सामग्रीमा जानुहोस्

बङ्गलादेशको संस्कृति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माथिबाट, बायाँदेखि दायाँ तिर: बङ्गाली नयाँ वर्ष मनाइँदै, आदिवासी बङ्गला शैलीको वास्तुकला, जातीय संसद भवन, दमदानी बुनिँदै, बोली खेला, भात र माछा, पद्मा नदी, बाउल, बङ्गलादेशी रक सङ्गीत, मार्मा जनजातिहरूको नृत्य, बङ्गलादेशी कला, र नमाज पाठ

बङ्गलादेशको संस्कृतिले (बङ्गाली: বাংলাদেশের সংস্কৃতি) दक्षिण एसियामा अवस्थित बङ्गलादेशको साहित्य, सङ्गीत, नृत्य, खानपान, पोशाक, पर्व आदिको अन्तरक्रियालाई जनाउँछ। बङ्गलादेशमा बङ्गालीहरूले सयौँ वर्षे लामो इतिहास र परम्परा बोकेका छन्। बङ्गलादेशको बङ्गाली संस्कृति आफ्नै विशेषताका कारण गौरवशाली छ। बङ्गलादेश विश्वका समृद्ध सांस्कृतिक धरोहर बोकेको देशहरू मध्ये एक हो।

बङ्गाली संस्कृति शब्दले मुख्यतः बङ्गलादेशी संस्कृतिलाई नै झल्काउँछ। यो संस्कृतिले केही शताब्दीदेखि विकसित हुँदै बङ्गलादेशका विभिन्न सामाजिक समूहहरूको सांस्कृतिक विविधतालाई समेटेको छ। अठारौँ शताब्दीको सुरुवातमा भएको बङ्गाली पुनर्जागरण, प्रख्यात बङ्गाली लेखक, साधु, वैज्ञानिक, शोधकर्ता, सङ्गीत रचनाकार, चित्रकार, चलचित्र निर्माताहरूले बङ्गाली संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन्। बङ्गाली पुनर्जागरण अन्तर्गतको नयाँ राजनीतिक पलहले भारतीय राष्ट्रियतावादको सूत्रपात गरेको र यसले आधुनिक भारतीय कलात्मक सांस्कृतिक अभिव्यक्तिलाई धेरै तरिकाले उकासेको थियो। मोहम्मद नजरुल इसलाम तमिज, मानवअधिकार कार्यकर्ता र राष्ट्रिय मानवअधिकार समाजका अध्यक्षका अनुसार, मानवाधिकार बङ्गाली संस्कृतिको सबैभन्दा महत्वपूर्ण भाग हो र यसले बङ्गाली संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ। संस्कृतिको विकास हुँदै गर्दा मिश्रित भएका संस्कृतिमा इस्लाम, हिन्दु, बौद्धइसाई धर्मको प्रभाव रहेको छ जसले सङ्गीत, नृत्य, नाटक जस्ता विभिन्न रूपहरूमा प्रकट गर्दछ भने यसमा कलाको कौशल, लोककथा र लोकपरम्परा, भाषा साहित्य, दर्शन धर्म, चाडपर्वको उत्सव साथै एउटा विशेष पाकशैलीसँग सम्बन्धित पाक परम्पराहरू समावेश छन्।

साहित्य र सङ्गीत

[सम्पादन गर्नुहोस्]

बङ्गाली भाषा र बङ्गाली साहित्य|साहित्य]]को विरासत हजारौँ वर्षभन्दा पुरानो छ। ७औँ शताब्दीमा लेखिएको बौद्ध दोहाको सङ्कलन चर्यापदलाई बङ्गाली भाषाको सबैभन्दा प्राचीन उदाहरण मानिन्छ। मध्यकालमा बङ्गाली भाषामा कविता, लोकगीत र पाला गीतको प्रचलन थियो। १९ र २०औँ शताब्दीमा बङ्गाली कविता र गद्य साहित्यको व्यापक विकास हुन पुगेको थियो। सन् १९१३ मा नोबेल पुरस्कार विजेता विश्वकवि रवीन्द्रनाथ ठाकुर, साहित्यकार शरतचन्द्र चट्टोपाध्याय, बङ्गलादेशका राष्ट्रिय कवि काजी नजरुल इस्लाम लगायतले बङ्गाली भाषालाई साहित्यिक रूपमा समृद्ध बनाएका छन्। बङ्गालको लोकसाहित्य पनि समृद्ध रहेको कुरा मयमनसिंहकम गीतहरूले चिनाउँछन्। आधुनिक साहित्यकारमध्ये आल महमुद र हुमायुन अहमद अत्यन्त लोकप्रिय छन्। साना बालबालिकाबीच मुहम्मद जाफर इकबाल र रोकिब हसन धेरै लोकप्रिय छन्। अन्य प्रमुख साहित्यकार मध्ये काजी अनवार होसेन, कवि शम्सुर रहमान, निर्मलेन्दु गुन लोकप्रियताका हिसाबले शीर्ष स्थानमा छन्।

बङ्गलादेशको सङ्गीत मुख्य रूपमा गीतमा आधारित छ भने यहाँ वाद्य सङ्गीतको भूमिका सिमित छ। ग्रामीण बङ्गालका लोकसङ्गीतमा बाउल गीत, जरी, सारी, भावाइया, भाटियाली, मुर्सिदी, गम्भिरा, कविगान आदि उल्लेखनीय छन्। ग्रामीण क्षेत्रका यस लोकसङ्गीतसँग प्रयोगमा आउने प्रमुख वाद्ययन्त्रहरूका एकतारा, दोतारा, ढोल, बाँसुरी आदि प्रयोग गरिन्छन्। आधुनिक सङ्गीतकारहरूले विदेशी किबोर्ड, ड्रम्स, गितार जस्ता विदेशी वाद्ययन्त्रहरूको प्रयोग गर्ने गरेको भएतापनि केही कलाकारहरूले लोक र आधुनिक सङ्गीतलाई मिश्रणमा गर्ने शैलीको पनि प्रवर्द्धन गरेको पाइन्छ।

बङ्गलादेशमा नृत्यकलाका विभिन्न प्रकार प्रचलित छन्। यसमा खासगरि उशेर गाउँ क्षेत्रमा जात्रापालाको चलन रहेको छ। ढाका-केन्द्रित चलचित्र उद्योगबाट प्रत्येक वर्ष करिब ८० देखि १०० बङ्गाली चलचित्र निर्माण हुन्छ।[]

प्रमुख नृत्यकलाहरूको सूची

  • लोकनृत्य
  • बाउल नाच
  • छोकरा नाच
  • फकिर नाच
  • गम्भिरा नाच
  • जारी नाच
  • लाठी नाच
  • पुतुल नाच

सञ्चार माध्यम

[सम्पादन गर्नुहोस्]

बङ्गलादेशको संस्कृतिमा सञ्चार माध्यमहरूको छुट्टै विशेष स्थान रहेको छ। खासगरी मानिसहरूलाई सूचना, सङ्गीत, मनोरञ्जन आदि प्रदान गर्ने यस्ता माध्यमहरूको प्रमुख भूमिका रहेको हुन्छ। बङ्गलादेशमा सञ्चार माध्यम टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइन सञ्चार आदि सहित विभिन्न माध्यमहरू मिलेर बनेको छ। बङ्गलादेशमा लगभग १०० वटा निजी टेलिभिजन च्यानलहरू रहेका छन्। यसबाहेक त्यहाँ सरकारी स्वामित्वको बङ्गलादेश टेलिभिजन र बङ्गलादेश रेडियो रहेको छ।[] बङ्गलादेशमा लगभग १०० वटा दैनिक समाचारपत्रहरू रहेका छन्। यसबाहेक साप्ताहिक, मासिक र त्रैमासिक पत्रिकाहरू पनि छन्। हाल बङ्गलादेशमा लगभग १०० वटा लोकप्रिय अनलाइन सञ्चारमाध्यमहरू रहेका छन्। यी माध्यमहरूले विभिन्न प्रकारका समाचार, राय, विश्लेषण र मनोरञ्जनका सामग्रीहरू प्रदान गर्दछ।

सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गतको चलचित्र तथा प्रकाशन विभागको पञ्जीकरण शाखाबाट पत्रपत्रिकाको दर्ता उपलब्ध गराइन्छ। चलचित्र तथा प्रकाशन विभागले प्रकाशित गरेको प्रतिवेदनअनुसार सन् २०१८ को जुन महिनामा ३ हजार ६१ वटा पत्रपत्रिका दर्ता भएका थिए। सन् २०२० डिसेम्बर ३१ सम्म बङ्गलादेशमा दर्ता भएका समाचारपत्रहरूको सङ्ख्या ३,२१० (अनलाइन सञ्चारमाध्यमहरू बाहेक) रहेको छ जसमध्ये १,३५७ ढाकाबाट र १,८५३ अन्य जिल्लाहरूबाट प्रकाशित भएका छन्। यसमा १,३०९ दैनिक समाचारपत्र, ३ अर्ध-साप्ताहिक, १,२१४ साप्ताहिक, २१६ पन्ध्र दिने, ४२५ मासिक, ८ द्वैमासिक, ३० त्रैमासिक, १ त्रैमासिक, २ अर्ध-मासिक र २ वार्षिक समाचारपत्रहरू समावेश छन्। प्रथोम आलो बङ्गलादेशमा सबैभन्दा धेरै पढिने र व्यापक रूपमा हेरिने बङ्गाली पत्रिका हो। आनन्दबजार पत्रिका भारतको सबैभन्दा धेरै प्रसारित हुने बङ्गाली समाचारपत्र हो। वर्तमान, प्रतिदिन, इत्तेफाक, जनकण्ठ आदि पनि व्यापक रूपमा पढिने गरिन्छ। द डेली स्टार, न्यु एज, ढाका ट्रिब्युन आदि प्रसिद्ध अङ्ग्रेजी समाचार पत्र हो।

बङ्गलादेशका विभिन्न परिकारहरू: इलिस माछा, कच्ची बिरयानी र पिठा

बङ्गलादेशमा खानपानको परम्परा भारतीय र मध्यपूर्वको खानपानको परम्पराबाट प्रभावित छ। भात, दाल र माछा बङ्गलादेशीहरूको मुख्य खाना हो जसकारण उनीहरूलाई माछे भाते बङ्गाली (बङ्गाली: মাছে ভাতে বাঙালি) पनि भन्ने गरिएको पाइन्छ। छेनाबाट निर्मित र अन्य प्रकारको मिठाइहरू, जस्तै रसगुल्ला, चमचम निकै लोकप्रिय छन्। भातजन्य खानामध्ये बिरयानी, पुलावजस्ता उच्च क्यालोरीका खाना उनीहरूलाई सबैभन्दा मनपर्ने खानेकुराहरू मध्ये एक हो। त्यसैगरी तेल र मसलाको बढि प्रयोग गरी पकाउने तरिका यस क्षेत्रका मानिसहरूको खानामा एक विशेषता हो। सामान्य मानिस तरकारीलाई तुलनात्मक गरीबहरूको खाना ठान्छन् भने माछा-मासुलाई कुलीनतासँग जोडेर हेर्ने गरेको पाइन्छ।

बयतुल मुकर्रम राष्ट्रिय मस्जिद
ढाकेश्वरी राष्ट्रिय मन्दिर
बुद्ध धातु जादी
ढाका महाधर्मप्रदेश

कुल जनसङ्ख्याको ९९ प्रतिशत भाग ओगटेको बङ्गाली जाति बङ्गलादेशको प्रमुख जातीय समूह हो भने बङ्गालीहरू बाहेक अन्य जातिहरू अल्पसङ्ख्यकमा पर्दछन्। एक मुस्लिम बाहुल देश भएको हिसाबले धार्मिक रूपमा इस्लाम धर्मको अनुसरण गर्नेहरूको सङ्ख्या कुल जनसङ्ख्याको ९० प्रतिशत हुन आउँछ भने हिन्दु र बौद्धहरू देशका मुख्य अल्पसङ्ख्यकहरू हुन्। इसाई, सिख, र नास्तिकहरूले जनसङ्ख्याको अत्यन्त सानो भाग ओगटेको भएतापनि व्यापक सांस्कृतिक विविधता, विभिन्न बोलीचाली, सामाजिक व्यवहार र मान्यताहरूको मिश्रणले गर्दा बङ्गलादेशका विभिन्न धर्मका मानिसहरूले आफ्नो धार्मिक अनुष्ठानहरू उल्लासका साथ मनाउँदै आएका छन्। सरकारले चार मुख्य धर्मका सबै महत्वपूर्ण धार्मिक पर्वहरूमा राष्ट्रिय बिदा घोषणा गरेको छ। ईद उल-फित्र,[] दुर्गा पूजा, क्रिसमस[] र बुद्ध पूर्णिमा बङ्गलादेशमा उत्साहका साथ मनाइन्छन्। यी सबै बङ्गलादेशको सांस्कृतिक सम्पदाको अभिन्न अङ्गहरू हुन्।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. ইসলাম, সিরাজুল (२०१२), "চলচ্চিত্র, পূর্ণদৈর্ঘ্য", বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় বিশ্বকোষ (बङ्गालीमा) (द्वितीय संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি, अन्तिम पहुँच १४ सेप्टेम्बर २०१६ 
  2. "Swadhin Bangla Betar Kendra's Rashidul Hossain passes away", bdnews24.com, मूलबाट २९ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जनवरी २०१६ 
  3. "বাংলা ঈদ সংখ্যার ঐতিহ্য | the Daily Star Bangla", मूलबाट २२ अगस्ट २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ सेप्टेम्बर २०२३ 
  4. Das, Joyce, "Borodin – Christmas in Bangladesh", asiapacific.anu.edu.au, मूलबाट ७ मार्च २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ फेब्रुअरी २०१६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]