प्रयोगकर्ता वार्ता:Kanchanlimboo

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बलिहाङ तङनाम[सम्पादन गर्नुहोस्]

परापूर्वकालदेखि मानिंदै आएको चाड दीपावली, तिहारलाइ नेपालको महत्वपूर्ण राष्ट्रिय चाडमध्ये एकको रुपमा लिइन्छ । नेपाली परम्परा र मानिदै आएको तिहारमा गरिने विभिन्न अनुष्ठान रीतिहरु धार्मिक सम्प्रदायपिच्छे आ–आफ्‍नै रहेको पाइन्छ । यद्यपी हामी सवै सँस्कारहरु सवैले मान्ने भएर एकप्रकारको साँस्कृतिक फ्‍युजन जस्तो देखिएको छ । खासगरी हिन्दू धर्म र संस्कृतिको बढी प्रभाव रहेको नेपाली साँस्कृतिक परिवेशमा दशै पछिको दोस्रो ठूलो चाडको रुपमा तिहार दीपावलीलाइ लिइन्छ । (त्यसै कारण यसलाइ शुभदीपावली पनि भन्ने गरिन्छ । खासमा चाहिं हाल हामीले मान्ने गरेको चाहिँ तिहार मात्रै हो । ) प्रत्येक धार्मिक समुदायको तिहार मान्ने आ–आफ्‍नै चलन छ । कसैले यस पर्वमा कसैले दीपावली गर्छन, कसैले देउसी भैलो खेलेर रमाइलो गर्छन । यहाँ नेपालमा किरात धर्मावलम्वीहरुले आफ्‍नो मुन्धुम अनुसार तिहारसंगैको तिथिमा (कार्तिक आैशी) पर्ने बलिहाङ तङनामको वारेमा चर्चा गरिन्छ । कार्तिक महिनाको आैंशीको दिनदेखि ३ दिनसम्म लगातार दीपावली गरेर मानिने वलिहाङ तङनामको वारेमा प्राय:लाइ थाहा नहोला । तिहार भनेपछि भैहाल्यो नि भन्नेहरुको जमात पनि छ । तर यहाँ कुरा फ्‍युजनको छ । किरात मुन्धुममा हाल प्रचलित काग, कुकुर लगायतका जनावर तथा गोवर्द्धन पूजा लगायतका विधीविधानहरु पाइन्न । किरात धर्मको मौलिक आख्यान अनुसार कार्तिक आैशीको दिनदेखि ३ दिन ३ रातसम्म दिपावली गरेर देउसी (दिनमा र रातमा) खेलीने परम्परा रहेको पाइन्छ । भलै कुनै प्रसंगहरु हिन्दू धर्मसंस्कृतिसंग मेल खाएको जस्तो देखिन्छ । त्यो आफ्‍नै ठाउँमा छ र त्यसको पनि अनुसन्धान हुनु जरुरी छ । किरात समुदायमा आफ्‍नो मुन्धुम, संस्कृति तथा परम्परागत आख्यानहरु फेदाङमा तथा पुजारीहरुले कठोर साधना पश्चात कण्ठाग्र गर्ने गरेको पाइन्छ । त्यही आख्यानहरु सदीयौदेखि परम्परित भएर आइरहेको पाइन्छ । मुन्धुमका व्याख्याताहरुका अनुसार वलिहाङ तङनाम, दीपावली, र लारिंगे/नामलिङगे (देउसी) को कथा यसरी शुरु हुन्छ । कुनै समयमा किरात राज्यमा वलिहाङ नामक एक प्रतापी राजा थिए उनी ज्ञानी एवं शक्तिशाली थिए । आफ्‍नै जन्म मृत्यू समेतको ज्ञान भएका उनी महान ज्योतिष तथा भविष्यवाणी गर्नसक्ने दूरदर्शी राजा थिए । उनी प्रजामाझ पनि त्यतिकै लोकप्रिय पनि थिए । समय वित्दै जाँदा कालान्तरमा उनको मृत्यूको समय नजिकिंदै गएको थाहा पाएर उनले आफ्‍ना प्रजाहरुलार्इ कार्तिक आैशीको दिन आफ्‍नो घर, आँगन सफासुग्घर राखी धूप वाली युमासाम्माङ (किरातहरुको आराध्यदेवी) को प्रार्थना गर्न भने । सारा प्रजाहरु उनको मृत्यू हुने समाचार पाएर दुखी भएर । आखिर त्यो दिन पनि आइपुग्यो । सो दिन सारा प्रजाले आफ्‍ना छोरीचेलीलाइ आ(आफ्‍ना घर आँगन सफासुग्घर गर्न लगार्इ वेलुका सवेरै देखि धूप वाली आफ्‍ना राजाको जीवन वचाइदिन यूमासाममाङको प्रार्थना गर्न थाले । बलिहाङ स्वयं पनि आफ्‍नो दरवारमा हात जोडी झुकेर युमासाममाङको प्रार्थना गर्न थाले । सारा किरात राज्य निस्तव्ध भयो । तर आखिर बलिहाङको मृत्यूको समय आइपुग्यो । मध्य रातमा सारा प्रार्थनाको वावजूद पनि राजा बलिहाङले सवैलाइ छाडेर गए । यो सुनेर सम्पूर्ण प्रजाहरु बलिहाङलाइ मृत्यूवाट ब्यूँताइदिनका लागि यूमासाममाङको सामु लम्पसार भएर अझैै धेरै प्रार्थना गर्न थाले । शोकाकुल भक्तहरुको अटूट प्रार्थना सुनेर यूमासाममाङले खुसी भएर जीवनदान दिइन् । विहान उज्यालो हुने वेलामा झुल्केनी घामसँगै बलिहाङ पुर्नजीवन पाएर विउँतिए । राजा विउँतिएपछि दरवारमा हर्कबढार्इ भयो । बलिहाङको दरवारमा विहानैदेखि दीपावली तथा जयजयकारको शुरुवात भयो । बलिहाङले आफ्‍ना दु:खी प्रजालाइ राजा स्वस्थ्य रहेको तथा यूमासाममाङको कृपाले पुर्नजीवन पाएको कुरा सुनाउन सिपाही तथा जवानहरुलाइ प्रजाहरुको घरघरमा गएर सुनाउन अह्राए । दरवारवाट हिंडेका सिपाही जवानहरु सानो सानो टोली वनाएर ३ दिन ३ रातसम्म (दिनमा नामलिङ्‍गे र रातमा लारिंगे) भन्दै सारा किरात राज्य घुमेर राजा बलिहाङको सन्देश सुनाउँदै घुम्न थाले । आफ्‍नो राजा मृत्यूवाट बिउँतिएको खवर सुनेर सारा प्रजाले खुसीयालीमा दीपावली गरे । आैशीको भोलिपल्ट देखि ३ रातसम्म दीपावली गरी उनीहरुले आराध्यदेवी यूमासाममाङको प्रार्थना गरिरहे । त्यही समयदेखि वर्षेनी कार्तिक आैशीको भोलिपल्टदेखि ३ दिन ३ रातसम्म दीपावली गरी लारिंगे र नामलिङ्‍गे खेल्ने प्रचलन किरात समुदायमा शुरुभएको हो र किरातीहरुले यही ३ दिनको अवधिलाइ नै वलिहाङ तङनामको रुपमा मनाउने गरेको पाइन्छ । हाल आैशीको दुइदिन अघि नै लक्ष्मी पूजा भन्दै दीपावली गरिने चलन भएतापनि किराती आख्यानमा त्यस्तो केही पाइदैन । बरु कार्तिक आैशीको राती घर आँगन सफा राखी लिपपोत गरी धूप वालेर पवित्र आत्माले यूमासाममाङसंग प्रार्थना गने र भोलिपल्ट विहान यूमाको शक्ति पाएर वलिहाङको सुसन्देश गाउँदै लारिंगे र नामलिंगे गाउँदै सुनाउँदै गाउँगाउँ डुल्ने परम्परा रहेको पाइन्छ । हाल हिन्दू धर्मावलम्वी र किरात धर्मावलम्वीहरुले मान्ने एकै प्रकृतिको चाडहरु मध्येमा तिहार र दीपावलीलाइ फ्‍यूजन पर्वको रुपमा लिन सकिन्छ । हिन्दू संस्कृतिमा दीपावली गर्नुको अर्थ धनकी देवी लक्ष्मीको आराधाना गर्दै घरलाइ सफासुग्घर राखी दीपावली गरेमा लक्ष्मीको वास भइ घरमा धनधान्य हुने आस्था रहेको पाइन्छ । यस संगै जोडिएका कागपूजा, कुकुर पुजा, गोरुपुजा तथा भाइटीकाका विशुद्ध रुपमा हिन्दू संस्कृति अन्तर्गत पर्दछन्‍ । तर हाल खेलिने देउसी भैलोको वारेमा भने त्यस्तो खासै आख्यानहरु पाइदैन । देउसीसँगै जोडिएर आउने आख्यानहरुमा पौराणीककालीन रामकथा, कृष्णलीलादेखि राजामहाराजाहरुका प्रचलित कथाहरु रहेको पाइन्छ । देउसी खेल्ने परम्परामा समयक्रमसंगै त्यस्तो परिवर्तनहरु आएको मान्न सकिन्छ । तर किराती संस्कृतिमा खेलिने लारिंगे नामलिङ्‍गेमा त्यस्तो बहुकथाहरु पाइन्न । बलिहाङको आख्यानवाट शुरु भएर यूमासाममाङको प्रार्थना र उनको शक्तिको उपासना समेटिएको हुन्छ । कतिपय संस्कृतिविदहरुले देउसी र बलिहाङ तङनामको लारिंगे नामलिंगे संस्कृतिलाइ एउटै कोटीमा राख्ने गरेको पाइन्छ । तर यी दुवैका आ–आफ्‍नै एतिहासिक पक्षहरु छन । देउसी, गाइतिहार अर्थात लक्ष्मीपूजाको दिनदेखि नै भैलीको रुपमा खेल्न सुरु गरिन्छ भने लारिंगे नामलिंगेको शुरुवात भने आैशीको भोलिपल्ट विहानदेखिमात्र शुरु हुन्छ र यो लगातार ३ दिन ३ रातसम्म चलिहरन्छ । परम्परागत आख्यान अनुसार हेर्ने हो भने यसरी लारिंगे नामलिंगे खेल्दै आउने जवानहरुलार्इ पैसा या त्यस्तो केही नगदहरु दक्षिणा दिनु हुँदैन । त्यतिवेला आउने व्यक्तिहरूलाइ मीठो मसिनो जे छ त्यही खुवाउने गर्नुपर्छ । ती टोलीहरु जहाँ जहाँ जान्छन उनीहरुले यूमासमाममाङको आराध्य भक्ति गाउने हुनाले उनीहरुलाइ आफ्‍नो घरमा राम्रो आशिष दिन तथा शुभलाभको कामना गरिदिन घरको मुलीले आग्रंह गर्ने गर्दछन । तर यसको ठीक विपरित यता देउसी भैलो खेल्ने प्रचलनमा भने आउने व्यक्तिहरुलाइ गच्छे अनुसारको दक्षिणा रकम तथा सीदा चामल दिने प्रचलन रहेको पाइन्छ । त्यसकारण देउसी भैलो र लारिंगे नामलिंगे छुट्‍टाछुट्‍टै अस्तित्व भएका चाडपर्वहरु हुन । चेली माइतीको आपसी सुमधुर सम्वन्धको प्रतिक मानिने भाइटीका पनि किरात संस्कृति अन्तर्गत पर्दैन यद्यपी भाइटीका पनि फ्‍युजन संस्कृतिकै रुपमा नेपालभरी नै जुनसुकै साँस्कृतिक समुदायका मानिसहरुले उत्साहपूर्वक मान्दै आएको पाइन्छ । हिन्दू संस्कृति अनुसार मृत्यूलोकका यमराज र उनकी बहिनी यमुनाको दाजुवहिनीको प्रेम दशाउने संस्कृतिको रुपमा यो पर्व पनि मान्ने गरिएको व्याख्या गरिन्छ । यसरी साँस्कृतिक रुपमा मिश्रित (फ्‍यूजन) सँस्कृृति मनाउनु भनेको कुनैपनि समुदायका लागि गौरवको कुरा हो तर साथसाथमा आफ्‍नो संस्कृति र परम्परा पनि जोगाइराख्न पनि लागिपर्नुपर्छ । मौलिकता नै हराउने गरी फ्‍यूजनको रुपमा संस्कृतिलाइ मिश्रण गर्नु चाहिं घातक पनि हुनसक्छ । हिन्दू धर्मको गहिरो प्रभावले किरातहरुको विशुद्ध तथा प्रमुख चाड बलिहाङ तङनाम तिहार पर्वसंगै जोडिएर आएकोले तमाम किरात संस्कृति अन्तर्गत चासोक, चण्डी तथा उभौली उधौली पूजा लगायतका मौलिक संस्कृति मान्नेहरुमा वलिहाङ तङनामको वारेमा अनविज्ञता त पक्कै छैन तर गैर किराती समुदायमा चाहिं यो पर्वको वारेमा जुन गलत वुझाइ छ त्यो चै हट्‍नु जरुरी छ । बलिहाङ तङनाम मूलत: सम्पूर्ण किरात समुदायको महान पर्व हो । तिहार भनेर मानिने विभिन्न पूजा र तिनीहरुसंग जोडिएका आख्यान अनुरुपका चलनहरु भने हिन्दू संस्कृति अन्तर्गतका हुन । तसर्थ यहाँ वलिहाङ तङनाम, दीपावली, लारिंगे नामलिङगे तथा तिहारमा पुजा गरिने कागपूजा, कुकुर पूजा, गोरुपुजा, गार्इपूजा, तथा लक्ष्मीपूजा लगायतका भाइटीकामा पनि स्पष्ट अन्तर छ ।