प्रत्यङ्गिरा
| प्रत्यङ्गिरा | |
|---|---|
आफ्नो वाहन सिंहमा सवार प्रत्यङ्गिरा | |
| अन्य नामहरू | अथर्वण भद्रकाली, प्रत्यङ्गिरा, निकुम्भिला, नारसिंही |
| संस्कृत | प्रत्यङ्गिरा |
| आबद्ध | महादेवी, महालक्ष्मी, भद्रकाली |
| अस्त्र | त्रिशूल, डमरू, कपाल, पाश (डोरी वा सर्प) |
| वाहन | सिंह |
| धर्मग्रन्थहरू | अथर्ववेद, देवीभागवत पुराण, कालिका पुराण, |
| रानी | शरभेश्वर भैरव[१] |
प्रत्यङ्गिरा (जसलाई अथर्वण भद्रकाली, नारसिंही र निकुम्भला पनि भनिन्छ) शाक्त सम्प्रदायसँग सम्बन्धित एक हिन्दु देवी हुन्। उनलाई भगवान् नरसिंहको स्त्री शक्ति र अर्धाङ्गिनीको रूपमा वर्णन गरिएको छ।[२][३] वेदहरूमा, प्रत्यङ्गिरालाई अथर्ववेद र तन्त्र-मन्त्रकी देवी 'अथर्वण भद्रकाली' को रूपमा प्रारम्भिक स्वरूपमा प्रस्तुत गरिएको छ।[४] त्रिपुरा रहस्यका अनुसार, उनी त्रिपुरसुन्दरीको क्रोधको शुद्ध प्रकटीकरण हुन्। नारसिंहीको रूपमा उनी सप्तमातृका देवीहरूको समूहको एक अंश पनि हुन्।
प्रतिमा लक्षण
[सम्पादन गर्नुहोस्]देवी प्रत्यङ्गिरा दिव्य माताको एक शक्तिशाली अभिव्यक्ति हुन्। उनलाई पुरुष सिंहको टाउको र महिलाको शरीर भएकी देवीको रूपमा वर्णन गरिएको छ। यो अद्वितीय संयोजनले शिव र शक्तिको मिलनलाई प्रतिनिधित्व गर्दछ। वैष्णव धर्ममा, उनलाई नरसिंहको शक्तिको रूपमा नारसिंही भनिन्छ। शैव धर्ममा, प्रत्यङ्गिरा गुह्य कालीको एक रूप सिद्धिलक्ष्मी हुन्। दुर्गा परम्परामा, उनलाई पूर्ण चण्डी भनिन्छ र उनको सम्बन्ध शारभ सँग जोडिएको छ।
वेदहरूमा, प्रत्यङ्गिरालाई अथर्ववेदको शासक देवीको रूपमा अथर्वण भद्रकाली नाम दिइएको छ। उनलाई बोक्सीविद्याबाट उत्पन्न प्रभावहरूलाई निस्तेज पार्ने एक शक्तिशाली शक्तिको रूपमा मानिन्छ र उनीसँग अधर्म गर्ने जोकोहीलाई दण्ड दिने सामर्थ्य रहेको विश्वास गरिन्छ। धेरै चित्रहरूमा उनलाई कालो वर्ण, सिंहको टाउको, राता आँखा, छरिएका कपाल र बाहिर निस्किएको जिब्रो भएकी देवीको रूपमा वर्णन गरिएको छ। उनी सिंहमा सवार हुन्छिन् र मानव खप्परको माला (मुण्डमाला) लगाउँछिन। उनले आफ्ना चार हातमा त्रिशूल, पाशको रूपमा रहेको एउटा सर्प, डमरु र एउटा खप्पर धारण गर्छिन्। उनलाई मुख्यतया दुई रूपमा वर्णन गरिएको छ। एउटा, सामान्यतया देखिने चार हात भएकी र सिंहमा विराजमान देवीको रूप र अर्को, एउटा विशाल रूप जसलाई महा प्रत्यङ्गिरा देवी भनिन्छ जसमा सिंहका धेरै अनुहारहरू र असङ्ख्य हातहरू हुन्छन्। उनको भयानक उपस्थितिको पछाडि एक अद्भुत माता लुकेकी हुन्छिन् जो अत्यन्त कोमल हृदयकी र आफ्ना सन्तानलाई मद्दत गर्न सधैँ तयार हुन्छिन्।
साहित्य
[सम्पादन गर्नुहोस्]
प्रत्यङ्गिराको उल्लेख हिन्दु धर्मग्रन्थ रामायण मा पनि गरिएको छ। राम र उनका सैनिकहरूले लङ्का मा युद्ध गरिरहेका बेला इन्द्रजितले निकुम्बला यज्ञ गर्न सुरु गरेको वर्णन गरिएको छ। निकुम्बला प्रत्यङ्गिराकै अर्को नाम हो। हनुमान उक्त स्थानमा पुगेर सो अनुष्ठान रोकेको वर्णन पाइन्छ, किनभने यसको समाप्तिले इन्द्रजितलाई अपराजित (कसैले जित्न नसक्ने) बनाउने थियो।[५] फलस्वरूप, लक्ष्मणले लङ्काको युद्धमा इन्द्रजितलाई पराजित गरी उनको बध गर्न सफल भएका थिए।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Pt. Nanak Chandra Sharma, Akash Bhairava Kalpa, Motilal Banarsidass International, 2011, p. [page no.157–164]. (Sanskrit).
- ↑ Akash Bhairava Kalpa (संस्कृतमा), Motilal Banarsidass International, २०११, पृ: 157–164, आइएसबिएन 978-8120827332।
- ↑ Punja, Shobita (१९९६), Daughters of the Ocean: Discovering the Goddess Within (अङ्ग्रेजीमा), Viking, आइएसबिएन 978-0-670-87053-0।
- ↑ Dr Ramamurthy, Sri Maha Pratyangira Devi: Holy Divine Mother in Ferocious Form
- ↑ Dharma, Krishna (२०२०-०८-१८), Ramayana: India's Immortal Tale of Adventure, Love, and Wisdom (अङ्ग्रेजीमा), Simon and Schuster, पृ: 390, आइएसबिएन 978-1-68383-919-4।