत्रो ठूलो रकम पारिश्रमिकको रुपमा पाएका थिए तर घरमा बुबाको ईच्छा बिपरित काम भएकाले घरबाट कहिले सुटुक्क त कहिले आमालाई मात्र भनेर निस्किनु पर्ने अवस्था भने यथावत् नै थियो।
चलचित्र बेहुली नेपाली दर्शकहरुले अत्यधिक रुचाइदिए। प्रकाशको अभिनयको पनि सबैले तारिफ गरे, चलचित्रको नाम बेहुली भएपनि बेहुला हिरो भएर प्रकाश पहिलो चलचित्रबाट नै चर्चित भए। उनको कुशल अभिनय हेरेर अर्का निर्देशक फुर्पा छिदेनले आफ्नो चलचित्र "फेरी भेटौँला" मा अफर गरे। फेरी भेटौँलामा हिरोइन अहिलेकी चर्चित अभिनेत्री मनिषा कोइराला थिइन्। मनिषा सगँ प्रकाशको जोडीलाई पनि नेपाली दर्शकहरूले अत्यधिक रुचाइदिए। यसरी सजिलै चलचित्रमा नायकको रुपमा काम गरेका प्रकाशलाई पछि पछि चलचित्रलाई समय दिन गाह्रो भयो। किनभने मुस्किलले बर्षमा एउटा चलचित्र बन्ने त्यतिबेलाको समयमा चलचित्र खेलेरै जीवन धान्ने अवस्था थिएन। बेहुली, फेरी भेटौँला, अन्याय, ईश्वर लगायतका चलचित्रमा काम गरेर नायकको छवि बनाएका प्रकाश अधिकारीलाई काम खोज्दै हिँड्न पनि गाह्रो थियो। प्रकाशले चाहेको भए सजिलै काम पाउन सक्थे तर उनले नेपाली दर्शकहरुको मनमा रहेको छविलाई डगमगाउन दिएनन्। त्यसैले उनी जापान पलायन भए। करिब ३ बर्षको जापान बसाई पछि उनी फेरी जन्मभूमि फर्किए। नेपाल फर्केर उनले आफ्नै व्यावसाय पोल्ट्री फार्म खोले, व्यावसायमा ब्यस्त प्रकाशको कालान्तरमा आएर कलाकारीताको झाडी बढ्दै गयो।
बिबाह
चलचित्रको हिरो प्रकाशलाई मन पराउनेको कुनै कमि थिएन, त्यतिबेलाको चिठ्ठीको जमानामा सिधै बिबाहको प्रस्तावले भरिएको थुप्रै चिठी उनको नाममा आउँथ्यो तर प्रकाशलाई भने आफ्नो आमाबुबामा पुर्ण भरोसा थियो। त्यसैले उनले आफ्नो आमाबुबाले रोकिदिएको केटीसँग नै बिबाह गरे अर्थात काठमाडौँ बानेश्वरकी मिनासँग प्रकाशको मागी बिबाह भयो,बिक्रम सम्बत् २०५१ साल फाल्गुन १९ गते।
अधिकारी दम्पतीका दुई सन्तान छन्,जेठी छोरी प्रथा अधिकारी र कान्छी छोरी प्रकृया अधिकारी ।