सामग्रीमा जानुहोस्

प्रोजेस्टेरोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रोजेस्टेरोन (अङ्ग्रजीः progesterone) एक अन्तःस्रावी (endogenous) स्टेरोइड र प्रोजेस्टोजन प्रजनन हर्मोन हो, जसले महिनावारी चक्र, गर्भधारण, र भ्रूण विकास (embryogenesis) मा भूमिका खेल्छ। यो प्रोजेस्टोजन समूहको स्टेरोइड हर्मोन अन्तर्गत पर्छ र शरीरको मुख्य प्रोजेस्टोजन हो। प्रोजेस्टेरोनको शरीरमा विभिन्न महत्वपूर्ण कार्यहरू हुन्छन्। यसले अन्य अन्तःस्रावी स्टेरोइडहरूको उत्पादनमा पनि महत्त्वपूर्ण मेटाबोलिक मध्यस्थ (metabolic intermediate) को रूपमा काम गर्छ, जसमा अन्य सेक्स हर्मोन र कोर्टिकोस्टेरोइड्स पर्दछन्, र यसले मस्तिष्कको कार्यमा न्यूरोस्टेरोइडको रूपमा महत्त्वपूर्ण भूमिका खेल्दछ। प्राकृतिक हर्मोनको भूमिकासँगै, प्रोजेस्टेरोनलाई इस्ट्रोजनसँग संयोजन गरेर गर्भनिरोधक को लागि, गर्भाशय वा गर्भाशय ग्रीवा क्यान्सरको जोखिम कम गर्न, हर्मोन प्रतिस्थापन चिकित्सामा, र स्त्रीकरण हर्मोन चिकित्सामा औषधि को रूपमा पनि प्रयोग गरिन्छ। यसलाई पहिलो पटक १९३४ मा औपचारिक रूपमा प्रयोगका लागि अनुमति दिइएको थियो।

महिलामा प्रोजेस्टेरोन मुख्य रूपमा डिम्बाशय र प्लेसेन्टाबाट उत्पादन हुन्छ भने पुरुष र महिलामा दुबैमा यो एड्रिनल ग्रन्थिबाट पनि उत्पादन हुन्छ।[] प्रोजेस्टेरोनका धेरै लक्षित अंगहरू हुन्छन्, जसमा स्नायु प्रणाली (nervous system) प्रमुख हो। साथै, प्रोजेस्टेरोन स्नायु प्रणाली भित्र पनि स्थानीय रूपमा निर्माण हुन्छ, त्यसैले यसलाई न्युरोस्टेरोइड (neurosteroid) पनि मानिन्छ।

जर्ज डब्ल्यू. कर्नर र विलार्ड एम. एलनले सन् १९२९ मा प्रोजेस्टेरोनको हर्मोनल कार्य पत्ता लगाए। सन् १९३१–१९३२ सम्ममा, जनावरको कर्पस ल्यूटियमबाट उच्च प्रोजेस्टेशनल गतिविधि भएको अवस्थाबाट शुद्ध क्रिस्टलीय पदार्थ अलग गरियो; सन् १९३४ सम्ममा, पूर्ण रूपमा शुद्ध क्रिस्टलीय प्रोजेस्टेरोन प्राप्त गरी यसको रासायनिक संरचना निर्धारण गरि सकिएको थियो। यो काम एडोल्फ बुटेनान्ड्टले डान्जिग, पोकल्यान्डको Gdańsk प्राविधिक विश्वविद्यालयको Chemisches Institut मा सम्पन्न गरेका थिए, जहाँ उनले यस नयाँ यौगिकलाई केही हजार लिटर मूत्रबाट निष्कर्षण गरेका थिए।

जैविक क्रियाशीलता र कार्य

[सम्पादन गर्नुहोस्]

हर्मोनहरूको अन्तरक्रिया

[सम्पादन गर्नुहोस्]

प्रोजेस्टेरोनले शरीरमा विभिन्न शारीरिक क्रियाहरू गर्छ, जुन इस्ट्रोजेनको उपस्थितिमा अझ सशक्त हुन्छन्। इस्ट्रोजेनहरूले इस्ट्रोजन रिसेप्टर्स (ERs) मार्फत प्रोजेस्टेरोन रिसेप्टर (PR) को प्रभाव बढाउँछन् वा सक्रिय पार्छन्। यसको एउटा उदाहरण स्तन को ऊतकमा देखिन्छ, जहाँ इस्ट्रोजेनले प्रोजेस्टेरोनलाई लोबुलोअल्भेओलर विकास (lobuloalveolar development) को माध्यमबाट स्तनको संरचना विकास गर्न अनुमति दिन्छ।

प्रोजेस्टेरोनको उच्च स्तरले एल्डोस्टेरोन को सोडियम संचित गर्ने क्रियालाई शक्तिशाली रूपमा कम गराउँछ, जसले गर्दा नाट्रियुरेसिस (natriuresis); मृगौलाले पिसाब मार्फत सोडियमको उत्सर्जन बढाउँछ जुन प्रायः रगतको चाप बढेको अवस्थामा हुने) बढ्छ र बाह्य कोषीय तरलको मात्रा घट्छ। त्यसको विपरीत, प्रोजेस्टेरोनको अवकाश हुँदा, एल्डोस्टेरोनको उत्पादनमा क्षतिपूर्तिका रूपमा वृद्धि हुने भएकाले अस्थायी रूपमा सोडियम संचित हुने दर बढ्छ (नाट्रियुरेसिस कम हुन्छ) र बाह्यकोषीय तरलको मात्रा बढ्छ, किनभने पहिले उच्च स्तरको प्रोजेस्टेरोनले मिनरलोकोर्टिकोइड रिसेप्टरले अवरोध गरेको प्रभावलाई एल्डोस्टेरोनले प्रतिस्थापन गर्छ।

जैवरसायनशास्त्र

[सम्पादन गर्नुहोस्]

स्नायु प्रणालीभित्र प्रोजेस्टेरोनको उत्पादन विभिन्न प्रजातिहरूमा प्रमाणित भएका छन्। प्रोजेस्टेरोन र यसको उपउत्पाद एलोप्रेग्नानोलोन बनाउन आवश्यक इन्जाइमहरू मस्तिष्क र मेरुदण्डभरि व्यापक रूपमा पाइन्छन्। प्रोजेस्टेरोन बन्ने प्रक्रिया कोलेस्ट्रोललाई माइटोकन्ड्रिया भित्र रहेको सायटोक्रोम P450scc इन्जाइमले प्रेग्नेनोलोनमा रूपान्तरण गर्ने कामबाट सुरु हुन्छ। त्यसपछि प्रेग्नेनोलोनलाई माइटोकन्ड्रिया र एन्डोप्लाज्मिक रेटिकुलममा पाइने ३β-हाइड्रोक्सिस्टेरोइड डिहाइड्रोजिनेज (3β-HSD) इन्जाइमले प्रोजेस्टेरोनमा बदल्छ। स्टेरोइड उत्पादनमा सबैभन्दा सीमित चरण भनेको कोलेस्ट्रोललाई माइटोकन्ड्रिया भित्र पुर्‍याउने प्रक्रिया हो। यो कार्यलाई “ट्रान्सड्युसोसोम” नामक विभिन्न प्रोटिन समुहले नियन्त्रण गर्दछ, जसमा १८ kDa ट्रान्सलोकेटर प्रोटिन (TSPO, जसलाई पहिले परिफेरल बेन्जोडायजेपिन रिसेप्टर भनिन्थ्यो) र StAR प्रोटिन जस्ता अणुहरू सामेल हुन्छन्।[]

महिलामा प्रोजेस्टेरोन मुख्य रूपमा डिम्बाशयको कर्पस ल्यूटियमबाट उत्पादन हुन्छ। यो अंग LH (ल्यूटिनाइजिङ हर्मोन) को प्रभावमा अण्डा छोड्ने प्रमुख फोलिकलको बाँकी भागबाट निर्माण हुन्छ र प्रत्येक महिनावारी चक्रमा करिब १४ दिनसम्म सक्रिय रहन्छ।[] एस्ट्राडियोल, जसको निर्माण धेरै इन्जाइम र दुई फरक प्रकारका कोष (थेका सेल्स र ग्रानुलोसा सेल्स) मा आधारित हुन्छ, त्यसको तुलनामा, प्रोजेस्टेरोनको निर्माण सरल रहन्छ। कर्पस ल्यूटियमका अधिकांश कोषहरूले प्रोजेस्टेरोन बनाउन सक्छन्। यसका लागि दुई मुख्य चरण: पहिलो, कोलेस्ट्रोललाई प्रेग्नेनोलोनमा रूपान्तरण (P450scc इन्जाइममार्फत), र दोस्रो, प्रेग्नेनोलोनलाई प्रोजेस्टेरोनमा रूपान्तरण (3β-HSD इन्जाइममार्फत) आवश्यक हुन्छन्।[] डिम्बाशय बाहेक, प्रोजेस्टेरोन एड्रिनल ग्रन्थि, प्लेसेन्टा, र मस्तिष्कमा पनि निर्माण हुन सक्छ।

चिकित्सकीय प्रयोग

[सम्पादन गर्नुहोस्]

प्रोजेस्टेरोनलाई औषधिको रूपमा प्रयोग गरिन्छ। यो प्रायः इस्ट्रोजेनको संयोजनमा हर्मोन थेरापीको लागि प्रयोग हुन्छ, विशेष गरी मेनोपोजका लक्षण वा सेक्स हर्मोनको कम स्तर भएका महिलाहरूमा यसको प्रयोग लाभदायी हुने गरेको छ। केही अवस्थामा, प्रोजेस्टेरोनलाई एक्लै पनि मेनोपोजका लक्षणहरू लाई उपचार गर्न प्रयोग गर्न सकिन्छ। अध्ययनहरूले देखाएका छन् कि त्वचामार्फतको प्रोजेस्टेरोन (skin patch) र मुखमार्फत लिने सूक्ष्मित प्रोजेस्टेरोन (oral micronized progesterone) मेनोपोजसँग सम्बन्धित हट फ्ल्यास (hot flashes) र राति पसिना (night sweats) जस्ता लक्षणहरूको लागि प्रभावकारी छन्। यी लक्षणलाई सामान्यतया वासोमोटर लक्षण (vasomotor symptoms, VMS) पनि भनिन्छ।

प्रोजेस्टेरोन गर्भावस्था र प्रजनन क्षमता बढाउन तथा विभिन्न स्त्रीरोग सम्बन्धी समस्याहरूको उपचार गर्न पनि प्रयोग हुन्छ। गर्भावस्थाको प्रारम्भिक चरणमा योनीबाट रक्तस्राव भएका र अघिल्लो गर्भपातको इतिहास भएका महिलामा प्रोजेस्टेरोनले गर्भपात रोक्ने काम गरिन्छ। प्रोजेस्टेरोनलाई मुखमार्फत, योनीमार्फत, मांसपेशी वा बोसोमा इन्जेक्सन लगायतका विभिन्न तरिकाबाट लिन सकिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. १.० १.१ Guennoun, R.; Labombarda, F.; Gonzalez Deniselle, M. C.; Liere, P.; De Nicola, A. F.; Schumacher, M. (२०१५-०२-०१), "Progesterone and allopregnanolone in the central nervous system: Response to injury and implication for neuroprotection", The Journal of Steroid Biochemistry and Molecular Biology, Sex steroids and brain disorders 146: 48–61, आइएसएसएन 0960-0760, डिओआई:10.1016/j.jsbmb.2014.09.001 
  2. २.० २.१ Sundström-Poromaa, Inger; Comasco, Erika; Sumner, Rachael; Luders, Eileen (२०२०-१०-०१), "Progesterone – Friend or foe?", Frontiers in Neuroendocrinology 59: 100856, आइएसएसएन 0091-3022, डिओआई:10.1016/j.yfrne.2020.100856 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]