सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Acharya Serki Sherpa

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शेर्पा समुदायका धर्म, भाषा र संस्कृति संरक्षणका चुनौती र समाधानका उपाय

[सम्पादन गर्नुहोस्]

शेर्पा समुदाय नेपालका हिमाली भूभागमा बसोबास गर्ने धर्म, भाषा, लिपि, सांस्कृतिक दृष्टिले समृद्ध जाति समुदाय हो । उनीहरूको जीवनशैली बौद्ध धर्मको महायान र वज्रयान परम्परामा आधारित छ, जसअनुसार जन्मदेखि मृत्युसम्मका सबै संस्कार, चाडपर्व तथा जुनसुकै कार्यक्रम गतिविधिहरू पनि बौद्ध धर्म परम्परामा अनुसार सञ्चालन गर्दै आएको देखिन्छ । इतिहासमा आचार्य पद्मसम्भव र उनका अनुयायीहरूले तिब्बत तथा एसियाका हिमाली क्षेत्रमा बौद्ध धर्म प्रचार गरेका थिए, जसको प्रभावमा शेर्पा समुदायले पनि आफ्नो गाउँ ठाउँमा गोन्पाहरू निर्माण गरी बौद्ध शिक्षा अध्ययन अध्यापन गर्दै आएको पाइन्छ ।

यी गोन्पाहरू शिक्षाको केन्द्रका रूपमा विकास भएका छन्, जहाँ सम्भोट लिपिमा आधारित बौद्ध धर्म, दर्शन, अध्ययन, ध्यान साधना र पूजापाठ जस्ता गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । विगतमा तिब्बतमा अध्ययन गरी फर्किएका लामा तथा धर्मगुरुहरूले शेर्पा समाजमा धार्मिक चेतनाको विकासमा उल्लेखनीय योगदान दिएका थिए । तर, पछिल्लो समय पश्चिमीकरण, बसाइसराइ र आधुनिक जीवनशैलीको प्रभावका कारण धर्म, भाषा र संस्कृतिप्रतिको मोह क्रमशः घट्दै गएको देखिन्छ । विशेषतः युवापुस्तामा धार्मिक सहभागिता औपचारिकतामा मात्र सीमित हुँदै गएको छ, जसले धार्मिक तथा सांस्कृतिक निरन्तरतामा चुनौती उत्पन्न भइरहेको छ ।

यद्यपि, सकारात्मक पक्षहरू पनि उल्लेखनीय छन् । बौद्ध शिक्षा र सम्भोट लिपिमा आधारित पाठ्यक्रमलाई औपचारिक शिक्षाको रूपमा विकास गर्ने प्रयासहरू जारी छन् । गोन्पा र विद्यालयहरूमा अध्ययन अध्यापन भइरहेका छन् भने सामाजिक सञ्जाल तथा डिजिटल माध्यमबाट धर्म, भाषा र संस्कृतिको प्रचारप्रसारसमेत बढ्दै गएको छ । पर्यटन, शिक्षा, धर्म, संस्कृति, कृषि र व्यापर व्यवासय क्षेत्रमा उल्लेखनीय योगदान दिँदै शेर्पा समुदायले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गरिरहेको छ । शेर्पा समुदायको धार्मिक आस्था, साहस र सामुदायिक भावना राष्ट्रको समृद्धिमा प्रेरणाको स्रोत बनेको छ । भविष्यमा शेर्पा समुदायको सांस्कृतिक संरक्षण र युवापुस्ताको सक्रिय सहभागिता सुनिश्चित गर्न शेर्पा सङ्ग संस्था किदुगहरूको संयुक्त प्रयास अपरिहार्य देखिन्छ ।

२. विषय प्रवेश

[सम्पादन गर्नुहोस्]

शेर्पाहरूको मूलथलो सोलुखुम्बु रहेता पनि वर्तमान समयमा बसाइसराइको कारणले गर्दा ताप्लेजुङ, संखुवासभा, इलाम, तेह्रथुम, ओखलढुङ्गा, खोटङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौँ, नुवाकोट, महोत्तरी, चितवन, मुगु, हुम्ला आदि जिल्लाहरूमा शेर्पाहरूको मुख्य बसोबास गर्ने क्षेत्रको रूपमा चिनिन्छ । हाल नेपालको अधिकांस जिल्लामा शेर्पाहरू बसोबास गर्दै आएको छन् भने भारतको दार्जेलिंग, सिक्किम, मणिपुर, आछाम र पश्चिम वंगल त्यस्तै गरी तिब्बत, भुटान तथा युरोप र अमेरिका लगायतका देशहरूमा पनि शेर्पाहरू बसोबास गर्दै आएका छन् । जुन सुकै ठाउँमा बसोबास गरे तापनि शेर्पाहरूले आफ्नो धर्म, भाषा, संस्कृति र संस्कारलाई महत्वका साथ अङ्गल्दै आएको देखिन्छ ।

शेर्पा समुदायको जीवनधारणा, सामाजिक संरचना र व्यवहार बौद्ध धर्म, विशेषतः महायानवज्रयान परम्परामा आधारित रहेको पाइन्छ । शेर्पाहरूको दैनिक जीवन, चाडपर्व, विवाह, जन्म तथा मृत्युसम्मका सबै संस्कारहरू बौद्ध धर्म परम्परा अनुसार सञ्चालन हुने गर्दछन् । उनीहरूले स्थापना गरेका गोन्पाहरू केवल पूजा स्थल मात्र नभई बौद्ध शिक्षा अध्ययन अध्यापन केन्द्रका रूपमा पनि क्रियाशील रहेका छन् । तर, पछिल्ला दशकहरूमा वैश्वीकरण, पश्चिमी प्रभाव, बसाइँसराइ र आधुनिक जीवनशैलीका कारण शेर्पा समुदायको मौलिक धर्म, भाषा र संस्कृतिमा क्रमशः परिवर्तन देखिएको छ । यस्तो अवस्थामा युवापुस्तामा धार्मिक र भाषिक चेतनाको विकास, संस्कारको अभ्यास र शिक्षाको प्रवाह आवश्यक देखिन्छ ।

३. महायान बौद्ध धर्मको विकास

[सम्पादन गर्नुहोस्]

नेपालको लुम्बिनीमा जन्मिनुभएका सिद्धार्थ गौतमले कठोर तपस्या, ध्यान र आत्मचिन्तनमार्फत बोधगया (भारत) मा ज्ञान प्राप्त गरी बुद्धत्व प्राप्त गर्नुभएको थियो । बुद्धत्व प्राप्त पश्चात् करिब ४५ वर्षसम्म उहाँले उत्तर भारतका विभिन्न नगरहरूमा भ्रमण गर्नुभइ व्यक्तिको क्षमता र आवश्यकता अनुसार उपदेश दिनुभयो । उहाँले जाति, वर्ग, लिंगको भेद नगरी सबैलाई धर्मको बाटो देखाउनु भयो । बुद्धको महापरिनिर्वाणपछि उहाँका प्रमुख अनुयायीहरूले उहाँका उपदेशहरू सङ्ग्रह गर्नुभइ विनय पिटक, सूत्र पिटक र अभिधर्म पिटक गरी तीन भागमा विभाजन गरी सम्पादन गर्नुभएको थियो, जसलाई त्रिपिटक भनिन्छ । जुन बौद्ध धर्मको मूल ग्रन्थ हो । त्रिपिटकको संरक्षण र प्रचारप्रसारका लागि तत्कालीन समयमा तक्षशिला, नालन्दा, विक्रमशिला, उदंतपुरीजस्ता बौद्ध विश्वविद्यालयहरूको स्थापना भयो, जहाँ बौद्ध धर्मको गहन अध्ययन अध्यापन गरिन्थ्यो ।

बौद्ध धर्म, दर्शनको गहन ज्ञान र चिन्तनको प्रभावले गर्दा चीन, जापान, कोरिया, तिब्बत, मङ्गोलिया लगायतका एशियाली देशहरूमा यसको व्यापक विस्तार भयो । भोट (तिब्बत)को इतिहास अनुसार, त्यहाँका २८औँ राजा ल्हा थोथो री ञिन्चेनलाई संस्कृत भाषामा रहेको कारण्डव्यू सूत्र नामक प्रसिद्ध बौद्ध ग्रन्थ र सुनको चैत्य प्राप्त भएपछि पहिलोपटक बौद्ध धर्म तिब्बतमा प्रवेश गरेको मानिन्छ । त्यसपछि ३३औँ राजा धर्मराज सोङ्चेन गम्पो (६१७–६५०) को पालामा थोन्मी सम्भोटाले सम्भोट लिपिको आविष्कार गर्नुभएपछि भारतबाट ल्याइएका संस्कृत भाषामा रहेका बौद्ध सूत्र र तन्त्र ग्रन्थहरूलाई भोट भाषामा अनुवाद गर्ने कार्य प्रारम्भ भयो । राजा सोङ्चेन गम्पोले तिब्बतमा बौद्ध धर्म स्थापनाका लागि विशेष पहल गर्नुभयो । यद्यपि बौद्ध धर्मले तिब्बती समाजमा तत्काल प्रभाव जमाउन सकेन । त्यसपछि ३८औँ राजा ठ्रिसोङ देउचेन (७४२–७९७) ले नालन्दा विश्वविद्यालयबाट प्रसिद्ध बौद्ध विद्वान् महोपाध्याय शान्तरक्षित र तान्त्रिक गुरु आचार्य पद्मसम्भवलाई तिब्बत आमन्त्रण गर्नुभयो । उहाँहरूको आगमनपश्चात् तिब्बतमा बौद्ध धर्मले उल्लेखनीय व्यापकता पायो ।

शान्तरक्षितले बौद्ध सूत्र अन्र्तगत रहेका बौद्ध दर्शनको शिक्षा प्रदान गर्नुभयो भने आचार्य पद्मसम्भवले बौद्ध तन्त्रको शिक्षा प्रदान गर्नुको साथै तान्त्रिक विधिहरूको प्रयोग गरी तिब्बती परम्परासँग बौद्ध धर्मलाई एकीकृत गर्नुभयो । यसरी महोपाध्याय शान्तरक्षित, आचार्य पद्मसम्भव र धर्म राजा ठ्रिसोङ देउचेनलाई “खेन लोप छो सुम” को नामले चिनिन्छ र उहाँहरूलाई तिब्बती बौद्ध परम्पराका तीन आधारस्तम्भ मानिन्छन् । राजाहरूको सहयोगमा भारतका अन्य थुप्रै बौद्ध विद्वान्हरू पनि तिब्बत आमन्त्रण गर्नुभएका थिए । उनीहरूको सहकार्यमा त्रिपिटक तथा अन्य बौद्ध ग्रन्थहरू भोट भाषामा अनुवाद भए । यस कार्यले तिब्बती बौद्ध परम्परालाई समृद्ध र स्थायी बनायो । यानको दृष्टिकोणबाट हेर्दा तिब्बती बौद्ध परम्परा महायान अन्तर्गत पर्दछ । भारतको दक्षिणी भूभागमा थेरवाद बौद्ध धर्मको प्रचार भएको भएता पनि भारतको उत्तर हिमाली क्षेत्र नेपाल, तिब्बत, चीन, कोरिया, मङ्गोलिया र जापानमा महायान बौद्ध परम्पराले धेरै प्रभाव जमाएको देखिन्छ ।

४. शेर्पा समुदायमा बौद्ध धर्म, दर्शनको विकास

[सम्पादन गर्नुहोस्]

आचार्य पद्मसम्भवको तिब्बत आगमनपछि हिमाली क्षेत्रमा वज्रयान बौद्ध धर्मको व्यापक प्रचारसँगै उल्लेखनीय विकास भएको पाइन्छ। तिब्बतका राजा तथा जनसाधारण प्रायः उहाँका शिष्य रहेका थिए । उहाँका हजारौँ अनुयायीहरूमध्ये निधिपति रत्नलिङ्पा, लामा साङ्वा दोर्जे, लामा रोल्पा दोर्जे, खेन्पा दोर्जे, फछेन, ङाक्षाङ ग्यगरवा, च्हाग्पोन साङ्ग्ये पालज्योर आदि धेरै जना असाधारण शक्ति भएका, आकाशमा उड्न र ढुङ्गामा छाप राख्न सक्ने क्षमतायुक्त व्यक्तित्वहरू थिए । तीमध्ये केही तिब्बतको खाम प्रान्तबाट नाङपाला हुँदै खुम्बु क्षेत्रमा प्रवेश गरेका थिए । ऋद्धिसम्पन्न लामा साङ्वा दोर्जेले वस्त्रलाई घामको किरणमा झुण्ड्याएर, उनका माइलो भाइ रोल्पा दोर्जेले फलामको भालालाई गाँठो पारेर, र कान्छा भाइ खेन्पा दोर्जेले सात ओटा उवाँको थुप्रोमा काँसको तारा देवीको मूर्ति राखी शक्ति प्रदर्शन गर्नुभएका थिए । यसरी सबैलाई चकित पार्ने यी घटनाहरूको विषयमा शेर्पा इतिहासमा उल्लेख गरिएको पाइन्छ । ती प्रदर्शन गरिएका सामग्रीहरू आज पनि खुम्बु क्षेत्रका गोन्पाहरूमा दर्शन गर्न सकिन्छ ।

सोलुखुम्बुमा सर्वप्रथम लामा साङ्वा दोर्जेले बौद्ध धर्म र दर्शन परम्पराको सुरुवात गर्नुभएको थियो । खुम्बु क्षेत्रको पाङ्वोचे भन्ने गाउँमा पालरिवो साङ्ग छ्योलिङ नामक गोन्पा निर्माण गर्नुभइ उहाँले बौद्ध धर्मको प्रारम्भिक स्थापनाको कार्य प्रारम्भ गर्नुभएको मानिन्छ । शेर्पा समुदायले उक्त गोन्पालाई सोलुखुम्बु क्षेत्रको सबैभन्दा प्राचीनको रूपमा मान्ने गर्दछ । लामा साङ्वा दोर्जेका माइलो भाइ राल्वा दोर्जेले थामे गाउँमा थामे देक्षेन क्षोखोलिङ्ग गोन्पा र कान्छा भाइ खेन्पा दोर्जेले रिमीज्युङ गाउँमा पेमा छोलिङ्ग गोन्पा स्थापना गरी बौद्ध धर्म र दर्शनको व्यापक प्रचारप्रसार गर्नुभएका थिए । शेर्पा समुदायले उहाँहरूलाई गुरु पद्मसम्भवका उत्तराधिकारीका रूपमा श्रद्धाका साथ मान्ने गर्छन् र पाठपूजाका क्रममा उहाँहरूको स्मरण गर्छन् । उहाँहरूको कृपा सम्झँदै शेर्पा समुदायले बौद्ध धर्मको संरक्षण गर्दै आएका छन्। त्यसैले आज पनि शेर्पा समुदायले जुनसुकै कार्य गर्दा पनि गुरु पद्मसम्भवको विधिपूर्वक पूजापाठ गरेर मात्र आरम्भ गर्ने परम्परा रहेको छ । साथै, शेर्पा बाहुल्यता रहेका गाउँहरूमा गुरु पद्मसम्भवको मन्त्रजप, गोन्पाहरूमा ‘गुरु छेनग्येद छाम’ (अष्टकार्य लीला नृत्य) मार्फत उहाँको जीवनदर्शन प्रस्तुत गर्ने गरिन्छ ।

परापूर्वकालमा धेरै शेर्पाहरू बौद्ध धर्म र दर्शन अध्ययनका लागि तिब्बत जान्थे । अध्ययन सम्पन्न गरी सोलुखुम्बु फर्किएपछि, उहाँहरूले समुदायमा बौद्ध शिक्षा दिने उद्देश्यले धेरै गोन्पाहरू निर्माण गरेका थिए । ती गोन्पाहरूमा दैनिक पूजापाठ, धार्मिक गतिविधिहरू तथा वार्षिक रूपमा विशेष बौद्ध उत्सवहरू मनाइन्छन् । साथै, ती गोन्पाहरूमा बौद्ध धर्म र दर्शनसम्बन्धी गहन अध्ययन अध्यापन हुने भएकाले तीलाई सामूहिक आस्थाको केन्द्र मात्र नभई समग्र बौद्ध शिक्षाको केन्द्र र विद्यापीठको रूपमा समेत मानिन्छ ।

शेर्पाहरूले श्रद्धा र विश्वासका साथ बौद्ध गोन्पाहरूको अतिरिक्त विभिन्न चैत्यहरू, ‘‘ॐ मणि पद्मे हूँ’’, ‘‘ॐ आः हूँ वज्र गुरु पद्म सिद्धि हूँ’’, ‘‘ॐ अमिदेव ह्री’’ जस्ता मन्त्रहरू अंकित शिलालेखहरू, बुद्ध तथा बोधिसत्वहरूको चित्र स्थापना गर्ने गरेका छन् । अग्ला डाँडामा धारणी मन्त्र युक्त मणि, हाते मणि (मणि लकखोर), मण्डलसहितका द्वार (कनिङ), र खोला नालाहरूमा जलमाने (मणि छुखोर) निर्माण गरिएको पाइन्छ । यी सबै त्रिरत्न (बुद्ध, धर्म, संघ) को काय, वाक् र चित्तका प्रतीकात्मक अधिष्ठानहरू हुन् ।

शेर्पाहरूले विश्वशान्तिको कामना र परोपकारको भावना स्वरूप उच्च पहाड, गहिरा नाला, वन जङ्गल तथा एकान्त स्थलहरूमा मन्त्रयुक्त पञ्चरङ्गी ध्वजा (लुङ्ता) गाड्ने गर्दछन् । पाप शोधन तथा पुण्य आर्जनका रूपमा गोरेटो बनाउने, आवश्यक परेका जनालाई भोजन तथा वस्त्र दान गर्ने, खोलामा पुल निर्माण गर्ने जस्ता कार्य गरिन्छ । साथै, दिनको अन्त्यमा आर्यावलोकितेश्वर, गुरु पद्मसम्भव, तारा आदि इष्टदेवताहरूको मन्त्रजप गरी माला फेरिन्छ भने दिनको सुरुवातमा जलार्पण (योनछयाप) गरी नमन गरिन्छ । यी सबै आचरणहरू शेर्पा समुदायमा प्राचीनकालदेखि नै दैनिक चर्याका रूपमा निर्वाह हुँदै आएका छन्, जुन बौद्ध धर्मका विशुद्ध आचार पक्षहरू हुन् ।

५. वर्तमान अवस्था

[सम्पादन गर्नुहोस्]

शेर्पा समुदायको वर्तमान अवस्थालाई हेर्दा परम्परागत धर्म र संस्कृतिको संरक्षणमा प्रयासहरू भइरहेता पनि युवापुस्तामा त्यसको प्रभाव घट्दै गएको देखिन्छ । ऐतिहासिक रूपमा शेर्पा समुदायले महायान र वज्रयान बौद्ध परम्पराको अभ्यास गर्ने गर्दछन् । गोन्पा केन्द्रित जीवनशैली, धार्मिक संस्कार, तान्त्रिक अनुष्ठान, लामाहरूको मार्गदर्शन, तथा सामाजिक मूल्यहरू आज पनि समाजमा देखिन्छन् । धार्मिक चाडपर्व, पूजापाठ, र उत्सवहरूमा सहभागिता अझै पनि जीवित छन्, तर ती अभ्यासमा पहिलेको जस्तो आस्था र निरन्तरता खासगरी युवापुस्तामा कम हुँदै गएको देखिन्छ ।

आधुनिकीकरण, शिक्षा र रोजगारीका लागि बाह्य सम्पर्क, र प्रविधिको प्रभावका कारण धेरै युवाहरू सहर तथा विदेशतिर आकर्षित भएका छन्, जसले गर्दा उनीहरू परम्परागत धर्म, संस्कृति, भाषाबाट टाढिँदै गएका छन् । वर्तमान पुस्ताले धार्मिक कार्यमा सहभागिता जनाए पनि त्यो प्रायः औपचारिकतामा सीमित हुँदै गएको छ । पहिलेजस्तो ध्यान, साधना, र गोन्पा आधारित सामूहिक अभ्यासहरू घट्दै गएका छन् ।

शेर्पा भाषा र बौद्ध शिक्षाको प्रसारमा पनि अघिल्लो पुस्ताको तुलनामा वर्तमान पुस्तामा केही कमजोरी देखिन्छ । कतिपय बालबालिकाहरू आफ्नो मातृभाषा बोल्न नसक्ने अवस्थामा छन् भने धार्मिक ग्रन्थहरूको अध्ययन र अभ्यास पनि घट्दै गएको छ । तथापि, केही गोन्पा तथा विद्यालयहरूमा सम्भोट लिपिको माध्यमबाट शेर्पा, भोट भाषा र बौद्ध शिक्षाको अध्ययन अध्यापन भइरहेको छ ।

यसका साथै, नेपालमा धार्मिक प्रकृतिका परम्परागत गोन्पा शिक्षालाई औपचारिक शिक्षा प्रणालीसँग जोड्ने प्रयास पनि भइरहेका छन् । भोट भाषा, बौद्ध शिक्षा र दर्शनका पाठ्यक्रम विकास भई गोन्पा विद्यालयहरूमा पढाइ भइरहेको छ । केही युवाहरूले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा कार्यक्रमहरूमा सहभागिता जनाई धर्म प्रचारमा योगदान दिइरहेका छन् भने डिजिटल माध्यम र सामाजिक सञ्जालको प्रयोगबाट पनि धर्म, संस्कार र भाषाको प्रसारमा संलग्न छन् ।

समग्रमा भन्नुपर्दा, युवापुस्तामा धर्म र संस्कृतिप्रतिको लगाव कमजोर हुँदै गएको भएता पनि केही संघसंस्था, किदुग, गोन्पा र अगुवाहरूको सक्रिय प्रयासले संरक्षण र पुनर्जागरणको सम्भावना कायम छ । त्यसैले परम्पराको निरन्तरताका लागि युवापुस्तालाई सक्रिय रूपमा जोड्न सामुदायिक, पारिवारिक र संस्थागत रूपमा समन्वित पहल गर्नुपर्ने आवश्यक देखिन्छ ।

६. राष्ट्र समृद्धिमा शेर्पा समुदायको भूमिका

[सम्पादन गर्नुहोस्]

शेर्पा समुदायले नेपालको समग्र समृद्धिमा विभिन्न क्षेत्रहरूबाट महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । विशेषतः पर्यटन, शिक्षा, धर्म, संस्कृति, कला, कृषि र व्यापार व्यवसायमा सक्रिय रही यस समुदायले नेपालको पहिचान र विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।

६. क) पर्यटन क्षेत्रमा योगदान ः शेर्पा समुदायको राष्ट्र समृद्धिमा सबैभन्दा प्रत्यक्ष र प्रभावशाली योगदान पर्यटन क्षेत्रमा देखिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदमा बसोबास गर्ने भएकाले हिमाल र शेर्पा पर्यायवाचीझैँ बनिसकेका छन् । पर्वतारोहण, ट्रेकिङ गाइड, बेसक्याम्प व्यवस्थापन, होटल तथा होमस्टे सञ्चालनजस्ता गतिविधिमा शेर्पाहरूको अनुभव र दक्षता अतुलनीय छ । साहस, सेवा भावना र स्थानीय ज्ञानका कारण नेपाल विश्व पर्यटन क्षेत्रमा प्रमुख गन्तव्यको रूपमा स्थापित भएको छ, जसले देशको आर्थिक सुधारमा उल्लेखनीय योगदान पु¥याएको छ ।

६. ख) शिक्षा क्षेत्रमा योगदानः शेर्पा समुदायका धेरै युवा आज देशभित्र र बाहिर उच्च शिक्षा हासिल गरी शिक्षण, अनुसन्धान, सामाजिक सेवा तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा कार्यरत छन् । गाउँवस्तीहरूमा विद्यालय स्थापनादेखि छात्रवृत्ति वितरण, युवामा शिक्षा चेतना फैलाउने आदि शैक्षिक कार्यमा सक्रियता देखिन्छ । साथै, मातृभाषा, लिपि, धर्म, संस्कार र संस्कृति संरक्षणका लागि व्यक्ति, सङ्घसंस्था र किदुगहरू सबै सक्रिय छन् । यसका लागि जिल्ला, प्रदेश र केन्द्रसम्म विभिन्न संस्थाहरू गठन गरी काम गरिरहेका छन् ।

६. ग) धार्मिक क्षेत्रमा योगदानः शेर्पा समुदाय वज्रयान बौद्ध धर्ममा गहिरो आस्था राख्छ । उनीहरूले गोन्पा, चैत्य, मणि, धर्मचक्र, लुङ्ता (ध्वजापताका) आदि धार्मिक संरचनाहरू निर्माण गर्दै आएका छन्, जसले धार्मिक पर्यटनको विकासमा टेवा पु¥याएको छ । साथै, बुद्ध वचन अनुवाद (काग्युर) तथा शास्त्र अनुवाद (तेन्ग्युर) को पाठ, बुद्ध जयन्ती (सागादावा), ञ्युङ्ने व्रत, मोन्लाम (प्रणिधान पूजा), गुरु पद्मसम्भवको पूजा, अमिदेव बुद्ध मन्त्रजप आदि कार्यक्रमले बौद्ध परम्परालाई मजबुत बनाएका छन् ।

६. घ) सांस्कृतिक र कलाको संरक्षणः शेर्पा समुदायले मौलिक संस्कृति र कलाको संरक्षण र प्रवद्र्धन गर्दै आएका छन् । उनीहरूको परम्परागत नृत्य, संगीत, पोशाक, भाषा, लोककथा र पर्वहरू, जस्तै लोसार, ढुप्छ्योद, मणिरिल्डुप ध्यान साधना तथा नृत्य प्रदर्शन आदि विभिन्न उत्सवहरूका माध्यमबाट नेपाली सांस्कृतिक विविधतालाई अझ समृद्ध बनाएका छन् । धार्मिक नृत्य, मूर्तिकला, थाङ्का चित्रकला जस्ता कलाहरूको संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शनले नेपाललाई सांस्कृतिक गन्तव्य बनाएको छ ।

६. ङ) कृषि क्षेत्रमा योगदानः हिमाली भेगको कठोर भूगोल र चिसो मौसम हुँदाहुँदै पनि शेर्पा समुदाय परम्परागत जैविक कृषि प्रणालीमार्फत बाली उत्पादन, पशुपालन, वन स्रोत संरक्षणमा संलग्न छन् । आलु, जौ, फापर, गहुँ खेती र याक पालन जस्ता गतिविधिले स्थानीय खाद्य सुरक्षामा सहयोग पु¥याएको छ । यसले सामुदायिक कृषि व्यवसायको विकासमा टेवा दिएको छ । शेर्पा समुदायले पर्यटन, शिक्षा, धर्म, संस्कृति, कला र कृषि क्षेत्रहरूमा बहुआयामिक योगदान पु¥याउँदै राष्ट्र समृद्धिको आधार तयार पारिरहेका छन् । उनीहरूको परिश्रम, धार्मिकता, सांस्कृतिक सम्पदा र प्रकृतिप्रति सम्मान भावले नेपालको अन्तर्राष्ट्रिय पहिचान बलियो बनाएको छ । त्यसैले, राष्ट्र समृद्धिमा शेर्पा समुदाय एक अभिन्न अङ्गका रूपमा स्थापित रहँदै आएको छ ।

८. भविष्यका चुनौती र समाधान

[सम्पादन गर्नुहोस्]

शेर्पा समुदाय नेपालको एक समृद्ध र विशिष्ट सांस्कृतिक सम्पदा बोकेको जातीय समुदाय भएता पनि बदलिंदो समय, प्रविधिको विकास र विश्वव्यापीकरणको प्रभावले गर्दा यो समुदाय विविध सामाजिक र सांस्कृतिक चुनौतीहरूको सामना गरिरहेको छ । परम्परागत धर्म, संस्कृति, भाषा र सामाजिक संरचना जोगाउन आज ठोस र दीर्घकालीन उपायहरूको खाँचो रहेको देखिन्छ ।

८. क) अ. पश्चिमीकरणको प्रभाव
[सम्पादन गर्नुहोस्]

आधुनिकता र पश्चिमी जीवनशैलीप्रतिको मोहका कारण शेर्पा युवापुस्तामा परम्परागत धर्म, भाषा र सांस्कृतिक अभ्यासप्रतिको रुचि घट्दै गएको छ । बौद्ध धर्म, जीवनदर्शन र सांस्कृतिक परम्पराहरू ओझेलमा पर्दै गएका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोग, भौतिक सुख सुविधाप्रतिको आकर्षण, र उपभोक्तावादी सोचका कारण युवाहरू मौलिकता र सांस्कृतिक पहिचानप्रति उदासीन भइरहेका छन् । यसले दीर्घकालीन रूपमा समुदायको सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदामा नकारात्मक प्रभाव पार्न सक्छ । युवाहरूलाई बौद्ध शिक्षा, संस्कार र सांस्कृतिक चेतनासम्बन्धी कार्यक्रमहरूमा संलग्न गराउनु, आत्मपरीक्षण र मूल्यनिष्ठ जीवनशैलीप्रति प्रेरित गर्नु आजको आवश्यकता हो ।

८. क) आ. भाषा विस्थापन
[सम्पादन गर्नुहोस्]

शेर्पा भाषा विशेष रूपमा संकटमा परेको छ । नयाँ पुस्तामा यो भाषा बोल्ने, लेख्ने र बुझ्ने क्षमतामा ह्रास आएको छ । शेर्पा भाषामा सम्भोट लिपिको प्रयोगको अभाव र देवनागरी र रोमन लिपिको अत्यधिक प्रयोगले भाषाको उच्चारण, शब्द संरचना र शुद्धता बिग्रँदै गएको छ । साथै, अभिभावकहरू आफ्ना बालबच्चाहरूसँग घरपरिवारमा मातृभाषा प्रयोग नगर्ने प्रवृत्तिले समस्या झन जटिल बनाएको छ । शेर्पा भाषाको संरक्षणका लागि विद्यालय तहमा भाषा शिक्षालाई अनिवार्य गर्नु, सम्भोट लिपिको अध्ययन अभ्यासलाई प्रोत्साहन गर्नु, र घरपरिवार तथा समुदायमा मातृभाषा प्रयोगलाई प्राथमिकता दिनु अति आवश्यक रहेको देखिन्छ ।

८. ख) समाधानका उपाय

[सम्पादन गर्नुहोस्]
८. ख) अ. पाठ्यक्रममा समावेशीकरण
[सम्पादन गर्नुहोस्]

शेर्पा भाषा, सम्भोट लिपि, धर्म र परम्परागत ज्ञानलाई जोगाउन विद्यालयस्तरमै सम्बन्धित विषयहरू समावेश गर्नु अत्यन्त आवश्यक छ । वर्तमान पुस्ता आफ्नो मौलिक सम्पदा बिर्सँदै गइरहेको अवस्थामा स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरूमा शेर्पा भाषा, सम्भोट लिपि र बौद्ध शिक्षा अनिवार्य रूपमा पढाउने व्यवस्था मिलाउनु जरुरी देखिन्छ । यसले बालक र युवामाझ पहिचानप्रतिको चेतना, आत्मगौरव र सांस्कृतिक आत्मीयता विकास गर्छ । शैक्षिक संस्थाहरूले सम्भोट लिपि लेखन अभ्यास, मौखिक तथा लिखित भाषा सिकाउने कार्यक्रम सञ्चालन गर्दा भाषा शुद्ध रूपमा संरक्षणमा सहयोग पुग्छ । यस्ता अभ्यासले युवामा संस्कृति प्रतिको अभिरुचि, जिम्मेवारी र सामुदायिक चेतना बढाउँछ । शिक्षा प्रणालीमा आवश्यक परिवर्तन गरी स्थानीय सरकार, समुदाय र विद्यालयबीच समन्वय गरेर शेर्पा समुदायको मौलिक सम्पदालाई पाठ्यक्रममा प्रभावकारी रूपमा समेट्न जरुरी भइसकेको छ ।

८. ख) आ. धार्मिक तथा सांस्कृतिक सहभागिता

[सम्पादन गर्नुहोस्]

शेर्पा समुदायको धार्मिक र सांस्कृतिक जीवनको केन्द्र गोन्पा हो । युवाहरूलाई गोन्पामा आयोजना हुने पूजापाठ, बुद्ध एवम् बोधिसत्त्वहरूको महोत्सव, रीतिरिवाज तथा धर्म उपदेशहरूमा सहभागी गराउनु पर्दछ । यस्तो सहभागिताले उनीहरूमा बाल्यकालदेखि नै धर्म, परम्परा र पहिचानप्रतिको मोह तथा उत्तरदायित्वको भावना विकास गराउँछ । यसैगरी, सामाजिक सङ्घसंस्थाहरूले समय समयमा धार्मिक तथा सांस्कृतिक प्रशिक्षण कार्यक्रमहरू आयोजना गरेर बौद्ध धर्म, दर्शन, संस्कार र संस्कृतिको ज्ञान प्रदान गर्नुपर्छ । यस्ता कार्यक्रमहरूले युवाहरूमा नेतृत्व क्षमता, सामुदायिक भावना र आफ्नै संस्कृति प्रतिको आकर्षण बढाउँछन् । अभिभावक, शिक्षक, गोन्पा र समुदायबीचको समन्वयबाट मात्र यस्ता प्रयास सफल र दिगो बन्न सक्छन् ।

८. ख) आ इ. डिजिटल अभिलेखीकरण
[सम्पादन गर्नुहोस्]

शेर्पा समुदायसँग मौखिक र लिखित इतिहास, धार्मिक ग्रन्थ, पाण्डुलिपि र परम्परागत ज्ञानको ठूलो भण्डार छ, जुन अहिले लोप हुने जोखिममा छ । त्यसैले आधुनिक प्रविधिको प्रयोगमार्फत डिजिटल अभिलेखीकरण अपरिहार्य भएको छ । दस्तावेजीकरण, भिडियो अभिलेख, अनलाइन शिक्षण सामग्री तथा डिजिटल संग्रहालयको विकासमार्फत यी सम्पदालाई संरक्षण गर्न सकिन्छ । आजको प्रविधिमैत्री पुस्तालाई लक्षित गर्दै डिजिटल माध्यमले परम्परागत ज्ञान र संस्कृति नयाँ पुस्तासम्म सजिलै पु¥याउन सकिन्छ । यसले उनीहरूलाई आफ्नै इतिहासप्रति गर्व गर्ने भावना विकास गर्न मद्दत गर्छ । शेर्पा समुदायको मौलिक धर्म, भाषा र संस्कृति संरक्षणका लागि शिक्षा, धार्मिक सहभागिता, र डिजिटल प्रविधिको समुचित प्रयोग अत्यावश्यक छ । सङ्घसंस्था, स्थानीय सरकार, धर्मगुरु, अभिभावक र विद्यालयहरूको समन्वयमा समयमै उचित पहल गरिएमा शेर्पा समुदायको गौरवशाली परम्परा भावी पुस्ताका लागि अमूल्य सम्पदा बन्न सक्छ ।

शेर्पा समुदायको ऐतिहासिक र सांस्कृतिक पहिचान बौद्ध धर्म, दर्शन, भाषा र परम्परामा आधारित छ । यी तत्वहरू केवल धार्मिक आस्थाको विषय नभई जीवनशैली, सामाजिक संरचना, नैतिक मूल्य र सामुदायिक व्यवहारका मेरुदण्ड हुन् । शेर्पाहरूको दैनिक जीवन, पर्व, परम्परा र परोपकारी अभ्यासहरूमा बौद्ध धर्मको गहिरो प्रभाव परिलक्षित हुन्छ । यद्यपि, बदलिंदो सामाजिक परिवेश, पश्चिमीकरणको प्रभाव, प्रविधिको तीव्र विकास र भाषा विस्थापनजस्ता कारणले धर्म, संस्कृति, लिपि र भाषाको संरक्षण गम्भीर चुनौती बन्दै गएको छ । यस्तो अवस्थामा शेर्पा समुदायले आफ्नो मौलिकता नछोडी समयअनुकूल रूपान्तरण गर्दै अघि बढ्नुपर्छ ।

युवा पुस्तालाई धर्म, लिपि, भाषा र संस्कृतिप्रति अभिरुचि जगाउन शैक्षिक पाठ्यक्रममा समावेशीकरण, गोन्पा केन्द्रित अध्ययन, डिजिटल अभिलेखीकरण, समुदाय विद्यालय सहकार्य र सांस्कृतिक महोत्सवजस्ता प्रयासहरूलाई प्राथमिकता दिन आवश्यक छ । साथै, धर्मलाई केवल कर्मकाण्डमा सीमित नराखी जीवन पद्धति, नैतिक आचरण र समाजसेवामा रूपान्तरण गर्न सकिने सम्भावना पनि छ । बुद्धका उपदेश पञ्चशील, आर्य अष्टांगिक मार्ग, सहिष्णुता, मैत्री र करुणा आदि दीर्घकालीन समाजको समृद्धिका मेरुदण्ड हुन् ।

धर्म, भाषा र संस्कृतिविना कुनै पनि समुदायको पहिचान अधुरो हुन्छ । र जब पहिचान हराउँछ, तब त्यो समुदायको अस्तित्व नै संकटमा पर्छ । त्यसैले, शेर्पा समुदायको समृद्ध र स्थायी भविष्यका लागि यसको धर्म, दर्शन, भाषा र संस्कृतिको संरक्षण अनिवार्य छ ।

भवतु सर्व मंगलम् ।

सन्दर्भ ग्रन्थहरू

[सम्पादन गर्नुहोस्]

शेर्पा लामा, खेन्पो सांग्य तेन्जीन (२०६९) शेर्पाहरूको इतिहास र वंशावली,

छोटक, ग्युर्मे (२००८) श्यार्वी छिक्जो कुन्साल मेलोङ

लामा, जी. के. (२००४) तिब्बत में बौद्ध धर्म का इतिहास

Dunjom, Rinpoche (1991) the Nyingma School of Tibetan Buddhism

लेखकः आचार्य सार्की शेर्पा
[सम्पादन गर्नुहोस्]