सामग्रीमा जानुहोस्

बलात्कारको प्रभाव र परिणाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बलात्कार पीडितको मनको गहिराइसम्म असर गर्ने एक किसिमको दर्दनाक एवं पीडादायी चोट तथा मानसिक आघात बनेर बस्न पुग्छ। बलात्कृत व्यक्तिलाई शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा सामाजिक दृष्टिले पुन: बलियो हुन धेरै गाह्रो हुन्छ। बलात्कारबाट पीडित हुनेहरूले समाजको लाञ्छना सहनुपर्ने, उजुरी गर्न परिवारले नै निषेध गर्ने र आफ्नो पूर्ववत अवस्थामा फर्किन निकै नै जटिल चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ। पीडितलाई साथ दिन र उसमाथि पीडकले गरेको ज्याजतिबाट विकसित भएको मानसिक अशान्तिलाई चिर्नको लागि बलात्कारका असरहरू बुझ्नु आवश्यक हुन्छ।

शारीरिक प्रभाव

[सम्पादन गर्नुहोस्]

बलात्कारका शारीरिक प्रभावहरूमा तत्कालै देखिने असर देखि लिएर आजीवन रहिरहने असरहरू पनि पर्दछन्। बलात्कृत माथि भएको हिंसाको स्तर अनुसार पीडितलाई सामान्य घाउचोट लाग्ने देखि लिएर हाडजोर्नी भाँचिने, छाला च्यातिने, यौनाङ्गमा चोट जस्ता जटिल समस्या पनि देखिन सक्छन्। बीबीसीका अनुसार पीडितले तुरून्त चिकित्सकीय सावधानी माग गर्ने यौन प्रसारित रोग, अनिच्छित गर्भ जस्ता स्वास्थ्य समस्या ब्यहोर्नुपर्ने पनि हुन सक्छ।[]पीडितले दुखाइ, असुविधा र दीर्घकालीन प्रजनन् स्वास्थ्य समस्याहरू व्यहोर्न सक्छन् जसको लागि निरन्तर हेरचाह आवश्यक पर्दछ। सन् २०१६ मा सीएनएनले सार्वजनिक गरेको प्रतिवेदनले यस्ता जोखिमहरूलाई कम गर्न पीडितहरूका लागि आपत्कालिन गर्भनिरोधक र यौनरोग परीक्षण सहितको समयमै चिकित्सा हेरचाह गर्नु महत्त्वपूर्ण हुने कुरा प्रकाश पारेको थियो।[]

मनोवैज्ञानिक प्रभाव

[सम्पादन गर्नुहोस्]

बलात्कारको मनोवैज्ञानिक प्रभाव गहिरो हुन्छ। बलात्कार पछि बाँचेकाहरूले प्रायः पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD), चिन्ता, उदासिनता र आत्महत्याका विचारहरू अनुभव गर्छन्। सन् २०१८ को अल जजिराको लेखमा उल्लेख गरिएको छ कि धेरै पीडितहरू पूर्व स्मृति, दुःस्वप्न र व्यापक डरको भावनाबाट ग्रस्त हुन्छन्, जसले उनीहरूलाई वर्षौंसम्म दैनिक जीवनमा बाधा पुर्‍याउन सक्छ।[] लज्जा, अपराधबोध र आत्म-दोषका भावना आउनु सामान्य नै भए तर त्यसमाथि सामाजिक कलङ्कको टिका पनि उनीहरूको निधारमा थपिन पुग्छ। यस्ता मनोवैज्ञानिक असरहरूले पारिवारिक तथा वैवाहिक सम्बन्धमा टकराव आउनुका साथै दैनिक काम गर्नमा समस्या हुने र मानसिक स्वास्थ्य पनि बिग्रन पुग्छ। त्यस्ता मानसिक समस्याबाट बाहिर निस्कन केही पीडितहरूले छोटो र केहीले लामो समयसम्म चिकित्सकीय परामर्श वा थेरापीको सहायता लिनुपर्ने हुन सक्छ।

सामाजिक प्रभाव तथा पीडितमाथी दुर्व्यवहार

[सम्पादन गर्नुहोस्]

समाजशास्त्रीय रूपमा, बलात्कार पीडितहरूले प्रायः कलङ्क, दोष र बहिष्कारको सामना गर्छन्। सन् २०२० को डिडब्ल्यु न्युजको एउटा प्रतिवेदनले पीडितको व्यवहार वा पहिरनमाथि प्रश्न उठाउने, पीडितलाई दोष दिने जस्ता मनोवृत्तिले बलात्कार संस्कृतिलाई योगदान पुर्‍याउँछ भन्ने कुरामा जोड दिएको थियो। यस किसिमको दुर्व्यवहार परिवार, समुदाय वा संस्था भित्र हुन सक्छ जसले पीडितहरूलाई मद्दत खोज्न निरूत्साहित गर्दछ।[] ब्रेनमेन सेन्टरले सन् २०१६ मा तयार गरेको अमेरिकी न्याय विभागको प्रतिवेदनले अमेरिकामा ८०% सम्म बलात्कारका घटनाहरू सामाजिक परिणामहरूको डरले उजुरी गरिँदैनन् भनेको छ जसमा कुटपिट, साइबरबुलिइङ् र कानूनी कारवाहीको क्रममा गोपनीयता गुमाउने जस्ता समस्याहरू पर्दछन्।[]

बलात्कारको उजुरी

[सम्पादन गर्नुहोस्]

बलात्कारको उजुरी गर्नु एक कठिन प्रक्रिया हो। पीडितहरूले आफ्नो चिकित्सकीय परीक्षण गराउनुका साथै र प्रहरीहरूसँगको अन्तर्वार्तामा आफूमाथि भएका घटनाहरूको बेलिविस्तार लगाउनुपर्ने अवस्थाबाट गुज्रनु पर्छ। त्यस्तो अन्तर्वार्ता आक्रामक हुनुका साथै त्यसले पीडितलाई पुन: आघात परेको महसुस हुन सक्छ। सन् २०१९ को बीबीसीको एउटा लेखले बलात्कारबाट पीडित भएकाहरूमा रहने डरले प्रायः महिलाहरूलाई उजुरी गर्न बाट रोक्छ भन्ने कुरालाई प्रकाश पारेको थियो। पीडितहरूमा त्यस किसिमको डर विशेष गरी परिचित व्यक्तिद्वारा बलात्कारका घटनाहरूमा हुने गरेको पाइएको छ। कानूनी प्रणालीहरूले पीडितहरूको विश्वसनीयतालाई चुनौती दिँदै पीडितहरूमाथी नै गहन छानबिनको आदेश दिन सक्दछन्। बलात्कार सम्बन्धी समाचारमा गोपनियता नभएको समाचारको प्रकाशनलाई प्रतिबन्ध गर्ने तथा बलात्कार कवच कानून जस्ता सुरक्षात्मक उपायहरू पीडितहरूलाई सुरक्षा दिन केही देशहरूमा बनाइएका पनि छन्, तर तिनीहरूको प्रभावकारिता भने फरक-फरक हुन्छ, जुन २०२१ को अल जजिराको प्रतिवेदनमा उल्लेख गरिएको छ।

बलात्कारको घटनाबाट पुन: स्वास्थ्य लाभ

[सम्पादन गर्नुहोस्]

बलात्कारको घटनाबाट मुक्ति एक बहुआयामिक यात्रा हो। मनोवैज्ञानिक आघातलाई सम्बोधन गर्न परामर्श र सहयोग समूहहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्। संज्ञानात्मक व्यवहार चिकिस्ता (सीबीटी) जस्ता उपचारहरूले बलात्कार भएर पनि बाँचेकाहरूको आघात प्रशोधन गर्न र आत्म-सम्मान पुनर्निर्माण गर्न मद्दत गर्दछ। सामुदायिक साथ, सहयोग र सहारा, सुरक्षित स्थानमा बसोबास एवं बलात्कार पीडितहरूको अधिकार समूहबाट वकालत जस्ता कार्यहरू बलात्कार पीडितको जीवनलाई पुर्वावस्थामा ल्याउन महत्वपूर्ण सावित हुन सक्छन्। यद्यपि पीडितले पुर्ववत् स्वस्थ अवस्थाको अनुभव गर्न लाग्ने समय फरक-फरक हुन्छ र केही पीडितहरू आजीवन मानसिक अशान्तिलाई च्यापेर बस्न विवस् बन्छन्। स्रोतसाधनको पर्याप्तता, साँस्कृतिक विचारधारा एवं व्यक्तिगत रूपमा साथ सहयोग गर्ने प्रणालीहरूले पनि पीडितको स्वास्थ्य अवस्था एवं सामान्य जनजीवनमा पुनरावृति ल्याउन सहयोग गर्ने विज्ञहरूको राय छ।

बलात्कारको प्रभाव उक्त कृत्यभन्दा अधिक हुनुका साथै यसबाट पीडित महिलाको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक प्रतिष्ठा माथि पनि असर पर्दछ। पीडितलाई उल्टै दोषी ठहर्याउने र अपर्याप्त कानूनी सुरक्षा प्राप्त हुने जस्ता प्रणालीगत मुद्दाहरूले आघातको आगो माथी घिउ थप्ने कार्य गर्दछ। जनचेतना फैलाउने, चिकित्सकीय एवं मनोवैज्ञानिक हेरचाहलाई बढावा दिने र सहायोगी सामाजिक दृष्टिकोणलाई बढ़ावा दिनाले पीडितहरूलाई ठीक हुने र आफ्नो जीवन पुनः प्राप्त गर्न मद्दत गर्ने दिशातर्फ एउटा महत्वपूर्ण कदम सावित हुन सक्छ। शिक्षागत र नीतिगत सुधारको माध्यमबाट बलात्कार संस्कृति तथा यसको विनाशकारी परिणामलाई कम गर्नु आजको आवश्यकता बनेको छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Sexual violence leaves lasting physical and psychological scars", BBC News (अङ्ग्रेजीमा), २०१९-०५-१५, अन्तिम पहुँच २०२५-०८-२९[स्थायी मृत कडी]
  2. "Surviving sexual assault: The long road to recovery", CNN (अङ्ग्रेजीमा), २०२२-०४-२०, अन्तिम पहुँच २०२५-०८-२९
  3. "The global toll of sexual violence on survivors", Al Jazeera (अङ्ग्रेजीमा), २०१८-११-२५, अन्तिम पहुँच २०२५-०८-२९[स्थायी मृत कडी]
  4. "Rape culture: How victim-blaming perpetuates violence", DW News (अङ्ग्रेजीमा), २०२०-०३-०८, अन्तिम पहुँच २०२५-०८-२९[स्थायी मृत कडी]
  5. "Sexual Assault Remains Dramatically Underreported", www.brennancenter.org (अङ्ग्रेजीमा), Brennan Center for Justice, अन्तिम पहुँच २०२३-१०-०५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]