सामग्रीमा जानुहोस्

फुकुई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फुकुई प्रान्त (福井県) जापानको होन्शु टापुमा रहेको चुबु क्षेत्रमा रहेको हो। यसको राजधानी फुकुई सहर हो।[] यसको क्षेत्रफल करिब ४,१९० वर्ग किलोमिटर र जनसंख्या ७३७,००० (सन् २०२५) छ। फुकुईको सीमा उत्तरमा इशिकावा, गिफु प्रान्त, दक्षिणमा शिगा, र दक्षिणपश्चिममा क्योटोसँग जोडिएको छ।

फुकुई प्रान्त जापान सागरको किनारमा अवस्थित छ र यसको भूगोल दुई मुख्य भागमा विभाजित छ — पश्चिमी वाकासा क्षेत्र, जुन पहाड र समुद्रबीचको साँघुरो क्षेत्र हो, र पूर्वी एचिजेन क्षेत्र, जहाँ राजधानी फुकुईसहित जनघनत्व बढी छ।[]

फुकुई ऐतिहासिक रूपमा वाकासा र एचिजेन नामका पुराना प्रान्तहरूबाट बनेको हो।[] ईदो कालमा यहाँका दैम्योहरू मात्सुदैरा कुलका सदस्य थिए, जो तोकुगावा इएयासुका वंशज थिए। दोस्रो विश्वयुद्धको समयमा फुकुई सहरमा ठूलो बमबारी भयो, जसले फुकुई महललाई नष्ट गर्‍यो। पछि यही स्थलमा प्रिफेक्चरल सरकारी भवनहरू निर्माण गरिएको थियो।

भूगोल र प्राकृतिक क्षेत्र

[सम्पादन गर्नुहोस्]

फुकुईको करिब १५ प्रतिशत भूभाग हाकुसान राष्ट्रिय निकुञ्ज, एचिजेन-कागा काइगन अर्ध-राष्ट्रिय निकुञ्ज र वाकासा वान अर्ध-राष्ट्रिय निकुञ्ज जस्ता प्राकृतिक संरक्षित क्षेत्रमा पर्दछ। यहाँका प्रसिद्ध प्राकृतिक स्थलहरूमा तोजीन्बो चट्टान दायरा र असुवा नदी तट समावेश छन्।

फुकुईको अर्थतन्त्र उद्योग, ऊर्जा र हस्तकलामा आधारित छ। साबाए सहरले जापानको ९०% घरेलु चश्मा उत्पादन गर्छ। त्सुरुगा क्षेत्रको वाकासा खाडीमा धेरै आणविक उर्जा केन्द्रहरू छन् जसले केइहानशिन महानगरलाई बिजुली आपूर्ति गर्छन्। यहाँ १४ वटा रियाक्टरहरू छन्, जुन जापानमा सबैभन्दा धेरै हो।[]

जनसांख्यिकी

[सम्पादन गर्नुहोस्]

फुकुई जापानका कम जनसङ्ख्या भएका प्रान्तहरूमध्ये एक हो। सन् २०१५ सम्म यहाँ करिब ७८५,००० जनसंख्या र २८.६% जनसंख्या ६५ वर्ष माथिका थिए।[]

फुकुईमा इचिजोदानी असाकुरा परिवार ऐतिहासिक भग्नावशेष, एइहेइ-जी बौद्ध मन्दिर, म्योत्सु-जीको तीन तले प्यागोडा, र मारुओका महल जस्ता सांस्कृतिक सम्पदाहरू छन्। फुकुई कागज उत्पादनको लागि प्रसिद्ध छ, यहाँको एचिजेन कागज बनाउने सहकारीले परम्परागत जापानी शैलीमा कागज उत्पादन गर्छ। स्थानीय परिकारहरूमा एचिजेन गंगटा र “गेङ्गे” नामक समुद्री माछा समावेश छन्।[]

मुख्य विश्वविद्यालयहरूमा फुकुई विश्वविद्यालय, फुकुई प्रविधि विश्वविद्यालय, फुकुई प्रिफेक्चरल विश्वविद्यालय र जिन एई विश्वविद्यालय पर्छन्।

फुकुईमा होन्रुकु शिङ्कान्सेन, एचिजेन रेलवे र फुकुई रेलवे सञ्चालनमा छन्। सडक यातायातका लागि होन्रुकु एक्सप्रेसवे र चुबु जुकान एक्सप्रेसवे प्रमुख छन्। त्सुरुगा बन्दरगाहले तोमाकोमाई, ओतारु र निइगातासँग फेरी सेवा सञ्चालन गर्छ।

मुख्य आकर्षणहरूमा फुकुई प्रिफेक्चरल डायनासोर सङ्ग्रहालय, मारुओका महल, तोजीन्बो, आवारा ओन्सेन, र टाकेफु गुलदाउदी प्रदर्शनी पर्दछन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Nussbaum, Louis-Frédéric. (2005). "Fukui-ken" in Japan Encyclopedia, p.217.
  2. "General overview of area figures for Natural Parks by prefecture", वातावरण मन्त्रालय, अन्तिम पहुँच ४ फेब्रुअरी २०१२ 
  3. Nussbaum, "Provinces and prefectures", p.780.
  4. Fujioka, Chisa. "Japan anti-nuclear movement gains traction as crisis drags on". Reuters, 2011-04-08.
  5. "福井県の推計人口", Fukui Prefectural Government, १ अक्टोबर २०१५। 
  6. Japanese Echizen soba: what it is & where to eat it
  7. "The Takefu Kiku Ningyo Festival", २०२१-११-२७।