भिक्षाटन
| भिक्षाटन | |
|---|---|
तपस्वीहरूका देवता | |
भिक्षाटन, अन्नामलयार मन्दिर, तिरुवन्नामलै | |
| देवनागरी | भिक्षाटन |
| आबद्ध | शिवको स्वरूप |
| अस्त्र | त्रिशूल |
| रानी | पार्वती |
भिक्षाटन (शाब्दिक अर्थ: "भिक्षाका लागि भौँतारिनु, भिक्षावृत्ति"[१]) वा भिक्षाटन-मूर्ति हिन्दु देवता शिवको "परम् भिक्षु" वा "परम मगन्ते" रूप हो।[२] भिक्षाटनलाई गहनाले सजिएको, हातमा भिक्षा पात्र लिएको एक नग्न चार-हात भएको पुरुषको रूपमा चित्रण गरिन्छ जसको पछि पछि प्रेत सेवकहरू र प्रेम-विह्वल महिलाहरू लागेका हुन्छन्।
भिक्षाटनलाई शिवको उग्र स्वरूप भैरवको एक सौम्य रूप मानिन्छ। यो भैरवका दुई भयानक स्वरूपहरू बीचको शान्त अवस्था हो जसमध्ये एकले ब्रह्माको टाउको काटेका थिए भने अर्कोले भगवान विष्णुका द्वारपालको विष्वक्सेनको बध गरेका थिए।[३] ब्रह्माको पाँचौँ टाउको काटेको पापको प्रायश्चित गर्न शिवले धारण गरेको भैरवको स्वरूप नै भिक्षाटन हो। उनले ब्रह्माण्डमा एक नग्न कापालिक भिक्षुको रूपमा भ्रमण गर्छन् र ब्रह्माको खप्परलाई भिक्षा पात्र बनाएर भिक्षा माग्छन्। अन्ततः पवित्र सहर वाराणसी पुगेपछि मात्र उनको पाप मोचन हुन्छ।
अर्को एक किंवदन्ती अनुसार, ऋषिहरूको अज्ञानता हटाउन र उनीहरूलाई साँचो ज्ञानतर्फ डोर्याउन भिक्षाटन देवदारको वनमा जान्छन्। उनको भ्रमणको क्रममा, भिक्षा दिन आउने ऋषि पत्नीहरू उनीप्रति आकर्षित हुन्छन्। भिक्षाटनको "पाखण्डी" देखिने स्वरूप र कार्यबाट त्रसित भएका ऋषिहरूसँग उनको लामो सङ्घर्ष हुन्छ। अन्ततः भिक्षाटनको विजय हुन्छ र उनले आफ्नो लिङ्ग पूजाको स्थापना गर्छन्। यसै कथाको अर्को संस्करणमा भिक्षाटन कसरी नटराज (ब्रह्माण्डीय नर्तकको रूपमा शिव) मा रूपान्तरित हुन्छन् भन्ने वर्णन गरिएको छ।
उत्तरी भारतको तुलनामा दक्षिण भारतमा भिक्षाटन एक लोकप्रिय प्रतिमा हो। मुख्य देवताको रूपमा भिक्षाटनलाई समर्पित मन्दिरहरू नभए तापनि लगभग प्रत्येक ठूला तमिल शिव मन्दिरका पर्खालहरूमा उनको मूर्ति कुँदिएको पाइन्छ। उनलाई सहायक देवताको रूपमा पूजा गरिन्छ र मन्दिरका उत्सवहरूमा शोभायात्राका लागि कास्य मूर्तिहरू बनाइन्छ। धेरै तमिल भाषाका भजनहरूले भिक्षाटनको भ्रमणको महिमा गाउँछन् र उनीप्रति मोहित भएकाहरूको विरहको वर्णन गर्छन्।
प्रतिमा लक्षण
[सम्पादन]
भिक्षाटनको प्रतिमा लक्षणको चर्चा अंशुमद्भेडागम, कामिकागम, सुप्रेदागम, कारणागम र शिल्पशास्त्र सम्बन्धी कृति शिल्परत्न लगायत सबै शैव आगम ग्रन्थहरूमा गरिएको छ। यी ग्रन्थहरू प्रायः दक्षिण भारतीय मूलका हुन्। यसको प्रतिमा लक्षण कङ्कालमूर्ति स्वरूपसँग धेरै मिल्दोजुल्दो छ, जो भिक्षाटन जस्तै ब्रह्माको टाउको काटेको पापबाट मुक्त हुन शिवले गरेको प्रायश्चितको किंवदन्तीसँग जोडिएको छ। यी दुई बीचको मुख्य भिन्नतामा, भिक्षाटन नग्न हुन्छन् भने कङ्कालमूर्तिले लुगा लगाएका हुन्छन्।
शिवलाई प्रायः नग्न तपस्वी योगीको रूपमा वर्णन गरिए तापनि प्रतिमाको रूपमा उनलाई भिक्षाटनको स्वरूपमा बाहेक विरलै नग्न देखाइन्छ। प्रायः नग्न भिक्षाटनको आकर्षक स्वरूपलाई उनको शरीरको माथिल्लो भाग र नितम्बमा जोड दिएर देखाइन्छ। यद्यपि उनको पुरुषत्व पूर्ण रूपमा देखिन्छ दक्षिण भारतीय प्रतिमा लक्षणमा भिक्षाटनलाई कहिल्यै पनि उत्तेजित लिङ्ग भएको अवस्थामा देखाइँदैन। शास्त्रीय विवरणहरूको विपरित, ओडिशाको संस्कृतिमा भिक्षाटनका चित्रहरूमा उनलाई बाघको छाला र अन्य शरीरका गहनाहरू लगाएको तर उत्तेजित लिङ्ग प्रदर्शन गरिएको अवस्थामा चित्रण गरिन्छ। त्यहाँ उनी दुई हात भएका हुन्छन् जसको बायाँ हातमा भिक्षा पात्र (कपाल) र दायाँ हातमा त्रिशूल हुन्छ।
भिक्षाटनलाई 'जटाभद्र' (छरिएको जटा) वा 'जटामण्डल' (गोलाकार रूपमा मिलाइएको जटा) को साथ चित्रण गरिन्छ। उनको जटामा एउटा सर्प र चन्द्रकला (अर्धचन्द्र) सजाइएको हुन सक्छ। उनको निधारमा 'त्रिपुण्ड्र' हुन्छ, जुन तीनवटा तेर्सो भस्मका रेखाहरू र बीचमा रातो थोप्लो मिलेर बनेको शैव तिलक हो जसले तेस्रो आँखालाई प्रतिनिधित्व गर्दछ। उनले निधारमा सजावटी पट्टी लगाएका हुन्छन् जुन कहिलेकाहीँ मानव खप्परको आकृतिले सजिएको हुन्छ। सर्पका गहनाहरूले उनको शरीर सुशोभित हुन्छ र कास्य मूर्तिहरूमा प्रायः धेरै माला, कम्मरपेटी, बाजूबन्द, बाला कल्ली र हात तथा खुट्टाका सबै औँलाहरूमा औँठी लगाएको देखाइन्छ। उनको कम्मरमा सर्प बाँधिएको हुन्छ र छातीमा सेतो जनै लगाइएको हुन्छ।
यो पनि हेर्नुहोस्
[सम्पादन]सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Monier-Williams (२००८) [१८९९], Monier Williams Sanskrit-English Dictionary, Universität zu Köln, पृ: ७५६, मूलबाट १८ अक्टोबर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मे २०२१।
- ↑ Kramrisch p. 287
- ↑ von Stietencron p. 105