ब्रह्मास्त्र
ब्रह्मास्त्र (संस्कृत: ब्रह्मास्त्र, शाअ 'ब्रह्माको अस्त्र') भगवान ब्रह्माद्वारा सिर्जना गरिएको र उनको स्वामित्वमा रहेको सर्वोच्च हिन्दु दिव्य अस्त्र हो। यसको अझ शक्तिशाली रूप 'ब्रह्माशिरस्त्र' पनि रहेको छ। ब्रह्माशिरस्त्रलाई हिन्दु धर्ममा उल्लेख गरिएका सबै अस्त्रहरूमध्ये सबैभन्दा विनाशकारी, शक्तिशाली र अजेय मानिन्छ।
परशुराम, राम, कल्कि, मेघनाद, भीष्म, द्रोण, कर्ण, अश्वत्थामा, अर्जुन र लक्ष्मण जस्ता केही सीमित देवता र योद्धा-नायकहरूसँग मात्र यो अस्त्र प्रयोग गर्ने ज्ञान रहेको बताइन्छ।
विवरण
[सम्पादन गर्नुहोस्]यसलाई एक अग्नि अस्त्रको रूपमा वर्णन गरिएको छ, जसले गर्जन र ज्वालाका साथमा भीषण अग्निगोलक उत्पन्न गर्दछ र यो असङ्ख्य भयानक चट्याङहरूका साथ प्रज्वलित हुन्छ।[१] जब ब्रम्हास्त्र प्रहार गरिन्छ तब रुख, महासागर र जनावरहरू लगायत त्यस क्षेत्रको सम्पूर्ण प्रकृति काँप्न थाल्छ। यसको प्रयोगले एक विनाशकारी विष्फोट निम्त्याउने बताइन्छ जसले गर्दा अस्तित्वमा रहेका सबै कुराहरू जोडले थर्कन्छन्, आकाश आगो र धुवाँले भरिन्छ, नदीहरू वाष्पीकरण हुन्छन् र सम्पूर्ण सेनाहरू एकै प्रहारमा समाप्त हुन्छन्।[२]
ब्रह्मास्त्रको प्रयोग कुनै एक शत्रुलाई लक्षित गरी नष्ट गर्नका लागि गरिन्छ र यदि उनीहरूसँग यसको प्रतिरोधी अस्त्र छैन भने पराजय निश्चित हुन्छ। यदि यसको अझ शक्तिशाली रूप, ब्रह्माशिरस्त्र प्रयोग गरियो भने, यसले उक्त क्षेत्रका प्रत्येक उपयोगी स्रोतहरूमा पार्श्व क्षति पुर्याउँछ र त्यस ठाउँमा घाँसको एउटा मुनो पनि पुनः पलाउन दिँदैन। नदीहरू पूर्ण रूपमा सुक्छन् र अनिकाल निश्चित हुन्छ। उल्लेख गरिएअनुसार बह्मास्त्र प्रयोग गरिएको ठाउँमा १२ ब्रह्म वर्ष (१२ ब्रह्म वर्ष = ३७.३२ नील मानव वर्ष) सम्म पनि वर्षा हुने छैन र जलवायु अवस्था अझ खराब हुनेछ। ब्रह्मास्त्रको प्रहारले अन्ततः सबै कुरा नष्ट गरिदिन्छ।
जब अश्वत्थामाले अर्जुन विरुद्ध ब्रह्मास्त्र प्रहार गर्छन् तब अर्जुनले व्यापक विनाश रोक्नका लागि सोही अस्त्र आह्वान गरेर त्यसको प्रतिकार गर्छन्। नारद र व्यास ती दुई अस्त्रहरूको बीचमा उभिएर दुवै योद्धालाई आ-आफ्नो अस्त्र फिर्ता लिन आदेश दिन्छन्। अर्जुनले आफ्नो उदारताका कारण अस्त्र फिर्ता लिन्छन् तर अश्वत्थामाले रिसको आवेगमा र अस्त्र फिर्ता लिने पूर्ण ज्ञान नभएका कारण (उनलाई ब्रह्मास्त्र चलाउने ज्ञान त थियो तर फिर्ता लिने विधि सिकाइएको थिएन), विपक्षीलाई क्षति पुर्याउने उद्देश्यले नजन्मिएको परीक्षितको मृत्यु होस् भनेर त्यसलाई उत्तराको गर्भतर्फ सोझ्याउँछन् तर कृष्णले हस्तक्षेप गरी बालकको ज्यान बचाउँछन्। अश्वत्थामालाई उनको निधारमा रहेको मणि सुम्पन बाध्य पारिन्छ र कृष्णले उनलाई समयको अन्त्यसम्म जङ्गलमा रगत र पीप बगिरहेको घाउका साथ मृत्युका लागि पुकार्दै भौँतारिनुपर्ने तर मृत्यु नहुने श्राप दिन्छन्।[३]
प्रकारहरू
[सम्पादन गर्नुहोस्]ब्रह्मशिरा अस्त्र
[सम्पादन गर्नुहोस्]ब्रह्मशिरा अस्त्र वा ब्रह्मशिर अस्त्र (ब्रह्माको ४ शिर भएको अस्त्र)[४] यसको अगाडिको भागमा ब्रह्माका चारवटा शिरहरू प्रकट हुन्छन् र यो सामान्य ब्रह्मास्त्रभन्दा चार गुणा बढी शक्तिशाली हुन्छ। महाभारतमा अर्जुन, द्रोण, कर्ण, अश्वत्थामा र भीष्मसँग यसको प्रयोग गर्ने ज्ञान थियो।[५] यो अस्त्रले कसैको अस्तित्वलाई भूत, वर्तमान र भविष्यबाटै मेटाउन सक्छ, जसले गर्दा उनीहरूको अस्तित्वको कल्पना गर्न समेत असम्भव हुन्छ; र उनीहरू कहिल्यै थिएनन् र हुने छैनन् भन्ने अर्थ लाग्ने गरी कुनै पनि रूपमा उनीहरूको पुनः अस्तित्व असम्भव तुल्याइदिन्छ।[६]
ब्रह्मदण्ड
[सम्पादन गर्नुहोस्]ब्रह्मदण्ड (ब्रह्माको लौरो) ब्रह्माद्वारा सिर्जना गरिएको आत्मरक्षाको अस्त्र हो। यो केवल तपस्वीहरूले मात्र राख्न सक्छन् र यसको शक्ति यसको मालिकको सामर्थ्यमा निर्भर गर्दछ। यो एक यस्तो लौरो हो जसले आफ्नो मालिकतर्फ आउने जुनसुकै आक्रमणलाई अवशोषित गर्ने वा निष्क्रिय पार्ने क्षमता राख्दछ।[७] जब विश्वामित्रले ऋषि वशिष्ठसँगको युद्धमा क्रोधित भई ब्रह्मास्त्र प्रहार गरेका थिए, तब वशिष्ठले आफ्नो ब्रह्मदण्ड अगाडि सारेर उक्त महाविनाशकारी अस्त्रलाई शान्त पारेका थिए। हिन्दु पुराणहरूका अनुसार, ब्रह्मदण्डको प्रतिकार गर्ने शक्ति ब्रह्मास्त्रको भन्दा पनि उच्च मानिन्छ किनभने यसले विनाश गर्नुको सट्टा आक्रमणलाई शून्यमा बदलिदिन्छ।[८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Krishnamoorthy, K.; Channakeshava, B.; Rao, H. V. Nagaraja (१९९५), Ānanda Bhāratī: Dr. K. Krishnamoorthy Felicitation Volume (अङ्ग्रेजीमा), Dr. K. Krishnamoorthy Felicitation Committee।
- ↑ "The Mahabharata of Krishna-Dwaipayana Vyasa, Volume 3 Books 8, 9, 10, 11 and 12", www.gutenberg.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२६-०१-११।
- ↑ "The Mahabharata, Book 10: Sauptika Parva: Section 15"।
- ↑ Maehle, Gregor (२००९), Ashtanga Yoga: Mythology, Anatomy, and Practice (अङ्ग्रेजीमा), New World Library, आइएसबिएन 9781577316695।
- ↑ W. J. Johnson (२००९), "Brahmaśiras", A Dictionary of Hinduism (अङ्ग्रेजीमा), Oxford University Press, आइएसबिएन 9780198610250, डिओआई:10.1093/acref/9780198610250.001.0001।
- ↑ Childress, David Hatcher (२०१३-१२-१८), Vimana: Flying Machines of the Ancients (अङ्ग्रेजीमा), SCB Distributors, आइएसबिएन 978-1-939149-23-7।
- ↑ Buck, William (२०००), Ramayana (अङ्ग्रेजीमा), University of California Press, पृ: ५३, आइएसबिएन 9780520227040।
- ↑ Rao, T. A. Gopinatha (१९१४), Elements of Hindu Iconography (अङ्ग्रेजीमा), Law Printing House, पृ: ४४२।