बादी समुदाय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

बादी ससमुदाय वा बादी जाती नेपालमा बसोवास गर्ने खस समुदाय को एक हाङा हो । अल्पसंख्यकको रूपमा चिनिने बादी समुदाय नेपालका ७५ जिल्लामध्ये ७२ जिल्लामा ९ हजारको संख्यामा बसोबास गर्दै आएको तथ्याङ्कमा पाइएको छ। दाङमा भने तुलसीपुर नगरपालिकामा करिब ६५०, घोराही नगरपालिकामा करिब १२ सय र दाङका ३९ गाविसमा गरी बादी समुदायको संख्या जम्मा चार हजारको हाराहारीमा रहेको छ। भने सल्यानको छ्त्रेस्वरिमा पनि केही संख्यामा बादी बस्ती रहेको छ ।

जातिय परम्परा[सम्पादन गर्ने]

बादीहरू १४ औं शताब्दीतिर भारतबाट सल्यान हुँदै रुकुम, रोल्पा , जाजरकोटदैलेखमा बसोबास गर्न आइपुगेको बताइन्छ। जतिबेला उनीहरूको मुख्य पेशा थियो– चाडपर्व, विवाह–ब्रतबन्ध, भोज–भतेर आदि अवसरमा राजामहाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्नु। त्यसबापत बक्सिस्मा प्राप्त हुने जग्गा–जमिन, घर अनि नगद–जिन्सीबाट उनीहरूको गुजारा चल्थ्यो। राणाशासनको अन्त्यपछि भएको रेडियो, टेपरेकर्डर, सिनेमा आदिको लहरले उनीहरूको त्यो परम्परागत पेशा खोसिन थाल्यो। त्यो अवस्थामा गाउँका सामन्त–धनाढ्यहरूलाई बादी महिलाको अस्मितामा खेल्न सजिलो भयो र अन्ततः उनीहरू मध्य केहि जीविकाको लागि यौन पेशा अँगाल्न बाध्य भए। त्यसै क्रममा उनीहरू नेपालगञ्ज, घोराही, तुलसीपुर जस्ता तराईका घनाबस्तीमा बसाइँ सर्न थाल्दा नयाँ परिवेशमा विभिन्न पेशामा लाग्न थाले । बाबादिरुको आफ्नै भाषा हुन्छ । बालक जन्मेमा बार्ने परम्परा छैन । बिवाह इच्छा अनुसार गर्ने बादी बादिनिहरूमा बिवाह अघि नै जन्मेका केटाकेटीलाई अपेक्षा गरिदैंन । युवाहरू मादल बजाउँछ्न् तर वृद्ध भएपछी तबला, ढोलमुरली आदि बनाउने काम गर्दछ्न् । यिनिहरूमा मृतकलाई गाड्ने र ३ दिनमा नै चोखिने परम्परा बिद्दमान छ ।

जातिय पिडा[सम्पादन गर्ने]

बादी अल्पसङ्ख्यक जातिहरूमध्येको एक समुदाय हो । जसले अन्य अल्पसङ्ख्यक जातिहरूले जस्तो स्वच्छन्दपूर्वक प्रकृतिको काखमा लुटपुटिएर आफ्नो जातीय पहिचान बचाएको पाइँदैन । यिनीहरूको अस्मितासँग सस्तो मूल्यमा जो कसैले पनि खेल्न सक्छ । हरेक उद्देश्यका मानिसहरू बादी जाति रहेको बस्तीमा पुग्ने गर्छन् । राम्रा नराम्रा सबै किसिमका मानिसहरूको नजर बादीमाथि परेकै छ। राजा रजौटाको समयमा कुन राजा र भारदारहरूका बैठकमा बादी युवतीहरूको नृत्य भएन होला । बादी पुरुषहरूले बनाएको उम्दा मादल मध्यपश्चिमी नेपालको कुन जातिको लोकगीतमा घन्केन होला । तर, तिनै नृत्य कुशल बादी युवतीहरू, उम्दा मादल बनाउने बादीहरूका अस्तित्व नै आजभोलि संकटमा छ । विकासको त्यो कुन प्रक्रिया हो, जसले सरल सोझा गरीब बादीहरूलाई ‘शरीर बेच्ने संस्कृतिमा रूपान्तरण गरिदियो ? र नाचगानमा रम्ने बादीहरूलाई रेडियो, टिभी, सिनेमा, अडियो र भिडियो सेन्टरको नजिक पुग्न दिएन । पत्रकार, उपन्यासकार , कथाकार र मानवशास्त्रीहरूले बादीको मुहार, रहन सहन, नातागोता, जन्मदेखि मृत्युसम्मका संस्कारसम्बन्धी, बादी युवतीहरूका प्रणयगाथाहरू, शोधग्रन्थ लेखेर आफ्नो विद्वताले संसारलाई झस्काएका छन् । बुद्धिजीवीहरूले बादीहरूका बाहिरको छाला देखेका छन् त्यसैको बारेमा लेख्ने गरेका छन् । तर, त्यो छाला तल पनि थुप्रै पत्र छ– मासु छ, रगत छ, आत्मा छ । मात्र नाचगान मोजमस्ती छैन । एउटा बादीको छाप्रो कसरी भत्किन्थ्यो ? उसले पारेको रक्सी कसरी प्रहरी र जमीनदारहरूले लुटेर खाई दिन्थे ? उसकी छोरीको इज्जत कति सहजसँग लुटिन्थ्यो ? बादी युवतीहरू अझ जीवनभरिका लागि विकसित यान्त्रिकी सभ्यतामा हुर्केका बाबुसाहेबहरूको शारीरिक भोकशान्त पार्ने बजारको वस्तु बन्न पुग्छन् । ब्यथा बुझेर बुझी साध्य छैन । बादी समुदायका महिला समाजको गलत दृष्टिमा बाँच्न बाध्य छन् ।[१]आफ्नो आवाज सुनाउन, हामी पनि नेपाली हौं, हामीलाई पनि हक र अधिकार चाहियो, हाम्रो बादीजातिको संरक्षण र सुधार होस् भनेर बादीजातिहरू आन्दोलन गर्दै यसरी सिंहदरवारको ढोका उक्लन आइपुगेका थिए । हामी नांगियुँ कि हामीलाई राज्यले हेर्छ भनेर बादीहरूले यसरी नांगिन थालेपछि सरकारले यिनको आवाज सुन्न थाल्यो । तर अहिले पनि यौन पेशाले पेट पाल्न बाध्य छन् धेरै बादीहरू । केही बादी समुदायलाई सामाजिकीकरण गर्न सुरुआत त गरियो, तर यिनलाई राज्यसम्मको पहुँच र समानता र समानुपातिक अधिकार दिलाउन कुनै पनि पार्टि सरकारले ध्यान दिएन । दाङ्देखि सुदूरपश्चिम नेपालसम्म झण्डै ७० हजार बादी समुदाय छन् । तिनको पानी चल्दैन, समाजले तिनलाई हेला गर्छ । तर सरकारी कर्मचारीदेखि उपल्ला जातिसम्म सबैले तिनलाई भोग गर्छन्, तिनको शरीर चाहिं चल्छ । पानी नचल्ने निच जाति भनेर अपहेलाना गरेका बादी जाति अहिले पनि अधिकांश यौन बेचेर पेट पाल्न बाद्य छन् । केहीमा सुधार आएको छ । तिनका घर छैनन्, जग्गा जमिन छैन, जवानी बेच्दा बेच्दा जन्मेका बिना बाउका बालबालिकालाई राज्यले सहर्ष स्वीकार गरेको छैन । कतिले नागरिकता पनि पाउन सकेका छैनन् । बादी जाति, प्रत्येक महिलाको समस्या हो । आज पनि बादी जाति रोग, भोक र शोकमा डुबेका छन् ।[२]

हालको अवस्था[सम्पादन गर्ने]

नेपालमा चलेको जनयुद्ध र शान्ति प्रक्रिया सुरु भएपछि पनि कतिपय समस्याहरू असरल्ल परेका अवस्थामा बादी जाति महिला काठमाडौंको संसदभवन अगाडि आएर महिनौ धर्ना दिएर आफ्ना मागहरू राखेका थिए । त्यतिबेलाको सरकारलाई आन्दोलनकर्मी वादी महिलाहरूको तर्फबाट २६–बुँदे माग पत्र बुझाइएको थियो । त्यतिबेला २३ जिल्लाहरूबाट ५०० बादी आन्दोलनकर्मीहरू राजधानी सहर काठमाडौंमा ओर्लिएका थिए । तर सरकारले त्यसलाई त्यति महत्व दिएको थिएन । आन्दोलन त यतिसम्म पनि चर्किएको थियो कि तात्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उमादेवी बादीलाई बालुवाटारमा बोलाएरै आन्दोलन स्थगित गर्न अनुरोध गर्दै उनीहरूका मागहरू पूरा गर्ने वचन दिएका थिए ।[३] त्यस पछि उमादेवी बादी सभामुख भए पछि प्रत्यक जिल्लाका बादीहरूलाई सरकारले बस्ने घर र जमिन उपलब्ध गराएको छ र अहिले प्राय बादीनीहरूले योन पेसालाई छोडेर अन्य पेसा अपनाएका छन् । कसैले खेति पाति कसैले पशुपालन गरेका छन् । अझैं पनि समाजले उनिहरूलाई राम्रो दृष्टीले हेर्दैन भन्ने बादीहरूको गुनासो रहेको छ ।[४]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]