प्रयोगकर्ता:अर्चना न्यौपाने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

‘महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा ६ महाकाव्य लेख्नुभएको छ । मैले १२ वटा महाकाव्य लेखें, तर यो साहित्यिक प्रतिस्पर्धा होइन ।’ के तपार्इंले महाकवि देवकोटासँग प्रतिस्पर्धा गर्न खोज्नुभएको हो भन्ने प्रश्नमा उनले यसो भने ।

उनी हुन् चन्द्र प्रसाद न्यौपाने । यो नाम नेपाली साहित्यकारका लागि त्यति चर्चित नहुन सक्छ । हुन पनि उनको बारेमा कमैलाई थाहा छ । तर एक अद्भुत व्यक्ति भनेर कमल दीक्षितले नै उनलाई आफ्नो एक आलेखमार्फत भनिसकेका छन् ।

सिन्धुपाल्चोकको फुलपिङकोटमा जन्मिएका न्यौपाने पद्यकविता लेखनमा सक्रिय छन् । उनी गद्यकविता, कथा, समीक्षा र समालोचना विधामा पनि कलम चलाउँछन् । प्रखर कल्पनाशील शक्तिका धनी कवि न्यौपाने लामो समयसम्म शिक्षण पेशामा आबद्धरहे । उनको भाषामा कविता थियो । उकाली ओराली गर्दा उनी कविता रचना गर्दै बाटो काट्थे ।

२०६५ सालमा ‘चन्द्रयुग’ बृहत्तर महाकाव्य प्रकाशन नेपाली साहित्यमा एउटा बलियो इँटा थपे न्यौपानेले । नेपाली साहित्यमा यसलाई समालोचकले नयाँ आयाम थपेको संज्ञा दिएका छन् । सोही खण्डकाव्य २०७० मा पुनर्मुद्रण भयो । झण्डै ३२ हजार श्लोकमा समेटिएको उक्त महाकाव्य अनुष्टुप् छन्दको बढी प्रयोग गरेर रचना गरेको उनी बताउँछन् ।

न्यौपाने अहिले कम्तीमा पाँचहजार कविलाई समेट्ने गरी ‘नेपाली कविताको इतिहासमा शास्त्रीय कविहरू’ नामक कृतिको तयारीमा छन् । उक्त कृतिमा नेपाली साहित्य वृत्तका कविहरूको संक्षिप्त जीवनी प्रस्तुत गरिने उनको योजना छ ।

प्राथमिक कालमा बामे सरेको नेपाली साहित्य माध्यमिक कालमा पर्याप्त रूपमा फैलिन पाएको उनको भनाइ छ । आधुनिक कालमा हजारौं लेखकले साहित्यका लागि योगदान दिएपनि पछिल्लो पुस्ताले स्तरीय साहित्य दिन नसकेको गुनासो पोख्छन् । ‘अहिले कविता लेख्नका लागि मात्र लेखिन्छ,’ उनी भन्छन् ‘सामान्य सिकाइले गर्दा नेपाली पद्यकविताको स्तर खस्कँदै गएको छ ।’

भूकम्पले सिन्धुपाल्चोकमा भएको घर भत्किएपछि उनी अहिले भक्तपुरको बालकोटमा आफ्नै घरमा बस्दै आएका छन् । भूकम्पले उनको घरमात्र भत्काएन । उनी भूकम्पले पारेको प्रभावलाई सम्झँदै भन्छन्, ‘भूकम्पले लगभग ६ हजार शीर्षकका २० हजार प्रति समेत पुरिदियो ।’

बाल्यकालमा उनी साह्रै जिज्ञासु थिए । कोही नयाँ मान्छे देख्यो कि नयाँ कुरा सोध्न मन लागिहाल्थ्यो उनलाई । पढाइमा पनि उनी उस्तै अब्बल थिए । कक्षामा प्रायः प्रथम हुन्थे ।

घरमा बिहानै दाइहरूले संस्कृतका मन्त्र पढ्थे । बेलाबेलामा महाभारत र रामायण पनि पढिन्थे । त्यतिबेला नै उनलाई ‘ओहो, आफूले पनि यस्तै कृति लेख्न पाए हुन्थ्यो’ भन्ने लाग्थ्यो । उनको बालमस्तिष्कले कविताको लयलाई समातिसकेको थियो । फलस्वरूप, उनले प्रकाशन गरे ‘पालुवा’ खण्डकाव्य । त्यसपछि अन्यदश कृतिका लागि उनी निरन्तर रूपमा लागिरहे । उनका चार दर्जन जति साहित्यिक कृति प्रकाशन भइसकेका छन् ।

नेपाली लोक लय (असारे लय) मा लेखिएको यो खण्डकाव्य २०४७ मा प्रकाशन भएको थियो । जनताको बोलीचालीको सरल भाषा भएकाले नै उनले खण्डकाव्यका लागि यो लय रोजे । नेपालमा गाइने गीतमध्ये ४० प्रतिशत गीत यही लयमा रचना गरिने उनी बताउँछन् ।

‘कविता एक किसिमको आनन्द हो । बुझिनसक्नु अथाह संसारभित्रको छुट्टै आनन्द कवितामा पाइन्छ,’ उनी कवितालाई परिभाषित गर्दै भन्छन् । लगभग दुईसय महाकाव्य पढेको बताउने न्यौपाने बुझ्नका लागि गाह्रो भएपनि बुझ्यो भने साहित्यका सबै रस कवितामा पाइने उनी बताउँछन् ।

पद्यकविताको तुलनामा गद्यकविता लेख्न अलिक जटिल छ भन्ने उनलाई लाग्छ । पाँच कक्षा पढ्ने विद्यार्थीले पनि गद्य कविता सहजै लेख्न सक्छ भन्छन् न्यौपाने । कसैलाई गद्य कविता मन पर्छ, कसैलाई पद्य मनपर्छ ।’ उनी थप्छन्, ‘पाठकको बुझाइ र क्षमता अनुसार कविता मन पर्छ ।’

‘गद्यकविता एउटा खुला चौर हो भने पद्य कविता चुचुरो हो,’ उनी मुस्कुराउँदै भन्छन् ।

साहित्य सृजना गरेर आर्थिक रूपमा उनलाई आर्थिक फाइदा पनि भएन । शिक्षण गर्दा कमाएको पैसाबाट केही रकम बचाएर उनले कृति प्रकाशन गरेको बताउँछन् । लगभग एक दर्जन काव्य रचना गरेका न्यौपानेले जागिर छोडेपछि भने कविता लेख्न सकिरहेका छैनन् ।

बेंसीमा उनको घर थियो । लेकको स्कुल पुग्न तीन घण्टा लाग्थ्यो । उमेर ढल्किँदै गएपछि शिक्षण गर्नका लागि जाँदा तीन घण्टाको उकालो, घर फर्कंदा दुई घण्टाको ओरालो झर्न अब उमेरले पनि निहुुँ खोज्न लागेको हो कि भन्ने लाग्यो । पेन्सन पाएपछि उनले जागिर पनि छोडे ।

त्यसबेलाको उकालो ओरालोको यात्रालाई स्मरण गर्दै भन्छन्, ‘तर मैले धेरैजसो कविता त्यही लामो उकाली ओराली गर्दा नै रचना गरें, कविता फुरेको बेला कागज, मोबाइल जता मिल्थ्यो उतै लेख्थें ।’

सिन्धुपाल्चोकका लगभग सबै गाविसमा पुगेको बताउने कवि न्यौपाने आत्मसन्तुष्टिका लागि कविता लेख्ने गरेको बताउँछन् । उनमा कविताको नशा बाल्यकालबाट लागेको थियो ।

उनलाई कविता सबथोक हो भन्ने लाग्छ । राज्यव्यवस्था, राजनीतिक, वैज्ञानिक, गणितीय हिस्सा पनि महाकाव्यमा समेटिएको हुन्छ । उनी भन्छन्, ‘कवितामा व्याख्या गर्न नसक्ने कुरा संसारमा कतै हुँदैन ।’

उनलाई कविता लेख्न त्यति सहज छ भन्ने पनि लाग्दैन । बृहद् अध्ययनले मात्र राम्रो कविता लेख्न सकिने बताउने न्यौपाने आजकालको समय फेसबूकमा साथीहरूसँग गफ गर्न रुचाउँछन् ।

उनी अहिले ‘चन्द्रयुग बृहतर महाकाव्य खण्ड २’ को तयारीमा छन् । पछिल्लो समय लेखनमा त्यति सक्रिय नभएपनि आफूले आफ्नो जिन्दगीको जम्मा ०.०२ प्रतिशत समय साहित्यको लागि दिन सकेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘बल्ल त एउटा विन्दुमा पुगेको छु । अझै धेरै साहित्यका लागि दिनुपर्नेछ ।’ उमेरले ५० पुग्नै लागेका न्यौपानेमा जोश अझै उस्तै देखिन्छ