प्रेमलु
| प्रेमलु | |
|---|---|
रङ्गमञ्च प्रदर्शित पोस्टर | |
| निर्देशक | गिरीश ए. डी. |
| लेखक |
|
| निर्माता | |
| मुख्य कलाकार | नास्लेन ममिता बैजु सङ्गीत प्रताप अखिला भार्गवन श्याम मोहन |
| छायाङ्कन | अजमल साबु |
| सम्पादन | आकाश जोसेफ वर्गिस |
| सङ्गीत | विष्णु विजय एम. एम. कीरावनी (श्रेयविहीन, १ गीत) |
वितरक कम्पनीहरू |
|
| वितरक |
|
प्रदर्शन मिति |
|
अवधि | १५६ मिनेट[१][२] |
| देश | भारत |
| भाषा | मलयालम |
| लागत | ₹३ करोड[३][४] |
| बक्स अफिस | अनुमान ₹१३६.२५ करोड[५] |
प्रेमलु (तेलुगु शब्द; अनुवाद: प्रेमहरू) सन् २०२४ को भारतीय मलयालम भाषाको प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो,[६] जसको निर्देशन गिरीश ए. डी. ले गरेका हुन् भने निर्माण भावना स्टुडियोज, फहाद फासिल एन्ड फ्रेन्ड्स र वर्किङ क्लास हिरोले गरेका हुन्। यस चलचित्रमा नास्लेन र ममिता बैजुले मुख्य भूमिका निर्वाह गरेका छन् भने सङ्गीत प्रताप, अखिला भार्गवन, श्याम मोहन, मीनाक्षी रविन्द्रन, म्याथ्यु थोमस र अल्ताफ सलिमले पनि अभिनय गरेका छन्। यस चलचित्रमा केरलाका स्नातक सचिन सन्तोष बेलायत जाने योजना बनाउँछन्, तर त्यसको सट्टा गेट (GATE) कोर्स गर्न हैदराबाद जान्छन्, जहाँ उनको भेट आईटी कम्पनीमा कार्यरत रेणु रोयसँग हुन्छ र उनीसँग प्रेममा पर्छन्।
यस चलचित्रको आधिकारिक घोषणा जुलाई २०२३ मा भावना स्टुडियोजको पाँचौँ निर्माण भएकाले अस्थायी शीर्षक प्रोडक्सन नं. ५ अन्तर्गत गरिएको थियो। यसको आधिकारिक शीर्षक भने डिसेम्बर २०२३ मा घोषणा गरिएको थियो। मुख्य छायाङ्कन सोही महिनामा तिरुवनन्तपुरमबाट सुरु भएको थियो। चलचित्रको छायाङ्कन कोच्चि, हैदराबाद र पोल्लाचीमा गरिएको थियो र सेप्टेम्बर २०२३ को मध्यसम्ममा पूरा गरिएको थियो। यस चलचित्रको सङ्गीत विष्णु विजयले दिएका हुन् भने छायाङ्कन र सम्पादन क्रमशः अजमल साबु र आकाश जोसेफ वर्गिसले गरेका हुन्।
प्रेमलु ९ फेब्रुअरी २०२४ मा चलचित्रघरहरूमा प्रदर्शन भएको थियो र समीक्षकहरूबाट व्यापक प्रशंसा प्राप्त गरेको थियो।[७] यो चलचित्र अहिलेसम्मकै सबैभन्दा बढी कमाइ गर्ने मलयालम चलचित्रहरूमध्ये एक र सन् २०२४ को चौथो सबैभन्दा बढी कमाइ गर्ने मलयालम चलचित्रको रूपमा रहेको छ। प्रेमलु २ शीर्षकको सिक्वेल निर्माणको क्रममा थियो, तर हाल यसको काम स्थगित गरिएको छ।[८]
कथा
[सम्पादन]सेलममा कलेजको अन्तिम दिन सचिन सन्तोषले आफ्नी सहपाठी अञ्जलीप्रति आफ्नो प्रेम व्यक्त गर्छन्, तर अञ्जलीले उनको प्रस्ताव स्पष्ट रूपमा अस्वीकार गर्छिन्। त्यसपछि सचिन आफ्नो गृहनगर अलुवा फर्कन्छन्, जहाँ उनले आफ्ना आमाबुवाबीच बिग्रँदै गएको सम्बन्धको सामना गर्दै बेलायतमा उच्च शिक्षा हासिल गर्ने योजना बनाउँछन्। तर, पर्याप्त आर्थिक स्रोतको अभावका कारण उनको भिसा आवेदन अस्वीकृत हुन्छ र उनले छ महिनापछि मात्र पुनः आवेदन दिन सक्ने अवसर पाउँछन्। त्यसपछि सचिनले आफ्नो बुबाको बेकरी व्यवसायमा सहयोग गर्न थाल्छन्। एक दिन उनी आफ्ना बाल्यकालका साथी अमल डेभिससँग भेट्छन्, जसले उनलाई हैदराबादमा गेट (GATE) को तयारी कक्षामा सँगै जान आग्रह गर्छ। परिवर्तनको खोजीमा रहेका सचिन त्यस प्रस्तावमा सहमत हुन्छन् र अमलसँगै हैदराबाद जान्छन्।
यसैबीच, मल्लपल्लीकी जीवन्त युवती रेणु रोय हैदराबादस्थित ओस्पिन नामक आईटी कम्पनीको विकास टोलीमा आबद्ध हुन्छिन्। रेणु आफ्नी साथी तथा सहकर्मी कार्तिका र उनकी साथी निहारिकासँग बस्न थाल्छिन्। मुम्बईका रेणुका घमण्डी स्वभावका सहकर्मी आधीले उनीप्रति गोप्य रूपमा प्रेमभाव राख्छन्, तर आफूलाई उनको "बेस्टी" भनेर प्रस्तुत गर्छन्। यसैबीच, सचिन र अमल आफ्ना प्राध्यापक शोभीको विवाहमा सहभागी हुन्छन्, जहाँ बेहुली श्रावणी रेणुकी सहकर्मी हुन्छिन्। सचिनले रेणुलाई पहिलो नजरमै मन पराउँछन्। पहिलो भेटमै आधीसँग विवाद भए पनि उनीहरू रेणु र कार्तिकासँग मित्रता गाँस्न सफल हुन्छन्। विवाहपछि रेणु र कार्तिकाले सचिन र अमलसँगै आफ्नो मिनी कुपरमा हैदराबाद फर्कने निर्णय गर्छन्, यद्यपि आधीले सुरुमा त्यसको विरोध गर्छन्। चेन्नईमा जागिर गरेर आफ्नो पढाइ छोड्ने योजना बनाएका सचिन रेणुकै कारण हैदराबादमै बस्ने निर्णय गर्छन् र अमललाई आफ्नी काकी मेरीको फास्ट-फुड रेस्टुरेन्टमा आफ्नो लागि जागिर मिलाइदिन आग्रह गर्छन्।
सचिन र अमल रेणु र कार्तिकाको छिमेकमा बसाइँ सर्छन् र उनीहरूलाई एउटा पबमा आयोजना गरिएको पार्टीमा निमन्त्रणा गर्छन्। पार्टीका क्रममा अमलले कार्तिकालाई सचिनको रेणुप्रतिको भावनाबारे बताउँछन्, तर कार्तिकाले रेणुले सफल र परिपक्व व्यक्तिको खोजीमा रहेकी तथा स्पष्ट योजना वा करियर नभएका सचिनजस्ता व्यक्तिलाई उनले निश्चित रूपमा अस्वीकार गर्ने बताउँदै उनीहरूलाई निरुत्साहित गर्छिन्। त्यसपछि सचिनले आफ्ना भावना रेणुसामु व्यक्त नगर्ने निर्णय गर्छन्। रेल यात्रालगायत हैदराबादमा भएका केही घटनापछि सचिन र रेणुबीचको निकटता बढ्दै जान्छ, जसले आधीलाई असन्तुष्ट बनाउँछ। अन्ततः सचिनले रेणुसामु आफ्नो प्रेम व्यक्त गर्छन्, तर रेणुले उनको प्रस्ताव अस्वीकार गर्छिन् र यो उनको पहिलो अस्वीकार नभएको भन्दै अनजानमै उनको मन दुखाउँछिन्। रेणुको अस्वीकारपछि आहत भएका सचिन चेन्नई सर्छन् र जीविकोपार्जनका लागि विभिन्न साना काम गर्न थाल्छन्, साथै रेणुका फोन र सन्देशहरूलाई बेवास्ता गर्छन्। यसैबीच, कार्तिका आफ्नो मँगेतर विकाससँग विवाह गर्न र सँगै बस्न बेङ्गलोर सर्छिन्। आफू एक्लिएको महसुस गरेपछि रेणुले सचिनप्रति गरेको व्यवहार आफ्नो गल्ती भएको महसुस गर्छिन्, उनीप्रतिको आफ्नो वास्तविक भावना बुझ्न थाल्छिन् र उनलाई सम्झिन थाल्छिन्।
केही दिनपछि सचिन र अमल कार्तिकाको विवाहपूर्व आयोजित पार्टीमा सहभागी हुन्छन्, जहाँ उनीहरूको रेणुसँग पुनः भेट हुन्छ। सचिनले आफू रेणुलाई बिर्सिसकेको जस्तो व्यवहार गर्दै आफ्नो बेलायतको भिसा स्वीकृत भएको र भोलिपल्ट नै बेलायत जाने उडान तय भएको कुरा बताउँछन्। त्यही बेला आधीले सचिन र अमलसँग विवाद गर्न थाल्छन्। मदिराको प्रभावमा रहेका र आधीका कटाक्षबाट दिक्क भएका सचिन र अमलले आधीको अपमान गर्दै रेणुले उनलाई पनि अस्वीकार गर्ने बताउँछन्। अत्यधिक आत्मविश्वासमा रहेका आधीले सार्वजनिक रूपमा रेणुसमक्ष प्रेम प्रस्ताव राख्छन्, तर रेणुले कुनै हिचकिचाहट बिना त्यसलाई अस्वीकार गर्छिन्, जसपछि सचिन र अमलले उनको थप खिल्ली उडाउँछन्। अपमानित भएका आधीले बदला लिने कसम खाएर त्यहाँबाट निस्किन्छन्। उता, रेणुले इमानदारीपूर्वक मेलमिलापको प्रयास गरे पनि उनीप्रति अझै उदासीन रहेका सचिन अमलसँगै पार्टीमै मदिराको नशामा बेहोस हुन्छन्।
भोलिपल्ट बिहान सचिन र अमल विमानस्थलतर्फ प्रस्थान गर्छन् र रेणु पनि उनीहरूसँग जान्छिन्। बाटोमा आधी केही गुण्डाहरूको साथमा उनीहरूको पछिपछि लाग्छ। तनावपूर्ण अवस्थाबीच रेणुले सचिनलाई आफूले उनलाई धेरै सम्झिएको र उनी बेलायत जाओस् भन्ने नचाहेको बताउँछिन्। अन्ततः उनले सचिनप्रतिको आफ्नो प्रेम स्वीकार गर्छिन्, जसले सचिनलाई खुसी बनाउँछ। त्यही बेला आधी र उनका साथीहरूले उनीहरूलाई रोक्दै सचिन र अमलमाथि कुटपिट गर्न थाल्छन्। तर, रेणुले आत्मरक्षाका लागि आधीले नै उनलाई दिएको पेपर स्प्रे प्रयोग गरेर आक्रमण विफल पार्छिन्। त्यसपछि उनीहरू त्यहाँबाट उम्कन सफल हुन्छन् र समयमै विमानस्थल पुग्छन्। अन्त्यमा रेणु र सचिनले एकअर्कालाई अँगालो हालेर बिदाइ गर्छन् र लामो दूरीको सम्बन्धलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्छन्।
त्यसपछि चलचित्र केही महिनाअघि भएको घटनातर्फ फर्कन्छ। रेणु, कार्तिका र निहारिका आफूहरू बस्ने अपार्टमेन्टको छतमा बसेर मदिरापान गरिरहेका हुन्छन्। त्यस क्रममा निहारिकाले खाली क्यान छतबाट तल फाल्दै, त्यो जसको टाउकोमा खस्छ रेणुको विवाह उसैसँग हुने ठट्टा गर्छिन्। त्यसलगत्तै तलबाट एक वृद्धको रिसाएको आवाज सुनेपछि उनीहरू त्यहाँबाट भाग्छन्। तर, उक्त क्यान वास्तवमा मदिराको नशामा रहेका सचिनको टाउकोमा खसेको देखाइन्छ। त्यसपछि सचिन र अमल डगमगाउँदै त्यहाँबाट हिँड्ने क्रममा सचिनले उक्त क्यानलाई लात हान्छन्।
कलाकार
[सम्पादन]- नास्लेन सचिन सन्तोषको रूपमा
- ममिता बैजु रेणु रोयको रूपमा, सचिनको प्रेमिका
- सङ्गीत प्रताप अमल डेभिसको रूपमा, सचिनको सबैभन्दा मिल्ने साथी
- अखिला भार्गवन कार्तिकाको रूपमा, रेणुको सबैभन्दा मिल्ने साथी
- श्याम मोहन आदित्यन आर. कृष्णन (आधी) को रूपमा, रेणुको सहकर्मी तथा मिल्ने साथी
- मीनाक्षी रविन्द्रन निहारिका उर्फ "वान्डरलस्ट" को रूपमा, कार्तिकाकी रूममेट
- अल्ताफ सलिम शोभी सरको रूपमा, गेट कोचिङ सेन्टरमा सचिनका प्रशिक्षक
- शमीर खान सुबिनको रूपमा
- जर्ज भिन्सेन्ट वैसाख मुरलीको रूपमा
- रञ्जित नारायण कुरुप थोमसका प्रबन्धकको रूपमा
- के. एस. प्रसाद सचिनका बुबाको रूपमा
- प्रिया श्रीजित बिना शिक्षिकाको रूपमा, सचिनकी आमा
- गोपु केशव रेणुका बुबाको रूपमा
- रञ्जिनी जर्ज रेणुकी आमाको रूपमा
- सुपर्णा एस अञ्जलीको रूपमा, सचिनकी पूर्व प्रेमिका
- अयाना बाबु सविता सन्तोषको रूपमा, सचिनकी दिदी
- दिलीप मोहन जैनको रूपमा, सचिनको साथी
- म्याथ्यु थोमस थोमसको रूपमा, अमलका कजिनको रूपमा (विस्तारित अतिथि भूमिका)
- श्याम पुष्करण पम्बावासनको रूपमा, आधीका साथी तथा सहयोगी (अतिथि भूमिका)
निर्माण
[सम्पादन]विकास
[सम्पादन]४ जुलाई २०२३ मा गिरीश ए. डी. ले आई एम कथलन पछि आफ्नो निर्देशनमा बन्ने चलचित्रमा नास्लेन र ममिता बैजुसँग सहकार्य गर्ने घोषणा गरे। आई एम कथलन मा पनि नास्लेन मुख्य भूमिकामा रहेका छन्, र यो गिरीशको अभिनेतासँगको तेस्रो सहकार्य हो। अस्थायी शीर्षक प्रोडक्सन नं. ५ राखिएको यस परियोजना भावना स्टुडियोजको पाँचौँ निर्माण थियो। यसको निर्माणका लागि भावना स्टुडियोजले फहाद फासिल एन्ड फ्रेन्ड्स र वर्किङ क्लास हिरोसँग सहकार्य गरेको थियो।[९] यस चलचित्रको आधिकारिक शीर्षक, प्रेमलु, १ डिसेम्बर २०२३ मा घोषणा गरिएको थियो।[१०]
छायाङ्कन
[सम्पादन]मुख्य छायाङ्कनको पहिलो चरण ९ जुलाई २०२३ मा केरलाको तिरुवनन्तपुरममा उद्घाटन पूजा समारोहसँगै सुरु भएको थियो। यस परियोजनाको छायाङ्कन कोच्चि, हैदराबाद र पोल्लाचीमा ७५ दिनको अवधिमा गरिने अपेक्षा गरिएको थियो।[११] चलचित्रको छायाङ्कन १५ सेप्टेम्बरसम्ममा पूरा भएको थियो।[१२]
सङ्गीत
[सम्पादन]यस चलचित्रको पृष्ठभूमि सङ्गीत र गीतहरू विष्णु विजयले रचना गरेका हुन्। सन् १९९६ को चलचित्र देवरागम को के. एस. चित्रा र पी. उन्नीकृष्णनद्वारा गाइएको "या या या यादव" गीत, जसको मूल सङ्गीत एम. एम. कीरावनीले दिएका थिए, यस चलचित्रमा पुनः प्रयोग गरिएको थियो र चलचित्रको प्रदर्शनपछि यो निकै लोकप्रिय भएको थियो। वरिष्ठ गायक के. जी. मार्कोसले चलचित्रबाट छोटो समयको विश्रामपछि "तेलङ्गाना बोम्मालु" शीर्षकको गीत गाएका थिए।[१३]
प्रदर्शन
[सम्पादन]चलचित्रघर प्रदर्शन
[सम्पादन]प्रेमलु ९ फेब्रुअरी २०२४ मा चलचित्रघरहरूमा प्रदर्शन भएको थियो।[१४] यसको तेलुगु डब संस्करण ८ मार्चमा र तमिल डब संस्करण त्यसको एक हप्तापछि प्रदर्शन गरिएको थियो।[१५]
यस चलचित्रलाई केरलामा भावना रिलिजले वितरण गरेको थियो। यसको विदेशी प्रदर्शन अधिकार फार्स फिल्म को र यश राज फिल्म्सले प्राप्त गरेका थिए।[१६] आन्ध्र प्रदेश र तेलङ्गानामा यसको वितरण श्री वेङ्कटेश्वर क्रिएसन्स, अन्नपूर्णा स्टुडियोज र शोइङ बिजनेसले गरेका थिए।[१७] तमिलनाडुमा यसको वितरण अधिकार रेड जायन्ट मुभिजले प्राप्त गरेको थियो।[१८]
गृह मिडिया
[सम्पादन]डिजिटल स्ट्रिमिङ अधिकार डिज्नी+ हटस्टारले प्राप्त गरेको थियो भने स्याटेलाइट अधिकार मलयालम भाषाका लागि एसियानेट र अन्य भाषाहरूका लागि स्टार नेटवर्कले प्राप्त गरेका थिए। यस चलचित्रको डिजिटल प्रिमियर स्ट्रिमिङ प्लेटफर्ममा १२ अप्रिल २०२४ देखि भएको थियो। सोही दिन तेलुगु डब संस्करणको प्रिमियर अहामा भएको थियो। प्रेमलु डिज्नी+ हटस्टारमा तमिल र हिन्दी भाषामा पनि स्ट्रिमिङका लागि उपलब्ध छ।[१९]
प्रतिक्रिया
[सम्पादन]समीक्षात्मक प्रतिक्रिया
[सम्पादन]प्रेमलु ले समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।
पिङ्कभिल्ला का निखिल सेबास्टियनले चलचित्रलाई ५ मध्ये ४ तारा दिँदै, "प्रेमलु निस्सन्देह थन्नीर मथन दिनङ्गल पछि गिरीश एडीको उत्कृष्ट कृति हो। यदि तपाईं जीवनका तनावबाट साढे दुई घण्टाका लागि टाढा भएर हाँसो र मनोरञ्जनमा डुब्न चाहनुहुन्छ भने, प्रेमलु को टिकट बुक गर्नु नै उत्तम विकल्प हो।" भनेर लेखेका थिए।[२०]
द इन्डियन एक्सप्रेस का आनन्दु सुरेशले चलचित्रलाई ५ मध्ये ३.५ तारा दिँदै, "थन्नीर मथन दिनङ्गल र सुपर शरण्य जस्तै, नास्लेन र ममिता बैजु अभिनीत यस चलचित्रले पनि परिस्थितिजन्य र अवलोकनात्मक हास्यलाई प्रभावकारी रूपमा प्रयोग गरेको छ। तर, गिरीशले प्रेमलु लाई आफ्ना अघिल्ला कृतिहरूभन्दा फरक पहिचान दिन सफल भएका छन्।" भनेर लेखेका थिए।[२१] ओटीटीप्ले का गायत्री कृष्णाले चलचित्रलाई ५ मध्ये ३.५ तारा दिँदै, "नास्लेन र ममिता बैजु अभिनीत प्रेमलु एक राम्रो प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो, जसले गिरीश एडीका अघिल्ला चलचित्रहरूझैँ यसलाई पुनः हेर्नलायक बनाएको छ।" भनेर लेखेकी थिइन्।[२२]
द हिन्दु का एस. आर. प्रवीणले, "थन्नीर मथन दिनङ्गल गिरीशका लागि निकै सफल डेब्यु चलचित्र भए पनि सुपर शरण्य त्यति सन्तोषजनक थिएन। तर, तेस्रो निर्देशनमा उनले आफ्नो स्तर अझ उकासेका छन्, किनभने प्रेमलु साधारण कथालाई ताजगीपूर्ण र हास्यपूर्ण प्रस्तुतिमार्फत सफल बनाएको चलचित्र हो।" भनेर लेखेका थिए।[२३] द न्यु इन्डियन एक्सप्रेस का अश्विन देवनले, "गिरीशका अघिल्ला चलचित्र थन्नीर मथन दिनङ्गल र सुपर शरण्य मा देखिएको विशिष्ट शैली प्रेमलु मा अझ प्रखर रूपमा प्रस्तुत भएको छ।" भनेर लेखेका थिए।[२४]
बक्स अफिस
[सम्पादन]प्रेमलुले भारतमा ₹९३.६५ करोड (जसमध्ये ₹६२.७५ करोड केरलाबाट) र विदेशमा थप ₹४२.२५ करोड कमाउँदै विश्वभरबाट कुल ₹१३६.२५ करोडको कमाइ गरेको थियो।[२५] यस चलचित्रले आफ्नो गृह राज्य केरलाबाट ₹६२.७५ करोड कमाइ गरेको थियो र केरलाको बक्स अफिसमा सर्वाधिक कमाइ गर्ने चलचित्रहरूमध्ये एक बनेको थियो।[२६] प्रेमलुले विदेशी बजार, भारतका अन्य राज्यहरू र विश्वव्यापी कमाइका आधारमा सर्वाधिक कमाइ गर्ने शीर्ष १० मलयालम चलचित्रहरूको सूचीमा पनि स्थान बनाउन सफल भएको थियो।
पुरस्कार
[सम्पादन]| वर्ष | पुरस्कार | विधा | प्राप्तकर्ता |
|---|---|---|---|
| २०२४ | केरला राज्य चलचित्र पुरस्कार | लोकप्रिय आकर्षण तथा सौन्दर्यात्मक मूल्यसहितको उत्कृष्ट चलचित्र | फहाद फासिल, दिलीश पोथन, श्याम पुष्करण[२७] |
सिक्वेल
[सम्पादन]१९ अप्रिल २०२४ मा, प्रेमलु २ शीर्षकको सिक्वेलको घोषणा गरिएको थियो।[२८] चलचित्रको छायाङ्कन जुन २०२५ को मध्यदेखि सुरु भई क्रिसमस २०२५ मा प्रदर्शन गर्ने योजना थियो, तर छायाङ्कन सन् २०२६ सम्मका लागि स्थगित गरिएको थियो र अन्ततः रद्द गरिएको थियो[२९]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Premalu Movie Review: Nelson, Mamitha Baiju Starrer Is A Rollercoaster Of Love, Laughter, And Surprises", TimesNow (अङ्ग्रेजीमा), २०२४-०४-१२, मूलबाट १४ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-१२।
- ↑ Praveen, S. R. (२०२४-०२-०९), "'Premalu' movie review: Girish AD's youthful drama is a winner with its fresh, humorous treatment of a run-of-the-mill story", The Hindu (en-INमा), आइएसएसएन 0971-751X, मूलबाट ११ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-१२।
- ↑ "Premalu Becomes Fifth Malayalam Film To Enter Rs 100 Crore Club", News18 (अङ्ग्रेजीमा), २०२४-०३-१३, मूलबाट २१ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-१२।
- ↑ "India's most profitable film of 2024 earned 45x its budget, ₹3 crore movie with no stars beat Pushpa 2, Kalki, Stree 2", Hindustan Times, ३ जनवरी २०२५, अन्तिम पहुँच २०२५-०७-०१।
- ↑ "Year Ender 2024: Top 10 highest-grossing Mollywood movies at worldwide box office; Manjummel Boys emerges victorious", Pinkvilla (अङ्ग्रेजीमा), २०२५-०१-०१।
- ↑ Rathi, Aditi (२०२४-०३-२८), "Malayalam Rom-Coms Like Premalu", ComingSoon.net - Movie Trailers, TV & Streaming News, and More (en-USमा), मूलबाट २१ मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-१२।
- ↑ "Telugu Audience Embraces Malayalam Cinema As Premalu And Bramayugam Score Big Numbers", News 18 (en-INमा), २१ फेब्रुअरी २०२४, मूलबाट २१ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०२-०९।
- ↑ "Most awaited Mollywood sequel 'Premalu 2' dropped; exact reason unknown", The Week, २०२६-०२-०३।
- ↑ "Girish AD's next is a rom-com starring Naslen and Mamitha Baiju", The Times of India, २०२३-०७-०४, आइएसएसएन 0971-8257, मूलबाट २१ मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-१२।
- ↑ "Naslen-Mamitha Baiju's rom-com titled 'Premalu', first look out!", The Times of India, २०२३-१२-०१, आइएसएसएन 0971-8257, मूलबाट २१ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-१२।
- ↑ "Girish AD's next with Naslen and Mamitha Baiju starts rolling", The Times of India, २०२३-०७-०९, आइएसएसएन 0971-8257, मूलबाट २१ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-१२।
- ↑ "It's a wrap for Nasleen and Mamitha Baiju's film", The Times of India, २०२३-०९-१५, आइएसएसएन 0971-8257, मूलबाट २१ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-१२।
- ↑ "KG Markose lends his voice to the 'Telangana Bommalu' song from 'Premalu'", The Times of India, २०२४-०२-०८, आइएसएसएन 0971-8257, मूलबाट २७ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०२-०९।
- ↑ Service, Express News (२०२४-०२-०२), "Girish AD's 'Premalu' confirms Feb 9 release", The New Indian Express (अङ्ग्रेजीमा), मूलबाट ५ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०२-०९।
- ↑ "S.S. Karthikeya To Distribute Telugu Version Of Premalu In Theatres; Know Release Date", News18 (अङ्ग्रेजीमा), २०२४-०३-०१, मूलबाट ३ मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०३-०७।
- ↑ "Premalu: The Rom-Com of The Year Goes Overseas", Film Companion, २० फेब्रुअरी २०२४, मूलबाट ३० मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मार्च २०२४।
- ↑ "SS Karthikeya to distribute 'Premalu' in Telugu", The New Indian Express, २९ फेब्रुअरी २०२४, मूलबाट ३० मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मार्च २०२४।
- ↑ "Udhayanidhi Stalin's Red Giant Movies Acquires Tamil Distribution Rights Of Premalu", News18, १५ मार्च २०२४, मूलबाट ३० मार्च २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० मार्च २०२४।
- ↑ "Premalu OTT: ఓటీటీలోకి మలయాళ బ్లాక్ బస్టర్ ప్రేమలు.. తెలుగు వెర్షన్ ఏ ఓటీటీలో చూడొచ్చంటే?", Hindustan Times Telugu, ७ अप्रिल २०२४, मूलबाट १९ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अप्रिल २०२४। अभिलेखिकरण १९ अप्रिल २०२४ वेब्याक मेसिन
- ↑ "Premalu Movie Review: Girish AD's latest Gen Z romantic comedy is hilariously relatable and aims as a potential blockbuster", १० फेब्रुअरी २०२४, मूलबाट १० फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०२४।
- ↑ "Premalu movie review: Naslen, Mamitha Baiju are cute as a button in this charming love story full of delightful moments", The Indian Express, १० फेब्रुअरी २०२४, मूलबाट १३ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०२४।
- ↑ "Premalu Review: Naslen's Premalu is a decent romantic drama enhanced by its impromptu humour", OTT Play, १० फेब्रुअरी २०२४, मूलबाट १३ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०२४।
- ↑ "'Premalu' movie review: Girish AD's youthful drama is a winner with its fresh, humorous treatment of a run-of-the-mill story", The Hindu, १० फेब्रुअरी २०२४, मूलबाट १३ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १० फेब्रुअरी २०२४।
- ↑ Devan, Aswin (२०२४-०२-१०), "'Premalu' movie review: This adorable rom-com hits the right spots", The New Indian Express (अङ्ग्रेजीमा), मूलबाट ११ फेब्रुअरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०२-१२।
- ↑ "Year Ender 2024: Top 10 highest-grossing Mollywood movies at worldwide box office; Manjummel Boys emerges victorious", PINKVILLA (अङ्ग्रेजीमा), २०२५-०१-०१, अन्तिम पहुँच २०२५-०१-१६।
- ↑ nithya, "ഒന്നാമന് 79 കോടി, 10ൽ തൃപ്തിപ്പെട്ട് വാലിബൻ; ടർബോയ്ക്ക് മുന്നിൽ 6 സിനിമകൾ, കേരളത്തിൽ പണം വാരി ആ ഹോളിവുഡ് പടവും", Asianet News Network Pvt Ltd (मलयालममा), अन्तिम पहुँच २०२४-०९-०२।
- ↑ "Kerala State Film Awards 2025 winners Live Updates: Mammootty, Shamla Hamza win top honours; Manjummel Boys named Best Film", The Indian Express (अङ्ग्रेजीमा), २०२५-११-०३, अन्तिम पहुँच २०२५-११-०३।
- ↑ "Confirmed: Naslen and Mamitha Baiju's Premalu 2 is on the cards", The Indian Express (अङ्ग्रेजीमा), २०२४-०४-१९, मूलबाट १९ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-०४-१९।
- ↑ "Premalu 2 will begin by June: Dileesh Pothan", Cinema Express (अङ्ग्रेजीमा), २०२५-०१-१८, अन्तिम पहुँच २०२५-०१-१८।