बेलकोटगढि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

नुवाकोट जिल्लाको ऐतिहासिक, रणनीतिक एवं सामरिक महत्व बोकेका स्थलहरुमध्येको एक हो बेलकोट गढी । बेलकोट गढी नुवाकोट जिल्लाको साविकको बेलकोट गाविस हाल बेलकोटगढी नगरपालिका–१० मा अवस्थित ऐतिहासिक महत्वको स्थान हो । नेपाल एकिकरणका पीता मानीने तत्कालिन श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको क्रममा नुवाकोट आक्रमणका लागि बेलकोट गढी निर्माण गरेका थिए । समुन्द्री सतहबाट करिब दुईहजार दुईसय मिटरको उचाईमा रहेको बेलकोट गढीलाई रणनीतिक एवं सामरीक दृष्टिकोणबाट समेत महत्वपूर्ण मानिन्छ ।

तत्कालिन बडामहाराजधिराज पृथ्वीनारायण शाहले बाइसे चौविसे राज्य एकीकरणको सिलसिलामा विक्रम सम्बत १८०१ मा नुवाकोट आक्रमण गर्न यस गढीको निर्माण गरेको इतिहासमा उल्लेख छ । गढीको पर्खाल पृथ्वीनारायण शाह र उनका सैन्य समूहले एक रातमा नै निर्माण गरेको र गढीमा प्रयोग गरेको ढुंगा गढीबाट करिव एक किलोमिटर तल तादीनदि तथा आसपासका क्षेत्रहरुबाट ल्याइएको स्थानियहरुले बताउने गरेका छन् । स्थानिय अनुभवि पुस्ताका अनुसार “बेलुका सुत्दा केहिपनि नरहेको उक्त स्थानमा विहान मान्छे ब्युजिँदा दरवार बनिसकेको थियो” । पृथ्वी नारायण शाह र उनका सैन्य वल अत्यन्तै बलिया र बहादुर थिए, उनिहरु आफुले चाहेको कुरा जसरी भएपनि हात पार्थे । यसैको ज्वलन्त उदाहरण एक रातमा निर्माण गरिएको बेलकोट गढीलाई मान्न सकिन्छ ।

बेलकोटमा अवस्थित बेलकोट गढीलाई चारैतिर ढुङ्गाको पर्खाल लगाएर माथिल्लो भागको मध्यभागमा श्री निरञ्जना भगवती मन्दिर स्थापना गरिएको छ । बेलकोट गढी सदरमुकाम विदुरदेखि ३ कोष दक्षिणतर्फ करिव ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । पृथ्वीनारायण शाहले तत्कालीन बेलकोटका राजा जयन्त रानालाई काटेर सो ठाउँमा जयन्तको शरीरलाई गाडी गढीमै उनको सम्झना र चिर शान्तिको लागि काठको मौलो गाडेका थिए । सो मौलो आजसम्म पनि उस्तै हालतमा रहेको छ । उक्त मौलोमा दशैको नवमीमा बलि दिनुका साथै मेला समेत लाग्ने गर्दछ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा बेल्कोट र नुवाकोट आक्रमण गर्नका लागि बेलकोट, जिलिङ, कुमरीदुईपिपलको संगमस्थल चिम्टेश्वर महादेवस्थानसँगै पनि गढी निर्माण गरेका थिए । यस गढीलाई एकीकरण अभियानमा निर्मित पहिलो गढीका रूपमा इतिहासमा उल्लेख गरिएको पाइन्छ । त्यस स्थानका अग्लो डाँडामा सैनिकहरू लुक्न बनाईएको सुरुङका अवशेषहरूले अझैपनि एकीकरण अभियानको स्मरण गराउँछ । तत्कालिन अवस्थामा पृथ्वीनारायण शाहले र उनका फौजले प्रयोग गरेका हातहतियारहरु दैविय शक्तीका कारण अझैपनि उक्त सुरुङभित्र रहेको र कसैलेपनि उत्खनन् नगरेको स्थानियहरुको भनाई रहेको छ । तर उक्त स्थानमा हातहतियार भए नभएको बारेमा भने कहीँ कतै कुनै ईतिहास भेटिएको छैन ।

पृथ्वीनारायण शाहले चिम्टेश्वर क्षेत्रमा गढी निर्माण पछि चिम्टेश्वर महादेवको आराधना गरि नुवाकोट माथिको सफल विजय प्राप्त गरेका थिए भन्ने किमंदन्ती रहेको छ । जिलिङका स्थानियहरुका अनुसार यातायातको व्यवस्था नभएको समयमा पृथ्वीनारायण शाहले प्रयोग गरेको पैदल बाटोको प्रयोगरि स्थानियहरु काठमाण्डौं आवत जावत गर्ने गरेका थिए ।

यस क्षेत्रबाट लाङटाङ, गणेश, जुगल र मानापाथी हिमाल तथा तिब्बतको केरुङ, काठमाडौं, मकवानपुर र गोरखासम्मको दृश्यावलोकन समेत गर्न सकिन्छ । जिल्लाकै चर्चित ऐतिहासिक स्थल बेलकोट गढी पर्यटकीय क्षेत्रको दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । यसै कारण यस क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा समेत बिकसित गर्न सकिने सम्भावना रहेको छ ।