बिहा (कथा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


दोषी चश्मा कथासंग्रह
लेखकविश्वेश्वरप्रसाद कोइराला
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विधाकथा
प्रकारसामाजिक, यौन मनोविज्ञान
प्रकाशकसाझा प्रकाशन
प्रकाशन मिति
२००६ साल
पृष्ठहरू१०४ पृष्ठ

बिहा साहित्यकार बिपी कोइरालाद्वारा लेखिएको मौलिक मनोवैज्ञानिक कथा हो । यो कथा साझा प्रकाशनले विसं २०३२ सालमा प्रकाशित दोषी चश्मा कथासंग्रह‎मा संग्रहित गरिएको छ । करिब पाँच पृष्ठमा समेटिएको कथा बिहा, एउटा प्रथम पुरूष दृष्टिबिन्दु प्रयोग गरेर लेखिएको कथा हो । यस कथामा मपात्र बाहेक सुब्बा कटकबहादुर र हरिमतीलाई मुख्यपात्रको रूपमा उतारिएको छ । पछिल्ला दुई पात्रहरूकै वरिपरि कथा केन्द्रित भएको भएपनि यी दुबै पात्रहरूको भुमिका भने गौण रहेको छ । कटकबहादुर र हरिमती अनमेल विवाह पछि मपात्रको मनमा उत्पन्न भावनाहरूलाई नै कथाकारले यस कथामा उतारेका छन् । प्रथम श्रीमतीको मृत्यु भएपछि सुब्बा कटकबहादुरले दुई छोराको स्याहार गर्न र घर व्यवहार चलाउन भन्दै मात्र चौध वर्षकी हरिमतीलाई विवाह गरेको सुनेपछि मपात्रलाई आफू पहिला जन्ती गएको एक अनमेल विवाहको सम्झना हुन्छ । व्यग्र भएर दुलाहाको रूपहेर्न बसेका उनी र गाउँका स्वास्नीमानिसहरूलाई खिन्न पार्दै त्यतिबेला एउटा छिप्पीएको दुलाहा निस्कीएको थियो । दुनियाँको मन खिन्न बनाएर दुलाहा भएको उ गजक्क पर्दै हात्तीमा चढेर दुलही लिन हिडेको थियो । जन्ती जान हिडेको बेलामा मपात्रले ती दुलाहाले दुई टुहुरा छोराहरूको स्याहार गर्न र घर व्यवहार चलाउन विवाह गर्न वाध्य भएको थाह पाउँछन् । त्यसपछि उनको मनमा दुलहीको बारेमा तर्कना आउँछ । दुलाहाको त घर चलाउनु थियो, ती सानासाना केटाकेटीहरूलाई हेरिदिने मानिस ल्याउनु थियो र विवाह गरे । तर यिनको घर चलाउने र यिनका छोराछोरीलाई हेरिदिन आउने दुलही कस्ती होलिन ? उनले २५/३० वर्षकी, घर व्यवहारको काममा निपुण, बढेका दुई छोरालाई हेर्न सक्ने, दुलाहाको सारा व्यवहार थाम्न सक्ने दुलहीको कल्पना गरेका थिए । तर जब २/३ जना स्वास्नी मानिहरूले समातेर लुगाले छोपिएकी सानी बालिकालाई दुलही भन्दै मण्डपमा ल्याए उनलाई विरक्त लाग्यो । कसरी एउटी १४ वर्षकी बालिकाले दुलाहाको घर थाम्लिन् र उनका छोराहरूको हेरबिचार गर्न सक्लिन् ? ती बालिका दुलाहाको घरमा कसरी बस्लिन ? उनको र दुलाहाको सम्बन्ध कस्तो रहला ? जस्ता अनेकौं प्रश्नले मपात्रको मन भारी हुन्छ । त्यसपछि उनलाई कुनै विवाहमा जन्ती जाने साहस अाउँदैन । सुब्बा कटकबहादुरले मात्र चौध वर्षकी हरिमतीलाई विवाह गरेको सुनेपछि मपात्रलाई त्यो पुरानो घटना स्मरण भएको थियो । त्यसछि उनी हरिमतीको बारेमा सोच्न थाल्छन् । हरिमतीले कस्तो दुलाहाको कल्पना गरेकी थिई होला ? जवान कि कटकबहादुर जस्तै छिप्पिएको ? कि आफू जस्तै सानो केटो ? यस्तै विभिन्न कल्पना गर्दा गर्दै मपात्र विवाहको रातको कल्पना गर्न पुग्छन् । विवाहको पहिलो रात कटकबहादुर र हरिमती कस्ता कुरा गर्दा होलान् ? उनी कल्पना गर्छन्- कटकबहादुरले माया गर्दै ……मेरी रानी भन्दा हरिमतीको बाल हृदयमा संगीहरूसँग राजारानी खेलेको याद आयो होला र यत्रो ठूलो मान्छेले बच्चाले जस्तै खेलवाड गरेकोमा रिस उठ्यो होला । कटकबहादुरले म्वाईं खान खोज्दा हरिमतीलाई आश्चर्य लाग्यो होला, उसले हरिमतीलाई किन म्वाईं खायो दुलही भनेर कि सानी भनेर ? उनी फेरि कल्पिन्छन्- सायद त्यस्तो केही भएनहोला । कटकबहादुरले हरिमतीसँग ……नानी, तिम्रो नाम के हो ? भनि सोधे होलान् । त्यस पछि पढाइको बारेमा सोधे होलान् अनि अबदेखि आफूसँग पढ्नु भन्दै ……निन्द्रा लाग्यो होला सुत्न जाऊ भने होलान् । हरिमतीलाई सुताई उनी आफ्नो हरहिसाब मिलाउन लागेहोलान् । बिहान भएपछि हरिमतीलाई उठेर नुहाउन लगाउँछन्, एकछिन पढ्न भन्छन् र नमिलेको ठाउँमा आफैं सिकाउँछन् । त्यसपछि खाना खाएर हरिमती विद्यालय जान्छे । मपात्रले अन्त्यमा केही प्रश्न उठाएका छन् । त्यसो भए कटकबहादुरले किन विवाह गरे ? छोरी नभएर छोरीको रहर पुर्याउन ? र उनी व्यङ्ग्य गर्छन् त्यसो भए दुलही ल्याएकै दिन बढेकी कन्याको विवाह गरिदिनुपर्ने पीर तिनलाई थपियोहोला ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]