प्रयोगकर्ता:Kanakdhara Guruji/प्रयोगस्थल
गोर्खाधर्मको आवश्यकता
हुन त यो कुरा सुन्दा धेरैलाई नपच्ला र धेरैलाई उत्साहवर्धक होला पनि। पच्नु-नपच्नुभन्दा पनि आवश्यकता छ कि छैन यो सोच र शोधको विषय हो। साँच्चै भन्नुपर्दा अधिकांशलाई यो कुरा अपच हुनेछ। अपच हुनुको कारण के हो त भन्दा युगौं-युगदेखि अर्काको दास भएका छौं हामीहरू। अर्काले जे गर्यो त्यस्कै लै-बरिमा हामी लागेका छौं। मधेशीहरू बाठा छन् हामीभन्दा। उनीहरूले गंगालाई पवित्र र मोक्षदायिनीको रूपमा स्थापित गरे। गंगा-यमुना सामान्य नदी हुन्। नदीलाई तीर्थको रूपमा स्थापित गर्नुको पछिको कारण छ उनीहरूको विश्वव्यापी व्यापारीकरण।
अयोध्या, मथुरा, माया (हरिद्वार), काशी (वाराणसी), काञ्ची, अवन्तिका (उज्जैन), पुरी (जगन्नाथ पुरी) द्वारावती (द्वारका) यी सात स्थानलाई सनातनधर्मका पुरोहितहरूले मोक्षदायिनी स्थलको रूपमा घोषित गरेका छन्।यी सातै वटा स्थानको दर्शन र भ्रमण गर्नाले मोक्ष हुनु भनेको कुनै पनि व्यक्तिले आफ्नो सम्पत्ति सक्नुमात्र हो। कुनै पनि हालतमा मोक्ष हुने कारण देखिँदैनन्। मोक्ष प्राप्तिको लागि वैराग्यको जागृति हुनुपर्छ। वैराग्य जाग्नको निम्ति ज्ञान,भक्ति हुनुपर्छ। यी सातैवटा मोक्षयायिनी पुरीहरू पूर्णरूपमा धार्मिक व्यापार-व्यवसाय र अपराधीहरूलाई संरक्षण गर्ने भगवा भेषमा आवेष्टित छन्। यी सप्तपुरीका प्रायः जसो जम्मै मानिसहरू विश्वास गर्न लायकका रहेका छैनन्। यी पुरीहरू पूर्णतः पर्यटनका केन्द्र मात्र रहेका छन्। फोहोर, कशिंगर, भिखारी र पण्ड़ा-पुरेतहरूको बिग्बीगी जहाँ जाँदा कुनै पनि सभ्य र सुधारवादी विचार भएको मान्छे पुनः फर्किएर जाने इच्छालाई समाप्त गरेर मात्र आउँछ। यी तथाकथित तीर्थहरूले केही मधेशी पण्ड़ा-पुरेत र त्यहाँका केही व्यापारीवर्गको मात्र हित गरेको छ भन्नुमा म अलिकति पनि संकोच गर्दिनँ। कुम्भ मेलाहरूको आयोजन पनि तिनै पौराणिक पुरोहितहरूहबाट उप्जाइएको महज पर्यटनिक विचार मात्र हो। उत्तरका पुजारीहरू दक्षिणका मन्दिरमा र दक्षिणका पुजारीहरू उत्तरका मन्दिरमा राखिने जस्ता कृया-कलाप पनि परस्पर मधेशी साम्राज्य र एकत्वको निम्ति गरिने एक कुटनीतिक कार्य मात्र हो। जहाँका तीर्थहरूमा गएर मात्र मगन्ते अनि जबर्जस्ती यहाँ यति र उहाँ यति चढ़ा भन्दै पण्ड़ाहरूद्वारा आफ्नो आस्थामाथि दोहन हुनेगर्छ भने ती स्थानहरूमा गएर कसैले मैले पुण्य गरें भन्ने सोच्नु भनेको मूर्खता सिवाय केही हैन। यी कतिपय आस्थाहरूमा हुने खेलबाडमाथि हामी अन्धा भएका छौं। युगौं-युगदेखि आफ्नैहरूद्वारा परकीय हित हुने षड़्यन्त्र-दहमा आकण्ठ डुबेका छौं हामी। निस्किनँ कठिन छ आजको दिनमा यो परकीयचक्रबाट।
सिक्ख समाजले समयमैं होश पुर्यायो। बौद्धहरूले समयमैं होश पुर्याए। आ-आफ्नो भलो हुने विषयमा सबैले होश पुर्याएकै छन् तर हामीहरू भने सधैं-सधैं अर्काकै भलो हुने कुचक्रतन्त्रमा फँसिरहेका छौं।सबै जात-जातिहरूका गुरुहरू छन्। सबै जात-जातिको आफ्नै धर्म छ अनि उनीहरूको यथावत् हिन्दू,मुस्लीम, इसाई आदि धर्महरू आफ्नै स्थानमा छन् पनि। जस्तै बंग्ला धर्मभित्र कालीपूजा अनिवार्य छ। अनुकुल चन्द्र ठाकुरका अनुयायीहरू कालीपूजा आदि गर्दैनन्, अन्य बंगाली समाजद्वारा समय-समयमा बंगविरोधी गतिविधिको रूपमा देखिन्छन् यस्ता धर्महरू। बुटा सिंहको क्रियकलापलाई सिक्ख समाजले जातिविरोधी गतिविधिको रूपमा हेरेको थियो। बुटासिंहले त्यसको सजा पनि भोगे समाजबाट।
हामीहरू धेरै जसो हिन्दूमा छौ, केही इसाईमा, केही अल्पमतमा इस्लाममा, केही बौद्धमा, केही प्रणामीमा, केही, साई समितिमा, केही सतपाल महाराजसँग, केही अनुकुल चन्द्र ठाकुरकोमा, केही वैष्णवहरूकोमा र केहीहरू किरात धर्मी र केहीहरू बोन्बो र केहीहरू प्रृकृतिपूजनको नाममा विभिन्न ग्रूप र सम्प्रदाय अनि समूह बीचमा विभक्त छौं।यसरी विभक्त हुनुपछिको प्रमुख कारण हो हाम्रा गुरुहरूको परचक्रीभक्ति।परयाहरूको संजालभित्र अल्मलिएका गुरुहरूले सदैव हामीलाई काशीवादी, गयावादी,गंगावादी र जमुनावादी बनाएर राखेका छन्। काशी र गंगाको फोहोर अनि त्यहाँ भइरहेको मानवताविरोधी गतिविधिको विरोध सहने क्षमता नै छैन हाम्रा अहिले सम्मका तथाकथित गुरुहरूमा किनकि हाम्राहरू संस्कृत पढ़्न गएका छन् घरमा खान-लाउन नपुगेकाहरू। म ठोकुवा लगाएर यो भन्न सक्छु कि घरमा खान-लाउन पुगेको र माध्यमिक परीक्षा नबिग्रिएको कुनै पनि विद्यार्थी संभवतः संस्कृत पढ्न गएकै छैन। संस्कृत पढ्न गएकाहरू जो जो ज-जस्को आश्रममा बसेर तात्कालिक भात खान जे धर्ममा दीक्षित भए त्यही नै महान् धर्म हो भन्दै हाम्राहरूलाई लपेट्नलागे।आजसम्म पनि यो क्रम अनवरत छ। लागौं गोर्खाधर्मको आवश्यकतातिर। हो यसको आवश्यकता छ समाजमा। मैले धेरै वर्षको अध्ययन, अनुभव र भ्रमणबाट के सत्यता पाएको छु भने हाम्राहरूलाई एउटा जगेरा गर्नसक्ने धार्मिक समाजको खूबै खाँचो छ जहाँ गएर हामाहरूको क्षतिपूर्ति हुनसकोस्।
हामीहरू जुन सुकै सम्प्रदाय र पन्थमा दीक्षित भए पनि हामीलाई हाम्रो जातको संस्कृति र सभ्यतासंग पहिचान गराइराख्ने एउटा जातीय गर्वबोध भएको धार्मिक संस्थाको नितान्त खाँचो छ। हाम्राहरूलाई हाम्रै जातको ज्वाईँ खोज्नसम्म पनि चाहिएको छ गोर्खाधर्म। धेरै कुरा र नियमहरूमा हामीहरू पृथक छौं मधेशका हिन्दूहरूभन्दा। हामीहरू दशैंमा जमरा लगाउँछौं, टीका लगाउँछौं, हामीहरू केटी खोज्छौं, मधेशकाहरू ज्वाईँ खोज्छन्। हामीहरू छोरी-ज्वाईंको गोड़ामा ढ़ोग्छौं, मधेशकाहरू छोरी-ज्वाईंलाई गोड़ामा ढोगाउँछन्। हामीहरू बुढ़ी बजूको पूजा गर्छौं, हामीहरू उधौंली-उभौंली गर्छौं। हामीहरू गोठधूप गर्छौं। हामीहरू न्वागी खान्छौं। हामीहरू रत्यौली खेल्छौं। हामीहरू देउसी-भैलो खेल्छौं, हामीहरू डोरो बाँध्छौं, उनीहरू राखी बाँध्छन्। हामीहरू बालन खेल्छौं। हामीहरू तीजमा चेलीलाई माइत बोलाउँछौ, हामीहरू नागको पूजा गरेर नाग टाँस्छौं लगायत थुप्रै यस्ता गतिविधि र क्रिया-कलाप छन् जो मधेशी हिन्दूहरूभन्दा धेरै नै भिन्न छौं। यो भिन्नता नै हाम्रो धर्म भिन्नै हुने प्रमुख आधार हुन्। हाम्रो जातीय संस्कृति कुनै अन्य़ भाषीले हामीलाई सिकाउँछ भने त्यहाँ भन्दा लाज मर्ने कुरै के हुनसक्छ र?
यी उपरोक्त पार्थक्य नै गोर्खाधर्म र गोर्खासंस्कृति हुन्।मादल, च्याब्रुङ्,नगारा, शनै, शारंगी आदि बाजा र सभ्यता संग सम्बन्धित हरेक कुरा आज मधेशीशक्तिको पछि लाग्नाले विलुप्त हुने अवस्थामा छन्। बिहे-बटुलोमा पनि मधेशीसंग प्रभावित भई बैण्ड-बाजा बजाउने र आफ्नो जातीय बाजा प्रति उपेक्षाको भाव राख्ने चलन पनि व्यापक रूपमा बढ्दो छ।
यी भिन्नताका साथ यदि हामी कुनै पनि समूहका साथ रहन्छौं भने मात्र हाम्रो इज्जत हुनेछ। यदि हामी गोर्खाधर्मको स्थापना गर्न सक्षम बनिन्छौं भने हामी भारतमा धार्मिक र भाषिक अल्पसंख्यक मानिन्छौं। भारतीय संविधान प्रदत्त भाषिक र धार्मिक अल्पसंख्यकको आधारमा अल्पसंख्यक आयोगद्वारा दिइने सुख- सुविधाहरूको पनि उपभोग गर्नसक्नेछौं। हामीहरू साँच्चै अल्पसंख्यक हौं। हामीहरू अर्काको लै-लैमा लाग्नुभन्दा आफ्नै अलग्गै पहिचानमा बाँच्नु नै वेश हुनेछ। यस धर्मको लागि गुरुको रूपमा हामी गुरु गोरखनाथलाई मान्न सक्नेछौं। गोरखनाथको प्रेरणाले नै पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका थिए। जातीय एकताको निम्ति पृथिवीनाराय़ण शाहको कदम स्तुत्य छ। आजको परिवेशमा यदि हामी हिन्दू अथवा जे जे धर्ममा छौं सोही धर्ममैं रहेर गोर्खाधर्मको विकास गर्न सक्छौं।पूजा-पाठ आफ्नो आराधनमा केही संशोधनको जरूरी छैन तर आफ्नो जातिले गर्ने हरेक चाड़-बाड़लाई आफ्नै पाराले मनाउने गर्नाले पनि गोर्खाधर्मको जगेड़ा हुनसक्नेछ। गोर्खाधर्मको स्थपना संगै आफ्नो जातीय हित त्यसमा समाबेश हुन्छ। आफ्नी जातीय चेलीमाथि हातापाई गर्नेहरूमा कार्बाही र जातीयविरोधमा कार्य गर्नेहरूप्रति दण्ड़ात्मक सजाय़ेको क्षमता पनि हाम्रो हातमा रहनेछ। हामीलाई तीर्थ चाहिन्छ, गुरु चाहिन्छ। तीर्थको रूपमा हामी भारत र नेपाल दुवैकालाई हुनेगरी टिस्टामा जहाँ हाम्रो जातीय गर्वबोधको प्रतीक खाँड़ो पखालिएको थियो, त्यहीँ गोर्खातीर्थको स्थापना पनि गर्नसक्छौं।
शाकाहार र मांसाहार खाद्यपदार्थ गोर्खाधर्मको स्थापनामा आइपर्ने बाधाहरू छन्। मन्दिर क्षेत्रमा पशुहरू मार्ने कार्यमा हाम्राहरू अब्बल दर्जामा पर्दछन्। हाम्राहरूको यो वृत्तिले गर्दा पनि धेरै शाकाहारवादीहरू अन्य सम्प्रदायमा दीक्षित भएका छन् र हाम्राहरूको मधेशवादी प्रवृत्तिले पीड़ित भएर पनि थुप्रैहरू ईसाई धर्ममा लागेका पनि छन्। अतः मन्दिर परिसरमा पशुबध नगरिने र सामाजिक र धार्मिक क्षेत्रमा शाकाहार भोजनको प्रयोग गरिने संस्था नै हाम्रो जातिलाई एक सूत्रमा राख्ने महातीर्थ हुनसक्छ। चिन्तन गरौं। जात जोड़ौं, जातीयधर्मको विकास गरौं। अर्काको हैन, आफ्नै भर परौं। जय गोर्खा। जय गोर्खाधर्म। जय गुरु गोरखनाथ।