भक्त कुमारी घले

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


भक्तकुमारी घले सिन्धुली जिल्लाकी नामुद समाजसेवी हुन्।

यिनी गाउँको परिवेशमा हुर्केकी जनताकी भरोसा थिइन्। यी अशक्त, गरीब र अनपढहरूकी पनि सहारा थिइन्। सिन्धुली जिल्लामा नै उनी एउटा जागरणकी प्रतिमूर्ति थिइन्। मन, वचन र कर्मले जनसेवामा जुट्दैजाँदा यी क्रमशः सिन्धुलीकी सरेनीमा अनुवाद हुन थालिन्। २०१८ सालदेखि सिन्धुली जिल्लामा घले जनताका मायामा बाँचिन्। त्यसपछि उनले २०४६ सम्म त्यही ठाउँमा लगातार प्रधानपञ्च भई आफ्नो जीवन अर्पण गरिन्। २०३६ सालपछि आफू प्रधानपञ्च भएको अम्बोटे गाउँ पञ्चायतको उपप्रधानपञ्च लगायत सम्पूर्ण वडाहरूमा नारीहरूमात्र जनप्रतिनिधिमा निर्वाचित भएका थिए। वास्तवमा त्यस बेला त्यो पनि यिनको एउटा चमत्कारी काम देखिएको थियो। अनि पछि त्यही गाउँ पञ्चायतमा उनले आफ्नी जेठी छोरी दुर्गा घलेलाई प्रधानपञ्चमा जिताएर उनी चाहिं छिमेकी गाउँ अथवा हरर्साई गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएकी थिइँन्। घलेकै बलबुता समेत जोडिएर उनकी माइली छोरी भद्रकुमारी घले सिन्धुली जिल्लाबाट निरन्तर पाँच पटकसम्म्म राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएकी थिइन्। तिनै भद्रा घले नेपाल राष्ट्रकी राज्यमन्त्री पनि बनिन्। छोरी भद्रकुमारी मन्त्री भएका दिन आमा भक्तकुमारीका आँङैभरि घाम लागेको थियो।

२००७ सालका कुरा हो, केही समाजविरोधी तत्त्वले भक्तकुमारी घलेलाई समाते। त्यस बेला तिनीहरूले यिनलाई छुरा लगाएर चारपाटा मुडे। त्यसपछि यिनलाई यिनका शत्रुहरूले हरियो बाँसमा बाँधे। तर यी त्यहाँबाट उम्किन्। हरियो बाँसको भाटा लिएर यिनले आफ्ना सबै शत्रु खेदाइन् र छिन्न-भिन्न पनि पारिन्।

भक्तकुमारी घले सानैदेखि सामाजिक जागरणका फाँटमा बसिन्। उनले जनताको सक्तो सेवा गरिन् र आफ्नो जीवनभरी नैतिकता टल्काइन्। त्यसैले उनले जनकपुर अञ्चलमा सेवाको दियो सल्काइन् र झलमल पार्ने प्रयास गरिन्। उनले त्यस भेकमा थुप्रै उदाहरणीय काम गरिन्। घलेले लेख्न जानिन्, शुद्ध नाम मात्र र उनले पढ्न जानिन् शुद्ध वर्णमाला मात्र। तर यिनले थुप्रैलाई प्रेरणा थुपारिन् र विश्वविद्यालय स्तरसम्म पढ्ने नारीको प्रेरणाकी उनी प्रतिमूर्ति बनिन्। उनले कसैसँग केही लिन कहिले पनि सेवा गरिनन्। अनि उनी जति गर्थिन्, निःशुल्क गर्थिन्। घलेले शिक्षाक्षेत्रमा पनि खुबै योगदान दिइन्। उनले आफ्ना गाउँमा प्राथमिक विद्यालय खोलिन्। त्यस बखत उनका गाउँमा नै ३५ वटा प्रथमिक विद्यालय खोलएकिा थिए। विस्तारै उनले त्यहीं निम्न माध्यमिक विद्यालय पनि खोलिन्। यिनले जनकपुर अञ्चलमा क्रमशः माध्यमिक विद्यालयहरू पनि बनाउँदै गइन्। घले समाजसेवाकी एउटा नमुना थिइन्। उनैले हुलाक सेवा नपुगेको आफ्नो जिल्लाका ठाउँठाउँमा हुलाकसेवा पनि खोलिन्। यिनकै अहोरात्रको खर्टाईले त्यस ठाउँमा स्वास्थ्यचौकी पनि खोलियो। उनकै सक्रियतामा त्यस ठाउँमा पन्ध्र शैयाको अस्पताल पनि बनेको थियो। त्यतिमात्र होइन, यिनले सिन्धुली जिल्लाको कैयन् ठाउँमा बाटो बनाइन्। उनले थुप्रै गोरेटो बाटोलाई मोटर बाटोमा रूपान्तरण गराइन्। यिनैले सदरमुकाम सिन्धुलीदेखि अम्बोटेसम्मको ४५ माइल मोटर बाटो समेत आफ्नै गाउँको कुटो कोदालेले पूरा गरेकी थिइन।

घलेले प्रत्यक्ष रूपले २९ वर्षजनताको सेवा गरिन् र अप्रत्यक्ष रूपले ७५ वर्षगरिन्। यिनको जन्म १९६७ साल असार ९ गते दोलखाको चङ्खु गाङ्गटा नाकादिङमा भएको थियो। यिनलाई जन्माउने बाबु नरबहादुर गुरुङ र आमा भजनकुमारी थिए। नरबहादुर गुरुङ दोलखाको सात गाउँका मुखिया थिए। त्यस बेला त्यस सात गाउँमा एउटै पनि क्षेत्रीबाहुन थिएनन्। त्यस सात गाउँभरीमा एउटा घरचाहिं लुगा सिउँने दमाइँको थियो।

घलेलाई जनकपुरमा जालीफटाहाले पटकपटक रुवाएका थिए। अनि त्यतित्यति बेला यी चित्त दुखाउने गर्थिन्, जतिबेला यिनले बनाएका बाटा त्यहाँका जालीफटाहाले भत्काउने गर्थे, स्कूलमा आगो लगाउन प्रयास गर्थे र पुलहरू भत्काउन खोज्थे। यस्ता कुराको प्रसङ्ग कोटयाउँदा पछिसम्म पनि यिनका आँखाबाट कोशी बर्सन्थे। यी कैयौं जालीझेलीले चुक्लीबाट पनि फुस्किन सफल भएकी थिइन्। उनी त्यस्ताहरूसँगै युद्धै गरेर पनि यी त्यही ठाउँमा नै बसिन। यी त्यस्ता उच्छृङ्खल तत्त्वबाट तर्ससिएर कहिले भागिनन्।

सामाजिक सेवा त्याग, तपस्या, मिहेनत र जिम्मेवारीभित्रको अङ्ग भन्ने घले आफ्नो धारणा अरूसामु राख्थिन्। समाजसेवामा लाग्ने मान्छे निस्स्वार्थी बन्नुपर्ने कुरामा यी जोड दिन्थिन्। समाजसेवीले सधैं त्यागमा बाँच्नुपर्ने तथ्यमा यी पुनः जोड दिन्थिन्। समाजसेवाका पाटामा लम्कँदा घलेले घरको ढुकुटी खोलिन्। जनहितमा लाग्दा यिनले आफ्ना हातका नारिको सुन पनि झिकिन्। अनि त्यतिले पनि नपुग्दा यिनले कान र नाक पनि बुच्चो राखिन्। यसै गरेर नै आफ्नै खर्चमा यिनले कैयौँ बाटा, पुल, पाठशाला बनाउन लगाइन्। घले स्वाभिमानी थिइन्। यिनले बाँचुन्जेल कसैको केही लिइनन्। सकेजति यिनले अरुलाई नै सबैथोक दिइन्। रगत, पसिनादेखि लिएर धनसम्पत्तिसम्म यिनले समाजसेवामा नै चढाइन्। यी आफ्नो जीवनमा शक्ति भइञ्जेल कहिल्यै हात बाँधेर बसिनन्।

सात वर्षको उमेरमा भक्तकुमारीको बिहे आफ्नो मामाको छोरा कृष्णबहादुर घलेसँग भयो। यी २५ वर्षभएपछि यिनका जीवनसाथीले यिनलाई छाडिदिए। पतिको निधनपछि यिनको जीवनमा दुक्खले मात्रै वास गर्न थाल्यो। त्यही दुक्खकै भूमरीमा परेर पनि यी चारजना नाबालक छोराछोरी हुर्काउन अघि सरिन्। उनको एउटै छोरो थियो र उसले १८ वर्षमा विवाह गर्‍यो अनि त्यसको ६ महिनामा उसले पनि पृथ्वी छाडयो। यिनले त्यसपछि झनसारो नरमाईलो जिन्दगी बिताउन थालिन्।

घले धार्मिक आस्थामा बाँधिएकी थिइन्। उनी धर्मकर्ममा सारै विश्वास राख्थिन्। यसै सिलसिलामा यी मुक्तिनाथ पनि पुगिन्। धर्मकर्मकै फेरोमा बाँधिएर यी बराहक्षेत्र, रिडी, जनकपुरधाम, लुम्बिनी, देवघाट र गोसाइँकुण्ड गईन्। यसैगरी यी भारतको चारैधाम पनि पुगेकी थिईन्। भक्तकुमारी घले २०६७ साल भदौ १६ गते काठमाडौंको डिल्लीबजारमा स्वर्गीय भईन्। त्यस बेला उनी १०१ वर्षपुगेकी थिईन्।