बबुस्का लेडी


बबुस्का लेडी सन् १९६३ मा भएको अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको हत्याको समयमा उपस्थित एक अज्ञात महिला हुन्। उनले डालसको डिली प्लाजामा राष्ट्रपति केनेडीलाई गोली प्रहार गरिएको समयमा घटनाको तस्वीर खिचेको वा भिडियो खिचिएको अनुमान गरिन्छ। उनको यो उपनाम उनले टाउकोमा बाँधेको रुमालका कारण राखिएको हो, जुन वृद्ध रूसी महिलाहरूले लगाउने लामो खालको रुमाल जस्तै देखिन्थ्यो। रूसी भाषामा बबुस्का (रुसी: бабушка) को शाब्दिक अर्थ "हजुरआमा" वा "वृद्ध महिला" भन्ने हुन्छ।
प्रत्यक्षदर्शीहरूका अनुसार बबुस्का लेडीले क्यामेरा समातिरहेकी थिइन् र हत्याकाण्डका विभिन्न फिल्म फुटेजहरूमा पनि उनलाई देख्न सकिन्छ।[१][२] उनी एल्म र मेन स्ट्रिटको बीचमा रहेको घाँसे मैदानमा उभिएको देखिएकी थिइन्। उनी जाप्रुडर फिल्मका साथै ओर्भिल निक्स,[३] मेरी मचमोर र मार्क बेलद्वारा खिचिएका भिडियोहरूमा पनि स्पष्ट देखिन्छिन्।[४] बेल फिल्मको ४४ मिनेट ४७ सेकेन्डमा; गोली चलिसकेको र वरपरका मानिसहरू लुक्न खोजिरहेको अवस्थामा पनि उनलाई अनुहारमा क्यामेरा राखेर उभिइरहेको देखिएको थियो। गोलीकाण्डपछि, उनले एल्म स्ट्रिट पार गरी घाँसे ढिस्को तर्फ जाँदै गरेको भीडमा सामेल भएकी थिइन्। बबुस्का लेडीलाई अन्तिम पटक एल्म स्ट्रिटमा पूर्वतर्फ हिँडिरहेको तस्वीरमा देखिएको थियो भने त्यसपछि उनको पहिचान र उनीद्वारा खिचिएका फिल्महरू हालसम्म पनि बरामद भएका छैनन्।
बेभर्ली ओलिभरको दाबी
[सम्पादन गर्नुहोस्]सन् १९७० मा, बेभर्ली ओलिभर नामकी एक महिलाले टेक्सास स्थित जोसुआको एक चर्चको पुनर्जागरण सभामा षड्यन्त्र अनुसन्धानकर्ता 'ग्यारी स'लाई आफू नै 'बबुस्का लेडी' भएको बताएकी थिइन्।[५] ओलिभरले आफूले यासिका क्यामेराको सुपर ८ फिल्म मार्फत गोलीकाण्डको भिडियो खिचेको र उक्त नधुलाइएको फिल्म आफूलाई सङ्घीय अनुसन्धान ब्युरो आयुक्त बताउने दुई व्यक्तिहरूलाई बुझाएको दाबी गरेकी थिइन्।[५] ओलिभरका अनुसार, ती व्यक्तिहरूबाट उनले कुनै रसिद लिएकी थिइनन्, जसले उनलाई १० दिनभित्र फिल्म फिर्ता गर्ने बताएका थिए। उनले त्यसपछि कुनै सोधखोज पनि गरिनन्।[५]
ओलिभरले सन् १९८८ को वृत्तचित्र द म्यान हु किल्ड केनेडी मा आफ्ना दाबीहरू पुनः दोहोर्याएकी थिइन्।[५] भिन्सेन्ट बुग्लियोसीका अनुसार, ओलिभरले "धेरैजसो मानिसहरूलाई चित्त बुझ्ने गरी आफू त्यस दिन डिली प्लाजामा उपस्थित भएको प्रमाणित गर्न कहिल्यै सकेकी छैनन्"।[५] यासिका सुपर-८ क्यामेरा सन् १९६९ सम्म बनेकै थिएन भन्ने तथ्यको सामना गर्दा, उनले आफूले एक साथीबाट सो "प्रयोगात्मक" क्यामेरा प्राप्त गरेको र त्यसमा निर्माताको नाम थियो वा थिएन भन्नेमा आफू निश्चित नभएको बताएकी थिइन्।[५] ओलिभरका दाबीहरू ओलिभर स्टोनको सन् १९९१ को चलचित्र जेएफकेको एक दृश्यको आधार बनेका थिए जसमा "बेभर्ली" नामको पात्रले डालसको एक नाइटक्लबमा जिम ग्यारिसनलाई भेट्छिन्।[६] लोलिता डेभिडोभिचद्वारा अभिनित सो पात्रलाई 'डिरेक्टर्स कट' संस्करणमा डिली प्लाजामा टाउकोमा रुमाल बाँधेको र आफूले खिचेको फिल्म एफबिआई आयुक्त बताउने दुई व्यक्तिलाई दिएको कुरा गरिरहेको देखाइएको छ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- के बेभर्ली ओलिभर नै "बबुस्का लेडी" हुन्? मार्केट विश्वविद्यालय रिट्जस, डेभ (अक्टोबर ३१, २००१)
द जेएफके १००: ओलिभर स्टोनको हत्या सम्बन्धि चलचित्रमा तथ्य र निर्णयका १०० त्रुटिहरू: बेभर्ली ओलिभर
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Muchmore frame", मूलबाट मार्च ९, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ९, २००३।
- ↑ "Zapruder Frame 285", मूलबाट सेप्टेम्बर २३, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १७, २००५।
- ↑ "JFK Assassination Films", Jfk-online.com, मूलबाट फेब्रुअरी २५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०३।
- ↑ "JFK Assassination Films", Jfk-online.com, मूलबाट फेब्रुअरी २६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-१२-०३।
- 1 2 3 4 5 6 Bugliosi, Vincent (२००७), Reclaiming History: The Assassination of President John F. Kennedy, New York: W. W. Norton & Company, पृ: १४०५, आइएसबिएन 978-0-393-04525-3।
- ↑ Stone, Oliver; Sklar, Zachary (१९९२), "JFK: The Documented Screenplay", JFK: The Book of the Film : The Documented Screenplay, New York: Applause Books, पृ: 119–121, आइएसबिएन 9781557831279, अन्तिम पहुँच जुन ७, २०१२।