भरत (महाभारत)
| भरत | |
|---|---|
राजा रवि वर्माद्वारा बनाइएको भरतको चित्र | |
| पूर्ववर्ती | दुष्यन्त |
| उत्तराधिकारी | भुमन्यु |
| धर्मग्रन्थहरू | महाभारत |
| वंशावली | |
| अभिभावकहरू | दुष्यन्त (पिता), शकुन्तला (माता) |
| जीवनसाथी | सुनन्दा[१] अन्य दुई अज्ञात पत्नीहरू[२] |
| सन्तानहरू | भुमन्यु, भरद्वाज (धर्मपुत्र) |
| वंश | चन्द्रवंश |
भरत हिन्दु पौराणिक साहित्यमा उल्लेखित एक महान् पौराणिक सम्राट हुन्।[३][४] उनी पछि चन्द्रवंशका सदस्य र एक चक्रवर्ती (सम्पूर्ण पृथ्वीका शासक) सम्राट बन्छन्।[५] उनलाई पाण्डव, कौरव, बृहद्रथ र जरासन्धका पूर्वज मानिन्छ।
भरतको कथा महाभारतको आदि पर्वमा उल्लेख गरिएको पाइन्छ जहाँ उनलाई दुष्यन्त र शकुन्तलाका पुत्रको रूपमा वर्णन गरिएको छ।[६][७] उनका माता-पिताको कथा र उनको जन्मको प्रसङ्ग कालिदासको प्रसिद्ध नाटक अभिज्ञानशाकुन्तलम् मा वर्णन गरिएको छ। उनी राजर्षि विश्वामित्रका वंशज हुन्।
लोकप्रिय परम्परा अनुसार, भारत (भारतीय उपमहाद्वीपको एक परम्परागत नाम),[८] यिनै सम्राट भरतको नामबाट राखिएको मानिन्छ।[९] विभिन्न वर्णनहरूमा उनलाई दिग्विजय चक्रवर्ती सम्राट सर्वदमन भरत भनिएको छ।
किंवदन्ती
[सम्पादन गर्नुहोस्]महाभारत
[सम्पादन गर्नुहोस्]महाभारतमा उल्लेख भएअनुसार राजा दुष्यन्त एकपटक जङ्गलमा शिकार खेल्दै गर्दा ऋषि कण्वको आश्रममा आइ पुग्छन्। ऋषिको अनुपस्थितिमा उनकी धर्मपुत्री शकुन्तलाले दुष्यन्तको स्वागत गर्छिन् भने उता दुष्यन्त उनको सुन्दरता देखेर मोहित हुन्छन्। अप्सरा मेनका र ऋषि विश्वामित्रको मिलनबाट आफू जन्मिएकी र पछि ऋषि कण्वले उनलाई हुर्काउँदै आएका हुन् भनेर उनले आफ्नो जन्मको कथा सुनाउँछिन्। दुष्यन्तले शकुन्तलासँग विवाह गर्ने इच्छा व्यक्त गर्छन् त शकुन्तलाले एउटा शर्त राखेर मात्र त्यसमा सहमति जनाउँछिन्। यो शर्त उनीहरूबाट जन्मने छोरालाई दुष्यन्तले राजा बनाउनुपर्नेछ भन्ने हो। दुष्यन्त सहमत हुन्छन् र गन्धर्व विवाह अनुसार शकुन्तलासँग विवाह गर्छन्। त्यसपछि दुष्यन्त आफ्नो राज्य फर्किन्छन्। यसैबीच, ऋषि कण्वले शकुन्तला र दुष्यन्तको विवाहको बारेमा थाहा पाउँछन् र छोरीले सम्राटलाई जन्म दिनेछिन् भन्ने भविष्यवाणी गर्छन्।
समयक्रममा शकुन्तलाले दुष्यन्तको छोरालाई जन्म दिन्छिन् र उनको नाम सर्वदमन राख्छिन्। दाहिने हातमा चक्रको चिन्ह भएका उक्त चक्रले सर्वदमनले सम्राट बन्ने नियति बोकेका छन् भन्ने सङ्केत गर्दथ्यो। सर्वदमन दस हजार हात्तीको बल लिएर जन्मिएका हुन्छन् र बाल्यकालमै उनी जङ्गली जनावरहरूलाई नियन्त्रण गर्न र तह लगाउन सक्षम बन्छन्। केही वर्षपछि ऋषि कण्वले शकुन्तलालाई आफ्नो छोरा लिएर दुष्यन्तकोमा जान सल्लाह दिन्छन्। दुष्यन्तको राज्यमा उनीहरू पुग्दा आफ्नी श्रीमती र छोरालाई दुष्यन्तले चपन्न नसक्दा उनी स्तब्ध बन्छिन्। त्यसपछि एउटा आकाशवाणीले सर्वदमन वास्तवमै दुष्यन्तका छोरा भएको पुष्टि गर्छ र बालकको नाम फेरेर 'भरत' राखिदिन्छ। दुष्यन्तलाई भरत आफ्नै छोरा हो भन्ने कुरा पहिले नै थाहा हुँदा हुँदै पनि मानिसहरूले उनको पितृत्वमा शङ्का गर्ने डरले उनले सार्वजनिक रूपमा भन्न सकेका थिएनन्।
अन्ततः भरत राजा र विश्वविजेता दुवै बन्न सफल हुन्छन्। द्रोण पर्वमा उल्लेख भएअनुसार भरतले १,८०० अश्वमेध यज्ञ, १०० राजसूय यज्ञ र सयौँ वाजपेय यज्ञहरू सम्पन्न गरेका छन्। भरतका हजुरबुबा, ऋषि कण्वले उनका सबै यज्ञ अनुष्ठानहरूको पुरोहित्याइँ गर्छन् र यसको दक्षिणा स्वरूप सम्राटले आफ्ना हजुरबुबालाई अनगिन्ती घोडा र १० नील स्वर्ण मुद्राहरू दान दिन्छन्। भरतले विदर्भका तीन राजकुमारीहरूसँग विवाह गर्छन्। भरतले देवताहरूसँग छोराका लागि प्रार्थना गर्छन् र देवताहरूले उनलाई एउटा बालक दिन्छन् जसको नाम उनले वितथ राख्छन् जसलाई भारद्वाज पनि भनिन्छ। अर्को विवरणअनुसार, भारद्वाजले भरतलाई भुमन्यु नामक छोराको आशीर्वाद दिएका छन्।[१०] भरतले सत्ताइस हजार वर्षसम्म शासन गर्छन् र त्यसैले उनले उत्तराधिकारमा पाएको र विस्तार गरेको राज्य उनको नाममा 'भारत' भनेर चिनिन थाल्छ।[११]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ The Mahabharata of Krishna-Dwaipayana Vyasa (Complete), Library of Alexandria, आइएसबिएन 9781465526373।
- ↑ An Introduction to Epic Philosophy: Epic Period, History, Literature, Pantheon, Philosophy, Traditions and Mythology, Cosmo Publications, २००४, आइएसबिएन 9788177558784।
- ↑ "The Mahabharata, Book 1: Adi Parva: Sambhava Parva: Section LXXIV", www.sacred-texts.com।
- ↑ "The Mahabharata in Sanskrit: Book 1: Chapter 69", www.sacred-texts.com।
- ↑ www.wisdomlib.org (११ अप्रिल २००९), "Bharata, Bhārata, Bharatā, Bharaṭa: 44 definitions", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ नोभेम्बर २०२२।
- ↑ Apte, Vaman Shivaram (१९५९), "भरतः", Revised and enlarged edition of Prin. V. S. Apte's The practical Sanskrit-English dictionary, Poona: Prasad Prakashan, मूलबाट १३ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०१५।
- ↑ Buitenen, J. A. B. van (१९७३), "Introduction", Mahabharata Book I: The book of beginnings, University of Chicago Press, आइएसबिएन 9780226846637।
- ↑ Julius Lipner (2010) "Hindus: Their Religious Beliefs and Practices.", p.23
- ↑ Vyasa, Dwaipayana (२४ अगस्ट २०२१), The Mahabharata of Vyasa: (Complete 18 Volumes) (अङ्ग्रेजीमा), Enigma Edizioni, पृ: 2643।
- ↑ www.wisdomlib.org (२८ जनवरी २०१९), "Story of Bharadvāja", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ नोभेम्बर २०२२।
- ↑ www.wisdomlib.org (२८ जनवरी २०१९), "Story of Bharata", www.wisdomlib.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच २७ नोभेम्बर २०२२।