बोनबिबी
| बोनबिबी | |
|---|---|
बोनबिबी मन्दिर, दोबाँकी, दक्षिण २४ परगना, पश्चिम बङ्गाल | |
| आबद्ध | देवी (लौकिक) |
| वाहन | बाघ वा कुखुरा |
| क्षेत्र | सुन्दरवन (पश्चिम बङ्गाल र बङ्गलादेश) |
बोनबिबी (बङ्गाली: বনবিবি) सुन्दरवनका हिन्दु तथा मुसलमानहरूद्वारा पूजाआजा गरिने एक पौराणिक महिला हुन् जो वनमा बस्छिन् भनेर विश्वास गरिनुका साथै वनको संरक्षक आत्माको रूपमा पनि चिनिन्छ। दक्षिण बङ्गलादेश र पश्चिम बङ्गाल, पूर्वी भारतमा बङ्गालको खाडीको उत्तरतिर फैलिएको र पाटे बाघको बासस्थान रहेको विश्वकै सबैभन्दा ठूलो दलदले सुन्दरवनमा बोनबिबीको पूजा गरिन्छ। उनलाई प्रायः मह सङ्कलक र रूख काट्ने मानिसहरूले वन प्रवेश गर्नु अघि बाघको आक्रमणबाट सुरक्षा पाउनको लागि पुकार्ने गरेको पाइन्छ।[१] जनविश्वास अनुसार बोनबिबीको प्रमुख शत्रु दक्षिण राय वा दक्षिणका राजा बाघको भेषमा आएर मानिसहरूमाथि आक्रमण गर्ने गरेको र त्यसबाट रक्षा पाउनका लागि बोनबिबीलाई पुकार्ने प्रचलन रहेको छ। बोनबिबीलाई वनदेवी, वनदुर्गा वा वनचण्डी नामहरूले पनि चिनिन्छ।
केही मन्दिरहरूमा तीनवटा देवदेवीहरू; बोनबिबी, दक्षिणराय र कालुरालाई सँगै पूजा गरिन्छ भने कतै बोनबिबि-शाजङ्गुलीको संयुक्त मूर्तिलाई पनि पूजा गरिरहेको देख्न सकिन्छ।[२] जलपाइगुडीको वैकुण्ठपुरको घना जङ्गलमा हरेक वर्ष जाडोयाममा वनदुर्गा पूजा तथा मेलाको आयोजना गरिन्छ।
इतिहास
[सम्पादन गर्नुहोस्]
भारत र बङ्गलादेश दुवै देशका सुन्दरवन क्षेत्रमा माछापालक, मह सङ्कलक र काठदाउरा गर्ने समुदायका मानिसहरूले हिन्दु मुस्लिम भेदभाव नगरी बाघबाट जोगिन बोनबिबीको पूजा गर्छन्। इतिहासकार सतीशचन्द्र मित्रको जशोहर खुलनार इतिहास नामक एक पुस्तक अनुसार १५०० ईसापूर्वतिर सुन्दरवन क्षेत्रमा दक्षिणराय, बणिक धोनाई र मोनाई तथा गाजीको अस्तित्व थाहा पाइन्छ। बोनबिबी इब्राहिम (बेराहिम भनि मतान्तर रहेको) नाम गरेका एक अरबी मानिसको छोरी थिइन्। इब्राहिमकी पत्नी गुलाल बिबी सतिनको प्रेरणामा सुन्दरवनमा परित्यक्त भएपछि त्यहीँ बोनबिबी जन्मिएकी थिइन्। कथितरूपमा गुलाल बिबी मदिना र इब्राहिम मक्काबाट आएका थिए। दक्षिणराय जशोहरको ब्राह्मणनगरको राजा मुकुट रायको अधीनस्थ भाटि राज्यको एक सामन्त थिए। दक्षिणरायसँग बोनबिबीले धेरै युद्ध लडेकी थिइन् भने अन्ततोगत्वा दक्षिणराय पराजित भई शान्ति सम्झौता गरेका थिए। दक्षिणरायको पराजयलाई यस पुस्तकमा बाघ वा दुष्ट शक्तिको पराजयको रूपमा उल्लेख गरिएको छ। हाल बोनबिबी दुवै देशका सुन्दरवन क्षेत्रको लोकसंस्कृतिको एक महत्वपूर्ण अंश हुन्।[३]
बोनबिबीको माहात्म्यबारेको काव्यको नाम 'बोनबिबी जहुरानामा' हो। यो काव्य मङ्गलकाव्य शैलीमा रचित भएतापनि यसमा अल्लाह-रसुल, मक्का, पिर-पिरानी आदि प्रसङ्ग समाविष्ट छन्। अरण्यक मानिसको धर्मविश्वास र जीवनशैलीको एक चित्र यसमा पाइन्छ।[४] अनुसन्धानकर्ताहरूका अनुसार, "बोनबिबी वास्तवमा हिन्दु देवी वनदुर्गा, वनचण्डी, षष्ठी वा विशालाक्षी हुन्। बङ्गली भाषामा इस्लामी प्रभावका कारण उनी बोनबिबीको रूपमा परिणत भएकी हुन्"।[५]
धार्मिक पहिचान र अन्तरधार्मिक अभ्यासहरू
[सम्पादन गर्नुहोस्]बोनबिबीलाई एक लोक इस्लामी पात्रको रूपमा मानिएको भएतापनि उनको पूजाआजामा कुनै धार्मिक बन्देजहरू रहेका छैनन्। हिन्दु र मुस्लिम दुवै धर्मका मानिसहरूद्वारा पूजा गरिने बोनबिबीको पूजा साझा रीतिरिवाज अन्तर्गत हुन्छ जसका सहभागीहरूले साझा पौराणिक कथाहरू दोहोर्याउँछन् र वार्षिक उत्सवहरूमासँगै सहभागी हुन्छन्। केही विद्वानहरूले बोनबिबीलाई हिन्दी धर्मका अन्य वनदेवी जस्तै गरि वर्णन गरेका छन् तर उनको उपासनाले उनलाई परम्परागत हिन्दु वनदेवीहरू भन्दा फरक बनाउँछ। वनदेवीको विपरीत, बोनबिबी परम्परागत हिन्दु चित्रणसँग जडित नरहेको हुनाले उनलाई एक्लै पूजा गरिने चलन नरहेको पाइन्छ। उनका दाजु शाह जङ्गली, उनका प्रतिद्वन्द्वी दक्षिण राय, बार खान गाजी र भक्त, अली मडाप जस्ता पात्रहरूको समावेशमा उनको उपस्थिति व्यापक पौराणिक संरचनाभित्र सन्दर्भित हुन्छन्।[६]
नामखाना गाउँमा गरिएको एक क्षेत्रीय अध्ययनअनुसार, ८८ प्रतिशत सहभागीहरूले सङ्कटको समयमा आफ्नो उद्धारकर्ता रूपमा बोनबिबीलाई चिनाएका थिए भने सहभागीहरू मध्ये ५६ प्रतिशत हिन्दु र ३२ प्रतिशत इस्लाम धर्मावलम्बीहरू थिए। यी अध्ययनहरूले धार्मिक समुदायमा उनको व्यापक स्वीकृतिलाई दर्शाउँदछ। प्रकोपपछि जनचेतनामा बोनबिबीको उपस्थिति वृद्धि हुने प्रवृत्ति देखिन्छ। उदाहरणका लागि सन् २००९ मा आएको विनाशकारी चक्रवात आइला पछि धेरै स्थानीयहरूले विनाश धेरै हुन नपाएको र आफू जीवित रहनुमा बोनबिबीको दैवीय संरक्षण रहेको भनी कृतज्ञता व्यक्त गरेका थिए।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Sufia Uddin (२०११), "Beyond National Borders and Religious Boundaries: Muslim and Hindu Veneration of Bonbibi", in Mathew N. Schmalz; Peter Gottschalk, Engaging South Asian Religions: Boundaries, Appropriations, and Resistances, New York: State University of New York Press, पृ: 61–82, आइएसबिएन 978-1-4384-3323-3।
- ↑ বাংলার লোকদেবতা ও সমাজসংস্কৃতি, দেবব্রত নস্কর, আনন্দ পাবলিশার্স প্রাইভেট লিমিটেড, কলকাতা, প্রথম সংস্করণ (অক্টোবর, ২০১৮), পৃ. ৪১
- ↑ লোকসংস্কৃতি, আহাদ হায়দার (१७ जनवरी २०१५)। "বনবিবি"। প্রথম আলো।
- ↑ "বনবিবির জহুরনামা"। बाङ्लापिडिया। सङ्ग्रह मिति २५ डिसेम्बर २०१७।
- ↑ গোপেন্দ্রকৃষ্ণ বসু (২০০৮) [১৯৬৬]। বাংলার লৌকিক দেবতা, কলকাতা: দে’জ পাবলিশিং, आइएसबिएन ८१-७६१२-२९६-३, পৃ. ২৯–৩৪
- ↑ Chakrabarty, Kakali (२०२१), "The Cult of Bonbibi: A Folk Paradigm in Deltaic Sundarbans", Journal of History, Art and Archaeology 1 (1): 49–61।
- ↑ Karmakar, Subarna (२०२१), "Surviving Wrath of Nature: ‘Bonbibi’ and Local Communities in Sundarbans", Scholars Journal of Arts, Humanities and Social Sciences: 437–441।