सामग्रीमा जानुहोस्

भुटानी परिकारहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भुटानी परिकारहरू(Dzongkha:འབྲུག་ཁ་ལག་) भुटानका विभिन्न जाति–जनजातिहरू, भौगोलिक विविधता तथा स्थानीय कृषि उत्पादनमा आधारित पारम्परिक भोजन संस्कृतिलाई जनाउँछ। भुटानी परिकारको एक प्रमुख खाद्य पदार्थ भुटानी रातो चामल हो, जुन बनावटमा खैरो चामलजस्तै भए पनि यसको स्वाद हल्का कडा हुन्छ। यो उच्च उचाइमा उब्जाइने विशेष प्रकारको चामल हो। भुटानी खाद्य संस्कृतिमा मसिनो तर तिखो स्वाद प्रमुख विशेषता मानिन्छ, जसमा रातो खुर्सानी (एमा), चीज (दात्शी), आलु, गहुँ, चामल तथा विभिन्न स्थानीय सागसब्जीको व्यापक प्रयोग हुन्छ। अन्य प्रमुख अनाजहरूमा फापर र बढ्दो रूपमा मकैको प्रयोग उल्लेखनीय रुपमा गरिन्छ।

बुमथाङ क्षेत्रमा मुख्यतः फापरको सेवन गरिन्छ भने पूर्वी जिल्लाहरूमा मकै प्रमुख अन्न मानिन्छ र देशभर भात व्यापक रूपमा खाने गरिन्छ। पहाडी भुटानी खानामा कुखुरा, याकको मासु, सुकाएको गाईको मासु, सुँगुरको मासु, सुँगुरको बोसो तथा भेडाको मासुसमेत समावेश गर्ने गरिन्छ। चिसो मौसममा स्थानीयहरूले मासु, भात, फिडलहेड्स, दाल तथा सुकेको तरकारीबाट तयार गरिने सुप र स्ट्यु प्रायः सेवन गर्छन्। यी परिकारहरूमा खुर्सानी तथा चीज प्रयोग गरी तिखो स्वाद दिनु भुटानी विशेषता हो। जोउ शुङ्गो, भात र बिभिन्न प्रकारका तरकारीहरू मिसाएर बनाइने परिकार हो। जुन ग्रामीण क्षेत्रमा अत्यन्त लोकप्रिय रहेको छ। भुटानमा खुर्सानीलाई मसलाको रुपमा मात्र नभै एक तरकारीको रुपमा उच्च महत्व दिइन्छ। यहाँको राष्ट्रिय खाना पिरो खोर्सानी र चिज बाट बनेको एक तरकारी इमा दात्शी, हो। इमा दात्शी, भुटानको सबैभन्दा चिनिएको प्रचलित परिकार मानिन्छ। यसमा ठूला वा साना हरियो वा रातो खुर्सानीहरूलाई चीजको ससमा पकाइन्छ। यसको व्यापक सेवन र भुटानीहरूले यसप्रति राख्ने विशेष गर्वका कारण यसलाई भुटानको राष्ट्रिय परिकार मानिन्छ।[] अन्य परिकारहरूमा जाशा मारु (कुखुराको मासुबाट बनाइने परिकार), फाक्शा पा (सुकुटी गरिएको पोर्कलाई खुर्सानी, मसला र तरकारी—जस्तै मुला, साग वा मूली—सँग पकाइने), थुक्पा, पुटा (फापरका नुडल), बातुप र फ्राइड राइस समावेश छन्।

देशका रेस्टुरेन्टहरूले चिनियाँ, नेपाली, तिब्बती र भारतीय खानाहरू उपलब्ध गराउँछन्, जसको लोकप्रियता धेरै छ। पछिल्ला वर्षहरूमा कोरियाली लोकप्रिय संस्कृतिको बढ्दो प्रभावका कारण देशमा कोरियाली रेस्टुरेन्टहरू पनि खुल्न थालेका छन्।[]

भुटानी संस्कृतिमा जब कसैलाई खाना प्रस्ताव गरिन्छ, पहिलो पटक सामान्यतया हातले मुख हल्का छोप्दै ‘मेशु मेशु’ (अर्थात् “मलाई लाज लाग्यो/कृपया कष्ट नदिनुहोस्” भन्ने विनम्र अस्वीकार) भन्ने प्रचलन रहेको छ। प्रथानुसार दोहोरो वा तेहोरो आग्रहपछि मात्र भोजन स्वीकृत गर्ने चलन पाइन्छ।[]

  1. "༈ རྫོང་ཁ་ཨིང་ལིཤ་ཤན་སྦྱར་ཚིག་མཛོད། ༼ཨ༽" [Dzongkha-English Dictionary: "A"], Dzongkha-English Online Dictionary, Dzongkha Development Commission, Government of Bhutan, मूलबाट २०११-०८-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-१०-३०
  2. "Korean fever strikes Bhutan", Inside ASEAN, मूलबाट २०१६-०२-०२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०१-०५ अभिलेखिकरण २०१६-०२-०२ वेब्याक मेसिन
  3. "10 Fascinating Facts about Bhutan", ECTTravel (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२४-१२-२७