सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Dura-garage/sandbox

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

संक्षिप्त इतिहास र परिचय

[सम्पादन गर्नुहोस्]

परिचयात्मक इतिहास

[सम्पादन गर्नुहोस्]

गोलो अनुहार, थेप्चो नाक, चिम्सा आँखा, होचो तथा चौडा शरीर नै दुरा समुदायको सामान्य शारीरिक रूपरेखा हो । कतिपय दुराहरू गह्रौं हुन्थे भन्ने कोहीकोहीले पहिलो वर्णनयुक्त हुन्छन् । यिनै शारीरिक रूपरेखालाई आधार बनाउँदा मगर जातिमा पनि शारीरिक गुण भेटिन्छन्[]।नेपाल सरकारले दुरा समुदायलाई नेपालका ५९ जनजातिहरूको सूचीमा सूचीकृत गरेको छ ।[] ‘आदिवासी / जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५८’ को दफा २ (क) मा आदिवासी जनजातिको परिभाषा यसरी दिइएको छ— ‘आदिवासी/जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको, अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनुपर्छ ।’नेपाल सरकारले दुरा समुदायलाई सीमान्तकृत समूह (marginalized group) मा समावेश गरेको छ []। दुराहरूले आफूलाई अल्पसंख्यक समुदाय मान्ने गरे पनि सरकारले ‘अल्पसंख्यक’ दर्जा दिने गरेको छैन । बरु, सरकारले सङ्कटापन्न समूह (endangered group) भन्ने शब्दावली प्रयोग गरी हायु, राउटे, सुरेल, मेचे, वनकरियालगायत दशवटा जनजातिहरूलाई यस समूहअन्तर्गत सूचीकृत गरेको छ, जसमा दुरा समुदाय समावेश छैन[] । सरकारले दुरा समुदायलाई अल्पसंख्यक समुदाय नमाने पनि कतिपय अध्येताले ‘अल्पसंख्यक’ समुदायको दर्जा दिएका छन्[]

'नेपाली बृहत् शब्दकोश' ले दुरा समुदायको परिचय यसरी दिएको छ— नेपालको लमजुङ जिल्लाभित्रको दुराडाँडामा आदिकालदेखि नै बसोबास गर्दै आएको, आफ्नै भाषा-संस्कृति भएको र त्यसलाई बिस्तारै भुल्दै गएको एक जाति; नेपालको एक अल्पसंख्यक जाति'[] । हुन पनि, आफ्नै भाषासंस्कृति भएर पनि दुरा समुदायले त्यसलाई बिस्तारै भुल्दै गएको तथ्य समयक्रममा पुष्टि हुँदै गएको छ । दुरा समुदायको मूल वस्ती लमजुङको दुराडाँडा नै मानिन्छ [] । यद्यपि, दुराडाँडामात्रै दुरा समुदायको बासस्थान भने होइन । दुराडाँडाबाहेक अरू स्थानमा पनि दुरा समुदायको बस्ती छ[] । आजसम्म उपलब्ध कागजातका आधारमा दुरा समुदाय पश्चिमतिरबाटै लमजुङको दुराडाँडा आइपुगेको देखिन्छ । तर, दुराहरू कहाँबाट कुन-कुन कालखण्डमा कुन परिस्थितिमा कुन-कुन स्थानबाट दुराडाँडा आइपुगे भन्नेबारे छिटपुट वर्णन भेटिए पनि कुनै सबल र स्पष्ट विवरण भने देखिँदैन ।

जनकाँकेश्वरी धर्मराज थापाले आफ्नो पुस्तक 'लोकसंस्कृतिको घेरामा लमजुङ' मा १८४० को वंशावलीलाई उद्धृत गर्दै दुराहरूमा पश्चिमबाट पूर्वतिर सर्दै आएको वर्णन गरेका छन्[] । थापाले दुराका पूर्वजहरू दुलाल मगर र उनीहरू उचै नागरी धौलागिरि मलेस छम्गोंगिढ, दुलबासिनधरा, जाजरकोट, रुकुम, अर्घ (कास्की) हुँदै लमजुङ आइपुगेको उल्लेख गरेका छन्[१०] । यसमा स्पष्ट हुन नसकेको पक्षहरू पनि छन् । वंशावलीमा उल्लेख भएको भनिएको उचै नागरी धौलागिरि मलेस, छम्गोंगिढ, दुलबासिनधरा जस्ता स्थाननाम अहिले प्रचलनमा रहेका छैनन् । यी स्थाननाम वर्तमान बिरानामा भएकाले यिनीहरूको यथार्थ भौगोलिक अवस्थितिबारे पनि कुनै भेउ पाउन सकिएको छैन ।

डा. ऋषिकान्त अधिकारी (जन्मः वि.सं. २००७) ले आफ्नो पुस्तक 'दुरा जातिको परिचय' मा धर्मराज थापाको लेखाइमा नपरेका ठाउँहरूको नाम पनि उल्लेख गरेका छन् । डा. ऋषिकान्त अधिकारीले दुराहरू पश्चिमबाट पूर्वतिर आउने क्रममा दुलेग, दुलेख, दुर्दान, दुरानकोट[११] मादी नदी घाट हुँदै दुराडाँडा आइपुगेको उल्लेख गरेका छन्[१२]

दुराहरू कुन कालखण्डदेखि दुराडाँडामा आई बसोबास गरे भन्नेबारे प्रस्ट समयरेखा (timeline) देखिँदैन । यद्यपि, चौथो पाँचौँ सय वर्षभन्दा बढी समयदेखि दुराडाँडामा रहेको लिखित प्रमाण भेटिन्छ । खजे दुरा, कुसुमाकर घिमिरे, पुँवार, भण्डारी, राउत र सुयलहरूले वि.सं. १५५० असार १५ गते यशोब्रह्म शाहलाई लमजुङको राजा तुल्याएको वंशावलीमा उल्लिखित छ[१३] । यस अभियानमा चिमु घिमिरे, नारान दुरा, दधिराम दुरा, माथे दुरा, शुक्रवर क्याम्पलगायतका पूख्र्यौलीहरूको पनि योगदान देखिन्छ ।

यही ऐतिहासिक घटनाक्रमका सम्बन्धमा डा. हर्क गुरुङको भनाइ छ— ‘हिन्दू आप्रवासी र दुराहरूले कास्कीका ठकुरी राजकुमार कालू शाहलाई लमजुङका शासकका रूपमा स्थापित गरे । पछि उनलाई धले राजाका मानिसहरूले बाहुण्डपानीले मारिदिए । त्यसपछि उनको भाइ यशोब्रह्म शाहलाई शासक बनाए’[१४]

दुरा समुदायलाई किन ‘दुरा’ भनियो भन्नेबारे केही अड्कल गरिएका छन् । ऋषिकान्त अधिकारीले नरहरि तिमिल्सिनाकृत पुस्तक 'आध्यात्मिक नेपाल एवम् देवदेशी हिमालय' लाई उद्धृत गर्दै मनाङ र मुस्ताङको शिखरमा रहेका रुद्धा भोट हुँदै आएका र उनीहरूलाई 'रुद्दा' भन्दाभन्दै 'दुरा' भएको तर्क पेश गरेका छन्[१५]

प्रस्तुत तर्कमा केही प्रश्न अनुत्तरित रहेका छन् । रुद्धा भोट कहाँ पर्छ ? दुराहरू कुन थलोबाट रुद्धा भोट हुँदै आए ? कहिले आए ? कुन परिस्थितिमा आए ? कुन कालखण्डदेखि उनीहरूलाई 'दुरा' भन्न थालियो ? 'रुद्धा' शब्दको व्युत्पत्ति तथा अपभ्रंशबीच कुन किसिमको भाषाशास्त्रीय सम्बन्ध छ ? यस्ता अनुत्तरित प्रश्नका उत्तर नखोजी दुरा समुदायको नामाकरणबारे निष्कर्षमा पुग्न सकिँदैन ।

  1. दुरा सेवा समाज, २०५७, पृ. १
  2. आदिवासी / जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५८, पृ. २३ ।
  3. आदिवासी जनजाति जर्नल, २०६८, पृ. २५
  4. आदिवासी जनजाति जर्नल, २०६८, पृ. २५
  5. शर्मा, २०६३, पृ. ५६ र गौतम र मगर, सन् १९९४, पृ. १९२
  6. पराजूली, २०७१, पृ. ६४७
  7. हेर्नुहोस्, दुराडाँडा, पृ. २७
  8. हेर्नुहोस्, सातथलो, पृ. १
  9. हेर्नुहोस्, दुरा जातिको वंशावली, पृ. १७५
  10. थापा, २०४९, पृ. ४२२
  11. दुरानकोट भन्ने स्थाननाम नभेटिएको तर दुर्लुङकोटचाहिँ भेटिएकोले त्यसको स्थाननाम दुरानकोटको सट्टा दुर्लुङकोट हुनुपर्ने देखिन्छ ।
  12. अधिकारी, २०६२, पृ. ३
  13. थापा, २०५५, पृ. ७
  14. गुरुङ, सन् १९८०, पृ. १८८
  15. अधिकारी, २०६२, पृ. ४