प्रयोगकर्ता:Chandreswor Bastakoti
ठुली पोखरी (Thuli Pokhari)
[सम्पादन गर्नुहोस्]ठुली पोखरी नेपालको गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको कास्कीकोट क्षेत्र नजिक अवस्थित एक प्रसिद्ध प्राकृतिक पोखरी हो। यो पोखरी समुद्री सतहदेखि करिब १,३०० मिटरको उचाइमा अवस्थित छ, र प्राकृतिक सौन्दर्य, जैविक विविधता, धार्मिक मान्यता तथा पर्यटन सम्भावनाका दृष्टिले महत्वपूर्ण मानिन्छ।
भौगोलिक तथा प्राकृतिक विशेषता
[सम्पादन गर्नुहोस्]ठुली पोखरी शान्त वातावरण, हरियालीले ढाकिएको किनारा र वरिपरिको जैविक विविधताको कारणले स्थानीय बासिन्दा र आगन्तुक पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ। वसन्त र वर्षायामको समयमा यहाँ ढकमक्क फुल्ने बनफूलहरू, चराचुरुङ्गीहरू र विभिन्न जलचर प्रजातिहरू देख्न सकिन्छ।
प्रयोग र संरक्षण
[सम्पादन गर्नुहोस्]ठुली पोखरी स्थानीय सिँचाइ प्रणाली र साना–स्तरका मत्स्यपालन प्रयोजनका लागि पनि उपयोग हुँदै आएको छ। हालसालै यहाँ ग्रास कार्प, सिल्भर कार्प, र जर्मन कार्प प्रजातिका माछाहरूको भुरा उत्पादन र संरक्षणको प्रयास भइरहेका छन्।
यस कार्यको नेतृत्व पोखरी छेउमा बसोबास गर्ने स्थानीयहरूले मिलेर बनाएको ठुली पोखरी संरक्षण समिति ले गर्दै आएको छ।
जल उपयोग र समस्याहरू
[सम्पादन गर्नुहोस्]ठुली पोखरीका मूलहरूबाट बगुवा हुँदै निस्कने पानी कास्कीकोट क्षेत्रको करिब ४० प्रतिशत खेतियोग्य जमिनमा सिँचाइका लागि प्रयोग हुँदै आएको छ। यस क्षेत्रको प्रमुख खाद्य उत्पादन — विशेषतः धान खेती —मा यस पोखरीले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको छ।
त्यसैगरी, पोखरीको जलस्रोतकै कारण तल्लो भेगमा मूल उढेर थप करिब ४० प्रतिशत जमिनमा सिँचाइ सहज हुनेगरेको छ। यसरी यो पोखरीले कास्कीकोट क्षेत्रको करिब ८० प्रतिशत जमिनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सिँचाइ सेवा पुर्याउने गरेको पाइन्छ।
स्थानीय वृद्धवृद्धाहरूका अनुसार अघिल्लो पुस्तासम्म पोखरीमा पर्याप्त पानी हुन्थ्यो, तर पछिल्लो समय सहि संरक्षण नहुँदा पोखरी माटोले पुरिँदै गएको छ। यसका कारण पोखरीको पानी भण्डारण क्षमता उल्लेखनीय रूपमा घटेको छ, जसले सिँचाइमा असर पु-याएको छ।
त्यस्तै, पछिल्ला केही वर्षदेखि पानी सिपेज भएर बाहिर जान थाल्नु पनि थप समस्या बनेको छ। यस्ता समस्याहरूको समाधानका लागि विभिन्न प्रयासहरू गरिए तापि पूर्णरूपमा समाधान हुन सकेको छैन।
यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाहरू पोखरीमै पौडन जान्ने गर्दछन्। पहिलेका दिनमा घरपालुवा पशुपक्षीहरूलाई पोखरीमा लगेर पानी खुवाउने चलन पनि व्यापक थियो। पोखरीलाई यसरी सामाजिक, आर्थिक, र पारिवारिक जीवनको अभिन्न अङ्गको रूपमा प्रयोग गरिँदै आएको इतिहास छ।
पर्यटन तथा भविष्य योजना
[सम्पादन गर्नुहोस्]निकट भविष्यमा ठुली पोखरीलाई स्थानीय इको-टुरिज्म केन्द्र तथा प्राकृतिक शिक्षण केन्द्र को रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ। यहाँ आगन्तुकलाई बसोबासको सुविधा दिन एक स्थानीय होमस्टे सेवा समेत सञ्चालनमा आएको छ, जसले पाहुनालाई स्थानीय रहन–सहन, परम्परा र कृषि जीवनशैलीको अनुभव प्रदान गर्छ।
ऐतिहासिक र सामाजिक पृष्ठभूमि
[सम्पादन गर्नुहोस्]यस पोखरीको किनारमै परापूर्वकालदेखि बस्ताकोटी गाउँ र बसन्त टोल नामक बस्तीहरू रहेका छन्। यी बस्तीहरू त्यहाँका परम्परागत थरहरूको बसोबास र सामाजिक इतिहाससँग सम्बन्धित छन्। ठुली पोखरी क्षेत्रको सांस्कृतिक तथा पारिवारिक पहिचान निर्माणमा यिनको विशेष योगदान रहेको पाइन्छ।
धार्मिक तथा सांस्कृतिक संरचना
[सम्पादन गर्नुहोस्]ठुली पोखरी र वरपरका बस्तीहरूमा धार्मिक आस्थासँग सम्बन्धित विविध संरचनाहरू रहेका छन्, जसले यस क्षेत्रको सांस्कृतिक गहिराइ झल्काउँछन्।
पोखरीको पश्चिम किनारामा एक पुरानो नागको मूर्ति अवस्थित छ, जसलाई सर्पदेवता (नागदेवता) को प्रतीकका रूपमा पूजिन्छ। नागपञ्चमी लगायतका अवसरमा यहाँ विशेष पूजाआजा गरिन्छ।
निकटवर्ती बसन्त टोल मा धार्मिक तथा सांस्कृतिक महत्व बोकेका अन्य स्थलहरू रहेका छन्। यहाँ अवस्थित बसाहा (Basaha) को थान स्थानीय देवीको प्रतीकका रूपमा पूजिन्छ, र यस थानमा विभिन्न चाडपर्वका बेला बलि र पूजा गर्ने परम्परा रहेको छ।
बसन्त टोलमै रहेको बसन्त पितृ मन्दिर स्थानीय पूर्वजहरूको सम्झनामा बनाइएको धार्मिक स्थल हो, जहाँ हरेक वर्ष पितृपक्षको समयमा श्रद्धाञ्जली अर्पण गरिन्छ। पितृ उद्धारको कामनाले यहाँ पूजाआजा गर्ने विश्वास गहिरो रूपमा रहेको पाइन्छ।
बसन्त टोलमै रहेको अर्को महत्त्वपूर्ण स्थल हो — मनोकामना पूरा हुने मनोकांक्षी मन्दिर। यस मन्दिरमा मानिसहरू आफ्नो मनोकांक्षा पूरा होस् भन्ने कामनाका साथ पूजाआजा गर्न आउने गर्दछन्। यहाँ नित्य पूजा हुने गर्दछ। साथै, कास्कीकोट दरबार क्षेत्र र गुप्तकालिका मन्दिरको दर्शनपश्चात "अाटेको पुगोस" भन्ने विश्वासका साथ अन्त्यमा यस मन्दिरमा पूजा गर्ने परम्परा रहेको छ।
त्यसैगरी, पोखरीको किनारमै रहेको सानो तर पूजनीय शिव मन्दिर पनि धार्मिक दृष्टिले महत्त्वपूर्ण छ। विशेषतः जनै पूर्णिमा का दिन टाढा–टाढाबाट आउने श्रद्धालुहरूले यहाँ आएर स्नान गरी जनै फेर्ने तथा मन्त्रणा गर्ने परम्परा रहिआएको छ। शिवरात्रिको अवसरमा यहाँ विशेष पूजाआजा गरिन्छ, र रातभर भजन–कीर्तन, धुनी बाल्ने र जाग्राम बस्ने परम्परा पनि चलनमा छ।
यी सम्पूर्ण धार्मिक स्थल र सांस्कृतिक अभ्यासहरूले ठुली पोखरी क्षेत्रलाई प्राकृतिक सौन्दर्यसँगै आध्यात्मिक गन्तव्यको रूपमा समेत स्थापित गरेका छन्।