सामग्रीमा जानुहोस्

भूमे नाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भूमे नाच
वैकल्पिक नामबल पूजा
अनुयायीखाम मगर समुदाय
प्रकारसांस्कृतिक

भूमे नाच (जसलाई बल पूजा, नाम्का पर्व, लोकाबाङ्गेय, झ्याम्क्री र बाल्काबुल्कु पनि भनिन्छ) नेपालको लुम्बिनी प्रदेशका खाम मगर समुदायले मनाउने एक सांस्कृतिक पर्व हो।[] नेपाली भाषामा भूमे शब्दको अर्थ 'पृथ्वी' र नाच को अर्थ 'नृत्य' भन्ने हुन्छ। खाम मगरहरूले भूमि (भूमि पूजा), पानीका मुहानहरू वन (वन पूजा) र मौसमको पूजालाई धार्मिक परम्परा मान्दछन् भने यसो गर्दा राम्रो उत्पादन हुने र पशुधनको कल्याण हुने विश्वास गरिन्छ। [] यश प्रकारको नृत्यलाई मगर समुदायका मानिसहरूले विशेषगरी पूर्वी रुकुमरोल्पामा प्रदर्शन गर्छन्। यो नृत्य भूमे गाउँपालिकापुथा उत्तरगङ्गा गाउँपालिकाका सबै भागहरूमा तथा रोल्पाको थवाङजेलवाङमा पनि गरिन्छ। यो नृत्य पर्वतीय खाम मगर भाषा बोलिने प्रमुख गाउँहरूमा विशेष हुन्छ।[]भूमे नाच एक लोकनृत्य हो जसमा आगो वरिपरि नाचेर पृथ्वीको पूजा गरिन्छ। खाम समुदायले पृथ्वीलाई ईश्वर मान्छन्। पृथ्वीलाई आमा र संरक्षक ठानिन्छ जसले सबैलाई आश्रय, खाना र जीविका प्रदान गर्छ। पृथ्वीलाई खुसी पार्नका लागि जेठ देखि साउन नाच गरिन्छ। मुख्य उत्सव असारको पहिलो हप्तामा हुन्छ।[]

भूमे नाचको बारेमा

[सम्पादन गर्नुहोस्]

देशको पश्चिमी क्षेत्रका अठाह्र मगरात समुदायहरूमा भूमे नाच प्रसिद्ध छ। यो मूलतः यस क्षेत्रका मगर समुदायहरूको परम्परागत नृत्य हो। मगरहरू प्रकृति पूजक भएकाले जमिनलाई आफ्नो आदिम शक्तिको रूपमा पूजा गर्छन् र प्रकृतिको पूजासँग जोडिएको हुनाले प्रकृतिको सम्मानमा भूमे नाच प्रदर्शन गर्छन्। प्रकृति र पितृहरूलाई सम्झँदै, जमिन र भूमि देवताप्रति उच्च सम्मान प्रकट गर्नका लागि भूमे नाचको आयोजना गरिन्छ। भूमे नाच असारको पहिलो र दोस्रो गते प्रदर्शन गरिन्छ। कहिलेकाहीँ यसलाई सोही महिनाको पहिलो दिनदेखि पाँचौं दिनसम्म विस्तार गरिन्छ। यस नाचमा पृथ्वी वा प्रकृतिलाई सबैभन्दा सर्वोच्च मानिन्छ। पृथ्वीकै कारण हामी जीवित छौँ भन्ने विश्वासका साथ नर्तकहरूले जमिनलाई ढोग्छन् र प्रकृतिको प्रार्थनासँगै नाच सुरु गर्छन्। यस नाचमा सबै उमेर समूहका पुरुष र महिला दुवै सहभागी हुन्छन्। नाच हेर्न आउने पाहुनाहरूले पनि नाच्ने इच्छा व्यक्त गरेमा उनीहरूलाई सहर्ष स्वागत गरिन्छ।

नाचको समयमा, कलाकारहरूले एउटा घेरा बनाउँछन्। घेराको बीचमा बाँसुरी, मादल, पैँजम, छेलाम र डुन्डी नरसिंगा र तुरही जस्ता वाद्ययन्त्रहरू बजाइन्छ। जब वाद्यवादनहरूले ताल र लयमा बाजा बजाउन थाल्छन्, घेराभित्र पुरुष नर्तकहरू र घेरा बाहिर महिला नर्तकहरू सङ्गीतको ताल र लयमा नाच्न थाल्छन्। भूमे नाचमा गीतहरू गाइँदैनन्, तर यो नाचले पितृहरूको स्मरण गर्दछ र कृषि अभ्याससँग जोडिएका जीवनका विभिन्न पक्षहरूको अभिव्यक्ति दिन्छ। जब सङ्गीतको ताल र लय परिवर्तन हुन्छ तब नाचको शैली पनि परिवर्तन हुन्छ। भूमे नाचमा २२ वटा चालहरू हुने विश्वास गरिन्छ, जुन अहिलेको समयमा लोकगीतका २२ वटा धुनहरूमा प्रदर्शन गरिन्छ। भूमे नाच सुरु गर्नुअघि नरबलि दिने गरिन्थ्यो भन्ने हल्ला चले पनि वास्तवमा यो अभ्यासमा थियो भन्ने कुरामा कसैले पनि निश्चितता दिन सकेका छैनन्।[]

धार्मिक नृत्य

[सम्पादन गर्नुहोस्]

भूमे नाचको मुख्य नृत्यमा गाउँका युवाहरू एउटा घेराको बीचमा नाच्छन् र उनीहरूलाई राम्रो पहिरन, गहना र फूलले सजिएका युवतीहरूले घेरेका हुन्छन्। ती युवतीहरूले सम्मान प्रकट गर्न फूलहरू वितरण गर्छन्। बालबालिकाहरूले यस नाचमा भाग लिई उनीहरूले प्रत्येक गीतमा २२ चालहरू पूरा गर्छन्। उनीहरूले सोही दिनभित्र नाचका सबै २२ चालहरू पूरा गर्नुपर्ने हुन्छ। यो 'बल पूजा' ले भगवान वा पृथ्वीलाई एउटा सन्देश प्रवाह गर्दछ। खाम मगरहरूले पृथ्वीलाई माया र संरक्षणको मुख्य स्रोत मान्ने भएकाले आफूलाई आवश्यक पर्ने खाना, पानी, वायु, प्रकाश र बासस्थान प्राप्त गर्न पृथ्वीलाई खुसी राख्नुपर्छ भन्ने उनीहरूको विश्वास छ।[]

नाचमा युवतीहरूको बाहिरी घेराले उनीहरूको आफ्नै समुदायको आमा र संरक्षकको प्रतिनिधित्व गर्दछ। खाम मगर समुदायमा परिवार र समुदायद्वारा गरिने निर्णयहरूमा महिलाहरूको ठूलो प्रभाव रहने गर्दछ। यो वार्षिक उत्सवको समापनमा सबै सहभागीहरूले मिलेर दुःखद गीतहरू गाउँछन्। सहभागीहरू भक्कानिएर रुन्छन् र आफ्ना अग्रजहरूबाट शुभकामना र आशीर्वाद लिई बिदा हुन्छन्। यो परम्परागत भूमे नाच मनाउने प्रक्रिया खाम मानिसहरूको ईश्वरसँग भन्दा पनि प्रकृतिसँगको सम्बन्धको प्रतीकात्मक प्रदर्शन हो।[] भूमे नाचले पृथ्वी बिना जीवन सम्भव छैन भन्ने तथ्यलाई उजागर र उत्सवका रूपमा मनाउँछ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "खाम मगरको बल पूजा र भूमे नाच सुरु", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-११-०३
  2. "भूमेको भूमिमा सांस्कृतिक उत्सव (फोटोफिचर)", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-११-०३
  3. Hemanta Rai Official (२०२३-०५-२५), BHUME Parba (Festival) Documentary - Nepali Culture & Festival - Magar, अन्तिम पहुँच २०२५-०४-२१ YouTubeद्वारा।
  4. सुरेन्द्र राना, "रूकुम (पूर्व) मा 'भूमे' को रौनक", सेतो पाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-११-०३[स्थायी मृत कडी]
  5. "भूमे पर्व : एक विशुद्ध मगर मौलिक पर्व", Everest Times UK (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-०४-२१
  6. "मगर बस्तीमा भुमे नाचको रौनक", मूल पाटी (नेपालीमा), मूलबाट २०२२-११-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-११-०३ अभिलेखिकरण २०२२-११-०३ वेब्याक मेसिन
  7. "खाम मगरको बल पूजा र भूमे नाच सुरु", अन्नपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-११-०३