मकर मेला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सूर्य मकर राशिमा रहेका बखत अर्थात् प्रत्येक १२ वर्षमा पनौती (काठमाडौंबाट करिब ३० कि.मि. पर पर्ने बनेपा सहरको दक्षिणतिर रहेको शहर)मा मकर मेला लाग्छ । लिच्छवि कालीन राजा मानदेवको पालादेखि नै सुरु भएको अनुमान रहेको यो मेलामा असङ्ख्य भक्तजनको जमघट रहँदै आएको ऐतिहासिक प्रमाण छ तर पनौती मेलाको चर्चा स्कन्द पुराणमै पनि भेटिनु र लक्ष्मणलाई बचाउन हनुमानले ल्याएको बुटी यहीँ खसेको थियो भन्ने चर्चा पाइनुले त्योभन्दा पनि अघिदेखि चल्दै आएको अनुमान गर्न सकिन्छ।विश्व सम्पदा सूचीमा रहेको पनौती क्षेत्र आफैमा प्रसिद्ध तीर्थ क्षेत्र हो ।

रोशी नदीको जल हत्केलामा राखी गुरू गोरखनाथमा अर्पण गरे मानिसको इच्छासिद्धि हुने विश्वास रहेको छ। नजीकै रहेकी पुण्यमती नदीमा प्रदूषण रहेकाले मेला भरि रोशीबाट विशेष जल प्रवाह गराइने कुरा मेला आयोजक समितिबाट थाहा भएको छ। मकर मेला, त्रिवेणीस्नानले शरीर र मन दुवैको रोग नाश हुन्छ भन्ने पौराणिक कथनअनुसार सत्ययुगमा देवताका राजाले आफ्नो शरीरमा लागेको श्राप जन्य रोग पनौती उपासनाबाटै निको पारेका थिए भन्ने भनाई रहेको छ। स्कन्दपुराणको हिमवत् खण्डमा पनि यस प्रसगंमा -गौतम ऋषिकी पत्नी अहिल्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको समेत श्रापमोचन पद्मावती (पुण्यमाता) र लीलावती (रोशी)को सङ्गममा पूणिर्माका दिन बिहान सबेरै नुहाउनाले भयो भनी उल्लेख छ। नेपाल माहात्म्यमा पुण्यमातालाई नीरमती र रोशीलाई रोषमती भनिएको देखिन्छ।त्यसैले पनौतीमा पुण्यमाता र रोशीको सङ्गममा स्नान गर्नाले पाप पखालिन्छ भन्ने जनविश्वास छ।

परापूर्वकालमा सृष्टिकर्ता ब्रह्माले अहिल्या नाम गरेकी अति सुन्दरी स्त्री सृष्टि गरी गौतम ऋषिलाई नासोका रूपमा राख्न दिए। यो रहस्य ब्रह्माजी र ऋषिमा मात्र सीमित थियो भने अरूले अहिल्यालाई गौतम ऋषिकी धर्मपत्नी सम्भिmए पनि ऋषिले कुनै वास्ता गरेका थिएनन्। उनले अहिल्यालाई नासोका रूपमै सुरक्षित राखे।एकदिन स्वर्गका राजा देवराज इन्द्र सिकार गर्न जाँदा अहिल्यालाई देखि मोहित भए। गौतम ऋषि स्नान गर्न गएको मौका पारी गौतम ऋषिको भेष धारण गरी अहिल्यालाई छक्याई उनीसँग अनैतिक सम्बन्ध राखे। स्नानबाट फर्किएका गौतम ऋषिले सो कुरा थाहा पाई इन्द्रलाई शरीरमा हजारौं योनि उत्पन्न हुने श्राप दिए। इन्द्र विरूपी भए, उनकी पत्नी शचीसमेतलाई आपत् पर्‍यो। आफ्ना पतिको यस्तो रूप देखेर विह्वल भएकी इन्द्राणीले आफ्ना गुरू वृहस्पतिका सामु यो श्राप कसरी हटाउने भनी बिन्ती चढाउँदा ब्रह्माजीको आज्ञा लिएर तिमी र इन्द्रले कुञ्जपर्वत -हालको गोरखनाथ डाँडा)को फेदीमा लीलावती र पद्मावतीको सङ्गममा जहाँ सुकेको बाँस गाड्दा टुसाएर आउँछ त्यहाँ प्रत्येक ज्येष्ठ शुक्ल पूणिर्माका दिन स्नान गरी १२ वर्षसम्म महादेवको तपस्या गरे यो श्रापबाट मुक्त मिल्ने सल्लाह पाए।

गुरू वृहस्पतिको उपदेशले पनौतीको गोरखनाथ पर्वत नजीकै पुण्यवती(पद्मावती) र लीलावती खोलाको सङ्गममा इन्द्रले शिवको र शचीले पार्वतीको १२ वर्षसम्म तप गरे। तपका प्रभावले पार्वती पुण्यवती रूपमा प्रस्तुत भई रोशी खोलाको सङ्गममा झरेपछि स्वयं शिवजी प्रकट भइ शिवलिङ्गको उत्पत्ति भयो। त्यही शिवलिङ्गबाट महादेव प्रकट भै इन्द्रलाई भने-'यहाँ इन्द्राणीले तपस्या गरी रुद्रावती नदीको उत्पत्ति भएकाले यो ठाउँको नाम शची तीर्थ रहन गएको हो। यो शची तीर्थमा नुहाएपछि निधारमा रहेको योनिबाहेक अरू सबै योनि तिम्रो शरीरबाट लुप्त हुनेछन्। यो शिवलिङ्ग नामले इन्द्रेश्वर भनी प्रसिद्ध हुनेछ र यसले मानिसहरूलाई इच्छानुसार फल दिनेछ। त्यसपछि महादेवले भनेअनुसार इन्द्रले इन्द्रेश्वर महादेवको बारम्बार परिक्रमा गरी ज्येष्ठ शुक्ल पूणिर्माका दिन शची तीर्थमा नुहाए। यसरी इन्द्रको शरीरबाट श्राप चिन्हहरू हटे। हिजोआज पनि इन्द्रेश्वर शिवको दर्शन गर्नाले कामुकताको दोष हट्ने विश्वास छ। १२।१२ वर्षमा मेला लाग्ने कारण पनि यही हो।

इन्द्राणीको तपस्याबाट प्रसन्न भएर माघ महिनाको पुण्य घडीमा रुद्रावती नदीको रूप लिई पार्वती त्यहाँ गुप्तरूपले बग्न थालिन्। दिव्यचक्षुले इन्द्राणीले रुद्रावती नदी बगेको दे खिन्। पनौतीका बासिन्दाहरू प्रयागमा गङ्गा र यमुनाको सङ्गममा गुप्त रूपले सरस्वती मिसिन आएझैं यहाँ पनि पुण्यमाता र रोशीको सङ्गममा गुप्त रूपले रुद्रावती मिसिन आएकी छिन् भन्ने विश्वास गर्छन्। त्यसैले।पनौतीघाटलाई उत्तरप्रयाग नामले पनि चिनिन्छ|

त्यसैगरी धेरै वर्षअघि पनौती र पाटनमा लामो समयसम्म वर्षा नभई खडेरी परेकाले पनौतीका राजा दिर्गरथ र काठमाडौंका राजा सत्यवर फूलचोकी माईको दर्शन र पानी वरदान माग्न गए। खडेरीबाट मुक्त हुन सुन र चाँदीको फूल चढाउन ल्याउनू भन्ने आदेश दुवै देशका राजालाई फूलचोकी माईले सपनामा दिइन्। ललितकलाका धनी काठमाडौंका राजा आफ्नो देशमा प्रशस्त कालिगढहरू हुनाले खुसी भए तर कालिगडहरूको अभावले चिन्तित पनौतीका राजाले मन्त्री, भाइ-भारदारहरूको सल्लाहअनुसार सुन र चाँदीको फूलको सट्टामा क्रमशः तोरी र मुलाको फूल फूलचोकी माईलाई चढाएछन्। कालिगढहरूको अभावका कारण साँच्चिकै फूल प्रस्तुत गर्नुपरेको बिन्ती चढाएपछि फूलचोकी माई प्रसन्न भएर रुद्रावती (रोशी) नदीमा पानी पठाई दिइन।

केही समयपछि काठमाडौंका राजा साँच्चिकै सुन र चाँदीको फूल लिएर जाँदा पनौतीमा नदी पठाइसकेको कुरा थाहा पाए। उनले आफूलाई पनि वरदान मिल्नुपर्ने प्रार्थना गरे। त्यसपछि फूलचोकी माईले आधा नदी त्यसतर्फ पठाइदिन्, जुन नदी गोदावरीका नामले चिनिन्छ। त्यसो भएर पनौती त्रिवेणी र गोदावरीमा ६-६ वर्षको अन्तरमा गोदावरीमा श्रावण महिनाभरि र पनौतीको त्रिवेणीघाटमा माघ महिनाभर १२ वर्षे मेला लाग्छ।

नब्बे सालको महाभूकम्पबाट पनि कुनै क्षति नभएको पनौतीलाई बासुकी नागले सुरक्षित गराएका छन् भन्ने विश्वास छ। पाँच दर्जनभन्दा बढी मठ, मन्दिरहरू रहेको ऐतिहािसक पनौती क्षेत्रमा ढिकी कुट्ने चलन पहिलेदेखि नै छैन। भक्तहरूले पनौतीघाटमा स्नान गरेपछि वासुकी, ब्रहृमायणी, घनञ्जय र इन्द्रेश्वर शिवको पूजा गर्ने गर्छन्। यसो गर्दा ठूलो पुण्य मिल्ने शास्त्रकारहरूको कथन छ।अघिल्लोपटक(बि.स् २०५४ ) करिब ५० लाखले सहभागिता जनाएको यस मेलामा यसपटक(बि.स् २०६६) एक करोडको सहभागिता रहेको अनुमान गरिएको छ |


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]