प्रयोगकर्ता:Dr. Rajendra Sapkota/प्रयोगस्थल
वैज्ञानिक वैयाकरण
झण्डै १२५ वर्षअघि नेपाल दरबारमा राणा शासकहरुको हालिमुहाली थियो। यस बखत वीरशमशेर प्रधान मन्त्री थिए (१९८५ देखि १९०१ सम्म)। सुनका गहना, राम्रो र मीठो पलफूल, राम्रो घर बगैंचा पहिले राणाहरुको हुने, त्यसपछि भाइ भारदार र पछिमात्र आममान्छेको पहुँचमा आइपुग्ने जमानामा अहिले सबैको मन लोभ्याउन सक्ने सयपत्री, गोदावरी जस्ता फूलहरु पूर्वी नेपालको सामान्य व्यक्तिको बगैंचामा मात्र थियो होला त?
अथवा यतैबाट नै कुनै किसिमले काठमाडौं भित्रियो होला त? यदि यस्तो हो भने यो निकै नै महत्वपूर्ण अनुसन्धानको विषय पनि हो। नेपालमा गोदावरी फूल भित्र्याउने हैसियतको बगैंचा बनाउने सामथ्र्य भएका वैयाकरण कस्ता व्यक्ति थिए त?
वैयाकरण नेपाल वनारसबाट पढेका विद्वान् र समाज सुधारक थिए। वनारसबाट स्नातक भएर भोजपुर फर्केपछि यिनले भोजपुर सल्यानीको सामान्य पाखोमा गृहस्थी सुरु गरे। इ.सं. १९८२ तिर सिक्तेल भन्ने स्थानमा रातो माटो भएको पाखो बिराउन थाले । साथसाथै एउटा बगैंचाको पनि निर्माण सुरु गरे। सुरुमा वर, पीपल, डुम्री र पाख्री जस्ता फिक्स वर्गका धार्मिक तथा औषधी प्रयोजनका लागि चाहिने किसिमका मात्र बोटबिरुवालगायतका उनको बगैंचामा फूल र अन्य प्रजातिका बिरुवा पनि लगाउने चाहना बढ्दै गयो। यस क्षेत्रका प्रकाण्ड विद्वान् भएका कारण उनलाई नेपालको तराईका जनकपुर, मोरङ, झापा तथा भारतको पश्चिम बंगाल, दार्जिलिङ, आसामसम्म हिँडिरहनुपथ्र्यो र गइरहन्थे। उनको व्यक्तिगत रुचि भने वनस्पति, फूल र घोडामा थियो। राम्रो फूल फुल्ने वा औषधी गुणको बिरुवा जहाँबाट पनि आफ्नो बगंैचामा ल्याइहाल्ने बानी थियो। उनको यो बानीले गर्दा आफ्नो बगैंचामा सयौं किसिमका फूल र वनस्पति हुर्कन थाले। महाभारत क्षेत्रमा पाइने फूल र औषधीयुक्त वनस्पतिका साथै तराईमा पाइने औषधी गुण भएका हर्रा बर्रो, अमला, खमारी, सिमल वा फूल वा फल लाग्ने आँप, लिच्ची जस्ता सबैजसो बिरुवा पनि उनको बगैंचामा आइपुगे।
हिन्दु जन्मसंस्कारमा कुनै बच्चा मूल नक्षत्रमा परेर जन्म्यो भने त्यसैले आफ्नो वंश र आफ्ना जन्म दिने बाबु आमालाई समेत कष्ट दिन्छ भन्ने मान्यता छ। यसको शान्ति स्वस्ति गर्न विशेष अनुष्ठान गर्नुपर्छ जसका लागि १०८ किसिमका वनस्पतिको आवश्यकता हुन्छ। वैयाकरणको बगैंचामा धेरै किसिमका बोट बिरुवा भएकाले मूल परेको बच्चाको शान्ति स्वस्ति गर्ने ब्राह्मण वा तिनको परिवारको गन्तव्यस्थल अब वैयाकरण नेपालको बगैंचा हुन थाल्यो। यसका लागि पश्चिममा दोलखा र पूर्वमा ओलाङ्चुङ्गोलादेखिका मान्छेहरु चार पाँच दिनसम्म हिँडेर भोजपुर सिक्तेल पुग्ने गरेका थिए। वैयाकरणले बगैंचा लगाएको झण्डै ७० वर्षपछि जन्मेको यो पंक्तिकारले पनि आफ्नो बाल्यकालमा यसरी १०८ वटा वनस्पतिका पात वा फूल लिन विभिन्न ठाउँबाट मानिस आउने गरेको देखेको सम्झना छ।
वैयाकरण नेपाल वनस्पति संकलक मात्र थिएनन् उनीभित्र एउटा जीव विज्ञानको वैज्ञानिक व्यक्तित्व पनि रहेको थियो। आफ्नो बगैंचाबाट कलमी तयार गर्ने, उत्तम बीउ छनौट गरी राख्ने त गर्थे नै उनले वनस्पतिका वर्णशंकर प्रजातिका लागि थुप्रै परीक्षण पनि गरेका थिए। केरामा हुने गुलियोपनलाई अम्बामा सार्न सकियो भने अम्बा पनि केरा जस्तै महत्वपूर्ण फल हुन्छ भन्ने सोचाइका साथ अम्बा र केराको वर्णशंकर बनाउन परीक्षण गरे। स्वाभाविक छ त्यो असफल भयो। त्यस्तै आँप जेठ असारमा फल्ने तर वर्षको १० महिना नफल्ने हँुदा त्यसलाई वर्षभरि फल्ने बनाउन पनि अर्को परीक्षण गरे। लामो प्रयत्नपछि मंसिरमा पाक्ने आँप तयार भयो। यो प्रयोग भने सफल भयो। मंसिरमा पाक्ने आँपको बूढो रुख आजपर्यन्त खडा छ। हामी केटाकेटीमा पहिले असार साउनमा आप खान्थ्यौं र पछि दसैं तिहारपछि त्यस रुखमा फल्ने आँप धेरथोर खान पाउँथ्यौं। उनको यस किसिमका परीक्षण र सफलताका कुरा बाहिरसम्म पनि फैलिए। त्यस क्षेत्रमा नै कहलिएका विद्वान् त उनी छँदै थिए। उनका अरु क्रियाकलापले मानिस उनलाई हेर्नसमेत टाढा टाढाबाट आउन थाले। यसै क्रममा एक जना जोगी आइपुगे। उनीसँग मिलेर वैयाकरणले फलाम पगालेर त्यसबाट सुन बनाउने परीक्षण सुरु गरे। कैयौं दिनसम्म त्यो कार्य चल्यो। नजिकैको धोल्ले खानीबाट फलाम ल्याइयो होला। कैयौं टन फलाम पगालियो होला। हजारौं भारी दाउरा बालियो होला। स्वाभाविक छ– यो प्रयोग पनि असफल भयो। जोगी कतै बेपत्ता भयो। ती सबैको साक्षी बनेको त्यो भट्टी यद्यपि मौजुद छ। फिजिकल केमेष्ट्रीको धेरै विकास भएर पदार्थ परिवर्तन नहुने सिद्धान्त प्रतिपादित भएपछि मात्र फलामबाट सुन बन्ने धेरैको विश्वास तोडियो। तर संसारभरि अलकेमीका अनुयायीहरु फलाम पगालेर सुन बन्छ वा यसबाट 'पारसमणि' बनाउन सकिन्छ भनेर भनेर आज पनि प्रयत्नरत् छन् ।
जुन बखतमा वैयाकरणले आफ्नो बगैचामा विभिन्न वनस्पतिबीचमा क्रस हाइब्रिड प्रयोग गर्दै थिए, लगभग त्यही समयमा (सन १८६० तिर) ग्रेगर जोन मेण्डल पनि अष्ट्रियामा आफ्नो विश्व प्रसिद्ध केराउको वर्णशंकरसम्बन्धी परीक्षण गरिरहेका थिए। त्यो परीक्षणबाट प्राप्त नतिजालाई उनले सन् १८६५ मा अष्ट्रियाका वैज्ञानिकसमक्ष प्रस्तुत गरे। उनको परीक्षणले वंशाणुको विज्ञानमा नयाँ सिद्दान्त प्रतिपादन गरिदियो। फलस्वरूप मेण्डललाई वंशाणु विज्ञानका जनकका रूपमा चिनिन्छ। मेण्डल प्राकृतिक विज्ञान र गणित पढेका वैज्ञानिक र विद्वान् थिए।
मेण्डलको परीक्षणको सफलताले उनलाई अष्ट्रिया मात्र नभएर विश्वमा प्रसिद्धि प्रदान ग¥यो। यता वैयाकरण नेपालको प्रसिद्धि देशभित्र र खासगरी पूर्वाञ्चल क्षेत्रभित्र त भयो तर त्यो पण्डित र कविका रूपमा मात्र। आफ्नो सफलता र असफलतालाई उनले लिपिबद्धसम्म गरे । प्राकृतिक विज्ञानमा व्यावसायिक दक्षता नभएकाले उनले शोध प्रबन्ध लेखेनन् । बरु त्यही विषयलाई आत्मानुभूतिका रूपमा काव्यात्मक शैलीमा लेखे। उनका अनुभवको सारका रूपमा तर्कारीकल्प (तर्कारीको गुणस्तर जान्ने कला) शालिहोत्र वर्णन (घोडाको गुण दोष जान्ने कला) भन्ने स–साना पुस्तिका प्रकाशन भए। उनले सुरु गरेका कार्य अगाडि बढाउने अनुसन्धानकर्ता भएनन्। भोजपुरबाट क्रमशः तराई र काठमाडौं सर्ने प्रक्रियामा यी सबै बिर्सिए वा हराए। अहिले आएर वैयाकरण नेपालका सन्तति र अनुयायीहरु मिलेर वैयाकरण नेपाल स्मृति प्रतिष्ठान खडा गरी उनले गरेका कामको अभिलेखन गर्ने, उनीबारे जानकारी बढाउने प्रयत्नमा छ। सरकारले पनि भोजपुरदेखि पान्धारे जोड्ने बाटोलाई 'वैयाकरण मार्ग' नामाकरण गरी उनको योगदानको पहिचान गर्न सुरु गरेको छ।
स्रोत : www.nagariknews.com/opinion/story/10236#sthash.MwNlCek5.dpuf(सन्तोषमणि नेपाल- 26 Nov 2013 मङ्गलबार ११ मंसिर, २०७०)