बलात्कारको इतिहास
बलात्कार अर्थात् कुनै व्यक्तिलाई उसको मञ्जुरी विना नै यौन क्रियाकलाप गर्न बाध्य गरिने कृत्य मानव इतिहास देखि नै विद्यमान छ। यो तथ्य पुरातात्विक एवं पौराणिक शास्त्र, आख्यान, समाचारपत्र, कानून र साँस्कृतिक पुस्तकहरूमा पर्याप्त मात्रामा उल्लेख गरिएको छ। बलात्कारको इतिहाँसबारे बुझ्दा नै यसलाई मानव समाज र समुदायले समयसँगै कुन रूपमा हेर्दैछ र सम्बोधन गर्दैछ भन्ने कुरा आँकलन गर्न सकिन्छ।
प्राचीन समय
[सम्पादन गर्नुहोस्]प्राचीन समयमा, बलात्कारलाई केवल रतीक्रिया मात्र नभएर व्यक्तिको शक्ति र नियन्त्रणसँग पनि जोडिने गरिन्थ्यो। प्राचीन मेसोपोटामिया (हाल इराक) मा करिब १७५० इ.पू मा बलात्कार गर्नेलाई सजाय दिने कानूनी व्यवस्था गरिएको थियो। तर, बलात्कारीलाई दिइने सजाय भने पीडितको स्तर (जस्तै: पीडित विवाहिता हुन् या दासी हुन्) मा निर्भर गर्दथ्यो। [१] प्राचीन युनान र रोममा, बलात्कारलाई पीडित महिला विरूद्ध गरिएको अपराध मानिँदैनथ्यो तर ती महिलाको परिवार वा लोग्नेका विरूद्धको अपराध मानिन्थ्यो। उदाहरणको लागि, रोमन कानूनले बलात्कारलाई पुरूषको सम्मानका विरूद्ध सम्पत्तिको उल्लङ्घन मान्ने गर्थ्यो। [२]
कतिपय प्राचीन संस्कृतिमा, महिलाहरूलाई कुनै किसिमको कानूनी सुरक्षा थिएन। जबसम्म बलात्कारले पुरूषको सामाजिक प्रतिष्ठामा कुनै हानी पुर्याउँदैन, तबसम्म बलात्कारलाई प्राय बेवास्ता नै गरिन्थ्यो। यद्यपि, प्राचीन इजरायलमा भने यौन हिंसाका विरूद्धमा कडा नियमहरू बनाइएका थिए। हिब्रु बाइबलका अनुसार कतिपय अपराधीहरूलाई त मृत्युदण्डको सजाय नै दिइन्थ्यो।[३]
मध्य युग
[सम्पादन गर्नुहोस्]मध्य युग (५००-१५०० इस्वी संवत्) को समयमा पनि बलात्कारलाई सम्पत्ति र सम्मानको दोषी चश्माबाट हेर्ने गरिन्थ्यो। यूरोपको सामन्ती कानूनले महिलाहरूलाई आफ्ना पिता वा पतिको सम्पत्तिको नजरले हेर्ने गर्थ्यो। यद्यपि बलात्कारलाई अपराध मान्न थालिएको भए पनि सजाय भने दोलायमान थियो। निम्नवर्गीय मानिसहरूले बलात्कार गर्दा मृत्युदण्डको सजाय दिइन्थ्यो भने कुलीन व्यक्तिहरूले त्यही अपराध गर्दा रातारात नियम, कानून र सजाय परिवर्तन हुन्थ्यो।[४]
कुरान र हदीसमा आधारित इस्लामी कानूनमा बलात्कारको निन्दा गरिएको र कठोर दण्डको व्यवस्था गरिएको थियो। तर धेरै साक्षीको आवश्यकता पर्ने हुँदा प्रमाण पेश गर्न असम्भवप्राय: हुन्थ्यो।[५] मध्ययुगीन विभिन्न संस्कृतिहरूमा, पीडितहरूले प्रायः लज्जाको सामना गर्नुपर्थ्यो र सामाजिक कलङ्कका कारण बलात्कारको उजुरबाजुर गर्नु दुर्लभ थियो।
प्रारम्भिक आधुनिक अवधि
[सम्पादन गर्नुहोस्]सन् १५००-१७०० सम्ममा, यूरोपका कानूनी प्रणालीहरू परिवर्तन हुन सुरू भए। बलात्कारलाई पारिवारिक सम्मान मात्र नभई व्यक्ति विरुद्धको अपराधको रूपमा बढ्दो रूपमा चित्रण गर्न थालियो। इङ्गल्यान्डमा, बलात्कारलाई सामान्य कानून अन्तर्गत मृत्युदण्डको अपराधको रूपमा लिन सुरू गरिएपनि पीडकको दोष सिद्ध गर्नु दुर्लभ थियो किनभने पीडित महिलाले शारीरिक सम्पर्क राख्न प्रतिरोध गरेको साबित गर्नु पर्दथ्यो। [६] अमेरिका लगायतका औपनिवेशिक मुलुकहरूले पनि बलात्कारलाई अपराध मान्ने कानूनलाई अपनाए तर दासी महिलाहरूको लागि भने यो कानूनलाई असमान रूपले लागू गरे। [७]
आधुनिक समय
[सम्पादन गर्नुहोस्]१९ औं र २० औं शताब्दीमा भएका केही सामाजिक आन्दोलनहरूले बलात्कार सम्बन्धी पुराना विचारधाराहरूलाई चुनौती दिन थाले। विशेष गरी अमेरिका र युरोपमा सन् १९७० को दशकका नारीवादी कार्यकर्ताहरूले बलात्कार पीडितहरूलाई संरक्षण गर्ने र बलात्कारलाई व्यक्तिको स्वायत्तता विरूद्धको गम्भीर अपराधको रूपमा व्यवहार गर्ने कानूनी व्यवस्था गर्न माग गरे।[८]इतिहासमा महिलाहरूलाई दमन र नियन्त्रण गर्नका लागि बलात्कारलाई कसरीप्रयोग गरिन्थ्यो भन्ने कुरा सन् १९७५ मा सुसान ब्राउनमिलरद्वारा लिखित अगेन्स्ट आवर विल (Against our Will) बाट पनि थाहा पाउन सकिन्छ।
आज, रुवान्डा नरसंहारमा देखिए जस्तो बलात्कारलाई हतियारको रूपमा प्रयोग गर्ने युद्ध तथा अन्य किसिमका यौन हिंसाका घटनाबाट नारीहरूको अस्मिता जोगाउन संयुक्त राष्ट्र संघ लगायतका सङ्गठनहरूले काम गर्दै आइरहेका छन्। [९] आजको कानून विशेषतः शारीरिक सम्पर्क गर्नु अघि महिला वर्गको सहमति वा मञ्जुरी भए नभएको बारेमा केन्द्रित रहन्छ। आज सहमति विनाको पतिपत्नी बीचको शारीरिक सम्पर्कलाई पनि बलात्कार मानिन्छ। अत: विश्वव्यापी रूपमा बलात्कार धेरै नै पेचिलो विषय बन्दै जाँदैछ जसका कारण यस सम्बन्धी नीति नियमको व्यवस्था र धेरै हदसम्म त्यसको प्रभावकारी कार्यान्वयन पनि हुँदैछ। यद्यपि हदम्यादको कारण कतिपय बलात्कार समयमै उजुरी नहुने समस्या पनि छ।
प्रभाव र विरासत
[सम्पादन गर्नुहोस्]बलात्कारको इतिहासले यसलाई सम्पत्ति सम्बन्धी अपराध मान्ने देखि लिएर मानवअधिकारको उल्लङ्घनको रूपमा हेर्ने तर्फको एउटा सकारात्मक परिवर्तनलाई दर्शाउँछ। लैङ्गिक समानतामा भएका प्रगतिका बावजुद पनि साँस्कृतिक दृष्टिकोण र कानूनी कमीकमजोरीले अहिले पनि पीडितहरूको लागि न्याय पाउन मुश्किल बनाइरहेको छ। यो इतिहासलाई बुझेर नै समाजमा पीडितका लागि थप प्रभावकारी र गुणस्तरीय कानून एवं सहायता प्रणाली विकास गर्न सहयोग पुग्ने देखिन्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Lerner, Gerda. The Creation of Patriarchy. Oxford University Press, 1986, pp. 80-82.
- ↑ Brownmiller, Susan. Against Our Will: Men, Women, and Rape. Simon & Schuster, 1975, pp. 18-20.
- ↑ Sanday, Peggy Reeves. Women at the Center: Life in a Modern Matriarchy. Cornell University Press, 2002, pp. 45-47.
- ↑ Brundage, James A. Law, Sex, and Christian Society in Medieval Europe. University of Chicago Press, 1987, pp. 124-129.
- ↑ Ahmed, Leila. Women and Gender in Islam. Yale University Press, 1992, pp. 66-68.
- ↑ Brownmiller, Susan. Against Our Will: Men, Women, and Rape. Simon & Schuster, 1975, pp. 25-27.
- ↑ Block, Sharon. Rape and Sexual Power in Early America. University of North Carolina Press, 2006, pp. 15-20.
- ↑ Freeman, Jo. The Politics of Women’s Liberation. Longman, 1975, pp. 90-95.
- ↑ Nowrojee, Binaifer. Shattered Lives: Sexual Violence during the Rwandan Genocide. Human Rights Watch, 1996, pp. 12-15.