बकासुर
| बकासुर | |
|---|---|
भोको बकासुर र भीमको भेट | |
| आबद्ध | राक्षस |
| धर्मग्रन्थहरू | महाभारत |
| क्षेत्र | एकचक्रापुर |
| वंशावली | |
| जन्म | गढबेटा, पश्चिम बङ्गाल, भारत |
| भाइबहिनीहरू | किर्मीर (कान्छो भाइ) |
बकासुर जसलाई बक पनि भनिन्छ, हिन्दु महाकाव्य महाभारतका एक पौराणिक पात्र हुन् तथा राक्षस हुन्। पौराणिक पुस्तकहरूमा उल्लेख भएअनुसार यी राक्षस हाल भारतको पश्चिम बङ्गाल राज्यको गढबेटा सहर नजिकै पर्ने "गङ्गानी" भनिने जङ्गलमा बस्दथे। बाह्य आक्रमणकारीहरूबाट राज्यको रक्षा गर्ने बदलामा उनले त्यहाँका नागरिकहरूलाई त्रसित बनाउँथे र उनीहरूको हत्या गर्ने गर्दथे। यहाँ राजा पनि असहाय र बकासुरको डरले निकै भयभीत भएका थिए। अन्ततः मानिसहरूले उक्त राक्षससँग एउटा सम्झौता गरे जसअनुसार हरेक हप्ता खानाको ठूलो रासन उकहाँ पठाउनुपर्ने हुन थाल्छ। बकासुरले खाना पुर्याउन आउने मानिसलाई समेत खाने गर्दथ्यो।[१]
पाण्डवहरूले गुप्तबास बस्ने क्रममा एक ब्राह्मणको घरमा आश्रय लिन्छन्। जब ती ब्राह्मणको परिवारबाट रासन पुर्याउने पालो आयो तब उनीहरूको ज्यान जोगाउनको लागि माता कुन्तीको निर्देशनमा भीमलाई बकासुरको वध गर्न पठाइन्छ।[२] भीमद्वारा बकासुरको वध गरिएको सम्झनामा भीमना अमावस्या मनाइन्छ।
बकासुरको वध
[सम्पादन]महाभारत कालमा पाण्डव पुत्र युधिष्ठिर, भीम, अर्जुन, नकुल, सहदेव र उनीहरूको आमा गुप्तवासमा भएको बेला भीम र उनका भाइहरू बाटो बिर्सिएर कुनै एउटा गाउँमा पुग्छन् जहाँ बकासुर नाम गरेको एक विशाल राक्षसको आतङ्क थियो। त्यो राक्षसले गाउँका मानिसहरूलाई त्रसित गर्ने गर्थ्यो। गाउँवासीमध्ये कोही न कोहीले उसको लागि भोजन ल्याउनु पर्ने थियो भने यसो नगरेमा उसले गाउँमा आएर मानिसहरूलाई उठाएरखाने गर्दथ्यो। चिन्तित गाउँलेहरूले बकासुरको आतङ्कबाट बच्नका लागि उसलाई भोजन पुर्याउन सुरु गर्छन्। हरेक दिन कुनै न कुनै गाउँवासी बकासुरको लागि उसको गुफामा भोजन पुर्याउन जान्थ्यो। भीम र उनका भाइहरू पनि त्यही गाउँमा बस्थे। भीमलाई जब बाकासुरको आतङ्कको बारेमा थाहा भयो तब उनलाई उसको सामना गर्ने र बकासुरको आतङ्कबाट गाउँलेहरूलाई मुक्त गराउने इच्छा जाग्छ। जब पाण्डव पुत्र भीमको पालो आयो, बकासुरको लागि उसले भोजन पुर्याउनु पर्ने भएपछि भीम बकासुरको गुफातिर जान्छन् जुन एक घना जङ्गलमा अवस्थित छ। जब भीम बाकासुरको सामना गर्न पुगे, तब बकासुरले उनलाई भन्यो 'तँ मेरो लागि भोजन ल्याउन आएको होस्?' भीमले भने, 'म भोजन ल्याउन आएको होइन, बरु तेरो आतङ्कबाट गाउँलेहरूलाई मुक्त गर्न आएको हो। भनी जवाफ दिन्छन्। त्यसपछि भीम र बकासुरबीच ठूलो युद्ध हुन्छ जसमा भीमले उक्त राक्षसको वध गरि गाउँलेहरूलाई राक्षसको आतङ्कबाट स्वतन्त्रता दिलाउन सफल हुन्छन्। [३][४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ www.wisdomlib.org (२०१२-०६-१५), "Bakasura, Bakāsura: 4 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-११-१३।
- ↑ Gopal, Madan (१९९०), K.S. Gautam, सम्पादक, India through the ages, Publication Division, Ministry of Information and Broadcasting, Government of India, पृ: ७५।
- ↑ Dharma, Krishna (२०२०-०८-१८), Mahabharata: The Greatest Spiritual Epic of All Time (अङ्ग्रेजीमा), Simon and Schuster, पृ: 77–81, आइएसबिएन 978-1-68383-920-0।
- ↑ Mittal, J. P. (२००६), History of Ancient India (A New Version) (अङ्ग्रेजीमा), Atlantic Publishers & Dist, पृ: 484, आइएसबिएन 978-81-269-0616-1।