बिसे नगर्चीको बयान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कवि श्रवण मुकारुङको कविता


म यो गोरखा राज्यमा

अढाई सय वर्षपछि बौलाएँ ।

मेरो टाउको फनफनी घुमिरहेछ

जमीन आकाशतिर

आकाश जमीनतिर भइरहेछ

आँखा तिर्मिरतिर्मिर भएर

हजुरको शिर दसवटा देखिरहेछु

खोई मेरो पैताला कहाँनिर छ -

कहाँनिर छ बिसे नगर्ची -

मालिक !

म बौलाएँ ।

मैले त महाराजको सेवा गर्नुपर्ने

इतिहासको रक्षा गर्न

यो गोरखकालीको पाउ छोएर

नुनको सोझो हुनुपर्ने

अर्ढाई सय वर्षछि आज के भयो मलाई -

यो बिसेलाई दशा लाग्यो मालिक !

म बौलाएँ ।

नाथे मेरी स्वास्नी हो मारिएकी

नाथे मेरी छोरी न हो बलात्कृत भएकी

नाथे यो बिसेको झुप्रो न हो जलाईएको

यत्तिमै यो बिसे उफ्रिनुपर्ने- थुइक्क बिसे... ।

म बौलाएँ मालिक !

म बौलाएँ ।

मेरो हात भाँचियो

अब म हजुरका भारदारहरूलाई

लवेदा सिउन सक्तिनँ

नर्सिङ्गा फुक्न/सनाई बजाउन

अथवा कुनै मङ्गलगान

वा मृत्युगीत गाउन सक्तिनँ

मेरो खुट्टा भाँचियो

अब म हजुरको राज्यको पहरा गर्न सक्तिनँ

मेरो दिमागै ठीकमा छैन

अब म ठिक्कले बोल्न सक्तिन

मालिक ! म बौलाएँ ।

मालिक !

यो गोरखा राज्यअघि उभिएका

हिजोका ती अग्लाअग्ला पहाडहरू आज कसरी यस्तरी होचाहोचा भए -

हिजोका सग्ला र कल्कलाउँदा

यहाँका मानिसहरू

आज कसरी यस्तरी खुनी र कुरूप भए -

यो दरौदी किन उल्टो बगेको देख्छु -

यो दरबारै किन खण्डहरजस्तो देख्छु -

म बौलाएँ मालिक ! म बौलाएँ ।

मालिक !

हजुरको तरबारले

टाउको काट्छ कि फूल -

भ्रममा परें म

हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे -

भ्रममा परें म

यस राज्यलाई प्रजाले बनायो कि राजाले

भ्रममा परें म

अर्ढाई सय वर्षेखि म तपाईसमक्ष छु मालिक !

म कसरी आतङ्ककारी हुनसक्छु -

म केवल बौलाएँ मालिक !

बौलाएँ ।

हो मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला

रक्सी खाएर

यो देश मैले पनि आर्जेको छु भने हुँला

भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनें हुँला

मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई

मेरो नाङ्गो आङ देखाएँ हुँला

बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरें हुँला

मालिक !

मान्छे बौलाएपछि आफैंसित पनि निहँु खोज्दोरहेछ

अर्ढाई सय वर्षेखि मैले तुनेका थाङ्नामा हर्ुर्केका

मेरा दरसन्तानहरू कहाँकहाँ पुगे -

मैले खोज्न चाहें हुँला

मेरा औंलामा खोपिएका छ्यान्द्रा र

बगेका रगतहरूले मलाई उक्साए

तरबारले आर्जेको मुलुकभन्दा

मैले धागोले उनेको मुलुक विशाल ठानें हुँला

मालिक !

यस माटोको इतिहाससँगै म हजुरको

राष्ट्रमा छु

म कसरी अराष्ट्रिय हुनसक्छु -

म साँच्चै बौलाएँ मालिक !

साँच्चै बौलाएँ ।

मेरो टाउको फनफनी घुमिरहेछ

जमीन आकाशतिर

आकाश जमीनतिर भइरहेछ

आँखा तिर्मिरतिर्मिर भएर

हजुरको शिर दसवटा देखिरहेछु

खोई मेरो पैताला कहाँनिर छ -

कहाँनिर छ बिसे नगर्ची -

मालिक ! म बौलाएँ ।