सामग्रीमा जानुहोस्

भकिम्लो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Chinese sumac
वैज्ञानिक वर्गीकरण edit
Unrecognized taxon (fix): Rhus
प्रजाति:
वैज्ञानिक नाम
Template:Taxonomy/RhusRhus chinensis
Mill.
पर्याय
  • Rhus javanica auct.
  • Rhus semialata Murray

भकिम्लो नेपालमा पाइने गहतको जत्रो फल लाग्ने वनस्पति हो । यसको बोट ६ मिटर (२० फिट) []देखी ३५ फिट सम्म अग्लो हुन्छ। यो पतझड वर्गको वनस्पति हो। यसको फल झुप्पो आकारमा साना साना दाना फलेको हुन्छ। पाक्दा यसमा दही जस्तो सेतो पदार्थ लागेको देखिन्छ। यसलाई पानीमा पकाई अचारमा हाल्ने अमीलो(चुक अमिलो) बनाइन्छ। नेपालको पहाडी भागमा पाइन्छ। यसलाई "भकारे", "भाँगा चुक", "बन्दुके", "चड्नेठ" आदी नामले पनि जानिन्छ। यो अचारमा हालेर खाने मात्र नभएर ओखतीको रूपमा पनि प्रयोग गरिन्छ। यसको पातको आकार करिब टुनीको पातको आकारसँग मिल्दो जुल्दो हुन्छ। टुनीको पात चिल्लो हुन्छ भने यसको पात फुस्रो हुन्छ ।

भकिम्लो मध्यपहाडी क्षेत्रमा पाइने गुणकारी वनस्पतिभित्र पर्छ । यसको उपयोगी अङ्ग भनेकै फल हो । जुनेलाका जस्ता ठुलाठुला झुप्पा लपक्क झुलेको हुन्छ । वर्षमा एकचोटि झुप्पा संकलन गर्न सकिन्छ । कात्तिक मंसिर महिना भकिम्लो सङ्कल गर्ने उपयुक्त समय हो । यसको रुख ठुलो हुँदैन । रुखमा चढ्न सकिन्छ तर हाँगा कफल्ला हुने भएकाले परपर जान भने सकिँदैन । सानो आङ्कुसे परेको टाँगाका सहायताले झुप्पा भाँच्न सकिन्छ ।

भकिम्लाका झुप्पाका कलिला दानादानामा दहीजस्तो सेतो पदार्थ टाँसिएको हुन्छ । अमिलो वस्तु त्यही हो । छिप्पिएपछि सेतो पदार्थ हराउँछ ।पछि झुप्पा राता देखिन थाल्छन् । जब रातोपन चढिसक्छ तब अमिलो पुरा पसिसक्छ । यही समयमा फल टिप्नुपर्छ । टिपेर ल्याएको फललाई सिधै घामको किरण नपर्ने गरी हवाइलो ठाउँमा राख्नुपर्छ । सुकेपछि थुन्से, डोकाडालामा राख्न सकिन्छ ।

भकिम्लालाई वर्षदिनसम्म झुप्पै पनि राख्न सकिन्छ । थोरै मात्रामा छ भने झुप्पा र धेरै जम्मा गर्न सकिएको छ भने अमिलो(चुक) पकाएर राख्न सकिन्छ ।

भकिम्लाको अमिलो पकाउन सजिलो छ । खड्कुँलो अथवा कुनै ठुला भाँडामा पानी उमाल्नु पर्छ । उम्लेको पानीमा भकिम्लाका दाना हालेर निकैबेरसम्म पकाउनु पर्छ । अब भयो भन्ने लागेपछि निकालेर सेलाउन दिनुपर्छ । त्यसपछि मजाले माडेर राम्ररी छान्नुपर्छ । कपडछन गर्नसके झनै राम्रो चुक बन्छ । छानेको अमिलोपानीलाई फेरि पकाउनु पर्छ । पानी सुकाउन निकैबेर लाग्न सक्छ । सुक्दै गएपछि कालो हुँदै जान्छ । लतत भइसकेपछि निकाल्न सकिन्छ । पातलो चुकभन्दा बाक्लै ठिक हुन्छ । बाक्लो लामो समयसम्म राख्न सकिन्छ । पातलो भयोभने ढुँडी परेर बिग्रिन्छ ।

गर्मी महिनामा भकिम्लोपानीको निकै महत्त्व छ । यसका दाना पानीमा मिचेर नुन चिनी र मरिचको धुलो मिसाएर बनाएको सर्बत ज्यादै मीठो हुन्छ । ठुलाठुला तारेहोटलसमेतमा यस्तो सर्बतको माग हुने गरेको पाइएको छ ।

बदलिँदो समयक्रमसँगै मानिसको खानपानमा पनि परिवर्तन आउन थालेको छ । आफ्नो खाना स्वादिलो रसिलो कसरी बनाउने भनेर सोचविचार गरिन्छ । आयुर्वेदले `षड रस´कुरो हालेको छ । छवटा रसमध्ये अमिलो नपर्ने कुरै भएन । अमिलो देख्दा मात्रै पनि जिब्राबाट जलोत्पन्न भइहाल्छ । मान्छेले खानालाई स्वादिष्ट पार्न अमिलाको प्रयोग पहिल्यैदेखि गर्दैआएका छन् । झन् ऐले यसको उपयोग बढ्दै गएको छ । वनस्पतिजन्य अमिलाको अभाव भएकाले बजारमा कृतिम अमिलो (भिगेनर कि भिनेगर ?) बेचबिखन हुने गरेको छ । जसले अमिलाको काम गरेपनि स्वास्थ्यका लागि हानिकारक मानिएको छ । पहिले तराई तथा सहरी क्षेत्रमा मात्र खाइने चटपटे विस्तार हुँदै पहाडतिर पुगिसकेको छ । हरेकजसो विद्यालय छेउमा चटपटे बिक्री हुन्छ । ती चटपटेवालाले न्यून स्तरको भिगेनर हाल्छन् जसबाट कलिला बालबालिकामा स्वास्थ्य समस्या आउने कुरो एक अध्ययनले देखाएको छ । अभिभावकहरू सचेत हुन आवश्यक छ।

विगत केही समयदेखि निभुवा, ज्यामिर, कागती, भोगटे,जुनार,सुन्तलाजस्ता अमिला फलफूलमा किरा लाग्ने समस्या छ । चुक अमिलाको माग निभुवाले धान्दै आएकामा अबदेखि निभुवाको चुक पाइँदैन। किरा लागेर चिचिलामै पहेलिन थाल्छन् । भकिम्लो संकलन गरेर चुक पकाउन थालिएको छ । निभुवाको जस्तै असल चुक भकिम्लाको पनि हुन्छ । एक माना चुक लिएर तपाईं आफन्तकामा जानुभयो भने `मेजमान´नै बेग्ले हुन्छ । घेराफेराको कुरै नगरौँ ।

भकिम्लो औषधीय गुणले भरिपूर्ण छ । पखाला र रगतमासीको जन्डा ओखती हो । दाना पानीमा भिजाएर अलिअलि नुन छरी एक दुई गिलास स्वाट्ट खाने हो भने पखाला रोकिजान्छ । यो कुनै झुठ कुरो हैन । रगतमासी निको पार्ने क्षमता पनि भकिम्लासँग छ । भकिम्लोपानीको सेवनले पेटमा भएका जुकाचुर्नासमेत भस्याकभुसुक मर्छन् । अनुहारमा भएका दाग पोतो आदि हटेर मुहार जगजग देखिन्छ । जरो आएको छ भने सेवन नगर्नु भन्ने बुढाबुढीहरूको कुरो छ ।

भकिल्लो जङ्गलमा पाइन्छ । खरबारी, ढाँड, खोलाखोल्सा र पाखोबारीका कान्लातिर आफैँ अम्रिन्छ । यसलाई रोपिरहनु पर्दैन । अम्रेका विरुवालाई जोगाए प्रशस्त हुन्छ । व्यवसाय गर्नेका लागि वृक्षरोपण गर्न सकिन्छ ।

देशमा ऐले व्यापक बेरोजगारी समस्या छ । एकातिर युवाहरू काम नपाएर बसेका छन् । अर्कातिर अमिलाको स्वाद पूरा गर्न मानिसहरू भिगेनर किन्न बाध्य छन् । भिगेनरको स्थान भकिम्लाले सजिलै लिन सक्छ । यसको खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । ममिलो र उर्वरभूमि नचाहिने भएकाले सिमान्त जमिनमा मज्जाले लगाउन सकिन्छ । बहुबर्से वनस्पति भएकाले एकचोटि अम्रेको बिरुवाले धेरै वर्षसम्म उत्पादन दिइरहन्छ । यसको उपयोगिता उच्च रहेकाले सबैले संरक्षण गरे मुलुक चुक अमिलामा आत्मनिर्भर हुन्छ । एक कुरुवा चुकको मूल्य रु 1000/- सम्म पर्छ । यसबाट के प्रष्ट हुन्छ भने आयआर्जका विविध स्रोतमध्ये भकिम्लो पनि एक हो । स्थानीय सरकारले पनि यससम्बन्धी चासो लिइदिए बढ्दो बेरोजगारी समस्या समाधान गर्न केही मद्दत पुग्थ्यो ।

  1. Botanic Gardens Conservation International (BGCI); IUCN SSC Global Tree Specialist Group (२०१८), "Rhus chinensis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2018: e.T१३५८१९१३२A१३५८१९१३४, अन्तिम पहुँच २३ जनवरी २०२३  |name-list-style= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Rhus chinensis", RHS, अन्तिम पहुँच २८ अगस्ट २०२१ 

बाह्य लिङ्कहरू

[सम्पादन गर्नुहोस्]

ढाँचा:Tannin source