मकवानी-बाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उमानाथ शास्त्री सिन्धुलीय नेपालको एक कुनामा बसेर कठोर साहित्य–साधना गर्ने एक प्रखर कवि हुनुहुन्थ्यो । ‘मकवानी–बाला’ महाकाव्य कविको देहावसान (27 February , 1978) पश्चात् (सन् १९७८ अप्रिल–मे तिर) साझा प्रकाशनले प्रकाशन गरेको थियो । त्यसका अनेकौँ संस्करण आइसकेका छन् ।

नेपाली छन्दकविताको इतिहासमा सबैभन्दा धेरै छन्द प्रयोग गरिएको ‘मकवानी–बाला’ महाकाव्य वर्तमान नेपालको एकीकरणकर्ता बडामहाराजा पृथ्वीनारायण शाहकी पहिली पत्नी ‘इन्द्रकुमारी’को ऐतिहासिक जीवनकथामा आधारित छ ।

सोही महाकाव्यको एउटा अंशः

‘मकवानी–बाला’ महाकाव्यको पाँचौँ सर्गः

दिन पारी पला मासा

तुसाराको पिठो छरी

हुस्सियो, ढुस्सियो पूस

निर्धा, दुब्ला सफा गरी

युगले काँचुली फे¥यो

हे¥यो नौलो भविष्यले

छिमेकी राष्ट्र भो अर्को

घँचेटेर अदृश्यले

सप्तसिन्धु तरी आयो

अनौठो छाँटको हुरी

सारा भारतबासीको

आँखाभित्र धुलो छरी

यो हुरीले लछारेर

मन्त्री कर्तव्य भुल्दछन्

बेसुरा बन्दछन् राजा

सुरामा मस्त झुल्दछन्

काँचा आँप चिथोरेर

प्रजा दाँत कुँड्याउँछन्

फिरङ्गी रुखको आड

लिई मोज उडाउँछन्

विनाप्रयास पाएका

जीतमा गर्विलो बनी

आयो साम्राज्यको भोको

धोको पूर्न यता पनि

भिच्छाखोरी तरीबाट

छोडेको हाँक दिन्दिन

मकवान्–पुरमा पुग्छ

कन्दरा, पहरा छुन

देखिन्थे आत्तिएजस्ता

हेमकर्ण नरेश्वर

धेरै छिमेकका राजा

जुटे मद्दत–खातिर

घन्किए युद्धका बाजा

रन्किए कान कन्सिरी

छातीका तन्किए तन्तु

उम्लेका रक्तले भरी

सैन्यको उर्लियो भेल

पूर्णिमाको समुद्रझैँ

सन्तोष किन हो छैन

मकवान्–पुरमा अझै ?

उदाए गोरखाबाट

नरभूपालका पनि

जल्दो साहसका ज्वाला

सैन्य वीर–शिरोमणि

दूत हुन् कालिकाजीका

कालका साथ भिड्दछन्

छन् सिर्फ दुइ सङ्ख्यामा

असङ्ख्य रिपु गिँड्दछन्

खुर्पेठ्याक भिरेका छन्

खुर्पा यौटा छ साधन

रित्तै हात हवस् चाहे

तेजस्वी बल्छ दन्दन

चौँडा छन् पहरे छाती

अङ्ग अग्राखका कडा

आए नृसिंहका जोडा

जोसिला, होसिला बडा

ठाडो शिर झुकाएर

अनुशासित ढङ्गमा

आफ्ना भूपालको पत्र

टक्र्याए हेमकर्णमा

पत्र हेरी परे छक्क

मकवानी नरेश्वर

भन्दछन् भेलमा थोत्रो

डुँगी के काम लाग्छ र ?

कुस्ती हो कि कपर्दी हो ?

चीमुसीमात्र हो कि न ?

थाहै रैनछ सँग्राम

यस्तो हुन्छ भनीकन

छ विशाल र दुस्पार

शत्रुको सैन्य सागर

त्यहाँ अल्पिनुको साटो

फर्की जानु भलो घर

ताँती यो आँचले छाती

फर्फराए भुजा अनि

उम्लियो मुटुको रक्त

जोश थामेर तैपनि

गोर्खालीले गरे बिन्ति

पाए काम सघाउँछौँ

मोरो बनेर फर्कन्नौँ

बरु तेसैै बिलाउँछौँ

अनास्थासाथ यो आज्ञा

गर्दछन् फेरि भूपति

भिच्छाखोरी गई हेर

अनुष्टुप् सैन्यको स्थिति ।

आज्ञा शिरोपर गरी

अगुवा एक लीकन

गोरा शिविरका सामु

पुगी वीर पसे बन

रूखमाथि चढी हेर्छन्

गोर्खाली चतुरा अति

‘टाटाटुटु’ गरी बोल्ने

अनुष्टुप् सैन्यको स्थिति

कमेराले सिँगारेका

मानेझैँ अङ्ग टल्कने

चैतका बाबियाजस्ता

पहेँला केश झल्कने

राता बानरको भान

पारी आँखा नचाउँछन्

काला बन्दुक बोकेर

निकै नै सग्बगाउँछन्

अनास्था वेदविद्याको

धर्मको बिग्रँदो स्थिति

दुर्दशा आर्यभूमिको

पूर्वसंस्कृतिको क्षति

देख्न, सुन्न नचाहेर

सूर्य मानौँ विरक्तिए

सेता, राता, पहेँला भै

पश्चिमी सिन्धुमा डुबे

धरती अन्ध पारेर

नजौ अन्त दिवाकर !

भन्दै आग्रहले रोक्न

चाहन्थे उच्च भूधर

अल्पियो चम्किलो कान्ति

विश्वको दृश्य सम्पदा

सारा उद्योग औजार

पोको पर्न पुगे कता ?

शिरीष, अररी, ताप्रे

हात जोडेर बस्तछन्

टिप्न छोडी चरा चारा

गूँडमा लुक्न पस्दछन्

अन्धो हुचिल चम्कन्छ

चमेरा चल्मलाउँछन्

ब्यूँझी जङ्गलका ढाडे

गाउँमा ढुक्न धाउँछन्

स्यालले रसिया गाए

चकमन्न भयो जगत्

गोरा शिविरमा चार

पाले बाहिर छन् फगत्

गँगटाका गर्भमा झैँ

सिपाही पालभित्र छन्

पालबाहिर पालेका

आँखा चौतर्फी घुम्दछन्

हाँस्छन् शिविरका चारै

सुरमा ठडरम्म भै

चिरागे बाँसका खम्बा

सैन्यलाई गिज्याउँदै

पिउँछन् छिन्छिनै तेल

अन्धकार पचाउन

जिउँछन् सैन्यको ज्यान

सकेसम्म बचाउन

चिरागपिच्छे प्रहरी

सावधान सतर्क छन्

कथञ्चित् रातमै वैरी

बज्रे सङ्केत गर्दछन्

वस्तुस्थिति सबै हेरी

मनमा जुक्ति क्यै खिपे

रुखबाट झरी वीर

अँध्यारा स्थानमा छिपे

बिरालाको लिई चाल

बढे बिस्तार लम्कँदै

होस, जोश मिसाएका

प्रतिभाले उचालिँदै

पुगी उत्तर फर्केका

प्रहरीका अघिल्तिर

जङ्गी खुर्पा उचालेर

एकैसाथ गिँडे शिर

उस्तै दक्षिण फर्केका

प्रहरी दुई जो थिए

यै खुर्पेधारको बाटो

यमका पाहुना भए

आफ्ना पालक पालेको

दशा देखि विरागले

सधैँका पछुवा बन्न

आँखा चिम्ले चिरागले

तुरुन्त दगुरे खुर्पा

दुवै बगलमा हुँदै

तन्केका पालका डोरी

चटटट्ट चुँडाउँदै

अकस्मात् मस्त निद्रामा

आयो आकाश बज्रन

जुर्मुराई उठे सारा

धारातीर्थ नुहाउन

अर्धचेत अवस्थामा

आआफैँ शत्रु सम्झँदा

कैयौँले धरतीबाट

फुर्तीसाथ लिए विदा

कैयौँ ज्यान बचाएर

भागे शिविर रित्तियो

वीरका कुहिनाले नै

पहरो हुत्त हुत्तियो

अगुवाले लुकी हे¥यो

यो सबै रण–चातुरी

छक्क पारी परी बिन्ति

ग¥यो गै मकवान्–पुरी

अचिन्तित महान् सत्य

नाच्छ आँखाअघिल्तिर

साँगुरो चित्त पत्यार

गर्नमा छैन तत्पर

नमानौँ सपना हैन

विपना यो अचम्मको

कल्पनामा अटाउन्न

त्यो महान् कृत्य वीरको

सानो एक फिलिङ्गाले

काली वन जलाउँथ्यो

बाले जोरै फिलिङ्गाले

गोरावन भसक्क भो

समाचार सुनी झस्के

मकवानी नरेश्वर

गोर्खामा छन् कि जन्मेका

औतारी परमेश्वर ?

शिक्षादीक्षाविना कस्ता

चतुरा साहसी कडा

साना झिक्रा, झिँजाले नै

पोल्न सक्ने ठुला मुढा

धन्य ती वीरको धैर्य

धन्य हो साहसी मुटु

वीरका काखमा गर्छिन्

जयलक्ष्मी लुटुपुटु

यस्ता अक्कलका खानी

मधानी शत्रुसिन्धुका

साधारण सिपाही छन्

गोरखेश्वर बन्धुका

नियन्ताहरू झन् होलान्

केकस्ता गुणदर्विला ?

अनि पो लघुता नाघी

देखिन्छन् अति गर्विला

श्रद्धाको छाल उर्लेर

हृदयाकाश ढाकियो

गोर्खाली वीरतामाथि

झरी अमृतको झर्‍यो—

देश छ सानो ओज भरेको

गोरखकाली नाम परेको

अङ्कुशजस्तै दिग्गजलाई

लाउँछ बाटो कान समाई

दन्दन ज्यूँदो जाँगर बाली

मान, महत्ता गौरव पाली

चम्किरहेको भूतलमाथि

वीरमणीको आकर जाति

नित्य यिनैको प्रेमपिपासा

मेट्न जयश्री आकुल हुन्छिन्

वीरगलामा षड्ऋतुबाला

चम्पकमाला लाउन उन्छिन् ।

००

(‘मकवानी–बाला’ महाकाव्यबाट)

मकवानी-बाला उमानाथ शास्त्री सिन्धुलीयद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको काव्य हो। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]