बत्तामबाङ
बत्तामबाङ प्रदेश कम्बोडियाको उत्तर–पश्चिमी भागमा अवस्थित प्रदेश हो। यसको उत्तरमा बान्तेई मन्छेई, दक्षिण र पूर्वमा पुरसत, उत्तरपूर्वमा सिआम रिप तथा पश्चिममा पाइलिन पर्दछन्। यसैगरी उत्तर र दक्षिण-पश्चिममा थाइल्यान्ड सँग जोडिएको छ। प्रदेशको मुख्य सहर र प्रशासनिक केन्द्र बत्तामबाङ सहर हो। उर्वर कृषि भूमिबाट प्रसिद्ध यस प्रदेशलाई क्याम्बोडियाको “धान भण्डार” भनेर पनि चिनिन्छ।[१]

बत्तामबाङ क्षेत्र टोनले साप तालको हिस्सा भएकाले, यहाँ प्राकृतिक स्रोत र जैविक विविधतामा रहेको छ। ७४% क्षेत्र जङ्गल र पहाडी भूभागले ढाकिएको छ। यहाँ वर्षभरि तातो तथा आर्द्रता उच्च रहन्छ। क्याम्बोडियाको सबैभन्दा पुराना वस्तीहरू मध्ये केही यस क्षेत्रमा छन्। बत्तामबाङ कम्बोडियाको चौथो सर्वाधिक जनसङ्ख्या भएको प्रदेश हो।
नामको व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]बत्तामबाङ नामको अर्थ खमेर भाषामा “हराएको लठ्ठी” हो। यो नाम स्थानिय कथामा वर्णित प्रेह बात दम्बाङ क्रन्हुङ नामक चरित्रसँग सम्बन्धित छ, जसले आफ्नो जादुई लठ्ठी यहाँ हराएको भन्ने कथान रहेको छ। प्राचीन शिलालेखहरूमा बत्तामबाङ नाम प्रत्यक्ष उल्लेख नभए पनि “स्रोक बत्तामबाङ” भन्ने प्रशासनिक नाम मध्यकालीन खमेर राज्यको समयमा प्रयोग भएको प्रमाण भेटिन्छ। थाइ भाषामा भने यस प्रदेशलाई “फ्रा तबोङ” भनेर चिनिन्छ। यसले प्रदेशको ऐतिहासिक रूपमा दुवै राज्यको प्रभावमा परिरहेको अवस्थालाई देखाउँछ।
इतिहास
[सम्पादन गर्नुहोस्]बत्तामबाङको प्रशासन, क्याम्बोडिया र सियाम (थाइल्यान्ड) बीच बारम्बार परिवर्तन भएको थियो।
सन् १७६९ मा सियामका राजा ताक्सिनले बत्तामबाङ र सिआम रिप दुवै क्षेत्र नियन्त्रण गरेका थिए। त्यसपछि पनि यो क्षेत्र लामो समय थाइल्यान्डको प्रशासनिक नियन्त्रणमा रह्यो।
सन् १९०७ मा फ्रान्सले क्याम्बोडियालाई पुनः एकीकृत गर्ने प्रक्रियामा बत्तामबाङ, सिआम रिप र कोह कोंगलाई फ्रेन्च इंडोचाइनमा समावेश गरेको थियो। दोस्रो विश्वयुद्धको समयमा जापानले यस क्षेत्रमा नियन्त्रण जमाएपछि फेरि थाइल्यान्डलाई हस्तान्तरण गरियो। युद्ध समाप्त भएपछि बत्तामबाङ स्वतन्त्र क्याम्बोडियामा फर्काइयो।[२]
२१औ शताब्दीमा पनि यो प्रदेशमा युद्ध, शासन परिवर्तन, खमेर रूज काल र त्यसपछिका राजनीतिक संरचनाहरूको प्रभाव परेको छ। खमेर रूज कालमा बत्तामबाङमा ठुलो स्तरमा हिंसा भएको थियो।
अहिले बत्तामबाङ क्याम्बोडियाका शान्त, सांस्कृतिकरूपमा समृद्ध र आर्थिक रूपमा सबल प्रदेशहरू मध्ये एक बनेको छ।
शासन तथा प्रशासन
[सम्पादन गर्नुहोस्]बत्तामबाङ क्याम्बोडियाको प्रशासनिक तथा राजनीतिक संरचनामा महत्वपूर्ण प्रदेश मानिन्छ। यो प्रदेशमा १३ वटा जिल्लाहरू तथा १ नगरपालिका छन्। प्रदेशीय प्रमुख, जिल्ला प्रमुख तथा नगरपालिकाहरू मार्फत स्थानीय प्रशासनिक कार्य सञ्चालन हुन्छ।[१]
प्रदेशीय राजधानी बत्तामबाङ नगरपालिका हो। यहाँ सबै प्रमुख सरकारी कार्यालयहरू, शैक्षिक संस्थान तथा वाणिज्यिक संरचनाहरू केन्द्रित छन्।
भूगोल
[सम्पादन गर्नुहोस्]बत्तामबाङको भौगोलिक संरचना विविध छ। यहाँ तराई, पहाड, वन क्षेत्र तथा नदीहरूको मिश्रण छ। प्रदेशको केही भाग टोनले साप ताल नजिक पर्छ, जसले यहाँको जलवायु र कृषि प्रणालीमा महत्वपूर्ण प्रभाव पार्छ। जङ्गल तथा पहाडी क्षेत्रले स्थानीय वन्यजनावर, औषधिजन्य बोटबिरुवा तथा प्राकृतिक स्रोतहरूको संरक्षणमा मद्दत गरेको छ।
सङ्के नदी यहाँको प्रमुख नदी हो, जसले प्रदेशको जीवनशैली, कृषि तथा यातायातमा महत्वपूर्ण भूमिका खेल्छ। वर्षामा नदीले खेतीयोग्य जमिनको सिचाई गर्छ भने सुक्खा मौसममा स्थानीय जनजीवनलाई सहारा दिन्छ। प्रदेशको अधिकांश क्षेत्र कृषि उत्पादनका लागि अत्यन्तै उपयुक्त मनिन्छ।
धर्म
[सम्पादन गर्नुहोस्]बत्तामबाङमामा थेरवाद बौद्ध धर्म प्रमुख छ। जनसङ्ख्याको लगभग ९८ प्रतिशतले यो घर्म मान्छन्। यहाँ बौद्ध विहार, मठ तथा परम्परागत धार्मिक स्थलहरूको ठुलो सङ्ख्यामा छन्।[१]
अल्पसङ्ख्यक समुदायले इस्लाम तथा इसाई धर्म मान्छन्। चाम समुदायले इस्लाम धर्म पुराना समयदेखि नै अभ्यास गर्दै आएको इतिहास छ। धार्मिक विविधताले प्रदेशमा सांस्कृतिक सहिष्णुता र अन्तर–समुदायिक सद्भाव मजबुत बनाएको छ।
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]बत्तामबाङ प्रदेश क्याम्बोडियाको प्रमुख कृषियोग्य क्षेत्र हो। यहाँको जमिन धान उत्पादनका लागि अत्यन्त उर्वर मानिन्छ। प्राय सबै ग्रामीण परिवार कृषि कार्यमा संलग्न छन्, र धान सँगै मकै, कसावा, तरकारी तथा फलफूल उत्पादन पनि ठुलो मात्रामा हुन्छ। यो कारणले बत्तामबाङलाई “धानको भण्डार” उपनाम दिइएको छ।
कृषि बाहेक व्यापार, सेवा क्षेत्र तथा साना उद्योगहरू पनि विस्तार हुँदै आएका छन्। प्थाइल्यान्ड सँगको सिमा व्यापार बलियो छ। उत्पादन र कच्चा पदार्थहरूको पठारी हुने गर्छ।
बत्तामबाङ सहर वाणिज्यिक केन्द्रका रूपमा पनि विकसित भइरहेको छ, र होटल, वित्तीय संस्था, खुद्रा बजार तथा यातायात सेवा निरन्तर वृद्धि भइरहेका छन्।
अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विकास परियोजनाहरू, विशेष गरी सडक, पुल, सिँचाइ, तथा ग्रामीण पूर्वाधार सुधारसँग सम्बन्धित योजनाहरूले स्थानीय अर्थतन्त्रलाई अझ स्थिर बनाइरहेका छन्। कृषि आधुनिकीकरण, बजार पहुँच वृद्धि तथा शैक्षिक अवसर विस्तारले भविष्यमा प्रदेशलाई अझ समृद्ध बनाउने अपेक्षा गरिएको छ।
संस्कृति
[सम्पादन गर्नुहोस्]बत्तामबाङ सांस्कृतिक विविधताले समृद्ध क्षेत्र हो। यहाँ खमेर परम्परा, स्थानीय जातीय समूहहरू तथा सामुदायिक अभिव्यक्तिहरूको अनुपम मिश्रण पाइन्छ। मन्दिर, परम्परागत घर, हस्तकला, सङ्गीत तथा नृत्य यो प्रदेशको सांस्कृतिक अंश हुन्।
खमेर नयाँ वर्ष, प्चुम बेन, र अन्य धार्मिक उत्सवहरू प्रदेशमा निकै उत्साहका साथ मनाइन्छन्। बत्तामबाङ सहर कला तथा चित्रकला क्षेत्रमा पनि प्रसिद्ध छ। यहाँ स्थानीय कलाकारहरूले परम्परा र आधुनिक शैलीलाई मिश्रित गर्दै नयाँ अभिव्यक्तिहरू सिर्जना गर्छन्।
ऐतिहासिक तथा पर्यटन स्थल
[सम्पादन गर्नुहोस्]वाट एक फ्नोम
[सम्पादन गर्नुहोस्]वाट एक फ्नोम ११औ शताब्दीमा निर्माण भएको महत्वपूर्ण मन्दिर हो। यसको केही हिस्सा अहिले भत्किएको अवस्थामा छ। बत्तामबाङ शहरबाट करिब ११ किलोमिटर उत्तरमा अवस्थित यो मन्दिरको परिसर प्राचीन बाराय र लेट्राइट ढुङ्गाको पर्खालले घेरिएको छ। मन्दिरको पूर्वी प्रवेशद्वारमाथि अवस्थित ‘समुन्द्र मन्थन’ सम्बन्धी सुन्दर कला यसको विशेष आकर्षण हो।[३]
वाट बानन
[सम्पादन गर्नुहोस्]वाट बानन ११औँ शताब्दीको अर्को मन्दिर हो। यो आकारमा सानो भए पनि यसको संरचना अङ्कोर वाटसँग तुलना गरिन्छ। करिब ३५० भन्दा बढी सिँढी चढेपछि मन्दिर परिसर पुगिन्छ, जसबाट वरिपरिका पहाडी दृश्य अबलोकन गर्न सकिन्छ।
वाट सम्रओङ क्वनोंग
[सम्पादन गर्नुहोस्]यो अठारौँ शताब्दीको पुरानो विहार हो। यससँग खमेर रूज कालको दुखद इतिहास जोडिएको छ। यहाँ रहेको ‘वेल अफ शेडोज’ मा नरसंहारमा मारिएका नागरिकहरूको अवशेष सुरक्षित राखिएको छ। यो स्थान इतिहास तथा मानव अधिकार अध्ययनका लागि महत्वपूर्ण केन्द्र मानिन्छ।
यातायात
[सम्पादन गर्नुहोस्]बत्तामबाङ राष्ट्रिय राजमार्ग मार्फत क्याम्बोडियाका प्रमुख शहरहरूसँग जोडिएको छ। सङ्के नदीमार्फत डुँगा सेवा पनि चल्दछ। यो सेवाले ग्रामीण क्षेत्रलाई शहरसँग जोड्ने वैकल्पिक माध्यमको काम गर्छ।
पुरानो हवाई अड्डा तथा रेलमार्ग अहिले सञ्चालनमा छैनन्, यद्यपि भविष्यमा पुनःसञ्चालनका लागि सम्भावित योजनाको चर्चा भइरहेको छ।
बस सेवाहरू लगभग प्रत्येक घन्टामा उपलब्ध हुने भएकाले यात्रुहरूलाई सहज छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 3 "General Population Census of the Kingdom of Cambodia 2019 – Final Results", National Institute of Statistics, Ministry of Planning (Cambodia), २६ जनवरी २०२१, अन्तिम पहुँच ३ फेब्रुअरी २०२१। अभिलेखिकरण २६ अक्टोबर २०२२ वेब्याक मेसिन
- ↑ แจ้งความกระทรวงมหาดไทย เรื่อง แต่งตั้งข้าราชการ
- ↑ अभिलेखिकरण मार्च १५, २०१० वेब्याक मेसिन